Comments Add Comment

गन्तव्य डी : विपदबाट भौतिक संरचनालाई जोगाऔं

हरेक वर्ष अक्टोवर १३ का दिन विश्व विपद् न्यूनीकरण दिवस मनाइन्छ । सन् १९९८ मा राष्ट्रसंघीय महासभाले विश्वमा विपद् सचेतनाको संस्कार बसाउन र विपद् न्यूनीकरण प्रवर्द्धन गर्न यो दिवस मनाउने निर्णय गरेको थियो । दुई दशकसम्म्म यो दिवस अक्टोवर महिनाको दोश्रो बुधवारका दिन मनाइन्थ्यो । सन् २००९ को डिसेम्बरमा हरेक बर्षको अक्टोबर १३ का दिन मनाउने निर्णय भएपछि सन् २०१० देखि यस दिनमा मनाउन थालिएको हो ।

राष्ट्रसंघले विपद् न्युनीकरणका एकीकृत लक्ष्य प्राप्त गर्न देशहरूवीच परस्पर समन्वय र सहयोग एवं अनुभव र शीपको आदानप्रदान गर्न सहजीकरणका लागि एक सचिवालयको स्थापना गरी सदस्य देशहरूलाई प्रोत्साहन गर्दै आएको छ । सचिवालयको पहलमा सन् २००५ मा जापानको ह्योगो शहरमा भएको सम्मिलनले सन् २०१५ सम्मकालागि १० बर्षे कार्यसंरचना पारित गरेको थियो । यसका लक्ष्यहरू पुरै हासिल नभए पनि विपद् न्यूनीकरणमा ज्ञान अभिबृद्धि गर्न र देशहरूको चासो बढाउने तर्फ उल्लेख प्रगति भएका छन् ।

सन् २०१५ मा भएको सम्मेलनले सन् २०३० सम्मका लागि विपद् उथ्थानशील विश्वको परिकल्पनामा नयाँ विपद् जोखिम हुन नदिन र विद्यमान विपद्हरूको जोखिम व्यापक कम गर्ने लक्ष्य, प्रमुख सात गन्तव्य र तिनीहरूमा पुग्न मुख्य चार प्राथमिकता सहितको सेण्डाई कार्यसंरचना पारित गरेको छ ।

नेपालमा जलवायुजन्य र भौगर्भिक दुवै किसिमका प्राकृतिक प्रकोपहरूको उच्च जोखिम छ । बाढीपहिरो र वन डढेलोजस्ता प्रकोपहरू सालिन्दा हुन्छन् । यस वर्षदेखि ठूला आँधी पनि आउन लागेका छन् । विश्वका प्रमुख ९ प्राकृतिक प्रकोपमध्ये नेपालमा ज्वालामुखी मात्र भएको छैन 

सन् २०१६ देखि अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवसलाई ‘सेण्डाई सेवेन’ अभियानका रूपमा मनाउदै आइएको छ । सात गन्तब्य अनुसार क्रमशः हरेक बर्ष एउटामा केन्द्रित भई दिवस मनाउन थालिएको हो । सन् २०१६ देखि २०१८ सम्म  क्रमशः गन्तव्य ए, बी र सी केन्द्रित भई मनाइएको थियो ।

यस वर्ष (गन्तब्य डी) सम्बन्धित प्राथमिकताहरूमा केन्द्रित रही यो दिवस मनाइँदै छ । गन्यव्य डी को प्राथमिकता महत्वपूर्ण भौतिक संरचनाहरूलाई क्षति हुनबाट जोगाउन र विपद् घटनाहरूबाट हुन सक्ने आधारभुत अत्यावश्यक सेवाहरूको अस्तव्यस्तता कम गर्नमा केन्द्रित छ । यस्ता संरचना र सेवाहरूमा घर, अस्पत्ताल, विद्यालय, खानेपानी, बिजुली, सञ्चार, सडक आदि पर्दछन् । यिनमा खासगरी अस्पत्ताल र विद्यालयलाई जोड दिइएको छ ।

गुणस्तर पुरा नगरी निर्माण भएकाले हाम्रा धेरै अस्पत्ताल, विद्यालय, घर, सडक, खानेपानी, सञ्चार क्षेत्रका भौतिक पूर्वाधारहरू बिभिन्न प्रकोपहरूको जोखिममा रहेका छन् । भनिन्छ, प्रकोपहरूले होइन कि कमजोर संरचनाका कारण क्षति हुने गर्दछ । सवल पूर्वाधार निर्माणबाट मात्रै विपद् जोखिम कम गर्न र विपद् उत्थानशीलता हासिल गर्न सकिन्छ । तसर्थ, यस बर्षको दिवस हाम्रा लागि बढी महत्वपूर्ण छ ।

विपदको विश्वव्यापी चुनौती

विपद्हरूको महामारी अध्ययन केन्द्र र राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण सचिवालयले गरेका सन् १९९८ देखि २०१७ सम्मका विपद् घटनाहरूको विश्लेषण अनुसार विश्वमा गत बीस बर्षमा ७,२५५ विपद् घटनाहरू भए । यी घटनाहरूमा करीव २,९०८ अर्व अमेरिकी डलर बराबरको आर्थिक क्षति (सन् २०१७ को मुल्यमा) भएको थियो । यसमा जलवायुजन्य प्रकोपबाट सिर्जित नोक्सानी करीव ७७ प्रतिशत छ ।

दीननाथ भण्डारी

विपद्बाट यस अवधिमा ४ अर्व ४५ करोड ९० लाख मानिस प्रभावित भएका थिए । साथै, १३ लाख ३० हजार ७२३ मानिसको ज्यान गयो । भूकम्पका जम्मा ५६३ घटनामा ७४७,२३४ जना मारिएका थिए जुन कूल मृत्यु संख्याको करिव ५६ प्रतिशत हो । भूकम्पबाट मात्रै १२ करोड ५० लाख थप मानिस प्रभावित भएका थिए । आँधीका २,०४९ घटनामा २३२,६८० जना मारिए र ७२ करोड ६० लाख थप मानिस प्रभावित भएका थिए ।

बढी आर्थिक क्षति आँधीबाट (१,३३० अर्व अमेरिकी डलर) भयो जुन कूल विपद् क्षतिको ४६ प्रतिशत हो । समग्रमा कम आय र कमजोर क्षमता भएका देशहरू बढि प्रभावित भएका छन् ।

सन् २००७ देखि २०१६ का बिचमा भएका बाढीका घटनाहरूमा नेपाल, बङ्गलादेश र भारतमा मात्रै ८ करोड ५० लाख मानिस प्रभावित भएका थिए ।

विश्वमा ८७.२ प्रतिशत विपद घटना जल तथा मौसमजन्य प्रकोपहरूबाट भएका छन् । अघिल्लो बीस बर्ष (१९७८–१९९७) को तुलनामा यस अवधिमा जलवायुजन्य विपद्को क्षति २.५१ गुणाले बढेको छ ।

विपद् जोखिमको गहन पक्ष

प्राकृतिक प्रकोपहरूबाट विश्वमा बर्षेनी धेरै मानिसको अकालमा ज्यान जाने, घाइते अपाङ्ग हुने साथै धन सम्पत्तिको नोक्सान हुने भएकाले विपद न्यूनीकरण अपरिहार्य दायित्व हो ।

नेपालमा जलवायुजन्य र भौगर्भिक दुवै किसिमका प्राकृतिक प्रकोपहरूको उच्च जोखिम छ । बाढी, पहिरो र वन डढेलो जस्ता प्रकोपहरू सालिन्दा हुन्छन् । यस बर्षदेखि ठूला आँधी पनि आउन लागेका छन् । विश्वका प्रमुख नौ प्राकृतिक प्रकोपहरू (बाढी, आँधी, भूकम्प, अतिगर्मी, पहिरो, खडेरी, डढेलो, जमिन धसिने र ज्वालामुखी) मध्ये नेपालमा ज्वालामुखी मात्र भएको छैन ।

नेपालमा भएका कैयौं विपद् घटनाहरू अन्तर्राष्ट्रिय तथ्याङ्कमा समावेश भएका हुँदैनन् । एउटा प्राकृतिक प्रकोप घटनामा १० वा सो भन्दा बढि मानिस मरेमा, १०० वा सो भन्दा बढि प्रभावित भएमा मात्र अन्तर्राष्ट्रिय विपद् तथ्याङ्कमा समावेश हुन्छन् । हाम्रो देशमा १० भन्दा कमको मृत्यु भएको वा १०० भन्दा कम प्रभावित भएका धेरे विपद् घटना छन् ।

गृह मन्त्रालयद्वारा हालसालै प्रकाशित नेपाल विपद् प्रतिवेदन (२०१९) का अनुसार नेपालमा सन् २०१७ र २०१८ बिच दुई बर्षमा ६३८१ साना ठूला विपत्तिजन्य प्राकृतिक प्रकोपका घटना भएका थिए । यी घटनामा ९८६ जनाले तत्काल ज्यान गुमाए, ३६३९ घाइते भए भने २७२५६ परिवार प्रभावित भए । यी घटनामा ४,४३४ घरबास पूर्ण क्षति भएका थिए । उक्त प्रतिवेदनका अनुसार यी घटनामा ६ अर्व ८४ करोड बराबरको क्षति भएको थियो ।

राष्ट्रिय योजना आयोगले गराएको मुल्याङ्कन अनुसार सम्बत् २०७२ सालको भूकम्पमा करिव ७ खर्व ६ अर्व ४६ करोड १० लाख रुपैयाँ (वि.सं.२०७२ को मुल्य अनुसार) नोक्सानी भएको अनुमान गरिएको थियो । यस मध्ये ३ खर्व ५० अर्व ५४ करोड बरावरको घरबास मात्रै क्षति भएको थियो । त्यस्तै ३१ अर्व ३१ करोड बराबर शिक्षामा र ७ अर्व ५४ करोड बराबर स्वास्थ्यमा नोक्सानी भएको थियो । त्यस्तै विद्युत, सञ्चार, यातायात जस्ता अत्यावश्यक सेवाका संरचनाहरूमा ६६ अर्व ७८ करोड ३० लाख बराबरको क्षति अनुमान गरिएको छ । यसमा धेरैजसो भौतिक संरचनामा भएको क्षति नै हो ।

विभिन्न कारणहरूले गर्दा विपद् जोखिम बढ्दै गएको छ । तसर्थ, विपद्मा गम्भिर चासो राख्न, जनचेतना उच्च हुन र जोखिम कम गर्न हरसंभव उपाय अपनाउन अत्यन्त जरुरी छ ।

नेपालमा विपद् न्यूनीकरण दिवस

राष्ट्रसंघको सदस्य राष्ट्रका हैसियतले नेपालले पनि सबै राष्ट्रसंघकृत दिवसहरू मनाएर विश्व समुदायसँग ऐकबद्धता जनाउँदै आएको छ । सन् २००५ मा ह्योगो योजनामा नेपालले प्रतिबद्धता जनाए पछि यसमा थप चासो बढेको हो भन्न सकिन्छ ।

अहिले गृह मन्त्रालयको संयोजकत्वमा खास गरी काठमाण्डौ उपत्यकामा बिभिन्न कार्यक्रमहरू गरिन्छन् । दशैंको आसपासमा पर्ने भएकाले जनस्तरमा यसको त्यति प्रभाव पर्न सकेको छैन । जनस्तरमा पुर्‍याउन उपयुक्त विधिको अवलम्बन र थप पहल गर्नुपर्ने देखिन्छ ।

यस वर्ष (गन्तब्य डी) सम्बन्धित प्राथमिकताहरूमा केन्द्रित रही यो दिवस मनाइँदैछ । गन्तव्य डी को प्राथमिकता महत्वपूर्ण भौतिक संरचनाहरूलाई क्षति हुनबाट जोगाउन र विपद् घटनाहरूबाट हुनसक्ने आधारभूत अत्यावश्यक सेवाहरूको अस्तव्यस्तता कम गर्नमा केन्द्रित छ

यी दिवस मनाउँदा अहिलेसम्मका उपलब्धिहरू र भविष्यका चुनौती सामना गर्न तय गरिएका ठोस कदमहरूका बारेमा छलफल गरिए सान्दर्भिक र महत्वपूर्ण हुन्छ । प्रभातफेरि, गोष्ठि, सेमिनारहरू महत्वपूर्ण अवसरहरू हुन्, तापनि यिनले दिवसहरूको महत्व सधैं कायम गरिरहन सक्दैनन् । दिवसहरूप्रति मानिसहरूको विश्वास तवमात्र जाग्रित हुन्छ जव त्यस दिन केही नयाँ सकारात्मक परिवर्तन अनुभूत गर्न सकिन्छ । दिवसहरूलाई नयाँ आयाम, अभियानहरूको सुरुवात गर्ने र मानिसहरूमा आत्मविश्वास पैदा गर्ने अवसरका रुपमा विकास गर्नुपर्छ ।

नेपालमा विपद् जोखिम सम्बन्धित अन्य दिवस पनि छन् । विक्रम सम्बत् १९९० सालको भूकम्पको सम्झनामा बिक्रम सम्बत् २०५५ देखि हरेक बर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाइदै आएको छ । त्यसैगरी सडक दुर्घटना कम गर्न जनचेतना जगाउन हरेक बर्ष सडक सप्ताह मनाइन्छ । स्वास्थ्य सम्बन्धी विभिन्न रोगहरूको चेतना जगाउने दिवसहरू छन् ।

दिवससाथसाथै काम पनि

विश्व समुदायसँगको हातेमालो भएकाले यस दिवसका सन्दर्भमा नेपालले विपद् जोखिम कम गर्न के कस्ता उपलब्धि हासिल गर्‍यो र अव के गरिँदै छ भन्ने बिषयमा केन्द्रित भै छलफल, बहसका साथै नयाँ कामका थालनी गर्न सकिन्छ ।

मुख्य ध्येय र परिश्रम त मैदानमै लगाउनुपर्छ । घर, विद्यालय, अस्पतालहरू, बाटो, पुल जस्ता संरचनाहरू सवल भए जोखिम घट्छ । जल, जमिन, जङ्गलको उचित संरक्षण भए तिनले प्रकोपको सामना गर्न, प्रतिकूल अवस्थाबाट जोगिन र विपद् घटनापछि जीवनचर्यालाई छिट्टै पुरानो अवस्थामा फर्काउन मद्दत गर्दछन् ।

घर, विद्यालय, अस्पत्ताल जस्ता संरचनाहरू भूकम्प प्रतिरोधी हुनैपर्ने, अग्नी नियन्त्रण सम्बन्धी व्यवस्था र तालीम, अभ्यास् अनिवार्य गर्ने जस्ता कानुनी उपायहरू कडाइकासाथ पालना भए जोखिम कम हुन सक्थ्यो । विद्यालयतह देखि नै विपद् जोखिम र न्यूनीकरण सम्बन्धी अध्ययन अध्यापन भए भावी पुस्ता सजग निस्कन्थे ।

धेरै मानिसहरूका जमघट हुने बजार, सिनेमा हल, सम्मेलन केन्द्र, पार्टी प्यालेसहरूमा भूकम्प, आगलागी, आँधीबेहरी जस्ता प्रकोपको जोखिम कम गर्ने तथा घटना भएमा आगो निभाउने, सहजै भाग्न र उद्धार गर्न सकिने व्यवस्था अनिवार्य गर्नुपर्छ ।

राजनीतिक दल र भातृसंस्थामा यस बिषयमा प्रशिक्षण, बहस हुन आवश्यक छ । यो दिगो विकासको सवाल हो, साथसाथै राजनैतिक सोच र संस्कारको मामला पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment