
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल समुद्रपार निकासी पैठारी संघले रसुवागढी र तातोपानी नाका बाढीपहिरोले प्रभावित भएपछि अन्य नाका खोल्न कूटनीतिक पहल र पूर्वाधार निर्माणमा जोड दिएको छ।
- २४ असारको बाढीले मितेरी पुल बगाउँदा रसुवागढी नाकाबाट आवागमन ठप्प भएको छ भने तातोपानी नाका दुई सातादेखि अवरुद्ध छ।
- संघले कोरला र ओलाङचुङ्गोला नाका छिटो सञ्चालनमा ल्याउन र अन्य वैकल्पिक नाका खोल्न सरकारलाई आग्रह गरेको छ।
३ भदौ, काठमाडौ । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी प्रभावित भएसँगै थप नाका खोल्न माग गरेको छ ।
वर्षायाममा वर्षेनि यी दुई नाका बन्द हुने गरेका छन् । यसले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापार प्रभावित हुने गरेको छ । संघले अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधार निर्माणमा जोड दिएको छ ।
२४ असार रातिको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको थियो । अहिले रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामान आवागमन ठप्प भएको छ । बाढीपहिरोकै कारण सिन्धुपाल्चोक तातोपानी नाका पनि दुई सातादेखि अवरुद्ध छ ।
प्राकृतिक प्रकोपका कारण अकस्मात नाका बन्द हुँदा नेपालका लागि आयात भएका मालसामान बोकेका सयौँ कन्टेनर र ट्रक बीच बाटोमै अलपत्र परेका छन् । व्यवसायी चर्को व्ययभार बोक्न बाध्य छन् ।
यो अवस्था वर्षेनि दोहोरिरहेको परिप्रेक्ष्यमा चीनसँगको आयात–निर्यात सहज बनाउन अन्य नाका खोल्नु जरुरी रहेकाले कूटनीतिक पहल मार्फत ती नाका अविलम्ब सञ्चालनमा ल्याउन र अन्य वैकल्पिक नाकामा पूर्वाधार व्यवस्था गर्न संघले सरकारलाई आग्रह गरेको हो ।
व्यवस्थापिका संसद्को विकास समितिले २०७२ सालमै उत्तरी नाकाहरूको अवस्था अध्ययन गरी कोरला र ओलाङचुङ्गोला नाका सञ्चालनमा ल्याउन सकिने सुझाव दिएको थियो ।
नेपाल र चीन सरकारका उच्च अधिकारीहरू एक दशकअघि नै द्विपक्षीय छलफलका क्रममा सातवटा उत्तरी नाका खोल्न सहमत भएका थिए । ती नाकामा तातोपानी, मुस्ताङ कोरला, संखुवासभा किमाथांका, दोलखा लामाबगर, ताप्लेजुङ ओलाङचुङ्गोला, मुगु आम्जापास, हुम्ला यारी हिल्सा र गोरखाको लार्के थिए । तर, हालसम्म रसुवागढी र तातोपानी बाहेक अन्य नाका व्यापारिक प्रयोजनका लागि खुलेका छैनन ।
कोरला नाका १२ महिना नै सञ्चालन गर्न सकिने अवस्थामा छ । कोरला नाकामा चीनतर्फ पूर्वाधार पनि तयार छ । नेपालतर्फ पनि कोरालासम्म सडक पुगिसकेको छ । ताप्लेजुङ ओलाङचुङ्गोला नाकाबाट पनि दुई देशबीचको व्यापार सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ ।
अत: यी नाका छिटोभन्दा छिटो व्यापारिक प्रयोजनका लागि खुला गर्न र व्यापारिक हिसाबले उपयुक्त अन्य नाका पनि सञ्चालनमा ल्याउने वातावरण तयार गर्न संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
आयात व्यापारमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो । पछिल्लो समय पूर्वाधार तयार भएसँगै चीनसँगको व्यापार उत्तरी नाकातर्फ सर्ने क्रम बढेको तथ्यांकले देखाउँछ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा तातोपानीबाट ५० अर्ब रुपैयाँभन्दा बढी र रसुवागढी नाकाबाट ८५ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ ।
चीनबाट चाडपर्व लक्षित सामान आयात हुने दुवै नाका बन्द हुँदा व्यापारिक गतिविधि अपेक्षाकृत बढ्न नसक्ने, आमउपभोक्ता सुपथ मूल्यमा वस्तु प्राप्त गर्नबाट वञ्चित हुने र सरकारले पाउनुपर्ने राजस्व पनि गुम्ने अवस्था रहेकोतर्फ ध्यानाकर्षण गराउँदै संघले उत्तरका थप नाका व्यापारिक प्रयोजनका लागि खुला गर्नेतर्फ अविलम्ब पहल गर्न माग गरेको छ ।
प्रतिक्रिया 4