
६ असोज, काठमाडौं । वैज्ञानिक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बने । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको शिक्षा मन्त्री बनेका उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार शपथ लिए । सरल जीवनशैली भएका पुन मन्त्रीमा सिफारिस हुँदै गर्दा पनि आविष्कार केन्द्रमा ग्यासबाट शव जलाउने भट्टी निर्माण भएको जानकारी गराउँदै थिए ।
दुई दिनअघि काठमाडौं आएका पुन आविष्कारका लागि आर्थिक जुटाउन जिल्ला जिल्लामा किताब बेच्न हिँडिरहेका थिए । आफ्नै पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बोकेर उनले ५२६ दिनमा ४५ वटा जिल्लामा २ लाख ४० हजार पुस्तक बेचेका छन् ।
‘काठमाडौंमा आजदेखि महावीर पुनको हस्ताक्षर सहितको किताब किन्न चाहनेहरू राष्ट्रिय आविष्कार केन्द्रमा (त्रिभुवन विश्व विद्यालय, कीर्तिपुर) आउनुहोस्,’ आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
देशका विभिन्न जिल्लामा पुगेर माइकिङ गर्दै आफ्नो पुस्तकबारे जानकारी गराउँदै उनले बिक्री गरिरेहका थिए । स्थानीयले पनि पुनको किताब किनेर सहयोग र साथ दिएका थिए । पुस्तक बेचेर प्राप्त आम्दानीले कृषि औजार निर्माण गर्ने उनको योजना छ ।
तिहारपछि पूर्वी नेपालको पहाडी जिल्लामा किताब बेच्न जाने योजना उनको थियो । तर उनी मन्त्री भएका छन् । र, उनको भूमिका फेरिएको छ ।
युवाका सारथी
महावीर पुन युवाहरूको सारथी हुन् । नेपालमै केही गर्छु भन्ने युवा वैज्ञानिकलाई उनले साथ दिने गरेका छन् । युवाकै लागि भनेर उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको परिसमा आविष्कार केन्द्र स्थापना गरेका हुन् । बच्चालाई न्यानो बनाउने ‘बेबी वार्मर’, फूल फुल्ने ठाउँहरूमा मौरीलाई ओसार्न ‘ट्रली’ निर्माण पनि पुनको आविष्कार केन्द्रबाट भएको छ ।
उद्योग, बैंक र अस्पतालका लागि सर्भिस रोबोट । फलफूल सुकाउने सोलार ड्राइयर, गाडी धुने मेसिन, सेल रोटी पकाउने मेसिन, फोहोर संकलन गर्ने मेसिन, बाँदर धपाउने मेसिन पनि उनले आविष्कार केन्द्रबाट अगाडि बढाइएको योजनाहरू हुन् ।
कोरोना कालका पीपीई, फेससिल्ड, आइसोलेसन हुड, नर्सिङ रोबोट, स्वाब कलेक्सन बक्स, कोरोनाबाट मृतकको शव राख्ने बाकस पनि उनको केन्द्रले बनाएको थियो ।
म्यागासेसे अवार्ड
पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा उच्च शिक्षा अध्ययन गरेका हुन् । विज्ञान प्रविधिको क्षेत्रमा काम गरेका पुनले ‘रोमन म्यागासेसे अवार्ड’ पाएका छन् । नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्याएका पुनले सन् २००७ सलामा एसियाको नोबेल पुरस्कारको रूपमा चिनिने म्यागासेसे पुरस्कार पाएका हुन् । सन् २०१४ इन्टरनेट सोसाइटीले पनि जोनाथन बी पोस्टल अवार्ड पुनलाई दिएको छ । ‘नेपाल वायरलेस नेटवर्क’ परियोजना स्थापना गरी ग्रामीण बस्तीलाई इन्टरनेटसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पुनलाई अवार्ड दिइएको हो ।
ग्राउँमा तारविहीन इन्टरनेट
महावीरका कारण ग्रामीण वस्तीका मानिसले स्वास्थ्य उपचार, पढाइ, सञ्चारलगायतका सुविधा उपयोग गर्न पाएका छन् । म्याग्दीमा उनले आफ्नै खर्चमा इन्टरनेट सेवा पुर्याएका थिए । उनले तारविहीन इन्टरनेटको सुरुवात गरेका थिए । उनी म्याग्दीको राम्चे, नागीका बासिन्दा हुन् ।
अमेरिकाको नेब्रस्का विश्वविद्यालयबाट उनले उच्च शिक्षा प्राप्त गरेका छन् । छात्रवृत्तिमा उनी पढ्न अमेरिका गएका हुन् । तर उनी अमेरिका बस्न चाहेनन् । नेपाली माटोमै केही गर्ने सोच बनाएर फर्किएका पुनले आफू जन्मिएको गाउँमा विद्यालय खोले । उनै पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाए । विज्ञान प्रविधिमा पर्याप्त लगानी नभएको गुनासो पुनले गर्ने गरेका थिए । सधैं सत्तालाई प्रश्न गर्ने पुन अब आफैं उत्तर दिने ठाउँमा पुगेका छन् ।
व्यंग्यात्क रूपमा मन्त्री पुनले आफूलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भनेर टिप्पणी गरेका छन् । उनको आविष्कार केन्द्र सँघुरो ठाउँमा कवाडी कारखाना जस्तो रहेको भनेर टिप्प्णी हुने गरेकाले उनले पनि व्यंग्यात्मक ढंगमा भनेका हुन् । ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला,’ उनले भनेका छन् ।
मन्त्री पुनले ५ महिनाभित्र गर्न सकिने ठोस काम र आइडिया मागेका छन् । ‘कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला,’ उनले भने । यो सरकार चुनाव गराउने अन्तरिम सरकार भएकाले उनले ५ महिनामा गर्न सकिने कामको योजना मात्र मागेका हुन् ।
प्रतिक्रिया 4