+
+
Shares

जेन-जी विद्रोह : क्रान्ति कि प्रतिक्रान्ति ?

यो युद्धविराम हो, जेन-जी आन्दोलन टुंगिएको छैन

नेतृत्वमा आजीवन टाँसिने प्रवृत्ति त्यागेर तत्कालै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ। अन्यथा नाति-नातिनाहरूले बाहिरबाट ढोका ढकढक्याइरहँदा चुकुल ठोकेर हठपूर्वक भित्र बसिरहने हजुरबा-हजुरआमाहरूलाई सबैले ‘रामराम’ भन्नु बाहेक के गर्न सकिन्छ र ?

डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई
२०८२ असोज ३ गते ८:५१

२०८२ भदौ २३-२४ को जेन-जी विद्रोहले नेपाली समाजलाई जरैदेखि हल्लाइदिएको छ। नेपालको लोकतान्त्रिक क्रान्तिको इतिहासमा २००७ साल, २०४६, २०५२ र २०६२/६३ पछि २०८२ साल अर्को महत्वपूर्ण कडीको रूपमा स्थापित भएको छ।

परन्तु ‘कवि: करोति काव्यानि, रसं जानाति पण्डित:’ (कविले कविता लेख्छन्, पण्डितहरूले त्यसलाई अर्थ्याउँछन्’) भने झैं यो ऐतिहासिक जेन-जी विद्रोहलाई आ–आफ्ना राजनीतिक स्वार्थ अनुरूप विभिन्न कोणबाट अर्थ्याउने प्रयास भइरहेछ। यो नवयुवाहरूको स्वत:स्फूर्त विद्रोही हो कि कतैबाट परिचालित परिघटना हो ? यो क्रान्ति हो कि प्रतिक्रान्ति ? यसका कारक तत्वहरू के हुन् ? यसको परिणाम के होला ? अग्रगामी राजनीतिक शक्तिहरू र जिम्मेवार नागरिकहरूले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?

सन्दर्भ र कारक तत्व

नेपालमा २००७ सालदेखि शुरू भएको लोकतान्त्रिक क्रान्ति विभिन्न उत्तरचढाव हुँदै २०७२ सालमा निर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै सापेक्ष पूर्णतामा पुग्यो। विश्वको सापेक्षतामा निकै ढिलो सम्पन्न भएको राजनीतिक क्रान्ति अर्थात् विभिन्न वर्ग, जाति, लिंग, समुदायको स्वतन्त्रता र समानताको अधिकारको प्राप्तिपश्चात् देशमा दिगो सुशासन र तीव्र आर्थिक समृद्धिको अपेक्षा आम जनसमुदाय र विशेषतः युवा पुस्तामा हुनु स्वाभाविक थियो।

अर्कोतिर यसै बीचमा भएको डिजिटल क्रान्ति, सामाजिक सञ्जालको व्यापक विस्तार, डिलिटल नेटवर्किङको प्रयोगले आम जनता र विशेषतः जेन-जी (सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्ता) को चेतना, आकांक्षा र विद्रोही भावलाई अभूतपूर्व ढंगले अभिवृद्धि गरेको थियो। नेपालमा गत दशकमा मोबाइलमा पहुँच १०० प्रतिशत र इन्टरनेट पहुँच ५५.८ प्रतिशत पुगेको मानिन्छ।

त्यसको विपरीत संविधानसभाबाट संविधान जारी भएयताको दश वर्षमा सात वटा सरकार परिवर्तन भएका थिए। तिनमा कांग्रेस, एमाले र माओवादीका प्रमुख नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड दोहोर्‍याएर, तेहोर्‍याएर म्युजिकल चेयर खेल झैं सत्ताको कुर्सीमा विराजमान भएका थिए। उनीहरू विरुद्ध एनसेल, वाइडबडी, यती, ओम्नी, बूढीगण्डकी, १०० किलो सुन लगायत थुप्रै भ्रष्टाचार काण्डमा संलग्न रहेको आशंका गरिएको थियो।

उनीहरूको परिवार र आसेपासेहरूको ऐय्यासी जीवन र सत्तामा एकाधिकार तथा बढ्दो अहंकारबाट युवाहरू आक्रोशित बन्दै गएका थिए।

अर्कोतिर देशको अर्थतन्त्र लामो समयदेखि अल्पविकास, बेरोजगारी, परनिर्भरता, असमानताको दुश्चक्रमा जकडिएर बसेको थियो। युवाहरू वर्षेनि ७/८ लाखको दरले रोजगारी र शिक्षाका निम्ति विदेशिन बाध्य भइरहेका थिए। उनीहरूले पठाएको रेमिट्यान्स र जनताको नाउँमा आएको वैदेशिक ऋण तथा जनताले पेट काटेर तिरेको करमाथि मुट्ठीभर सत्तासीन, तिनका आसेपासे र बिचौलियाहरूले मोजमस्ती गरिरहेको आम धारणा बन्दै गइरहेको थियो।

शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा लगायतमा आम जनताको पहुँच दुरुह बन्दै गएको थियो। राज्यका सबै अंगहरूमा दलीय सिन्डिकेटको कब्जा कस्सिएको थियो। समग्रमा राज्यसत्ता र त्यसको नेतृत्व गर्ने दलहरूप्रति युवा र आम जनताको आक्रोश चुलिंदै गएको थियो।

यसै सन्दर्भमा जेन-जीको नाउँमा युवाहरूले गत भदौ २३ गते देशैभर मुख्यतः भ्रष्टाचार विरोधी नाराहरू उठाएर शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरे। सत्ताको मातले दृष्टि गुमाएको सरकारले यहाँ १५ गते नै विभिन्न बहानामा सामाजिक सञ्जालहरूमाथि बन्देज लगायो।

त्यसले युवाहरूको चुलिंदै गएको आक्रोशको आगोमा घिउ थप्ने काम गर्‍यो। ‘डिस्कर्ड’ लगायत विभिन्न डिजिटल माध्यमहरूको कुशल प्रयोगबाट भदौ २३ गते युवाहरूले देशैभर सशक्त शक्ति प्रदर्शन गरे। आफ्नै छायाँबाट तर्सिने सरकारले निर्मम ढंगले दमनचक्र चलाएर काठमाडौंमा १९ जना सहित देशैभर २१ जनाको हत्या र हजारौं घाइते गरायो। युवा आक्रोशको बाँध फुट्यो।

भदौ २४ गते नेपाली इतिहासको भयंकर जनआक्रोश विस्फोटित भयो। पानी धमिल्याएर माछा मार्ने दाउ हेरिरहेका देशी र विदेशी प्रतिगामी शक्तिहरू त्यसभित्र प्रवेश गरे। परिणामतः सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायत राज्यका सबै तहका सबै संरचना, पार्टीका कार्यालय, नेताहरूका निवास, व्यावसायिक केन्द्र सबै आगजनीका निशाना बने। खर्बौंको क्षति भयो। ओली सरकारले घुँडा टेक्यो। सम्भवत: २१औं शताब्दीको सबभन्दा छोटो र विनाशकारी जैन-जी विद्रोह नेपालमा नाटकीय ढंगले मञ्चन भयो।

केही दिन झण्डै राज्यविहीन अराजकता र अनिश्चितताको स्थितिमा अग्रगमन र पश्चगमनको बीचमा चाकाचुली खेल्दै अन्ततः पाँचौं दिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपतिबाट अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा शपथग्रहण गरेसँगै देश र सारा संसारले सन्तोषको सास फेर्‍यो। यो समग्र घटनाको निकटदर्शी र केही हदसम्म सहयोगीको नाताले तत्काल पश्चगमनको खतरा टरेकोमा मैले पनि त्यस्तै अनुभूति गरें।

यी पंक्ति लेख्दासम्म यो महासमरमा अधिकांश जेन-जी युवा सहित ७३ जनाले ज्यानको आहुति दिएका छन्। अरू पनि घाइतेहरू अस्पतालमा छट्पटाइरहेछन्। अब जे भए पनि लाखौंको संख्यामा जेन-जी युवाहरू राजनीतिक संघर्षको भीषण अग्निपरीक्षामा दीक्षित भएका छन्।

क्रान्ति कि प्रतिक्रान्ति ?

पृथ्वीको गर्भमा टकराइरहेका भौगर्भिक तत्वहरूको आपसी घर्षणले पैदा गरेको ऊर्जा जसरी भूकम्प, ज्वालामुखीको रूपमा प्रवाहित वा विस्फोटित हुन्छ, त्यसरी नै समाज र राज्यमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रका अन्तरविरोधहरू सचेतन ढंगले बेलैमा समाधान नगरिए आकस्मिक ढंगले विद्रोह (रिबेलियन) को रूपमा विस्फोटित हुन्छन्। मानव समाज, राष्ट्र, राज्यको उत्पत्तिदेखिको करिब पाँच हजार वर्षयताको विश्व इतिहास केलाएर हेर्ने हो भने यो कुरा दिनको घाम झैं छर्लंग हुन्छ।

ती अर्थ-राजनीतिक विस्फोटन वा विद्रोहलाई सचेतन प्रयत्नले अग्रगामी दिशामा डोर्‍याएर संरचनागत रूपान्तरण सहित सापेक्ष ढंगले दिगो समाधान गरियो भने त्यसलाई ‘क्रान्ति’ (रिभोलुशन) भनिन्छ। तर त्यसो गर्न सकिएन र त्यो उल्टो दिशातिर गयो वा पुराना उपलब्धिहरू पनि गुमे भने त्यो ‘प्रतिक्रान्ति’ (काउन्टर-रिभोलुशन) हुन्छ। अनि ठूलो विद्रोह पछि त्यो सामान्य सरकार वा व्यक्ति मात्र परिवर्तन गरेर उही ठाउँमा बसिरह्यो भने बलिदान त्यत्तिकै खेर जान्छ।

नेपालको सन्दर्भमा २००७ सालको क्रान्तिले राणा निरंकुशतन्त्र फ्याँकेर संवैधानिक राजतन्त्र सहितको उदारवादी लोकतन्त्रको ढोका खोल्यो। तर त्यतिबेला निर्वाचित संविधानसभाबाट जनतामा सार्वभौमसत्ता रहने गरी संविधान बनाउनुपर्नेमा २०१५ सालमा राजाप्रदत्त संविधान स्वीकार गरेर संसद्को निर्वाचन गरियो र अन्ततः २०१७ सालमा राजा महेन्द्रले सैनिक ‘कु’ गरेर लोकतन्त्रकै हत्या गरे। २०४६/४७ सालको जनआन्दोलनले बहुदलीय लोकतन्त्रको पुनर्स्थापना गर्‍यो तर कांग्रेस र एमाले (तत्कालीन वाममोर्चा) ले फेरि २०१५ सालकै गल्ती दोहोर्‍याएर राजामा सार्वभौमसत्ता र राजकीय सत्ता कायम रहेको र राजाद्वारा नै जारी गरेको संविधान स्वीकार गरे।

त्यसैको विरुद्धमा हामीले सशस्त्र युद्ध शुरु गर्‍यौं। २०५९ सालमा राजा ज्ञानेन्द्रले फेरि संविधान कुल्चेर सैन्यबलमा सत्ता हातमा लिएपछि बल्ल कांग्रेस-एमालेको होश फिर्‍यो र माओवादी तथा सात राजनीतिक दल मिलेर २०६२/६३ को संयुक्त जनआन्दोलन भयो।

त्यसैको बलमा २०७२ सालमा संविधानसभाबाट ‘जनतामा निहित सार्वभौमसत्ता’ को उद्घोष गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरियो र २००७ सालबाट शुरु भएको राजनीतिक क्रान्तिलाई सापेक्ष पूर्णतामा पुर्‍याइयो।

अहिलेको आन्दोलनका नायक जेन-जी पुस्तालाई यो संक्षिप्त इतिहास किन स्मरण गराउन जरूरी ठानेको हुँ भने २००७ सालमा बीपीहरूले गरेको गल्ती र २०४६/४७ मा गिरिजा कोइराला-मदन भण्डारीहरूले गरेको गल्ली जानेर वा नजानेर अब तपाईंहरूले दोहोर्‍याउन हुँदैन।

अहिलेको आन्दोलन जनतामा निहित सार्वभौमसत्ता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान यो वा ऊ बहानामा भत्काउनको निम्ति हैन। यो संविधानका केही त्रुटि र कमजोरीहरूमा खेलेर (जसलाई मैले संवैधानिक समितिको सभापतिको रूपमा त्यतिबेलै ‘आधा गिलास भरी, आधा गिलास खाली’ संविधान भनेको थिएँ!) देशमा ब्रह्मलुट मच्चाउने र युवाहरूलाई रोजगारी र शिक्षा निम्ति विदेश लखेट्ने पुराना दलका पुराना भ्रष्ट र नालायक नेतृत्व विरुद्ध हो।

त्यस अर्थमा पुरानो सरकारको पलायन र नयाँ अन्तरिम सरकारको घोषणा सँगसँगै आन्दोलनकारीहरूको एउटा महत्वपूर्ण जीत भएको छ। तर यो पर्याप्त छैन। आन्दोलन अझै टुंगिएको छैन र त्यत्तिकै टुंग्याउन पनि हुँदैन। अझ भनौं- युद्धविराम मात्र भएको छ, युद्ध सकिएको हैन।

दुईवटा प्रमुख खतरा अझै बाँकी छन्। एकातिर, यो संविधानलाई भंग गरेर जनता र देशको सार्वभौमिकता खोस्न खोज्नेहरूबाट प्रतिक्रान्तिको खतरा। अर्कोतिर, यो संविधानप्रति ओठेभक्ति देखाएर यसको आत्मा मार्ने र यसलाई समयानुकूल परिमार्जन गर्न नदिने यथास्थितिवादीहरूबाट खतरा।

पहिलोखाले शक्तिहरू मुख्यतः दोस्रो दिनको विध्वंसकारी घटनाहरूमा योजनाबद्ध ढंगले घुसपैठ गरेर जेन-जी विद्रोहलाई बदनाम गर्ने, राज्यका प्रमुख अंगहरूमाथि आक्रमण गरेर ‘असफल राज्य’ (फेल्ड स्टेट) बनाउने, देशको अर्थतन्त्र तहसनहस पारेर जनअसन्तुष्टि अझै बढाउने र आफ्नो प्रतिक्रान्तिकारी अभीष्ट पूरा गर्ने ध्येयमा क्रियाशील भएको स्पष्ट बुझ्न सकिन्छ। तिनमा भित्री र बाहिरी शक्ति दुवैको गठजोड हुनसक्ने अनुमान गर्न सकिन्छ।

धन्न आन्दोलनकारी जेन-जी युवाहरू र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरू सबैको सद्बुद्धि र सत्प्रयासले संवैधानिक ट्रयाकबाट बाहिर जानबाट तत्काल रोकिएको छ। तर स्वत:स्फूर्त रूपमा जोडिएका लाखौं आन्दोलनकारी युवाहरूले अझै दृढताका साथ आत्मसात् गर्नुपर्छ कि कुनै पनि बहानामा नेपाली इतिहासमा पहिलो चोटि जनतामा आएको सार्वभौमसत्ता (सोभरेनेटी) गुम्यो र फेरि अरू कसैको हातमा (अर्थात् मृत राजतन्त्र, सेना, बाह्यशक्ति) पुग्यो भने त्यसलाई पुनर्प्राप्त गर्न जेन-जी मात्र हैन त्यसपछिको ‘अल्फा’ पुस्ताले समेत सारा जीवन सुम्पनुपर्नेछ। संविधानसभाको निम्ति आजीवन संघर्ष गरेको एक अभियन्ता, संवैधानिक समितिको सभापति र पूर्व प्रधानमन्त्रीको हैसियतमा आफूले प्रत्यक्ष देखेका र भोगेका अनुभवहरूको आधारमा जेन-जीका युवा साथीहरूलाई यो विनम्र आग्रह गर्दैछु।

दोस्रो खाले शक्तिहरू अर्थात् विचारको बन्ध्याकरण र नैतिकताको स्खलन भइसकेका पुराना दलहरूका शीर्ष नेतृत्व पंक्ति अहिले युवा विद्रोहको रापतापले कुना पसे पनि वातावरण अनुकूल हुने बित्तिकै उनीहरूको राज्यदोहन र भ्रष्टाचारको बलमा बनेको संगठनात्मक सञ्जाल, आसेपासे र बिचौलियाहरूको झुण्ड पुन: सक्रिय हुनेछ। उनीहरूको लुटको स्वर्गमाथि धावा बोल्ने जेन-जी अभियन्ताहरूमाथि उनका पालितपोषित भिजिलान्तेहरू प्रयोग हुने प्रारम्भिक संकेत दिइसकेका छन्। अहिलेको त्रुटिपूर्ण शासकीय स्वरूप र निर्वाचन प्रणाली कायम रहेसम्म मात्र आलोपालो राज्यदोहन गर्ने उनीहरूको ध्येय पूरा हुने भएकाले उनीहरूले यही प्रणाली अन्तर्गत चुनाव गर्न र सबै हत्कण्डा प्रयोग गरेर जनअभिमत चोर्न उद्यत हुनेछन्। यहींनेर अबको निर्वाचनमा निर्णायक हुने जेन-जी पुस्ता विचारमा स्पष्ट र ध्येयमा दृढ हुनुपर्नेछ।

अहिलेको जेन-जी पुस्ताले खोजेको भ्रष्टाचारमुक्त सुशासन र आफ्नै जीवनकालमा दिगो र समतामूलक समृद्धिका निम्ति लोकतान्त्रिक राजनीतिक स्थिरता अनिवार्य पूर्वशर्त हो। अहिलेको कचल्टिएको संसदीय शासकीय स्वरूप र निर्वाचन प्रणालीले त्यो पूरा हुन दिंदैन भन्ने गत एक दशकको अनुभवले पुष्टि गरिसकेको छ। त्यसनिम्ति संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति तथा पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद् र प्रदेशमा सोही अनुसारको मुख्यमन्त्री र प्रदेश सभाको निम्ति संविधानमा आवश्यक संशोधन गर्नु अत्यावश्यक छ।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई अन्त्येष्टिअघि नेपालको झण्डा ओढाएर सम्मान गरिँदै ।

अहिलेको आन्दोलनको रापतापको बेला यो अहम् मुद्दामा भोलिका देशका नेतृत्वकर्ता जेन-जी पुस्ताले पर्याप्त जनदबाब सिर्जना गर्न सके भने यो महत्वपूर्ण र निर्णायक राजनीतिक सुधार सम्भव छ।

जसरी आन्दोलनको बलमा संविधानमा टेकेर अन्तरिम सरकार बनेको छ त्यसरी नै पछि निर्वाचित संसद्ले अनुमोदन गर्ने गरी शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार सम्भव र अत्यावश्यक छ। अन्यथा नेपाली इतिहासको एउटा महत्वपूर्ण कोसेढुंगा बनिसकेको जेन-जी विद्रोह अन्त्यमा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तो बन्ने खतरा रहनेछ।

सारमा, अहिलेको घडीमा ऐतिहासिक जेन-जी विद्रोह महान् क्रान्ति, सामान्य यथास्थितिवाद र भयंकर प्रतिगमनको बहुसम्भावनाको सँघारमा छ। यसको वस्तुसंगत आकलन गरेर जेन-जी आन्दोलनकारी र सचेत नागरिकहरूले आ-आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्ने बेला आएको छ। महान् क्रान्तिकारी रोजा लक्जेम्बर्गले भने झैं ‘क्रान्तिमा स्वर्ण-मध्य (गोल्डेन मीन) भन्ने हुँदैन। कि त यो पूर्ण गतिमा अघि बढ्छ, अन्यथा आफ्नै वजन थाम्न नसकेर पछाडि गुल्टिन्छ र पिंधमा पुग्छ।’

अबको बाटो के ?

समाजको वस्तुगत आवश्यकताले जन्माएको तर आकस्मिक रूपमा प्रकट भएको यो जेन-जी विद्रोह नेपालको तन्किएको हलाल क्रान्ति, ऐतिहासिक रूपले गतिहीन आर्थिक-सामाजिक अवस्था, अति विविधापूर्ण भौगोलिक र जातीय बनोट, जटिल भू-राजनीति लगायतका बहुआयामिक समस्याहरूले गाँजेको नेपाली समाजलाई धक्कामूलक ढंगले अग्रगामी दिशामा लैजाने महत्वपूर्ण अवसर हुन सक्छ।

जसरी चैतको खडेरीमा सुकेर झरेका पातहरूलाई नजलाई खेतीपाती लगाउन सकिन्न, त्यसरी नै राजनीतिक क्रान्तिपछि गलित र भ्रष्टीकृत पुराना राजनीतिक दल र नेतृत्वलाई जेन-जी विद्रोहले ठूलो मुक्का प्रहार गरेको अवस्थामा देशको समग्र राजनीतिको पुनर्संरचना र भरपर्दो अग्रगामी वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने यो स्वर्ण अवसर हुन सक्छ।

बहुदलीय लोकतान्त्रिक प्रणालीमा एउटा मात्र वैकल्पिक नयाँ शक्ति नभएर युगको आवश्यकता र देशको विविधता सुहाउँदो फरक–फरक वैचारिक धार ग्रहण गर्ने बहुल शक्तिहरू वा मोर्चा/गठबन्धन हुनसक्छन्। त्यस्ता राजनीतिक शक्तिहरू उमेर समूहको मात्र आधारमा नभएर वर्ग, जाति, लिंग, उमेर समूहको उचित सम्मिश्रण र सन्तुलन सहित स्पष्ट अग्रगामी विचार, नीति, कार्यक्रमका आधारमा बन्न सक्नेछन्। त्यसनिम्ति दुई तहमा राजनीतिको पुनर्संरचना/पुनर्गठन हुनसक्ने आकलन गर्न सकिन्छ।

पहिलो, केही समयदेखि वैकल्पिक नयाँ शक्तिको पैरवी गर्दै आइरहेकाहरू र अहिले उदाएका नयाँ शक्तिहरू बीचको संवाद, सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरणबाट निर्माण हुने वैकल्पिक राजनीतिक शक्ति |

दोस्रो, पुराना राजनीतिक दल/शक्तिको रूपान्तरण, मोर्चाबन्दी र ध्रुवीकरणबाट बन्ने राजनीतिक शक्ति।

तेस्रो, वैकल्पिक नयाँ शक्तिहरू र रूपान्तरित पुराना शक्तिहरू बीचको सहकार्य, गठबन्धनबाट बन्ने राजनीतिक शक्ति  ।

जुनसुकै अवस्थामा पनि यो जेन-जी विद्रोह पछि राजनीतिक दलहरू र तिनको नेतृत्व पुरानै जडभरत रूपमा रहन सम्भव हुनेछैन। तिनले समयानुकूल आफ्नो सोच, शैली, क्षमता, आचरणलाई युगानुकूल परिवर्तन गर्नैपर्नेछ। अनि नेतृत्वमा आजीवन टाँसिने प्रवृत्ति त्यागेर निश्चित अवधिमा विधिवत् नेतृत्व परिवर्तन गर्ने र तत्कालै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ। अन्यथा नाति-नातिनाहरूले बाहिरबाट ढोका ढकढक्याइरहँदा चुकुल ठोकेर हठपूर्वक भित्र बसिरहने हजुरबा-हजुरआमाहरूलाई सबैले ‘रामराम’ भन्नु बाहेक के गर्न सकिन्छ र ?

 

लेखक
डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री समेत रहेका लेखक नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?