+
+

८ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते ६:३०

१६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये तीन अर्ब १३ करोड रुपैयाँ ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी मंसिर १७ गते परिपक्व हुनेछ ।

यस्तै पाँच अर्ब ५२ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिनमा परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

ट्रेजरी बिल के हो ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधि (बढीमा एक वर्ष)को स्रोत जुटाउन ट्रेजरी बिल बिक्री गरिन्छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले पनि बोलकबोलमा सहभागी भएर ट्रेजरी बिल किन्न सक्छन् ।

ट्रेजरी बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुने गर्दछ भने निष्कासन सोको भोलिपल्ट अर्थात मंगलबार गरिन्छ ।

यो बिलको निश्चित फेस भ्याल्यु (परल मूल्य) हुन्छ। भुक्तानी गर्ने बेलामा त्यही फेस भ्यालुबराबरको रकम दिने सर्तमा सरकारले ट्रेजरी बिल निष्कासन गर्छ। उदाहरणको लागि ६ महिने ट्रेजरी बिल निष्कासन गर्दा सरकारले १ लाख मागेको छ भने अहिले बिल खरिदकर्ताले ९६ हजार रुपैयाँ मात्र तिरे पुग्छ । बाँकी ४ हजार ट्रेजरी बिलको ब्याज रकम हो। चलनचल्तीको भाषामा यसलाई डिस्काउन्ट अर्थात् छुट भनिन्छ। सरकारले पछि भुक्तानी गर्दा भने १ लाख नै तिर्छ । यसमा डिस्काउन्टमा बार्गेनिङ गर्ने चलन पनि हुन्छ।

जोखिमरहित लगानी

यो सरकारले केन्द्रीय बैंकमार्फत जारी गर्ने भएकाले कुनै जोखिम हुँदैन। त्यसैले यसलाई जोखिमरहित लगानी पनि भनिन्छ। ब्याज (डिस्काउन्ट) पनि अगाडि नै थाहा हुने भएकाले लगानीकर्ताले ट्रेजरी बिलमा लगानी गर्दा फाइदा हुन्छ कि अन्यमा भनेर अगाडि नै विश्लेषण गर्न सक्छन् ।

ट्रेजरी बिलको बोल आहृवान गर्दा आहृवान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?