News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षामन्त्री महावीर पुनले २०८० वैशाख १८ मा तत्कालीन सरकारले गरेको विकास बजेटको एक प्रतिशत छुट्याउने सम्झौता कार्यान्वयन नभएको बताए।
- पुनले शिक्षा मन्त्रालयमा थिंक ट्यांक समिति बनाउने प्रस्तावमा आर्थिक स्रोत खोज्नुपर्ने बताए ।
- साथै, उनले काम नगर्ने समिति नबनाउने निर्देशन नै दिए।
६ असोज, काठमाडौं । महावीर पुनलाई आफू शिक्षा, विज्ञान तथा मन्त्री भएको सिनेमाको दृश्य झैं लाग्छ । सिनेमामा एउटै पात्र फरक-फरक भूमिकामा देखिए झैं सोमबार पदभार ग्रहणमा पनि मन्त्री पुनले त्यस्तै अनुभूति गरे ।
‘सिनेमाको दृश्य बदलियो । डुल्ने दृश्य थियो । अर्को दृश्य आयो,’ मन्त्री पुनले भने, ‘मन्त्री पद सम्हालेर ठूलो महसुस भएको छैन । म ठूलो मान्छे होइन ।’
आफ्नो भूमिका फेरिएकोमा उनले सिनेमाको दृश्यसँग तुलना गरेका थिए ।
सधैं टिसर्ट र चप्पल लगाएर हिँड्ने पुन सोमबार दौरा सुरुवाल र टोपीमा देखिए । भूमिका फेरिएसँगै उनको पोशाक पनि बदलियो ।
दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री पुन ४ बजे केशरमहलस्थित अस्थायी मन्त्रालयमा पुगे । जस्तोसुकै परिस्थितिमा पछि नहट्ने स्वभाव रहेको बताउँदै अहिले आफू मन्त्री बनेको उनले बताए । तर, ६ महिनाको छोटो समयमा धेरै काम गर्न नसकिने संशय पनि उत्तिकै छ ।
आफूसँग गरेको सम्झौता खोजे
मन्त्री पुनले पहिलो दिनमै तत्कालीन सरकारले आफूसँग गरेको सम्झौता खोजे । केशरमहलस्थित मन्त्रालयमा पदभार सम्हालेपछि उनले २०८० वैशाख १८ मा तत्कालीन सरकारले गरेको सम्झौता सम्झिए । शिक्षा मन्त्रालयमा हुने ढिलासुस्तीको आफू भुक्तभोगी रहेको टिप्पणी गरे ।
२०८० फागुनमा महावीर पुन माइतीघरमा धर्नामा बसेका थिए । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पुनसँग अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउने सहमित गरेको थियो ।

तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने भनिएको थियो । त्यो समयमा संघीय संसद्को आउँदो अधिवेशनबाट विधेयक पास गर्ने सहमति भएको थियो ।
तर त्यो सहमति २ वर्ष बढी हुँदा पनि कार्यान्वयन नभएको दु:खेसो मन्त्री पुनले गरे ।
‘६० दिनभित्र मस्यौदा बनाउने भनेको हो । विकास बजेटको १ प्रतिशत छुट्टाउने भनेको थियो । २ वर्ष पुगेर पनि कति गयो । ढिलासुस्ती भयो । अल्झाउने र तानतुन गर्नेबाट म आफैं भुक्तभोगी हुँ,’ मन्त्री पुनले ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिए ।
पहिलो निर्णयमै फरक मत, आर्थिक स्रोतको खोजी
शिक्षा मन्त्रालयले थिंक ट्यांकहरूको समिति बनाउने प्रस्ताव ल्याएको थियो । तर समिति बनाउने विषयमा शिक्षा सचिव चूडामणि पौडेल र प्रविधि सचिव विश्वबाबू पुडासैनीले प्रस्ताव ल्याएका थिए ।
उक्त प्रस्तावमा हस्ताक्षर गर्नुअघि उनले आर्थिक स्रोत खोजे । ‘समिति त बन्छ । बनाउँला । समिति मात्रै बनाएर भएन । पहिलो कुरा आर्थिक स्रोत खोज्नुपर्यो । सधैं मन्त्रालयमा अड्किएका कुरा हो,’ शिक्षामन्त्री पुनले भने, ‘पैसा नै छैन भनेर अहिलेसम्म अड्किएको हो । पैसा कहाँबाट ल्याउने भनेर आर्थिक स्रोत त खोज्नुपर्यो नि । आर्थिक स्रोत पनि खोजौं ।’
हस्ताक्षर गर्न पनि उनले आनाकानी गरे । ‘अहिले नै सदर गनुपर्यो ? कि केही सल्लाह गरेर गर्नुपर्यो ?,’ मन्त्री पुनले सचिव पौडेल र पुडासैनीलाई सोधे ।

यसमा वार्षिक बजेट पनि रहेको बताएपछि मात्र मन्त्री पुन हस्ताक्षर गर्न तयार भए । ‘यो टीओआर मात्रै हो, मन्त्रीज्यू । वार्षिक बजेट यहाँ छँदै छ,’ सचिवले भने ।
मन्त्रालयमा समिति बन्ने गरेको तर काम नहुने गरेको गुनासो उनले गरे ।
‘वार्षिक बजेट हेरौं, छैन भने निकालौं । नाममात्रैको चाहीँ नहोस् । यस्तो समिति धेरै बन्यो । मैले पनि धेरै भोगेँ । समिति बनायो, बस्यो । काम नहुने । त्यतिकै हाजिर गर्ने र दुई चार पटक मिटिङ बस्ने भयो । काम नहुने भयो,’ काम गर्ने समिति बनाउन उनले निर्देशन दिँदै उनले भने, ‘एउटा भिजिटिङ कार्डमा मात्रै लेख्ने कुरा भएन । बरु सानै होस्, ठोस काम होस् । पहिला एउटाबाट सुरु गरौं, अनि त्यो काम ठोस होस् भन्ने म चाहन्छु ।’
आफू पनि पहिले यस्तै समितिमा बसेका तर काम नभएको अनुभव उनले सुनाए ।
शिक्षा ऐनमा विज्ञसँग सल्लाह लिने
पत्रकारहरूले विद्यालय शिक्षा विधेयकबारे प्रश्न गरेका थिए । उनले विज्ञको टोली बनाएर मात्र काम गर्ने जवाफ उनले दिए ।
‘कस्तो ऐन बनाएको हो ? विज्ञको टोली बनाउँछु । विज्ञले जे सुझाव दिनु हुन्छ । त्यसै अनुसार गर्ने हो,’ उनले भने । प्रतिनिधि सभा विघटन हुनुअघि विधायन समितिबाट संसद्मा पेश भएको थियो । ‘अहिले संसद् छैन । विज्ञसँग सल्लाह लिन्छु,’ पुनले भने, ‘सबैकुरा मैले भनेजस्तो हुनुपर्छ भन्दिन । इमानदार भएर बिना स्वार्थ विज्ञले सुझाव दिनुहोस् ।’

पर्याप्त बजेट नभएसम्म निःशुल्क शिक्षा कार्यान्यन गर्न नसकिने उनको दाबी छ । ‘निःशुल्क शिक्षा भनेको के हो ? निःशुल्क गर्न पैसा चाहियो । हिमालबाट हिउँ खनेर पैसा बन्दैन । शिक्षा मन्त्रालय विदेशी सहयोग अनुदानमा चलेको छ । निःशुल्क गराउने भनेको जब देशको अर्थतन्त्र सुधार गरेर बलियो बनायो भने हो,’ उनले भने ।
‘जेनजीको साथी र दाइ हुँ’
गत भदौ २३ र २४ गते जेनजीले आन्दोलन गरे । त्यसैको जगमा पुन मन्त्री बने । आन्दोलन चलिरहँदा पुन इलामको गाउँतिर आफ्नै पुस्तक बेचिरहेका थिए । जेनजीको आन्दोलबारे आफूले बेलुका मात्र थाहा पाएको बताए ।
आफूले १० देखि ३० वर्ष उमेरका युवालाई लिएर नै काम गरिरहेको बताए । ‘म ७१ वर्षको हुन लागेँ । तर ३० वर्षको हुँ । किनभने मैले २६ देखि ३० वर्ष उमेरकालाई लिएर काम गरेको छु । म जेनजीको साथी दाइ हुँ,’ उनले भने ।
जेनजीले भ्रष्टाचार हटाउने र सुशासनको माग राखेर आन्दोलन गरेको बताउँदै उनले शिक्षा मन्त्रालयमा कुनै अनियमितता हुन नदिने प्रतिबद्धता जनाए ।
मन्त्रालयमै बस्ने, २४ सै घण्टा काम
मन्त्री पुन मन्त्रालयमै बस्ने भएका छन् । क्वार्टरमा नबसी २४ सै घण्टा मन्त्रालयमै बस्ने उनले बताए ।
‘एउटा बेड र कुर्सी भए पुग्छ । जहाँ काम गर्ने त्यहीँ बस्ने बानी छ । मन्त्रालयमै एउटा कोठा, सुत्ने खाट, टेबल र कुर्सी चाहियो । म आफैं पकाएर खान्छु,’ उनले भने ।
सिंहदरबारमा मन्त्रालय सरेपछि पनि मन्त्रालयमै बस्ने उनले बताए । ‘मन्त्रालयमा २४ सै घण्टा बस्छु । अफिसियल मिटिङ बाहेक निस्कन्न । शुद्ध मनले आउनुहोस् । शिक्षा र विज्ञान प्रविधिको क्षेत्रमा मिलेर काम गरौं,’ मन्त्री पुनले भने ।

छोटो समयका लागि मन्त्री भएकाले कार्यविधि बनाएर नयाँ कामको थालानी गर्ने उनको योजना छ । ‘अहिलेको स्थिति छोटो समय हो । चुनाव गराउने हो । नयाँ कानुन ल्याउन सकिदैन । अध्यादेश ल्याउन पनि नसक्ने भनेको सुनेको छु । तर पनि उपाउ निकाल्नु पर्यो । कुनै कुरा अड्किएको छ भने कार्यविधि बनाउनु पर्यो,’ उनले भने ।
आविष्कार केन्द्रबाट राजीनामा
मन्त्री पुनले आविष्कार केन्द्रबाट पनि राजीनामा दिएका छन् । ‘आविस्कार केन्द्रबाट राजीनामा दिएको छु । अब केन्द्रमा छैन,’ उनले भने ।
उनले शुक्रबार नै केन्द्रबाट राजीनामा दिएको बताए । ६ महिनापछि आफू नबस्ने उनले घोषणा गरे । ‘किताब बेच्न थालेको १५ महिना भएछ, बितेको पत्तो भएन । ६ महिना पनि बितेको पत्तो हुदैन,’ उनले भने, ‘६ महिनापछि निस्कने हो ।’
प्रतिक्रिया 4