
११ वैशाख, काभ्रे । ०७२ सालको विनाकारी भूकम्पले क्षतविक्षत धुलिखेलको सञ्जीवनी माविको पुनर्निर्माण सकिएको छ । बुधबार विद्यालयको नयाँ भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
भूकम्पपछिको पुनर्निर्माण गरिएका संरचनामध्ये प्रधानमन्त्रीले उद्घाटन गरेको यो पहिलो संरचना हो ।
एसियाली विकास बैंकको १० करोड १४ लाख रुपैयाँ सहयोगमा निर्माण भएको भवनमा कक्षाकोठा, छात्रवास, प्रशासनिक गरी ४ वटा भवनमा ४८ कोठा छन् ।

१२ वटामा छात्रावास, १२ वटामा प्रशासनिक कार्यालय र २४ वटा कक्षा कोठाका रुपमा प्रयोग गरिने विद्यालयका सहायक प्रधानध्यापक लोकेन्द्र ढकालले जानकारी दिए ।
एसियाली विकास बैंकले नयाँ भवनमा २ सय ८८ विद्यार्थीलाई पुग्ने नयाँ फर्निचर समेत व्यवस्थापन गर्ने भएको छ ।
टहरालाइ बाईबाई
चार वर्षसम्म टहरामा पढ्न बाध्य भएका धुलिखेलका विद्यार्थीहरुले टहरालाई यस नयाँ शैक्षिक सत्रबाट विदाइ गर्ने भएका छन् । विसं. २००६ सालमा स्थापना भएको यस विद्यालयको भुकम्पका कारण ५२ वटा कक्षा कोठा पूर्ण रुपमा क्षति भएको थियो भने ११ वटा कक्षा कोठा आंशिक क्षति भएका थिए ।
ती ११ वटा कक्षा कोठा हाल रेट्रोफिटिङ गरेर साइन्स ल्यावका रुपमा प्रयोग गर्न थालिएको छ । कक्षा नौबाट प्राविधिक शिक्षा समेत अध्यापन गराइने यस विद्यायलमा हाल ७ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानध्यापक सानुकाजी महतले बताए ।
‘सम्झौताको १८ महिना मै विद्यालय निमार्ण हुदा हामी मात्रै होइन् जस्ताको टहरामा पढ्न बाध्य विद्यार्थीको खुसिको सीमा छैन’ उनले भने, ‘अब भूकम्पको चार वर्षसम्म हामीले टहरामा नै अध्यापन गरायौं, झरि, जाडोमा धेरै नै कठिन भयो, सरकारले देशभर २४० नमुना छनौट गर्दा, हाम्रो विद्यालय पनि प¥यो, हामी भाग्यमानी रहेछौं, अनि हामीले अहिले भुकम्प भुल्नेबाटो पायौं ।’
हाम्रो परिचय फेरौं : प्रधानमन्त्री
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुले विदेशमा अपमानजनक व्यवहार भोगिरहेको भन्दै अब त्यो परिचय फेर्नुपर्ने बताए ।
‘हामी शिक्षित हुदा सारा संसार अँध्यारोमा थियो तर अहिले हामी कता छौँ ?’ उनले प्रश्न गरे ‘आज जुन परिचय छ, निरक्षर, निरपेक्ष गरिबी, भोका नाँगाहरु काम नपाएर बाहिर जान बाध्यता, अब यो परिचय फेरौँ र हामीले विदेशमा योग्यता भएका, विज्ञता भएका प्राविधिकहरु, त्यहाँ सीप सिकाउन पठाउन जाने परिचय हामीले बनाउन लागि परौँं ।’
प्रधानमन्त्रीले देशको विकास र समृद्धिका लागि शैक्षिक क्षेत्रको महत्वपुर्ण भुमिका रहने भन्दै त्यसका लागि गुणस्तरीय शिक्षामा ध्यान दिने बेला आएको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल पुनर्निर्माणको यात्रामा धेरै अगाडि बढिसकेको बताए ।
प्रतिक्रिया 4