+
+
Shares

प्रश्न सोध्ने पत्रकारलाई सञ्चारमन्त्रीको हटसिट

पत्रकार जगदीश खरेललाई नेपालको संक्रमणकालीन राजनीतिलाई पार लगाउने गरी बनेको अन्तरिम सरकारलाई सफल बनाउन भूमिका खेल्नुपर्ने सञ्चारमन्त्रीको हटसिट प्राप्त भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते २०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जगदीश खरेलले सञ्चारमन्त्रीको पद ग्रहण गरेका छन् र उनी लामो समयदेखि इमेज टेलिभिजनमा काम गर्दै आएका पत्रकार हुन्।
  • खरेलले सञ्चारमन्त्रीको रूपमा संक्रमणकालीन सरकारलाई सफल बनाउन भूमिका खेल्ने बताए।
  • उनले पत्रकारितामा उठाएका प्रश्नहरूको जवाफ खोज्ने र सञ्चार मन्त्रालयका विविध जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

६ असोज, काठमाडौं । साढे २ दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका जगदीश खरेल इमेज टेलिभिजनमा लामो समयदेखि काम गर्दै आएका पत्रकार हुन् । सञ्चारमन्त्री हुने सम्मको उनको ‘इमेज’ तयार गर्ने पछिल्लो कार्यक्रम थियो- हटसिट ।

समसामयिक राजनीतिक, सामाजिक विषयमा आधारित त्यही टक शो ‘हटसिट’ बाट उठेर उनी आजदेखि सञ्चारमन्त्रीको सिटमा आइपुगेका छन् ।

अब उनका लागि टिभी सेटको होइन नेपालको संक्रमणकालीन राजनीतिलाई पार लगाउने गरी बनेको अन्तरिम सरकारलाई सफल बनाउन भूमिका खेल्नुपर्ने सञ्चारमन्त्रीको हटसिट प्राप्त भएको छ ।

उनी टेलिभिजन स्क्रिनमा राजनीतिक नेता, सामाजिक अभियन्ता, प्रशासक देखि न्यायाधीशहरूसम्मलाई बोलाएर तिखा र चोटिला प्रश्न गर्थे ।

सामाजिक सञ्जालहरूमा अन्तर्वार्ता दिने व्यक्तिका विचारभन्दा उनले सोधेका प्रश्नका क्लिपहरू समेत भाइरल हुने गरेका थिए । शासकीय जिम्मेवारीमा रहेकाहरूलाई प्रश्न गर्ने खरेल अब वास्तविक रुपमा ती प्रश्नहरूको जवाफ आफैं खोज्ने ठाउँमा आइपुगेका छन् ।

‘मैले आफ्नो सञ्चारकर्ममा वर्षौंदेखि अनेकौं प्रश्न गर्दै आएको थिएँ । आज मलाई एउटा ऐतिहासिक जिम्मेवारी आएको छ । अब म मैले सोधेका प्रश्नहरूका कतिपय जवाफ खोज्ने छु,’ नवनियुक्त सञ्चारमन्त्री खरेलले अनलाइनखबरसँग भने ।

उनले आफू अहिले कुन अवस्थामा मन्त्री बनेको हेक्का रहेको बताए । ‘एउटा आन्दोलनबाट परिवर्तनका आवाज सम्बोधन गर्नेगरी यो सरकार बनेको छ’ उनले भने,’जेनजीहरूका आवाज र भावनालाई प्रतिनिधित्व गर्दै जिम्मेवारी पूरा गर्नेछु ।’

२०५९ सालमा इमेज च्यानल टिभी सुरुवात हुँदादेखि त्यहिँ काम गर्न थालेका दोलखाका खरेलको सञ्चारकर्म मात्र होइन उनको शैक्षिक पृष्ठभूमि पनि यही विषयमा जोडिएको छ ।

उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार स्नातकोत्तर उपाधि हासिल गरेका छन् । हाल चाहिँ उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति’ विषयमा विद्यावारिधि गरिरहेका छन् ।

इमेज टेलिभिजनमा उनले तीन महिना अघि मात्र उनले त्यहाँको समाचार कक्षको सम्पादक रुपमा जिम्मेवारी सम्हालेका थिए ।

तर केही महिनामै उनलाई त्यो भन्दा ठूलो राजकीय पदको अवसरमा मिलेको छ । सोमबार पनि उनी समाचार कक्षबाटै विदाइ भएर मन्त्रीको शपथ लिन राष्ट्रपति कार्यालय गए ।

राजनीतिक दलहरू भन्दा बाहिरका व्यावसायिक व्यक्तिहरूलाई मन्त्रीको जिम्मेवारीमा ल्याउने योजनाअनुसार प्रधानमन्त्री सुशीला कार्कीले व्यक्तिहरूको पहिचान गरिरहेकी थिइन् ।

त्यसक्रममा खरेल प्रधानमन्त्री कार्कीको नजरमा परे । खरेलकै टक शो हटसिटमा बसेर प्रधानमन्त्री हुनु अघि कार्कीले धेरैपटक अन्तर्वार्ता दिएकी छन् ।

जहाँ उनीहरूबीच राजनीतिक बेथिती, सुशासन र सामाजिक व्यवस्थामाथिका प्रश्नोत्तर हुने गरेका थिए । अब प्रश्न सोध्ने र जवाफ दिने दुवै व्यक्ति एउटै मन्त्रिपरिषद्को सारथीको रूपमा काम गर्ने बिन्दुमा आइपुगेका छन् ।

पत्रकारिता कर्मका त उनी जानकार नै हुन् । तर अहिले उनले सम्हालेको मन्त्रालय त्यतिमा मात्र सिमित छैन ।

सञ्चारमन्त्रीले सरकारको प्रवक्ताको रुपमा पनि काम गर्नुपर्ने हुन्छ । त्यसैले अब उनले खेल्ने भूमिकाले सरकारको सन्देश जनतासम्म पुर्‍याउने सेतुको रुपमा पनि काम गर्छ ।

विगतका सञ्चारमन्त्री कै कारण सरकार विवादमा आउने गरेका इतिहास छन् । जुन उनले चिरेर उनी अघि बढ्छन् कि बढ्दैनन् परीक्षाको घडि सुरु भइसकेको छ ।

पत्रकारका रूपमा आलोचनात्मक भूमिका निर्वाह गर्दा र मन्त्रीको रुपमा जिम्मेवारी बहन गर्दा हुने फरक अवस्थालाई उनले कसरी बुझेर अघि बढ्छन् त्यसको बाहिरबाट पक्कै निगरानी भइरहने छ ।

चुनावी सरकार भएकाले चुनावका लागि माहोल बनाउनेदेखि सञ्चार मन्त्रालय मातहतका निकायहरूलाई दैनिक परिचालन गर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ ।

सञ्चार मन्त्रालयसँगै जोडिएको सामाजिक सञ्जाल दर्ता सम्बन्धी विषयका कारण जेनजी आन्दोलन समेत हुने अवस्था आयो । यसैको बलमा यो सरकार पनि गठन भएको हो ।

तर सामाजिक सञ्जाल सम्बन्धी सरकारको नीति के कस्तो हुने भन्ने अझै केही स्पष्टता जरुरी नै छ । यो विषयलाई उनले आगामी दिनमा कसरी दीर्घकालीन समाधान खोज्न प्रयास गर्छन् त्यो पनि महत्वपूर्ण हुनेछ ।

नेपालका ग्रामीण क्षेत्रहरुमा इन्टरनेट, मोबाइल सेवा, डिजिटल साक्षरता वा सूचना प्रविधिको पहुँच अझै सीमित छ । यो समस्या समाधान गर्दा आवश्यक पर्ने बजेट, पूर्वाधार, निजी र सार्वजनिक साझेदारी, टेक्नोलोजीको पहुँच लगायतका विषय पनि यो मन्त्रालयसँग जोडिएका छन् ।

डेटा सुरक्षा, साइबर अपराध रोकथाम, अनलाइन प्लाटफर्महरूको नियमन लगायतका विषय यही मन्त्रालयका कार्यक्षेत्र हुन् । मन्त्रीको रूपमा यी विषयहरूमा कानूनी, प्राविधिक अनि सामाजिक दृष्टिकोण एकैसाथ समेटेर खरेल कसरी अघि बढाउँछन् त्यो उनका लागि परीक्षाको विषय हो ।

पत्रकार र मिडिया संस्थाहरूलाई सुरक्षित वातावरण सुनिश्चित हुने आधार तयार पार्ने, प्रेस स्वतन्त्रता, मिडिया आचारसंहिता, मिस इन्फरमेसन डिसइन्फरमेसनविरुद्ध लड्ने लगायतका काम पनि सञ्चार मन्त्रालयको कार्क्षक्षेत्र भित्र पर्छन् । यी कार्यक्षेत्रका काम गर्न खरेलले कति कुशलतापूर्वक सम्पन्न गर्न सक्छन् त्यसकै आधारमा अब उनको मूल्यांकन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?