
१९ वैशाख, काठमाडौं । पाकिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आतंककारी घोषणा गरेको छ ।
यसबारे सुरक्षा परिषदले विज्ञप्ति जारी गर्दै मौलाना मसुद अजहरको सम्बन्ध अलकायदासँग रहेको जनाएको छ । उनले आक्रमणको योजना बनाउने, पैसा जम्मा गर्ने, हतियार ओसारपसार र बेच्ने गरेको आरोप छ ।
पाकिस्तानले भने मसुद अजहरलाई आतंककारी घोषणा गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रतिवन्ध समितिको निर्णयप्रति प्रश्न उठाएको छ । यो समितिले कुनै पनि निर्णय गर्दा सर्वसम्मतीबाट गर्छ तर, चीनको विरोध हुँदाहुँदै आतंककारी घोषणा गरिएको पाकिस्तानको भनाइ छ ।
यद्यपि पाकिस्तानले आफ्नो भूमिबाट कुनै पनि संगठनलाई आतंक फैलाउन नदिइने बताएको छ र आतंकवाद अन्त्य गर्ने संकल्प पनि गरेको छ ।
भारतले मसुद अजहर नेतृत्वको जैश ए मोहम्मदलाई भारतका धेरै स्थानमा भएका आक्रमणमा जिम्मेवार मान्दै आएको छ । आलै पुलवामा भएको आक्रमणमा पनि जैश ए मोहम्मदकै हात भएको भारतको दाबी छ ।
भारतले धेरै वर्षदेखि मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गराउन पहल गर्दै आएको थियो । भारतीय सुरक्षा बलका ४० जनाको मृत्यु भएको पुलवा घटनापछि भारतले फेरि त्यस पहललाई तीव्र पारेको थियो ।
अहिले संयुक्त राष्ट्रसंघले आतंककारी घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् । उनले यसलाई भारतको ठूलो सफलता भनेका छन् । मोदीले भनेका छन्, ‘अन्ततः मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले आतंकवादी घोषणा गर्ने कुरामा विश्वको सहमति बन्यो । यो सन्तोषको विषय हो । ढिलै आयो, राम्रो आयो । आतंकवाद जरैबाट उखेल्न लामो समयसम्म भारतले प्रयास गर्दै आएको थियो । यो भारतको ठूलो सफलता हो ।’
प्रतिक्रिया 4