+
+

कांग्रेस बैठकमा निर्वाचन क्षेत्रको बजेट बढाउने विषयमा छलफल

भ्रष्टाचारको मुद्वा उठाउन देउवाको निर्देशन

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ वैशाख १५ गते २०:२८

१४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाउनुपर्ने विषय उठेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकमा सांसदहरुले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको विषयमा सरकारको धारणा माग गर्ने र बजेट बढाउनुपर्ने विषयमा छलफल भएको हो ।

हाल प्रतिनिधिसभाका निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्रमा योजना छनोट गर्न सक्नेगरी निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमका नाममा ४ करोड रुपैयाँ  खर्च गर्न पाउने व्यवस्था छ ।

सरकारले आगामी बजेटमा यो कार्यक्रमलाई अगाडि बढाउने हो कि होइन । सरकारले के सोचिरहेको छ यसबारे धारणा माग गर्ने विषय उठेको कांग्रेस नेता मिनेन्द्र रिजालले  बताए । ‘सरकारले यो कार्यक्रम हटाउँछ कि ल्याउँछ कि, परिस्कृत गर्छ कि, त्यो जान्न पाउनुपर्‍यो भनेर मैले पनि कुरा राखेको हुँ ।’

केही सांसदले प्रत्यक्ष निर्वाचित सांसदलाई पुर्वाधार विकासका नाममा बजेट दिने समानुपातिक सांसदलाई नदिने गर्दा विभेद हुने भन्दै दुबैलाई दिनुपर्ने धारणा राखे । बैठकमा सहभागी एक सांसदले भने, ‘केही साथीहरुले ‘यो कार्यक्रम प्रत्यक्ष र समानुपातिक दुबैका लागि लागू हुनुपर्‍यो र पूर्वाधार विकास अन्तर्गत विनियोजन हुने रकम पनि बढाउनुपर्छ भनेर राख्नुभएको छ ।’

बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विषयमा सरकारको धारणा के छ ? भनेर केही सांसदहरुले कुरा बैठकमा राखेको जानकारी दिए ।

भ्रष्टाचारको मुद्वालाई दरिलो बनाउन सभापति देउवाको निर्देशन

बैठकमा सभापति शेरबहादुर देउवाले भ्रष्टाचारको मुद्धालाई बलियोसँग उठाउन सांसदहरुलाई निर्देशन दिएका छन् ।

‘अन्तिममा सभापतिले भ्रष्टाचार र जग्गा खरीद प्रकरणमा भएका अनियमितताको विषयलाई दरिलोसँग उठाउन निर्देश गर्नुभयो’ बैठकमा सहभागी एक सांसदले भने ।

बैठकपछि पत्रकारसँग प्रमुख सचेतक खाँडले पनि वालुवाटारको जग्गा भुमाफियाहरुमार्फत सत्तापक्षकै नेताहरुले कब्जा गरेको टिप्पणी गरेका थिए । खाँडले भनेका थिए, ‘खुलामञ्चलाई समेत कब्जा गरिसकेको रहेछ भूमाफियाहरुले । प्रधानमन्त्री निवास वालुवाटारको जग्गा पनि भुमाफियाहरुमार्फत सत्तापक्षकै नेताहरुले कब्जा गरिसकेका रहेछन् ।’ यी विषयलाई सदनमा प्रभावकारी रुपमा उठाउने उनको भनाइ छ ।

सदनमा उठाउने विषयमा आइतबार नै कांग्रेसको संसदीय दलको कार्यसमितिको बैठक पनि बसेको थियो । संसदीय दलको कार्यसमितिको बैठकपछि बसेको संसदीय दलको बैठकमा सांसदहरुले सदनमा कसरी प्रभावकारी रुपमा प्रस्तुत हुने भन्ने विषयमा आफ्नो धारणा पनि राखेको र नेतृत्वलाई पनि सुझाएको नेताहरुले बताएका छन् ।

संसदीय दलको र संसदीय दल कार्यसमितिको बैठकले सदनको वर्षे अधिवेशनमा आफ्नो उपस्थितिलाई शालीन ढङ्गले नै विगतको भन्दा बालियो बनाउने निर्णय गरेको खाँडले जानकारी दिए । उनी भन्छन्, ‘विगतका दिनमा बडो शालीनता पूर्वक नै हामीले सदनमा आफ्नो भूमिका निर्वाह गरेको हौं । तर, अब विषयका आधारमा विगतमा भन्दा बढ्ता आक्रमक र दवाबमुलक कार्यक्रम सदनमा आउँछ ।’

यो पनि पढ्नुहोस् : कांग्रेसको आरोप : प्रधानमन्त्री ओली ज्ञानेन्द्रपथमा दौडिरहेका छन्

                              ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ खारेज नहुने अर्थमन्त्रीको संकेत

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?