Comments Add Comment

६९ वर्षअघि मौरिसको कीर्तिमान : सगरमाथाअघि अन्नपूर्णमा मानव पाइला

मौरिसको पाइला अरुले पछ्याएनन्

२१ जेठ, पोखरा । सन् १९५० जुन ३ मा हिमाल आरोहणको इतिहासको जग बस्यो । जुन दिन फ्रेन्च नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरो चुमे । यो नै ८ हजार मिटर अग्लो हिमाल आरोहण भएको पहिलो पटक हो ।

हर्जोगले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम आरोहण गरेको ३ वर्षपछि मात्रै सगरमाथा चुचुरोमा मानव पाइला परेको थियो । हिमाल आरोहणको इतिहास रचिएको सोमबार जुन ३ तारिखमा ठीक ६९ वर्ष पुगेको छ ।

पोखराका पर्यटन व्यवसायीले आरोहणको इतिहास रचेर अन्नपूर्ण र पोखरालाई चिनाएका हर्जोगको सम्झना गरेका छन् । किनभने हर्जोगले अन्नपूर्ण चुचुरो चुमेपछि नै यहाँ व्यावसायिक पर्यटनको जग बसेको बताइन्छ ।

सन् १९५० मा नेपाल विदेशी पर्यटकलाई खुला भएको थियो । त्यसै साल हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम आरोहण गरेको थियो । यही क्षेत्रमा ८ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धवलागिरी र मनासलु गरी ३ हिमाल छन् । ६ हजार मिटरका झन्डै २ दर्जन हिमाल अन्नपूर्ण क्षेत्रमा पर्छन् । नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत अन्नपूर्ण क्षेत्रमा आउने तथ्यांक छ ।

व्यावसायिक पर्यटनको जन्मदाता

अन्नपूर्ण प्रथम आरोहण गरेपछि हर्जोगले ‘अन्नपूर्ण’ नामक किताब नै लेखे । जुन किताबले अन्नपूर्ण क्षेत्र र पोखरा अझ बढी विश्वसामु चिनाउने काम गर्‍यो । त्यसपछि पोखरामा पर्यटकीय गतिविधि बढेको इतिहास छ ।

८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको इतिहास रचिएको दिन जुन ३ लाई ‘अन्नपूर्ण दिवस’का रुपमा मनाउने गरिएको छ । दिवसको अवसरमा अन्नपूर्ण क्षेत्र आयोजनाभित्र पर्ने मादी गाउँपालिकाको याङ्जाकोट होमस्टे गाउँमा पुगेर पर्यटन क्षेत्रका व्यक्तिहरुले आरोहण, पर्यटन र पोखराको मन्थन गरे ।

झन्डै ७ दशकको बीचमा अन्नपूर्ण चुचुरामा पुग्ने पाइलाहरु किन बढेनन् ? ट्रेकिङ रुटको नयाँ खोज, विकास, बिस्तार किन व्यवस्थित हुन सकेन ? अन्नपूर्ण प्रचार गर्ने र पर्यटक बोलाउन कुरामा को चुक्यो ? सरोकारवालाले समीक्षासमेत गरेका छन् ।

‘हर्जोग यहाँको व्यावसायिक पर्यटनको जन्मदाता हो । उनले अन्नपूर्ण चढेपछिमात्रै पोखराको पर्यटनको इतिहास लेखियो,’ पर्यटन व्यवसायी टीकाराम सापकोटाले भने, ‘उनीपछि मात्र पदयात्राको विकास भएको हो ।’

हर्जोगको अन्नपूर्ण प्रथम आरोहणको सफलताको बलले सगरमाथा आरोहण सफल भएको व्यवसायी बताउँछन् ।  नेपालको पर्यटनको मेरुदण्ड भनेकै पदयात्रा भएको उनको दाबी छ । तर, अन्नपूर्ण हिमाल आरोहण गर्ने नगन्यमात्र छन् । ‘हामीले अन्नपूर्ण प्रचार गर्न सकेनौं । ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइएन,’ सापकोटाले भने, ‘क्लाइम्बिङ गाइड कम छन् । तालिम छैन ।’

गुनासो सरकारसँग

केही समय अघिमात्र अन्नपूर्ण प्रथम आरोहण गरेका निङ्मा डेभिड शेर्पा जोखिमपूर्ण नै भए पनि प्रचार पुग्ने हो भने आरोही आकर्षित गर्न सकिने बताउँछन् । उनी अहिलेसम्म ८ हजारभन्दा अग्ला ९ वटा हिमाल चढिसकेका छन् । पोखराबाट २५ दिनसम्ममा अन्नपूर्ण आरोहण गरेर फर्किन सकिने शेर्पा बताउँछन् । अन्नपूर्णमा जोखिम रहे पनि माउन्ट केटु हिमालजत्तिको नरहेको उनको अनुभव छ । अन्नपूर्णमा आकर्षण बढाउन प्रचार र प्याकेजका कार्यक्रम चाहिने शेर्पा बताउँछन् ।

हामीमा हिमाल सेल गर्ने र बुझाउने कुरा नै न्युन छ । हिमालका कुरा गर्‍यौं, हर्जोगका कुरा गर्‍यौं, तर उनले दिन खाजेको सन्देश नै बुझेनौं

‘सगरमाथाको बढी प्रचार भयो । नेपाल थाहा नहुनेलाई पनि सगरमाथा थाहा भयो,’ शेर्पा भन्छन्, ‘पहिलेको अन्नपूर्ण र अहिले फरक छ । आइसका ढिक्काहरु खसेर गएका छन् । अलि बढी जोखिम छ । तर, सगरमाथा चढ्नुअघि ट्रेनिङका लागि अन्नपूर्ण चढाउन सकिन्छ ।’

सरकारले २० लाख पर्यटक भित्राउने नारा दिएको भए पनि अन्नपूर्णजस्ता क्षेत्रमा आकर्षण बढाउने र यसलाई ब्रान्डिङ गर्ने कार्यक्रम नल्याएको अर्का पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउँछन् । ‘पदयात्रासँग जोडिएका विभिन्न पक्षको विकास, अन्नपूर्णजस्ता उच्च हिमालको आरोहणको प्रचार र व्यवहारिक कार्यक्रम नल्याई २० लाख पर्यटक आउँदैनन्,’ भट्टराईले भने, ‘जिल्ला र गाउँ-गाउँ जोडेर नयाँ पदयात्राको खोजी, भइरहेका पदयात्राको व्यवस्थापन र यो क्षेत्रका साना-ठूला हिमाललाई जोडेर कार्यक्रम बनाऔं ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले अन्नपूर्ण हिमाललाई नेपालको ‘मोती’को संज्ञा दिँदै यसलाई चिन्न नसकिरहेको बताउँछन् । पदयात्रा र समग्र पर्यटन क्षेत्रमै ९० प्रतिशत लगानी निजी क्षेत्रको हुँदा राज्यले नीति बनाएर पर्यटक बोलाउने कुरामा कन्जुस्याइँ गरेको व्यवसायीको गुनासो छ ।

पूर्वका हिमालमा आरोहणको ओइरो लाग्दा अन्नपूर्णमा किन आकर्षण छैन ? नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष सुदर्शन न्यौपानेले चर्चा गरे । ‘पूर्वका स्थानीयहरु हिमाललाई महसुस गर्छन् । उनीहरु हिमालसँग लालायित छन्,’ न्यौपानेले भने, ‘हामीमा हिमाल सेल गर्ने र बुझाउने कुरा नै न्युन छ । हिमालका कुरा गर्‍यौं, हर्जोगका कुरा गर्‍यौं, तर उनले दिन खाजेको सन्देश नै बुझेनौं ।’

राज्यले पनि हिमालसम्बन्धी नीतिलाई परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । ‘पश्चिमी हिमाल वा साना हिमाल नचढी विश्वकै अग्लो हिमाल आरोहणको अनुमति नै नदिने खालको सरकारले नीति बनाओस्,’ उनले भने, ‘राज्यले पर्यटनमा लगानी गरिरहेका निजी क्षेत्रलाई मात्र ङ्याक्न खोज्ने होइन ।’

हिमाल आरोहणको कीर्तिमानी दिनलाई राज्यले नै विशेष कार्यक्रम गर्नुपर्नेमा सम्बोधनसमेत नगरेको पर्यटन क्षेत्रका व्यक्तिहरुको गुनासो छ । ‘यो कीर्तिमानी दिनलाई हामीले अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा पुगेर छलफल, विमर्शसँगै सेलिब्रेसन गरिरहेका छौं,’ ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरि भुजेलले भने, ‘राज्यका तर्फबाट व्यवसायीलाई आँखी देख्ने र अवरोध सिर्जना गर्ने काममात्रै भएको छ ।’

विशेष कार्यक्रमको आश

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कृतन पौडेलले आन्तरिक भ्रमण वर्षमा अन्नपूर्ण हिमाल र संरक्षण क्षेत्रमा पर्यटन भित्राउने विशेष कार्यक्रम ल्याउन लागिएको बताए ।

प्रदेश सभा सांसद मनबहादुर गुरुङले पर्यटनलाई बृहत ढंगले बुझ्ने र दायरा फराकिलो बनाउनेतिरभन्दा साँघुरो दायरामा खुम्च्याइएका कारण विकास हुन नसकेको बताए । पर्यटन क्षेत्रमा व्यवस्था र नियमभन्दा पनि सोच तथा नियत परिपवर्तन गर्नुपर्ने गुरुङको भनाइ छ । हिमाल छुने, खेल्ने, महसुस गर्ने गरी सदुपयोग गर्ने गरी भइरहेका बाधा पार्ने कानुन संशोधन गर्नतिर लाग्ने उनले बताए ।

मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले हिमालका फेदमा रहेका गाउँको विकास नगरी हिमालमा पर्यटकलाई आर्षण गर्न नसकिने बताए ।

टानले अन्नपूर्ण क्षेत्रको प्रचार र बिस्तारका लागि मादी गाउँपालिकाको कपुचे तालसम्म पुग्ने नक्सा गाउँपालिकालाई हस्तान्तरण गरेको छ । दिवसको अवसर पारी अन्नपूर्ण क्षेत्रभित्रका कुनै गाउँसम्म पुगेर पर्यटनका केही संस्थाले मिलेर हर्जोगको सम्झना, अन्नपूर्ण तथा पर्यटनको छलफल र मन्थन गर्दै आएका छन् । यसपटक टानका द्वितीय उपाध्यक्ष धर्मराज पन्थीको संयोजकत्वमा १ सयभन्दा बढी पर्यटन क्षेत्रमा क्रियाशील व्यक्तिहरु याङ्जाकोट होमस्टे पुगेर कार्यक्रम गरिएको टानका सचिव जीवनराज सापकोटाले जानकारी दिए ।

टान पोखरा र पर्वतारोहण संघ अन्नपूर्ण शाखाले अन्नपूर्ण संरक्षण आयोजना (एक्याप), पर्यटन बोर्ड पोखरा, मादी गाउँपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment