९ वैशाख, लार्चा (सिन्धुपाल्चोक) । चार वर्षअघिको विनाशकारी भूकम्पपछि बन्द नेपाल–चीन सिमा नाका तातोपानी पुनः सन्चालन हुने दिनलाई विशेष बनाउन कस्तो कार्यक्रम राख्ने ?
यसबारे दुवै देशका अधिकारीहरु छलफलमा रहँदा सीमा क्षेत्रका बासिन्दा पुराना दिन फर्कने कल्पनामा रमाउन थालेका छन् । किनकी यो क्षेत्रका जनताको रोजगारी नै यहि नाका थियो ।
जेठ १७ गतेबाट पुनः सन्चालन गर्ने तयारी थालिएको यो सीमा नाकाले नेपाली अर्थतन्त्रमा अक्सिजनको काम गरिरहेको थियो । अर्बपति व्यवसायीदेखि झोलेपोके ब्यापारीसम्मको बाक्लो आउजाउ हुने यो नाका खुलाउने हुटहुटी चिनलाई भन्दा स्वभाविक रुपमा नेपाललाई थियो ।
गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकका उम्मेदवारहरुको मुख्य एजेण्डा नै तातोपानी नाका खुलाउने थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्नि सापकोटाले चुनाव जितेपछि यसमा मेहनत पनि गरे ।
राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीलाई धन्यवाद दिने
तातोपानी नाका नेपालको अर्थतन्त्रको ‘लाइफलाइन’ भए पनि चीनको लागि सुरक्षा संवेदनशीलताको हिसाबले टाउको दुःखाइ बनेको थियो ।
महाभूकम्पले सो क्षेत्र तहसनहस पारेपछि चीन सरकारले सीमास्थित आफ्नो क्षेत्रको वस्ती नै उठायो । चीनले तातोपानीको वस्तीलाई भित्री क्षेत्रको बजारमा सारेपछि नेपालीहरुले नाका नखुल्ने आशंका गरेका थिए । नेपालतर्फको पहल–प्रयासपछि भने नाका खुलाउन मात्र नभई नेपालतिरको भौतिक पूर्वाधार निर्माणमा समेत जुटेको छ ।
त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले नै चिनियाँ समकक्षी शी जिनिपङलाई धन्यवाद दिने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ११ वैशाखदेखि मित्र राष्ट्र चीनको पहिलो राजकीय भ्रमण गर्दैछिन् ।
राष्ट्रपतिको भ्रमण दलमा रहने परराष्ट्रमन्त्री ज्ञवालीले नाका खुल्ने कार्यक्रमलाई ‘विशेष’ बनाइने बताए । उनले भने, ‘नाका पुनः सन्चालन कार्यक्रमलाई कसरी भव्य बनाउने भन्ने बिषयमा दुवै देशका अधिकारीहरु छलफलमा छन् ।’
जेठ १७ गते नाका खुल्ने भएपछि पूर्वाधार निर्माणको कामलाई तीव्र बनाइएको छ । भुकम्प गएको चारवर्षमा तातोपानी क्षेत्रले पुनर्जीवन पाउने आशा बलियो बनेको छ ।
भूकम्पले तहसनहस पारेको तातोपानीको मुख्य बजार अहिले पनि भग्नावशेषमै छ । तातोपानीमा नुहाउने ठाउँतिरका केही घर, पसल र होटल सञ्चालनमा रहे पनि मुख्य बजारको भग्नावशेष र भोटेकोशीको बाढीले भत्काएका संरचना यथावत् छन् । तातोपानी क्षेत्रमा भूकम्पले भन्दा त्यसपछि आएको बाढीले बढी विनाश गरेको थियो ।
चार वर्षपछि पुनर्निर्माण तीव्र
चिनियाँ पक्षले जेठ १७ मा नाका खोल्ने औपचारिक जानकारी दिइसकेको छ । गत मेको पहिलो साता तातोपानी नाका सञ्चालन गर्ने योजना रहे पनि मितेरी पुल निर्माणमा ढिलाई भयो ।
अहिले भोटेकोशीमा मितेरी पुलको काम तीव्र रुपमा भइरहेको छ । भूकम्पले भत्काएको मितेरी पुलको संरचना यथावतै राखेर केही तल चीनले नयाँ पुल बनाइरहेको छ । पुरानो मितेरी पुल बन्द गरिएको छ । दुवै देशका सीमा सुरक्षा बल सिमानामा तैनाथ छन् ।
भूकम्प र बाढीले तहसनहस बनाएको सीमा क्षेत्रको दुवैतर्फका सडक लगायतका भौतिक संरचना निर्माणको कामलाई गति दिइएको छ । चिनियाँ कम्पनी रेल्वे कन्स्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी)ले सीमाबाट नेपालतर्फ बाह्रबिसेसम्मको साढे २४ किलोमिटर सडक रातदिन गरेर बनाइरहेका छन् । ठूलो झरी र हाहाहुरी चल्दा पनि काम नरोकिएको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले बताइन् ।
अन्य सडक निर्माणको काम डिभिजन सडक कार्यालय दोलखाले गरिरहेको छ । सीआरसीसीले यही २५ वैशाखमा नेपाललाई सडक हस्तान्तरण गर्ने गरी निर्माण गरिरहेको डिपभजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्र झाले बताए ।
उनका अनुसार, यो सडक निर्माणको बजेट चीन सरकारकै हो । ‘हामीसँग यससम्बन्धी सबै सूचना छैन’, झाले भने, ‘चिनियाँहरुले नेपालको परराष्ट्र मन्त्रालयमार्फत सम्झौता गरेर सडक बनाइरहेको हुनुपर्छ ।’
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार, सीमादेखि बाह्रबिसेसम्मको सडक, मितेरी पुल र सुख्खा बन्दरगाह निर्माणमा चीनले लगानी गरिरहेको छ ।
अहिले बाह्रबिसेबाट अघि बढेपछि जताततै चिनियाँ कामदार र चिनिया अक्षरका भित्तेलेखन देखिन्छ ।
भोटेकोशीमा जलविद्युत आयोजनाको काम पनि चिनियाँ कम्पनीले गरिरहेकाले यो क्षेत्रमा अहिले ‘मिनी चाइना’ भएको छ । चिनियाँको तुलनामा नेपाली कामदार नगन्य देखिन्छ ।
डिभिजन सडक कार्यालयले पनि अरनिको राजमार्गको कोठे, जुरे लगायत ठाउँठाउँमा काम गरिरहेको छ । अबको एक महिनामा सबै काम सकिने जानकारी कार्यालय प्रमुख झाले दिए ।
तर, साँधी खोलामा नयाँ पुल बनाउन नयाँ डिजाइन आएको र एक साताभित्र टेण्डर हुने उनले बताए ।
पहिलेकै अवस्थामा फर्किएला ?
तातोपानी नाका बन्द भएसँगै यस क्षेत्रको व्यापार–व्यावसाय त डुब्यो नै, भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकावासीले धेरै हैरानी खेप्नुपर्यो । धेरै मान्छे विदेश पलायन भएको भोटकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले बताइन् ।
उनका अनुसार, अब नाका खुले पनि पहिलेको मुख्य बजार लिपिङ भने गुल्जार हुने छैन । किनभने अब सस्माबाट आउने सामान अलि तलको लार्चामा निर्मित सुख्खा बन्दरगाहमा ल्याइने छ ।
ब्यापारिक कारोबार पनि त्यहीँबाट हुनेछ ।
लिपिङ बजारमा अहिले सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको कार्यालय, अध्यागमन र भन्सार कार्यालयका बोर्डहरु मात्र छन् । सबै सरकारी कार्यालय लार्चा सरेका छन् ।
चीनले लिपिङका घरहरु हटाएर सडक फराकिलो बनाइदिन चाहे पनि नेपाल पक्षबाट सहयोग भएको छैन ।
तातोपानी नाका सञ्चालनको तयारी हुँदै गर्दा यस क्षेत्रका स्थानीय र व्यापारी–व्यावसायीहरु विगतका कमी कमजोरीलाई पाठको रुपमा लिएर अब कहिल्यै बन्द नहुने गरी नाका सञ्चालन हुनु पर्नेमा जोड दिन्छन् ।
तातोपानी क्षेत्रको ढुवानीमा संलग्न नेपाल ट्रक कन्टेनर व्यवसायी संघका महासचिव कृष्ण क्षेत्री अब पहिलाको भन्दा विकसित रुपमा नाका सञ्चालन हुनेमा आशावादी छन् । ‘हिजो यहाँका संरचनाहरु बलिया थिएनन् । अहिले संरचनाहरु पनि बलियो भएको छ, नाका नहुँदा कति समस्या भयो त्यो सबै हामीले भोगेका छौं । त्यसैले अब तातोपानी नाकालाई बदनाम नहुने गरी सञ्चालन गर्नुपर्छ’ क्षेत्रीले भने ।
ठूलो इभेन्टका रुपमा नाका खुलाउँदैछौं : ज्ञवाली
तातोपानी नाका क्षेत्रमा भइरहेका कामको स्थलगत रिपोर्टिङपछि हामीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सोध्यौं–भूकम्पले बन्द गराएको नाका खुलाउन हाम्रोतर्फबाट केके हुँदैछ ?
उनले भने, ‘चीनले बाह्रबिसेसम्मको सडक पुर्वाधार निर्माण लगायतको काम गरिरहेको छ । बाह्रबिसेदेखि यताको काम हामी गरिरहेका छौं ।’
‘जुरेको पहिरो र बाह्रबिसे वारीको बजार क्षेत्रभित्र केन्द्रित भएर काम भइरहेको छ । दोस्रो कुरा हामीले त्यहाँ भन्सार, अध्यागमन, क्वारेन्टाइन चोकपोष्ट जस्ता संरचना सुख्खा बन्दरगाहमा स्थापना गर्ने तयारी भइरहेको छ । हामी डेडलाइनभित्र सबै काम सम्पन्न गर्नेछौं ।’
‘यो नाका पुनः सञ्चालन गर्ने कुरा हाम्रो लागि जनजीवनसँग गाँसिएको विषय पनि हो । त्यसैले यसको उद्घाटनको ‘मोडालिटी’बारे छलफल चलिरहेको छ । यसलाई विशेष ‘इभेन्ट’ बनाइनेछ,’ उनले भने ।
तस्वीर र भिडियो : चन्द्र आले/अनलाइनखबर
यो पनि पढ्नुहोस् : भूकम्पको ‘इपिसेन्टर’ बारपाक : न गाउँ, न शहर !
प्रतिक्रिया 4