Comments Add Comment

अपिनाम्पा संरक्षण क्षेत्रमा राजश्व बढेको बढ्यै, अधिकांश हिस्सा जडिबुटीको

१७ वैशाख, दार्चुला । दार्चुला जिल्लाको अपिनाम्पा संरक्षण क्षेत्रमा बर्सेनि राजस्व बढ्दै गएको छ । जिल्लाको एक मात्र संरक्षण क्षेत्र अपिनाम्पामा संकलित राजश्वमध्ये अधिकांश हिस्सा जडिबुटीको छ ।

अपिनाम्पा संरक्षण क्षेत्र २०६७ सालमा स्थापना भएको थियो । नौ वर्षको अवधिमा नौ करोडभन्दा बढी राजश्व संकलन भइसकेको छ । ‘अपिनाम्पा संरक्षण क्षेत्र स्थापना भएदेखि नौ वर्षको अवधिमा ९ करोड ८९ लाख ५८ हजार ३ सय ५८ रुपैयाँ राजश्व संकलन भएको छ,’ प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले अनलाइनखबरसँग भने, ‘हरेक वर्ष राजश्व बढिरहेको छ ।’

गत आर्थिक वर्षको राजश्व सबैभन्दा बढी

कार्यालयका अनुसार सुरुको वर्ष २०६७/६८ मा ५ लाख ६१ हजार ९ सय ८० रुपैयाँ राजश्व संकलन भएको थियो ।

संरक्षण क्षेत्र घोषणा भएको दोस्रो वर्ष २०६८/६९ मा ९५ लाख ३८ हजार ६ सय ८८ रुपैयाँ, आर्थिक वर्ष २०६९/७० मा ७८ लाख २७ हजार ६ सय ९६ रुपैयाँ र आर्थिक वर्ष २०७०/७१ मा १ करोड २ लाख ३३ हजार ७ सय ५९ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी, २०७१/७२ मा ८६ लाख ४७ हजार ४ सय ९९ रुपैयाँ, आर्थिक वर्ष २०७२/७३ मा १ करोड ७३ लाख ४५ हजार ४८ रुपैयाँ र २०७३/७४ मा २ करोड ३ लाख ८९ हजार ५ सय ९१ रुपैयाँ राजश्व संकलन भएको थियो ।

गत आर्थिक वर्ष २०७४/७५ मा भने अहिलेसम्मकै धेरै २ करोड ४४ लाख १४ हजार ९७ रुपैयाँ राजश्व उठेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको तथ्यांक छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ करोड १३ लाख ४२ हजार ८ सय १० रुपैयाँ राजश्व संकलन भइसकेको प्रमुख संरक्षण अधिकृत मेहताले जानकारी दिए ।

अधिकांश हिस्सा जडिबुटीको

अपिनाम्पा संरक्षण क्षेत्रमा संकलित राजश्वमध्ये अधिकांश हिस्सा जडिबुटीको छ । आर्थिक वर्ष २०७४/७५ मा १६ प्रकारका जडिबुटीबाट १ करोड ९४ लाख २२ हजार ६ सय १० रुपैयाँ राजश्व संकलन गरिएको छ । अघिल्लो वर्ष २०७३/७४ मा भने १२ प्रकारका जडिबुटीबाट राजश्व संकलन भएको अभिलेख छ ।

कार्यालयमा संकलन भएको राजश्व नेपाल सरकारको सञ्चित कोषमा जम्मा हुने गरेको छ । नेपाल सरकारले संकलित राजश्वको ३० देखि ५० प्रतिशत रकम संरक्षण क्षेत्रको विकासका लागि उपलब्ध गराउने कानुनी व्यवस्था रहेको प्रमुख संरक्षण अधिकृत मेहता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment