+
+
Shares
विचार :

आउने दिनका चिन्ताहरू

चिहानबाट उठेर स्यालहरू बदलाको लाठो लिएर दिउँसै शहरका छातीमा कुद्न थालेका छन् । अस्ति भर्खरको बलिदानलाई गलत थियो भन्ने कसरतमा महाकाव्यहरू रचिन थालेका छन् ।

झलक सुवेदी झलक सुवेदी
२०८२ असोज ८ गते ८:१६

मेरा यह दिन भी

खो गया

बाँकी और दिनों की तरह

आधा बीते कल के बारे में सोचते गुजरा

आधा आने वाले कल के !

– अब्बास कियारुस्तमी, इरानी कवि तथा सिने निर्देशक

के तपाइँले अब्बास कियारुस्तमीका सिनेमाहरू हेर्नुभएको छ ? कमसेकम टेस्ट अफ चेरी मात्रै किन नहोस् ! नहेर्नुभएको भए अवश्य केही गुमाउनुभयो तपाइँले । अझै जीवन बाँकी छ जस्तो लाग्छ भने हेर्नुहोला । र जीवन आजै त्यागौं जस्तो लागेको छ र कुनै उपाय देख्नुभएको छैन भने झन् आजै हेर्नुहोला ।

मान्छे किन बाँच्न चाहन्छ र केले उसलाई बाँच्न लगाउँछ भन्ने गुत्थी खोज्न सिकाउँछ यसले । एउटा सम्पन्न उच्च मध्यमवर्गको व्यक्ति आत्महत्या गर्ने निर्णयमा पुग्छ । तेहरानको कुनै विरानो उजाड पहाडी ढलानमा आफ्ना लागि आफैं एउटा चिहान या खाडल खन्छ । र, मर्ने निश्चित गर्छ ।

तर उसलाई आफ्नो लाश यसै गिद्धले नखाओस् या कसैले नदेखोस् भन्ने चाहना हुन्छ । र ऊ आफू मरेपछि त्यो खाडलमा माटो हालेर पुरिदिने मान्छे खोज्न निस्कन्छ । अनेक मान्छे भेट्छ । कुस्त पैसा दिन्छु मेरा लागि त्यति गरिदेऊ भन्छ । तर कोही मानिहाल्दैन ।

अन्तिममा एउटा आत्महत्या गर्न गएर फर्केको व्यक्ति मात्र उसको लासमा माटो हाल्दिन तयार हुन्छ तर उसले यसरी आफ्नो कथा भन्छ कि आत्महत्या गर्न तयार भएको मान्छेको मन बदलिन थाल्छ । र त्यसबीचमा दृश्य र संवादमा जे–जे देखापर्छ त्यसै मार्फत उसले मान्छेको जिजीविषाको गूढ रहस्य बताउँछ ।

जतिसुकै दु:ख भए पनि आत्महत्या गर्न जाउँ–जाउँ लागे पनि मान्छेभित्र त्यस्तो एउटा क्षुधा हुन्छ जिजीविषाको, भोगको, खोजीको कि त्यसले मानिसलाई आफैंले खनेको चिहानबाट पनि फर्कन लगाउँछ ।

झलक सुवेदी

हामी पनि निराशाको एउटा अँध्यारो ओढारभित्र फसेका छौं । यति धेरै हाम्रा धरोहरहरू खण्डहर हुँदा पनि र मन यसै–यसै भाँचिंदै फाट्दै गरे पनि बाँच्नु र उठ्नु छ त्यही सिनेमाको एउटा पात्रले जस्तै ।

टेस्ट अफ चेरी अर्थात् चेरीको स्वादले आत्महत्या गर्नबाट एउटा मान्छे फर्कन्छ र टिपेर ल्याएका चेरी खाँदा खुशी भएकी पत्नीको खुशीबाट सन्तुष्ट हुन्छ । पत्नीलाई थाहा छैन कि उसको लोग्ने आत्महत्या गर्न गएको थियो । हामीलाई पनि अहिले चेरीको त्यस्तै स्वाद चाहिएको छ कि आम मानिसलाई निराशा र पलायनबाट फर्कने गरी जीवनप्रतिको आशा जगाउन सकियोस् ।

उनै कियारुस्तमी कवि पनि हुन् भन्ने बल्ल थाहा पाउँदैछु म । माथि उद्धृत उनको कविता जस्तै मेरा दिनहरू पनि बितेको समय बारेका कुरा गोजेरोबाट उकेलेर चपाउँदै बित्छ आधा जति र आधाजति बित्छ भोलि आउने भविष्यका बारेमा घोत्लिंदै । बितेका समयका त केही ठोस आकार हुन्छन् । के गरियो, के भोगियो, के देखियो भन्ने एउटा चित्र हुन्छ चल्ने, हिंड्ने र बोल्ने आफ्नै शारीरिक र मानसिक तरंगहरूको संग्रह ।

आगतका चित्र तपाईंले भोगे–देखेको विगतबाटै झिकेर सजाइएको रुमानी कल्पना जस्ता हुन् जसको निश्चित आकार हुँदैन । जता लगे पनि हुन्छ । जस्तो बने–बनाए पनि हुन्छ । र पनि त्यसका केही इँटाका धमिला धर्साहरू भने अवश्य हुन्छन् ठोस । ती सबै जीवन भोगाइको विगतकै निरन्तरता जस्ता हुन् ।

अनुभवहरूबाट बनेका, भोगेका, सुनेका, देखेका, पढेका कुराले बनाइएको यस्तै हुनसक्छ भन्ने एउटा ठोस अवस्थाको तरल कल्पना । तपाइँ पनि त आफ्नो समय त्यसरी नै हिजोका सुख–दु:ख, खोजेका र हासिल भएका इच्छाहरू, अधुरा र दुर्घटित रहेका सपना र योजनाहरूका बीच आधा–आधा बाँडेर तिनका वरपर चक्कर काटेर बिताउनु हुँदो हो ! यस्ता सपना र चाहनाहरू निजी पनि हुनसक्छन्, पारिवारिक र समाज या देशका पनि हुनसक्छन् ।

पछिल्ला दिनमा, गत भदौ २३ को घटनामा आफ्नो जीवन बलि दिएका युवा र किशोर तथा तिनका अभिभावकको मनोदशा मेरा दिन बिताउन मद्दत गरिरहेका या विशादतिर धकेलिरहेका सम्झना र दृश्यहरू हुन् । पत्रपत्रिका, सञ्जालहरूमा ती अबोध किशोर–किशोरीका तस्बिरहरू आइरहेका छन् ।

सरकारले एकदिन शोक मनाएर र तिनका परिवारलाई केही रकम दिएर आफ्नो कर्तव्य पूरा गरेको छ । त्यस अगाडि उनीहरूको ससम्मान अन्त्येष्टि गरिएका दृश्यहरू टेलिभिजनका पर्दा हुँदै हाम्रा घर–घरमा पुगेका थिए । स्मार्ट फोनका स्क्रिनहरू हुँदै लाखौं मान्छेका हातहातमा तिनका आफन्तजनका हृदयविदारक पीडाहरू पुगेका थिए । तिनका नाममा मैनबत्ती बालेर श्रद्धाञ्जली र सम्मान व्यक्त गरिएका छन् ।

तिनका साहस, वीरता र देशका लागि तिनले गरेको योगदानको चर्चा गरिएको छ । यस्तो हुँदै आएको छ । हामीले आफ्नो सामाजिक ज्ञानको आरम्भ नै १९९७ सालका चार शहीदका गाथा पढेर आरम्भ गरेका थियौं ।

कितनी मधुर होती है युद्धभूमि की कहानीयाँ,

कितनी सहज प्रशंसा और स्याबासी की चिखें ।

कितना आनन्ददायक है निडर मर्दों की चर्चा करना,

और सुनाना उनके वीरतापूर्ण जीवन की किंवदन्तियाँ ।।

कितने सुखदायक है कानों के लिए पुराने गीत,

और कुमारीयों द्वारा दुहराये जाते शेरदिल युवाओं के नाम ।

कितने गर्व के साथ आती है सुन्दर लडकियाँ झुण्ड में,

फूलों के गुच्छों की भाँति, शहिदों की मजारों पर ।।

पस्तुन (अफगान) कवि अब्दुल जहानी बारीको कविताका हरफहरूले भन्छन् बलिदान र साहसका गाथा कसरी गाइन्छ । सम्भवत: यो मान्छेको जातिले आफ्नो सुरक्षाका खातिर, स्रोतहरूमाथि नियन्त्रण, जातीय अस्तित्वको निरन्तरता र भोग तथा रजाइँका लागि आवश्यक पर्ने बलिदानको मनोविज्ञान निर्माण गर्न कथेको न्यारेटिभ हो । जुन हजारौं वर्ष यता मान्छेले युद्ध गर्दा हुने अनिवार्य क्षतिको पूर्तिका लागि, समाजलाई त्यसको सामना गर्न तयार पार्नका लागि प्रयोग गर्दै आएको छ ।

महाकाव्य रचना गर्ने कविहरू, गीतकार, आशुकवि र लोक श्लोक बनाउने गन्धर्वहरू सबै यसमा सामेल छन् । महाभारतको कथामा कृष्णले अर्जुनलाई सम्झाउँदै आफ्ना निकटहरूको हत्या गर्न उक्साउँदा प्रयोग गरेको कर्तव्यको भाषा पनि त त्यस्तै छ ।

मान्छे कसरी यति निष्ठुरी हुनसकेका ? यसले स्त्री जातिको पहिचानलाई परम्परागत मान्यताको खोरबाट बाहिर निकालिदिएको छ ।

अहिले त पत्रपत्रिका, समाचार कक्ष, गोलीबारी लाइभ गरिरहेका युट्युबर या सञ्जाल प्रयोगकर्ता, फोटोग्राफर, टेलिभिजन र रेडियोकर्मीहरू यसको भिजुअललाई अझ शक्तिशाली बनाउँदै छन् । नवयुवा (अब बलिदानको कथ्यमा लैंगिक विभेद स्वीकार्य छैन । पहिले थियो, किनभने पुरुष नै मोर्चामा जान्थ्यो, पुरुष नै बलि चढ्थ्यो महिलाहरू त्यसका परिणाम भोग्थे र विरहमा जीवन बिताउँथे । भोग्य वस्तुका रूपमा यताबाट उता लतारिन्थे, तिनका बलिदानका गाथा गाइन्नथे विरहका गाथा भने गाइन्थे । हाम्रा पौराणिक या काव्यिक गाथाका कुन्ती, सीता र द्रौपदीहरू यसका उदाहरण हुन्) यो मनोविज्ञानबाट प्रेरित हुन्थे ।

यतिबेला बानेश्वरमा राज्यले वर्षाएको गोली खाएर ढल्नेमा युवतीहरूको नाम पनि छ जसरी माओवादी युद्धमा मोर्चामा ढल्नेहरू केवल पुरुष मात्र थिएनन् । हाम्रै इतिहासमा पनि २००४ सालमै राणाहरूसँग आँखा जुधाउने साधना, साहना या मंगलादेवीहरू, २०१७ पुसमा राजा महेन्द्रका कदम विरुद्ध माइकिङ गर्ने शैलजा आचार्य, रत्नकुमार वान्तवा मारिएपछि पक्राउ परेर पनि प्रहरीको घेरा तोडेर भाग्ने सुशीला श्रेष्ठ या २०४६ सालमा प्रहरीको यातना खाएकी लक्ष्मी कार्की र उनका साथीहरू ।

विद्यार्थी कालमा राजनीति गरे पनि प्राध्यापनबाट रिटायर्ड भएर सामान्य जीवन बिताइरहेकी तर पूर्वप्रधानमन्त्रीकी पत्नी भएकै कारण अग्नि दाहमा पारिएकी रवि चित्रकारको डढेको शरीर र शक्तिको निरन्तर केन्द्रमा रहेर यतिबेलै परराष्ट्र मन्त्री रहेर पनि चुटाइ खाँदै गरेकी आरजु देउवाको अवस्थाप्रति दु:ख लागेर आउँछ ।

मान्छे कसरी यति निष्ठुरी हुनसकेका ? यसले स्त्री जातिको पहिचानलाई परम्परागत मान्यताको खोरबाट बाहिर निकालिदिएको छ । यस्तो गाथा र किस्सा हामी इतिहास या महाकाव्यहरूमा पाउँछौं तर त्यो मूल प्रवृत्तिका रूपमा स्वीकार्य थिएन ।

कसैले पहिलो पटक थमाएको झण्डा हातमा लिंदा तपाईं अवश्य पनि एकछिन सकपकाउनुभएको हुनुपर्छ प्रेमीको पहिलो स्पर्शबाट एकैपटक समर्पणको सुख र भविष्यका प्रतिको भयको द्वन्द्वग्रस्त मनोदशामा पुगेकी युवतीका झैं ।

२०३६ वैशाख ११ गते पोखरामा भएको प्रदर्शनमा भाग लिंदा म १६ वर्ष पुगेकै थिइनँ । पहिलो पटक प्रहरीले हानेको अश्रुग्याँसको पिरोले अत्तालिनु अगाडि मैले अश्रुग्याँस भन्ने सुनेको पनि थिइनँ । प्रहरीको लाठी खाँदा मलाई त्यस्तो गोरु चुटाइको अनुभव कहिल्यै भएकै थिएन ।

के हाम्रो समाज यति अविवेकी बन्दै गएको हो ! हाम्रो राज्य कति निम्छरो भएको आफ्नो इतिहासका धरोहर र वर्तमानको प्रतिष्ठा जोगाउन नसक्ने गरी ?

म एउटा भय र उत्तेजनायुक्त साहस लिएर त्यहाँ पुगेको थिएँ । अहिले जेन–जी पुस्ताका किशोर र युवायुवतीले जुन बलिदान गरे शायद तिनीहरू सबैजसो पहिलो पटक विद्रोहको झण्डा मनभित्र बोकेर एउटा कौतूहलता, वीरताको त्यही ऐतिहासिकताले तताउँदै उमालेको रगतले दिने उत्तेजना, दमन र अनिश्चित भविष्यको भय लिएर त्यहाँ पुगेका हुँदा हुन् ।

र, तिनले ढल्नु अगाडि (अझै पनि अस्पतालका बेडमा घाउ पुरिने समय पर्खिबसेकाहरू समेत) कस्तो पीडा व्यहोरेका होलान् ? पत्रपत्रिकामा लेखिए जस्तो सहज हुनेछैन घाइतेहरूको भविष्य । सिंहदरबार सर्वोच्च अदालत जलेका दृश्यहरू । भाटभटेनी, लेकसाइडका सरोवर, बगैंचा, वरपीपल लगायतका व्यापारिक प्रतिष्ठान, सतुंगलको सीजी उद्योग प्रतिष्ठान जलेका दृश्यहरू । अनेक नेता र व्यावसायिक घरानाका निजी आवासमा गरिएको लुटपाट र आगजनी । पार्टी कार्यालय र सार्वजनिक संस्थाहरूको सरकारी कार्यालयहरूमा भएको विध्वंस । खरानी बनिरहेका अनेक सपना र दुर्घटनाग्रस्त अर्थतन्त्रको चित्र ।

के हाम्रो समाज यति अविवेकी बन्दै गएको हो ! हाम्रो राज्य कति निम्छरो भएको आफ्नो इतिहासका धरोहर र वर्तमानको प्रतिष्ठा जोगाउन नसक्ने गरी ? यति लामो समय राज्यको नेतृत्व गरेका हाम्रा आफ्नै नेता र राजनीतिक दलहरूले कति गैरजिम्मेवार र कमजोर बनाएका हुन् हाम्रा सुरक्षा संयन्त्रहरू ? कति निकम्माहरूलाई हामीले विश्वास गरेका रहेछौं देश बनाउँदैछन् भनेर ?

राजनीतिले आफ्नो कोल्टे फेर्नेछ । नयाँ पात्र र अनुहारहरू फेरि वाक्कलाग्दो गरी उपदेश छाँट्दै घरघरका टिभी पर्दाहरूमा पुगेका देखिने छन् । कचिंगल उस्तै हुने–रहनेछ शक्तिका दरबार र महलहरूमा ।

र कसैले देख्ने छैन वास्तवमा शहीदकी आमाको खण्डित हृदय । युवा विधवाहरू या तिनका सन्तानहरूको बर्बाद भएका जीवन । टुटेका सपनाहरूको उरुङ । वीरताको गाथा लेख्ने कविहरू र शेरका झैं साहसयुक्त मन भएका युवाको बारेमा गीत गाउने युवतीहरूले यी सबै अनुभूति गरेका हुन्नन् । जस्तो कि माथिकै कविताको सिलसिलामा जहानी बारी भन्छन् :

क्या किसी ने देखा शहीद की माँ का खण्डित हृदय ?

क्या साक्षी रहा कोई उसकी युवा विधवा के बर्बाद जीवन का ?

क्या किसी ने ठोकर खायी टूट चुके हजारों स्वप्नों के ढेर से ?

क्या उस कवि ने, जो लिखता है जंजीरोें और बेडियों के बारे में,

महसूस की है रात्रि में कालकोठरी की ठण्डक ?

–अब्दुल जहानी बारी, अफगान (पस्तुन) कवि,

(दुवै कविताको स्रोत: अन्वेषा वार्षिकी, २०२४)

हो अचेलका मेरा दिन यसरी नै बितेका छन् । म पनि यो बलिदानमा लामबद्ध किशोर र युवायुवतीको सम्मानमा शिर निहुराउँछु । उनीहरूका व्यक्तिगत कठिनाइ र परिवारले व्यहोर्नुपर्ने सम्भावित कष्ट आमा र प्रेमी–प्रेमिकाहरू या सन्तानहरूको उराठ हुने जीवनबारे म चिन्ता त गर्छु तर त्यो विल्कुल गौण बन्छ ।

म देखिरहेको छु बलिदान पछि पुरानै कुशासनको प्रशंसामा गाइएका गीतको कर्कश ध्वनिले उपत्यका प्रदूषित गरिरहेको छ ।

मलाई तिनले हाम्रो राजनीतिको गोर्डियन गाँठो छिनाल्न आफ्नो मुटु रेटेका हुन् जस्तो लाग्छ । हामी आफैंले अनेक अवसर पाएर पनि काट्न छिनाल्न नसकेको कुशासन चक्र बनेको गोर्डियन नट । नेतृत्वको दम्भ र अहंकारको शिकार भएको हाम्रो गणतन्त्र र लोकतान्त्रिक पद्धतिमा परेको गोर्डियन गाँठो ।

यसलाई कसै न कसैले छिनाल्नु थियो किनभने फुकाउने अनेक प्रयास विफल भइसकेका थिए । जेनजी पुस्ताकाले यसलाई छिनाइदिए आफूलाई बलि दिएर । आउने पुस्ता उनीहरूप्रति सदा ऋणी रहनेछ । (हामी त अब इतिहासको एउटा कुनामा बसेर गन्गन गर्ने दाँत झरेको वृद्ध झैं हुन पुगेका छौं जेनजीको सापेक्षतामा ।)

र मलाई थाहा छ आउने पुस्ताको नवयुवाले पनि आफूलाई यस्तै बलिदानको लागि तयार नगरी यो समाज यति सहजै रूपान्तरित हुनेछैन । नेपालीहरूले चाहेको जस्तो आर्थिक तथा सामाजिक अवस्थाहरूमा सहजै परिवर्तन आउने छैन । वर्गीय शोषण र विभेदका गोर्डियन नटहरू काटिने छैनन् । विश्वभर बढ्दो अर्थ–राजनीतिक संकट र शक्तिहरूको टकराहट युरोपदेखि एशियासम्म धर्म, जाति या रंगका आधारमा गरिने विभेद, बसाइँसराइका प्रति, शरणार्थीका प्रति गरिने विभेदमा देख्न सकिन्छ ।

कुनै पनि बेला झन् ठूलोस्तरको युद्ध हुनसक्छ जसले हाम्रो जीवनको लय भत्काउने छ । नयाँ सरकारको अर्थनीति आम गरिबहरूलाई राज्यले संरक्षण गर्ने छाँट छैन । सरकारी खर्च घटाउन नयाँ–नयाँ अष्टेरिटीका नीति लिने जोखिम देखिंदैछ । पूँजी पलायन हुने, नयाँ लगानीका लागि उद्योगी व्यवसायीहरू हतोत्साही हुने संकेत आइसकेका छन् ।

यसले रोजगारीका अवसर घटाउनेछ । आम्दानीको खाडल विस्तार गर्नेछ । अहिलेकै गरिबहरू थप सीमान्तमा धकेलिनेछन् अनि निम्न मध्यमवर्गको एउटा तप्का गरिबीमा धकेलिनेछ । म आफ्नै भविष्यप्रति निश्चिन्त छैन । ६ महिना पछि के हुनेछ भन्ने अनुमान गर्न गाह्रो छ । थप नयाँ संकटले हामीलाई पर्खिरहेको जस्तो देखिन्छ ।

म देखिरहेको छु बलिदान पछि पुरानै कुशासनको प्रशंसामा गाइएका गीतको कर्कश ध्वनिले उपत्यका प्रदूषित गरिरहेको छ । चिहानबाट उठेर स्यालहरू बदलाको लाठो लिएर दिउँसै शहरका छातीमा कुद्न थालेका छन् । अस्ति भर्खरको बलिदानलाई गलत थियो भन्ने कसरतमा महाकाव्यहरू रचिन थालेका छन् ।

प्रकारान्तरले नै किन नहोस्, दमन गर्नु ठिक थियो भन्ने स्तुतिगायनको कोरस सुनिन थालेको छ । अनिष्टपूर्ण देखिन थालेकोे भोलि सम्झेर मेरा दिनहरू खेर गइरहेका छन् ।

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?