Comments Add Comment

भूतघर जस्तै बन्यो रानीमहल

४ भदौ, काठमाडौं । नेपालको ताजमहल भनेर कुन भवनलाई चिनिन्छ ? स्कुल कलेजमा हुने हाजिरी जवाफ वा लोकसेवा आयोगको परीक्षा तयारीका लागि सामान्य ज्ञानका किताब घोक्नुभएको भए तपाईँलाई पक्कै यस प्रश्नको जवाफ थाहा छ ।

सामान्य ज्ञान पढेकै भरले लाखौँ नेपालीले पाल्पा जिल्लामा अवस्थित रानीमहलको नाम सुने । तर, सायद त्यस ठाउँमा पुगेका नेपालीको सङ्ख्या भारतको रानीमहलमा पुगेका नेपालीको सङ्ख्याभन्दा खासै बढी नहोला ।

कालागण्डकी नदीको किनारमा जङ्गलका बीचमा अवस्थित करिब १२० वर्ष पुरानो भव्य दरबारको कथा सामान्य ज्ञानका पुस्तकमा दशकौँदेखि वर्णित भए पनि यो सम्पदा आफैँमा भने सधैँजसो ओझेलमा रह्यो ।

इतिहासकारहरूका अनुसार दरबार बनाएको करिब छसात वर्षमै यसका आधिकारिक धनी खड्गशमशेर भारत निर्वासित भएपछि दरबारको महिमा किताबभन्दा बाहिर निस्कन सकेन । हरेक वर्ष केही हजार व्यक्तिले यस सम्पदाको भ्रमण गरे पनि यसको ऐतिहासिक र सौन्दर्यात्मक मूल्यका आधारमा त्यो नगण्य रह्यो ।

बेवारिसे छाडिएको करिब ११५ वर्षपछि हालै स्थानीय सरकारले रानीमहल संरक्षणको जिम्मा लिएको छ । पाल्पा जिल्ला सदरमुकाम समेत समेट्ने तानसेन नगरपालिकाले रानीमहललाई सङ्ग्रहालयमा परिणत गर्ने योजना अगाडि सारेको छ । तर, त्यो सहज भने देखिँदैन ।

‘टुहुरो’ दरबार

इतिहासका जानकारहरूका अनुसार तत्कालीन सेनापति (कमान्डर इन चिफ) खड्गशमशेरले संवत् १९४० को दशकमा आफ्नै दाजु तथा तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरलाई सत्ताच्युत गर्ने षड्यन्त्र रचे । वीरशमशेरले यो कुरा पत्ता लगाएपछि खड्गशमशेरलाई कमान्डर इन चिफको पदबाट मात्र निकालेनन्, उनको राजकीय हैसियत पनि खोसे । आसपासका जिल्लाहरूको रेखदेख गर्ने केही सीमित अधिकार दिएर उनलाई पाल्पा धपाइदिए ।

पाल्पा बसाइ सरेको पाँच वर्षमै खड्ग शमशेरले आफ्नी पत्नी तेजकुमारीदेवी गुमाए । सायद् उनले सत्रौँ शताब्दीमा भारतका शाहजहाँले आफ्नी रानीको स्मृतिमा कलात्मक ताजमहल बनाएको कथा कतै पढेका थिए । उनलाई पनि त्यसको नक्कल गर्न मन लाग्यो । भारतबाट नै कामदार झिकाएर पाँच वर्षको गहन मेहेनतपछि संवत् १९५४मा रानीमहल खडा गरे ।

त्यसको छसात वर्षमै राणा सरकारले खड्गशमशेरलाई अर्को सजाय सुनायो । उनलाई नेपाल नै छाडेर जान आदेश दिइयो । पत्नीवियोगले विक्षिप्त सैनिक अधिकारीले कुनै विद्रोह गर्ने सम्भावना नै थिएन ! कलात्मक दरबारलाई बेवारिसे छाडेर खड्गशमशेर आफ्नो बाटो लागे ।

उता नेपाल सरकारलाई रानीमहलको महत्व बुझ्न झन्डै सय वर्ष लाग्यो । संवत् २०६२/६३को दोस्रो जनआन्दोलनको केही वर्षपछि मात्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागले मूल भवनको जीर्णोद्धार गर्‍यो ।

जीर्णोद्धार भए पनि रानीमहल पुरानै स्वरूपमा र्फकन सकेन । दरबारको हेरचाह र संरक्षणमा कुनै कर्मचारीलाई खटाइएन । दरबारमा जुनसुकै बेला जो पनि आउन सक्ने र जे पनि गर्न सक्ने भयो । दरबार परिसरका मन्दिरमा राखिएका मूर्ति लगायतका विविध सामग्री हराउने क्रम जारी नै रह्यो । अर्थात्, जीर्णोद्धारमा खर्च भएको लाखौँ रुपैयाँ कालीगण्डगीमा बगेसरह भयो । रानीमहल त भूतघर पो बन्यो ।

त्यसको १० वर्षपछि गत वर्ष मात्र सङ्घीय सरकारले दरबारको संरक्षण र रेखदेखको जिम्मेवारी स्थानीय सरकारलाई हस्तान्तरण गर्‍यो ।

नयाँ संरक्षकको नयाँ योजना

तानसेनका नगर प्रमुख अशोककुमार शाही आफ्नो नेतृत्वको स्थानीय सरकार दरबारको संरक्षणमा दत्तचित्त भएर लाग्ने दाबी गर्छन् । आफ्नो नगरपालिकाले रानीमहललाई सङ्ग्रहालयमा परिणत गर्ने गरी एक गुरुयोजना बनाइरहेको उनी बताउँछन् ।

‘हामीलाई केन्द्र सरकारले नै जिम्मेवारी दिइसकेपछि अब छिट्टै नै गुरुयोजनालाई अन्तिम रूप दिन्छौँ र रूपान्तरणको काम पनि सुरु गरिहाल्छौँ,’ शाही भन्छन् ।

विगतका दशकमा दरबारका धेरै सामग्री हराएको शाहीलाई पनि थाहा छ । त्यसैले ती सामग्रीको खोजीनितीलाई उनले पहिलो प्राथमिकतामा राखेका छन् । उनका अनुसार कतिपय स्थानीयले नै चोर पक्रेर केही सामग्री आफ्ना हातमा पारेका छन् भने केही चोरी मुद्दा अदालत पुगेका अवस्थामा जिल्ला अदालतले पनि केही सामग्री, विशेषतः मूर्तिहरू, आफ्नो संरक्षणमा राखेको छ ।

‘अब हामी सम्बन्धित सबै पक्षलाई साक्षी राखेर ती सामग्री सङ्कलन गर्छौँ र म्युजियममा सजाउँछौँ,’ शाही भन्छन्, ‘अर्कातिर खड्गशमशेरका सन्तान र परिवारसँग पनि केही सामग्री छन् । हामी उनीहरूसँग पनि कुरा गरिरहेका छाैं ।’ विशेषतः खड्गशमशेरको परिवारबाट नगरपालिकाले उनका केही तस्बिरहरू र लुगाकपडा मागेको छ । यसका लागि परिवार तयार भइसकेको छैन अथवा कुरा निष्कर्षमा पुगेको छैन । तर शाहीले यसको पनि विकल्प सोचिसकेका छन् । “यदि उहाँहरूले हामीलाई सहयोग गर्नुभएन भने हामी ती सामग्रीको तस्बिर खिच्छौँ र त्यस्तै ढाँचामा नयाँ सामग्री तयार गरी सजाउँछौँ ।’

तर बोल्न सजिलो छ, गर्न गाह्रो । दरबारलाई सङ्ग्रहालयमा परिणत गर्नु आफ्ना लागि नौलो कार्य भएकाले समय लिने कुरा शाही आफैँ पनि स्वीकार गर्छन् । यद्यपि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शङ्कर शर्मा नेतृत्वको एक विज्ञ टोली पनि गुरुयोजना निर्माणमा संलग्न भएकाले उक्त टोलीबाट बन्ने योजनाले आफूहरूलाई मार्गनिर्देश गर्ने कुरामा शाही विश्वस्त छन् । गुरुयोजनाको मस्यौदामा दुई पटकसम्म छलफल भई आफूहरूले उपयुक्त सुझाव दिइसकेको र अब तेस्रो मस्यौदाका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर्) बन्ने र कार्यान्वयन सुरु हुने उनी बताउँछन् ।

तर, बिजोग कहिलेसम्म ?

सङ्ग्रहालयको योजनाले मूर्त रूप लिन पक्कै पनि केही वर्ष लाग्नेछ । त्यतिन्जेलसम्म रानीमहलको बिजोग जारी रहने देखिन्छ ।

दरबारको जस्ताका छानामा खिया लागेर प्वाल परिसकेका छन् । तिन तले दरबारका सबै झ्यालढोका सधैँ खुलै हुन्छन् । बुइँगलमा रातभरि चमेराले आची गर्छन् । सरसफाइ गर्ने कोही पनि छैन ।

गत महिना नयाँ आर्थिक वर्ष सुरु भएपछि नगरपालिकाले रानीमहल प्रवेश गरेको शुल्क लिन थालेको छ । त्यसका लागि एक जना कर्मचारी पनि खटाएको छ । अब प्रवेश शुल्कमा उठेको पैसाले नै सरसफाइ र रेखदेख गर्ने कर्मचारी नियुक्ति गरिने शाहीको भनाइ छ ।

‘वर्षभरिमा करिब ६/७ लाख रुपैयाँ उठाउन सकिन्छ होला । त्यसले कम्तीमा पनि एकजना कर्मचारी पाल्न सक्छौँ,’ उनी भन्छन् ।

दरबार परिसरको शौचालय फोहोर र दुर्गन्धित छ । नगरपालिकाका अनुसार नयाँ शौचालय पनि छिट्टै बनाइनेछ । त्यसबाहेक कालीगण्डकीलाई तटबन्ध गरी किनारमा एक बगैँचा बनाइनेछ । दरबारको आँगनमा दुई पोखरी छन् । त्यसलाई पनि पार्कको स्वरूप दिइनेछ ।

हाल दरबारका भित्ताभरि केरमेट गरेर कुरूप बनाइएको छ । शाहीका अनुसार युवायुवतीले रानीमहललाई प्रेमको प्रतीकका रूपमा लिन्छन् र त्यहाँ आफ्नो नाम लेख्यो भने प्रेम अमर हुन्छ भन्ने मान्यता राख्दछन् । त्यसलाई समाधान गर्नका लागि महलका भित्तामा पुनः रङ् लगाइनेछ । शाही सुनाउँछन्, ‘प्रेम अमर नै हुने विश्वास हो भने त्यसका लागि हामी एउटा निश्चित खण्ड छुट्याउनेबारे सोच्दै छौँ ।’

भित्तामा नयाँ रङ् लगाउनुपर्ने अर्को कारण अझ महत्वपूर्ण छ । पुरातत्व विभागले जीर्णोद्धार गर्दा दरबारको सेता भित्तामा अनुपयुक्त तरिकाले निलो रङ् थपिएको शाहीको दाबी छ । अतः त्यसलाई सच्याउनुपर्नेछ । ‘इतिहासविद्हरूका अनुसार त्यस समयका सबै दरबार रङ्गीचङ्गी नभएर एउटै रङ्गका हुन्थे । त्यसैले हामी रानीमहललाई पनि पूर्ण रूपले सेतो बनाउनेछौँ ।’

संवत् २०७५ देखि जिल्ला प्रहरी कार्यालयले चार जनाको प्रहरी टोलीलाई रानीमहलमा बसाएको छ । तर उनीहरूको कार्यभार भने रानीमहलको संरक्षण र रेखदेखभन्दा पनि वरिपरिका तीन गाउँमा गस्ती गर्नु रहेको छ । जिल्ला प्रहरी प्रमुख दीपेन्द्र जिसीका अनुसार ऐतिहासिक संरचनाको शान्तिसुरक्षाका लागि प्रहरीले तत्काल कुनै नयाँ योजना ल्याउने अवस्था छैन । ‘त्यस्तो कुरा त माथिबाट निर्णय हुनुपर्छ,’ उनी भन्छन् ।

बरु आफ्नो कार्यालयले हालसालै एउटा सीसीटीभी राखिदिएको भनेर जीसी पन्छिन खोज्छन् । समग्र दरबारको सुरक्षाका लागि एउटा सीसीटीभी पर्याप्त नभए नगरपालिकाले थप सीसीटीभी राख्नुपर्ने उनको सुझाव छ ।

रानीमहलसम्म पुग्ने बाटोको अवस्था रानीमहलको जत्तिकै नाजुक छ । सदरमुकामको मूल बजार क्षेत्रबाट १३ किलोमिटर मात्र टाढा भए पनि बाटोभरि यात्रुले सास्ती खेप्नुपर्छ । घुमाउरो ओरालो बाटोको आधाआधी कालोपत्रे गरिएको छ भने बाँकी आधा बाटोमा समस्या बग्रेल्ती छन् । बाटो साँघुरो र हिलो छ । एकदमै धेरै खाल्डाखुल्डी छन् । ओरालो बाटोमा घुम्ती, त्यसमाथि खाल्डाखुल्डी र चिप्लो । यहाँ यात्रा गर्दा हुने जोखिम सहजै अनुमान गर्न सकिन्छ ।

तर, शाहीका अनुसार प्रदेश ५ को सरकारले यसै आर्थिक वर्षमा बाटो पिच गर्न भनेर साढे ६ करोड रुपैयाँ छुट्याएको छ । “अब बर्खा सकिनेबित्तिकै टेन्डर खुल्छ होला,” उनको आशा छ ।

भनेपछि आगौँ यसै समयमा रानीमहल गइयो भने केही सुधार देखिन्छ त ? ‘त्यति ढिला नगरौँ । दशैँलगत्तै आउनुहोस्” शाही निम्ता दिन्छन्, ‘पूरै परिवर्तन भइसक्छ भनेर त म भन्दिनँ । हामी के गर्न खोज्दैछौँ भन्ने सङ्केत भने तपाईँले देख्नुहुनेछ ।’

दशैँ आउन अब दुई महिना पनि बाँकी छैन । चाडबाडको छुट्टीमा रानीमहल घुम्न जाने हो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment