+
+

उपत्यकाभित्रै पहिरोको पीडा : प्रभावितलाई बासको चिन्ता

रोयल आचार्य रोयल आचार्य
२०७६ भदौ ३ गते २१:१०

३ भदौं, काठमाडौं । सोमबार राति भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित लोकन्थलीमा कोलाहल उत्पन्न भयो । दिउँसो स्काभेटर चलाइएको सडकमा राति १ बजेतिर पहिरो गएपछि स्थानीयवासी त्रासले निदाउन सकेनन् ।

काठमाडौं र भक्तपुरलाई जोड्ने मनोहरा पुल तर्नेवित्तिकै दक्षिणतर्फ एउटा डाँडा देखिन्छ । डाँडामा बाक्लो बस्ती छ । डाँडाको मुन्तिर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ५ लाख लिटर क्षमताको खानेपानीको ट्यांकी बनाउने काम गरिरहेको छ । सोमबार बिहान ट्यांकी निर्माणका लागि स्काभेटर चलाएर माटो खनियो ।

स्काभेटर चलाउँदा भित्ता चर्किनुका साथै पक्की सडक केही इञ्च भासिएको थियो । त्यसपछि स्थानीयको अनुरोधमा काम रोकियो ।

तर, मंगलबार राति पानी परेपछि भित्ता बग्यो र पक्की बाटो पुरै पहिरो बनेर खस्यो । बाटोको छेउमा लगाइएको सिमेन्टेड पर्खाल पनि पहिरोमै झ¥यो । काँगियोका दुई रुखहरु थिए । एउटा रुख पुरै उखेलियो भने अर्को लड्यो ।

मध्यरातमा पहिरो गएपछि स्थानीयहरु सुत्न सकेनन् । पहिरोको जोखिममा परेका ८ घरका बासिन्दाहरु रातभर जागै बसे ।

बिहान उठेपछि कोही घर खाली गर्नतिर पनि लागे । पहिरोका कारण ५ घर उच्च जोखिममा छन् । एउटा घर सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राति नै खाली गरिएको थियो । विहान अन्य घर पनि खाली गरिएको छ ।

उनीहरुले कहिलेसम्म घरबाहिर बस्नुपर्ने हो भन्ने चिन्ता व्यक्त गरे । ‘हिजो राति त सुत्नै पाइएन, अझै कहिलेसम्म बाहिरै बस्नु पर्ने हो ठेगान छैन’ स्थानीय सीता दाहालले भनिन्, ‘पहिरो जान सक्ने आशंका हामीले राखेका थियौं तर हाम्रो कुरा सुनिएन ।’

मध्यपुर थिमी नगरपालिका १ का अध्यक्ष सुरज खड्काले भने गाउँकै लागि पानी ट्यांकी निर्माण गर्न खोज्दा नसोचेको घटना भएको बताए । पहिरो जाने त्यस्तो सम्भावनाबारे पहिले नसोचिएको उनको भनाइ छ ।

अब थप क्षति हुन नदिन स्थानीय सरकार चनासो रहेको उल्लेख गर्दै खड्काले भने, ‘म आफैं फिल्डमा छु । अब थप क्षति हुन दिँदैनौं ।’

किन भयो असावधानी ?

मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर १, २ र ३ मा खानेपानीको समस्या छ । स्थानीय जनप्रतिनिधि आइसकेपछि केन्द्र सरकारबाट बजेट मागेर वडा नम्बर १ मा पाँच लाख लिटर क्षमताको ट्यांकी बनाउने काम सुरु भएको थियो । ट्यांकी बनाउन बजेट १ करोड ३२ लाख खर्च हुने अनुमान गरिएको छ ।

वैशाख महिनाबाट ट्यांकी खन्न सुरु गरिएको थियो । तर, काम गर्दागर्दै वर्षा सुरु भएको भन्दै ठेकेदारले काम रोक्यो । दुई–चार दिन पानी रोकिएपछि भदौ १ गते फेरि सामान्य सरसफाइ गर्ने भन्दै काम थालिएको हो ।

पानी ट्यांकी बनाउने भनेर खनिएको ठाउँ भिरालो छ । पानी ट्यांकी निर्माणमा सावधानी नअपनाउँदा पहिरो गएको र घरहरु जोखिममा परेको स्थानीय बताउँछन् ।

पहिरोका कारण सो स्थानको बाटो भत्किएर पैदल हिँडडुल गर्नसमेत गाह्रो भएको छ । स्थानीयले पहिरो जाने आशंका भने काम शुरु हुनुभन्दा पहिले नै गरेका थिए ।

जोखिम छ भन्दाभन्दै पनि केयूकेएलले डोजर लगाएका कारण पहिरो गएको स्थानीय टोल सुधार समितिका अध्यक्ष लक्ष्मण पौडेलले बताए । ‘एकपटक त आएको डोजर फर्काइयो, तर ठेकेदारले फेरि ल्याएर चलाए,’ अध्यक्ष पौडेलले भने ।

स्थानीय यादव दाहाल पनि केयूकेएलले सावधानी नपनाउँदा यस्तो अवस्था आएको बताउँछन् । भिरालो जमीनमूनि सावधानी नपनाई डोजर चलाउँदा पहिरो गएको उनको भनाइ छ ।

सीडीओ भन्छन्– पूर्ण सावधानी अपनाएका छौं

जिल्ला प्शासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीयो) नारायणप्रसाद भट्टले सुरक्षाको लागि अहिले पूर्ण सावधानी अपनाएको जानकारी दिए ।

राति पहिरो खसेपछि तत्कालै उद्दार टोली परिचालन गरी जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । ‘मंगलबार बिहानै मेरो नेतृत्वको टोलीले स्थलगत निरीक्षण समेत गरेको छ । थप दुर्घटना हुन नदिन सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली स्ट्याण्डबाई राखिएका छन्,’ उनले भने ।

स्थलगत निरीक्षणपछि बसेको जिल्ला सुरक्षा समिति वैठकले तत्कालका लागि स्थानीय छरछिमेकीलाई सहयोगका लागि अपिल गर्ने निर्णय गरिएको भट्टले सुनाए ।

पहिरोबाट थप क्षति हुन नदिन तत्कालै प्राविधिक टोली खटाएर काम गर्ने निर्णय भएकोसमेत उनले जानकारी दिएका छन् । ‘तत्कालिन अवस्थामा काम गर्न प्राविधिक परिचालन भएको छ, आकासे पानी तथा ढल निकासका लागि पाइप झार्ने काम भइरहेको छ’ सीडीओ भट्टले भने, ‘अध्ययनका लागि इन्जिनियरहरुको टोली परिचालन गर्न लागेका छौं ।’

जोखिममा परेका घरमा तत्कालै बस्न भने सम्भव नभएको उनले बताए । ती घरमा बस्ने परिवारहरु भने रात कहाँ बिताउने भन्ने चिन्तामा परेका छन् ।

हेर्नुहोस् भिडियो :

तस्वीर र भिडियो : श‌ंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?