
१९ असार, काठमाडौं । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्याएको हो ।
उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए ।
उनका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको हो । अहिले तातोपानी भन्सार नाकामा जाँचपासको प्रक्रिया चलिरहेको भुसालले बताए ।
‘हेलिकप्टरका पंखा लगायतका पार्टपूर्जा खोलेर ४० फिटे कन्टेनरमा लोड गरेर कस्टमसम्म ल्याइपुर्याएका छौं, अब त्यहीँ फिट गर्छौं अनि जाँचपास गरी उडाएर काठमाडौं ल्याउँछौं,’ भुसालले भने ।
उनले तातोपानी भन्सार नाका हुँदै कम्पनीले पहिलोपटक हेलिकप्टर ल्याएको बताए । ‘पहिले एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौं ल्याएका थियौं । तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर ल्याएको पहिलोपटक हो,’ उनले भने ।
तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र प्रसाद चुडालले पनि आफूले पहिलोपटक तातोपानी नाकाबाट हेलिकप्टर आयात भएको थाहा पाएको बताए । ‘मेरो जागिरको अनुभवमा तातोपानी नाकाबाट पहिलोपटक हेलिकप्टर जाँचपास हुने प्रक्रियामा छ,’ उनले भने, ‘एक प्रतिशत ड्युटी र १३ प्रतिशत भ्याट लिएर जाँचपास हुन्छ ।’
चीनबाट नेपाल भित्रिने प्रमुख दुईवटा नाका छन् । एउटा तातोपानी र अर्को टिमुरे । टिमुरेको बाटो साँघुरो र अप्ठेरो भएकाले हेलिकप्टर ल्याउनलाई तातोपानी नाका रोजेको कम्पनीले जनाएको छ ।
‘अर्को विकल्प हामीसँग समुद्री बाटोबाट कलकत्ता बन्दरगाह हुँदै ल्याउने थियो । तर त्यो बाटो प्रयोग गर्दा झण्डै एक महिना लाग्ने भयो । तर चीनको बाटो हुँदै तातोपानी भन्सार नाकाबाट ८–१० दिनमै ल्याउन सकिने भएकाले हामीले यही बाटो रोज्यौं,’ कर्पोरेट म्यानेजर भुसालले भने ।
उक्त हेलिकप्टर जाँचपास पछि माउन्टेन फ्लाइटमा प्रयोग गर्ने भुसालले बताए । उनका अनुसार माउन्टेन कम्पनी प्रालिसँग यो नयाँ हेलिकप्टरसहित तीनवटा हेलिकप्टर हुनेछन् ।
प्रतिक्रिया 4