
News Summary
Generated by OK AI. Editorially reviewed.- सामाजिक सञ्जालमा गलत सूचना र कन्सपिरेसी थ्योरी फैलिनुमा डिजिटल साक्षरताको कमी मुख्य कारण हो।
जेनजी आन्दोलनका क्रममा कसैले छतबाट पेस्तोल हानिएको छ ।
काठमाडौंका मेयर बालेनको तराईंमा रहेको पुर्ख्यौली घर तोडफोड भयो।
नेपालमा हजार र पाँच सय रुपैयाँको नोट बन्द हुँदै
यस्तो रे… त्यस्तो रे… हो रे… आदि ।
अहिले नेपालमा राजनीतिक घटनाहरू तीव्र गतिमा घटिरहेका छन् । त्यसमाथि सामाजिक सञ्जाल नहेरे केही छुटिहाल्छ कि भन्ने धारणा हाबी भइरहेको छ । डुमस्क्रोलिङ ह्वात्तै बढेको छ । यो भनेको चैं समाचारहरू हेरिरहने बानी हो ।
ठिक यस्तै बेला, एउटा झुटलाई कसैले ‘वाह ! कति रमाइलो कुरा !’ भन्दै आफ्नो साथीलाई सुनाउँछ, जसले फेरि अझै मसालेदार, अझै सनसनीपूर्ण बनाएर अरूलाई पठाउँछ । त्यो झुट सामाजिक सञ्जालमा तातो आलु बन्छ, जसलाई सबैले नचपाइकन निल्छन् । र, त्यसपछि अरूलाई पनि ख्वाउन हतारिन्छन् ।
अनि भाइरल बनेको त्यो झुटलाई मानिसहरू ‘सत्य’को ट्याग लगाएर आफ्नो ‘स्टाटस’ मा राख्छन् । यस्तो लाग्छ, मानौँ सत्यको ठेकेदारी नै उनीहरूसँग छ । तर सत्यको परीक्षण गरेको भए त ठिकै हुने, उनीहरू बिजुली गतिमा झुटा कुरालाई ‘फरवार्ड’ गर्छन् । र, समाजलाई ‘सत्यविहीन’ बनाउन लाग्छन्।
एउटा समूह-जो निरन्तर त्यस्ता समाचार उत्पादन गरिरहन्छन् । अर्को समूह-जो निरन्तर त्यस्ता समाचार पत्याएर शेयर गरिरहन्छन् । यसले समाजलाई ‘रे’मा रूमालिरहन्छ । समाज ‘रे’को पछि दौडिरहन्छ ।
यसरी ‘रे’ भाइरस फैलिँदा ‘कन्सपिरेसी थ्योरी’हरू जन्मिन सक्छन् । जसलाई सरल तरिकाले बुझ्दा कुनै घटनालाई लिएर एउटा काल्पनिक कथा बनाइनु हो । प्रायः उक्त घटनामा ‘कसैले सत्य लुकाएको छ’ भन्ने अर्थ जाने गरी प्रचार गरिन्छ ।
यस्तो झुटो सिद्धान्त बनाएपछि त्यसलाई प्रमाणित गर्न अनेकन् फन्डाहरू पनि देखाइन्छ । रचिन्छ । मानौं कि त्यो मान्छे अथवा समूहले घटनालई आँखै सामुन्ने देखेका हुन् । अनि त्यस्तै झुटा प्रमाण अथवा कथाले जनमानसलाई भ्रममा पारिरहन्छ ।
उदाहरणका लागि, सन् १९६९ मा अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमामा अवतरण गरेको घटनालाई धेरैले षड्यन्त्र मान्छन् । उनीहरू मानव चन्द्रमामा पुग्नुलाई हलिउड स्टुडियोमा रचिएको नाटक हो भनेर तर्क गर्छन्।
त्यस्तै सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतङ्कवादी हमलालाई लिएर पनि थुप्रै षड्यन्त्रका सिद्धान्तहरू छन् । केहीको विश्वास छ कि, यो हमला कुनै विदेशी आतङ्कवादी समूहले नभई अमेरिकी सरकार आफैँले गराएको थियो, ता कि मध्यपूर्वका देशहरूसँग युद्ध गर्ने बहाना मिलोस् ।
नेपालकै कुरा गर्दा हालै भएको जेनजी आन्दोलनलाई लिएर पनि विभिन्न कन्सपिरेसी थ्योरी जन्मिन थालिसकेका छन् । कतै फलानो देशको योजना हो भनिएको छ, कतै ढिस्कानो समूहले गरेको हो भनिएको छ । तर यथार्थ र सत्य अर्कै हुन सक्छ ।
अध्ययन कम प्रतिक्रिया बढी
यस्ता भ्रम मुख्यतया शहरमा विकास हुने र इन्टरनेट तथा सामाजिक सञ्जालका कारण गाउँ-गाउँसम्म फैलिने समाजशास्त्री डा.मीना पौडेल बताउँछिन् । फैलनुको प्रमुख कारण भने नेपाली समाज चरम निराशाको चरणबाट गुज्रिनु भएको उनको विश्लेषण छ ।
‘समाज अहिले सामाजिक-सांस्कृतिक संक्रमण र निराशाको अवस्थामा छ,’ उनी भन्छिन्, ‘यस्तो बेला मानिसहरू सकारात्मक र रचनात्मक कुरामा भन्दा निराशालाई नै बढावा दिने हल्ला र आक्रोशमा छिटो आकर्षित हुन्छन् ।’

मानिसहरूमा यति धेरै कुण्ठा छ कि त्यसलाई पोख्नका लागि सामाजिक सञ्जाल एउटा सजिलो माध्यम बनिदियो । त्यसमाथि आर्थिक समस्या र बेरोजगारीले ग्रस्त युवा पुस्ता जब उत्पादनमूलक काममा व्यस्त हुन पाउँदैनन्, तब उनीहरू आफ्नो आक्रोश, रिस र बदलाको भावना पोख्ने भाँडोको रूपमा सामाजिक सञ्जाललाई प्रयोग गर्छन् ।
अर्कोतिर त्यस्ता जमातले उरालेको निराशा र कुण्ठालाई पठन संस्कृतिको अभावका कारण आम मान्छेले सजिलै पत्याइदिन्छन् । मानिसहरूले अध्ययन र अनुसन्धान गरेर आफ्नो धारणा बनाउनुको सट्टा सामाजिक सञ्जाल र पत्रपत्रिकाका हेडलाइन हेरेर धारणा बनाउने गर्छन् ।
‘हामीकहाँ कागले कान लग्यो भन्दैमा कागको पछि दौडिहाल्ने प्रवृत्ति छ’ समाजशास्त्रीपौडेल भन्छिन्, ‘आफ्नो कान छ कि छैन भनेर जाँच्दैनौँ । कुनै पनि सूचना सही हो वा गलत भनेर गहिराइमा पुगेर तथ्य र प्रमाण खोज्ने हाम्रोमा बानी छैन किनकी हामी प्रतिक्रियात्मक छौं ।’
डिजिटल साक्षरताको कमी
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक एवं विश्लेषक डा. दिपेश घिमिरे सामाजिक सञ्जाल र केही अन्य सञ्चारमाध्यमका कारण गलत सूचना र दुष्प्रचार तीव्र गतिमा फैलिरहेको बताउँछन् । यसको सबैभन्दा ठूलो कारण डिजिटल साक्षरताको कमी भएको उनको बुझाइ छ ।
‘आम नागरिकलाई मूलधारका मिडिया र युट्युब जस्ता वैकल्पिक मिडियाबीचको भिन्नता थाहा छैन’ डा.घिमिरे भन्छन्, ‘मूलधारका मिडियामा धेरै तहको सेन्सरसिप र तथ्य जाँच हुन्छ, तर युट्युब जस्ता प्लेटफर्ममा यस्तो कुनै प्रक्रिया हुँदैन ।’

अहिलेको एआई प्रयोग गरेर कृत्रिम रूपमा बनाइएका भिडियो र फोटोलाई पनि पनि वास्तविक मानेर विश्वास गर्ने जमात ठूलो रहेको घिमिरे बताउँछन् । त्यसले गर्दा सही र गलत छुट्याउन झनै कठिन भएको उनको बुझाइ छ ।
उनका अनुसार गलत सूचना फैलाउने दुई प्रवृत्ति छन् । पहिलो, अञ्जानमा फैलाउनेहरू । यस्तो समूहका मान्छेहरूले सूचनाको स्रोत र सत्यता नबुझीकनै त्यस्ता कुरालाई प्रचार गरिरहेका हुन्छन् । जो प्राय: गल्तीले गरिरहेका हुन्छन् । जसलाई सही शिक्षा दिइयो भने सुधार्न सकिन्छ ।
दोस्रो, जानेरै फैलाउनेहरू । यसमा निश्चित स्वार्थ, आर्थिक लाभ वा कुनै समूहको प्रतिष्ठामा आँच पुर्याउन योजनाबद्ध रूपमा मान्छेहरू लागेका हुन्छन् । यस्ता व्यक्तिहरूलाई शिक्षाले मात्र नपुग्ने हुँदा कानुनी दायरामा ल्याएर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
‘रे’ संस्कारबाट नेपाली समाजबाट मुक्त गर्न उनी औपचारिक शिक्षा प्रणालीमै सुधार गर्नु पर्ने उनको सुझाव छ । यदि अहिलेदेखि नै बालबालिकालाई डिजिटल साक्षरता र गलत सूचना पहिचान गर्ने व्यावहारिक ज्ञान दिन सके भविष्यमा ‘रे’ संस्कार धेरै कम हुन सक्छ ।
तथ्य जाँचको महत्त्व
लेखको सुरुमै उल्लेखित मिथ्या तथा भ्रामक सूचनाहरू बाट बच्न तथ्य जाँच निकै महत्त्वपूर्ण सावित हुन्छ । तर बिडम्बना के छ भने तथ्य जाँच गर्न समय लाग्छ । अनि कुनै घटनाको तथ्य गरिनसक्दै अरू मिथ्या तथा भ्रामक सूचनाहरू फैलिसकेका हुन्छन् । त्यसमाथि जसरी मिथ्या सूचना फैलिन्छ, त्यसरी तथ्य जाँच फैलिन्छ ।
नेपाल फ्याक्ट चेकरका तथ्यजाँचकर्ता चेतना कुँवर यी कुरामा सहमत छिन् । ‘सामाजिक सञ्जालमा फैलिने गलत सूचनाको तुलनामा त्यसलाई जाँचेर सत्यतथ्य बाहिर ल्याउने काम निकै ढिलो भइरहेको छ किनकि तथ्य जाँच गर्न समय लाग्छ’ कुँवर भन्छिन्, ‘तर त्यतिबेलासम्म गलत सूचनाले ठूलो क्षति गरिसकेको हुन्छ ।’
उनका अनुसार नेपालमा तथ्य-जाँच गर्ने संस्थाहरू कम हुनु एउटा समस्या हो । तर त्यसभन्दा बढी उनी नागरिकमा सचेतनाको कमी हुनुलाई समस्या मान्छिन् ।

‘कुन सूचना सही हो र कुन गलत हो भनेर छुट्याउने ‘मिडिया साक्षरता’ को अभावले गर्दा मानिसहरू सजिलै भ्रममा पर्छन्’ कुँवर भन्छिन्, ‘कस्तो सम्म अवस्था छ भने धेरै मानिसहरूलाई ‘फ्याक्ट-चेकिङ’ भन्ने समेत थाहा हुँदैन ।’
तथ्य जाँच गर्ने संस्थाहरूको संख्या बढाउनुभन्दा पनि आम नागरिकमा यस्ता भ्रामक सूचनाबारे सचेतना बढाउनु बढी प्रभावकारी हुन्छ उनी बताउँछिन् ।
त्यस्तै कतिपय अवस्थामा भएका तथ्य जाँच गर्ने संस्थाहरू आफैँ पनि विभिन्न चुनौतीसँग जुधिरहेको उनी सुनाउँछिन् । सीमित स्रोत, साधन र आर्थिक अभावका कारण भिडियो जस्ता प्रभावकारी माध्यमबाट तथ्य जाँ गरिएका सामग्रीहरू आम मानिससम्म पुग्न नसकिरहेको उनी सुनाउँछन् ।
समग्रमा आम नागरिकमाझ मिडिया तथा सूचना साक्षरता नबढाइकन समाज ‘रे’को पछि लागिरहने विज्ञहरूको निष्कर्ष छ ।
प्रतिक्रिया 4