
६ असार, काठमाडौं । नेपालमा उत्पादन हुने जुत्ता-चप्पलको निर्यात चालु आर्थिक वर्षमा निराशाजनक छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा फुटवेयर उत्पादनको निर्यात समीक्षा अवधिमा भन्दा २६.०९ प्रतिशतले ह्रास आएको छ ।
आर्थिक वर्ष ०७४/०७५ मा नेपालमा निर्मित फुटवेयरको कुल निर्यात १ अर्ब २८ करोड ५० लाख ५ हजार रुपैयाँ थियो । सो आर्थिक वर्षको नौ महिनामा १ अर्ब १० करोड ४६ लाख २४ हजार रुपैयाँ बराबरको जुत्ता चप्पल नेपालले निर्यात गरेको थियो । चालु आर्थिक वर्ष ०७५/७६ को नौ महिना साउनदेखि चैतसम्म निर्यात ८० करोड ६९ लाख ५६ हजारमा खुम्चिएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।
नेपाली जुत्ता-चप्पल निर्यात वृद्धि गर्न व्यवसायीहरुले निर्यातमा अनुदान माग गर्दै आएका थिए । निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७५ को पहिलो संंशोधन गरेर सरकारले व्यवसायीको माग सम्बोधन गरेको छ । जुत्ता-चप्पल निर्यातमा पनि अनुदान दिने कार्यविधि संशोधनबाट व्यवसायी उत्साहित बनेका छन् ।
३० अर्बको ब्यापार
नेपाली जुत्ता-चप्पल उद्योगमा करिब ३० अर्ब लगानी रहेको फुटवेर एशोसिएसन अफ नेपालले जनाएको छ । देशभर दुई हजारभन्दा धेरै जुत्ता-चप्पल उद्योग सञ्चालनमा छन् । एशोसिएसनका अनुसार नेपालमा वार्षिक करिब ६ करोड जोर जुत्ता-चप्पल बिक्री हुन्छन् । स्कुल, कलेज तथा सुरक्षाकर्मीले लगाउने जुत्तामा नेपाल आत्मनिर्भर छ ।
नेपाली कम्पनीले उत्पादन गर्ने जुत्ता-चप्पलले नेपाली बजारको ६५ प्रतिशत माग पूरा गरेको रन सुजका प्रवन्ध निर्देशक रुद्र प्रसाद न्यौपाने बताउँछन् । न्यौपानेका अनुसार नाकाबन्दीपछि स्वदेशी उत्पादन प्रयोग गर्ने नेपालीहरुको संख्या बढेको छ ।
नयाँ डिजाइन र फेसनअनुसारको उत्पादन गर्न सक्नेलाई नेपाल तथा विदेश निर्यातमा समेत प्रशस्त अवसर भएको गोल्ड स्टार सुजका प्रवन्ध निर्देशक आमिरप्रताप राणा बताउँछन् । उनले भने, ‘सबै नेपालीलाई नेपालमै बनेको स्तरीय जुत्ता-चप्पल लगाउने बनाउन र दोस्रो तथा तेस्रो देशमा निर्यात बढाउन व्यवसायीहरु प्रयासरत छन् ।’
उद्योगीका समस्या
नेपाल फुटवेर उत्पादकले भोगेको मुख्य समस्या कामदार अभाव हो । व्यवसायी राणाका अनुसार काम सिकाएपछि कामदार टिकाउनै समस्या छ यो क्षेत्रमा ।
उनी भन्छन्, ‘पहिले त काम सिकाउनै खर्चिलो छ, सिकाएपछि कोही स्वरोजगार बन्न जागिर छोड्छन् कोही अरु नै कम्पनीमा जान्छन् ।’
मेसिनबाट पूर्ण उत्पादनमा जान सकिने प्रविधि विकास नभएका कारण फुटवेयर व्यवसाय कामदारको समस्यामा परेको राणाको अनुभव छ ।
हुण्डी कारोबारीहरुले अत्यन्तै न्युन बिजकमा चिनियाँ जुत्ता-चप्पल नेपाल भित्र्याउँदा पनि नेपाली उद्योगका उत्पादनलाई प्रतिस्पर्धा गर्न कठिन भएको व्यवसायी गुनासो गर्छन् । एक व्यवसायीका अनुसार जम्मा ३५ रुपैयाँ प्रतिजोरमा समेत नेपालमा जुत्ता चप्पल भित्र्याइएको भेटिएको छ । त्यस्ता जुत्ता चप्पलका कारण नेपाली उत्पादन बजारमा कमजोर बनेका छन् ।
नेपाली जुत्ता चप्पलको उत्पादनमा ग्राहकको भन्दा बितरकको चाहना निकै हाबी हुने व्यवसायीको गुनासो छ । खुल्ला सीमाका कारण भन्सार छलेर चोरीको बाटो चुत्ता चप्पलको आयात बढेकाले पनि नेपाली उत्पादनलाई प्रतिस्पर्धा गर्न कठिन भएको छ ।
सरकारको हौसला
निर्यातमा तीन प्रतिशत अनुदान पाउने सूचीमा जुत्ता चप्पल परेपछि व्यावसायीलाई १० प्रतिशत स्वतः नाफा हुने वाणिज्य विभागका सह-सचिव नवराज ढकाल बताउँछन् । निर्यात अनुदानले वस्तुको मूल्य सस्तो पर्न जाने र यसबाट छिमेकी देशको बजारमा प्रतिस्पर्धा गर्न सहज हुने सरकारी बुझाइ छ । गुणस्तरीय सामानको बिक्री सस्तोमा गर्न पाउँदा बजार पनि फैलिने छ ।
निर्यात अनुदानको निर्णयले व्यवसायीमा पनि उत्साह थपिएको छ । कार्यविधि संशोधन गर्ने मन्त्रिपरिषदको निर्णयलगत्तै फुटवेयर एशोसिएसन अफ नेपालको बैठकले सरकारी निर्णयलाई स्वागत गरेको छ ।
गोल्ड स्टार सुजका प्रवन्धक निर्देशक आमिरप्रताप राणाले सरकारी निर्णयबाट नेपालमा जुत्ता चप्पल उद्योग फैलने वातावरण बनेको बताए । दुई विशाल जनसंख्या भएको देशको बीचमा नयाँ उद्योग स्थापना गर्ने वातावरण बनेको उनको भनाइ छ ।
प्रतिक्रिया 4