Comments Add Comment

प्रचण्डबारे वैद्य माओवादीको टिप्पणी– प्रधानमन्त्रीमा आलोपालो भएन भनेर रुँदै हिँडेका छन्

‘नेपाल कुरुक्षेत्र बन्ने खतरामा रहेको निष्कर्ष’

४ कात्तिक, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पुष्पकमल दाहाल प्रचण्डबारे तिखो टिप्पणी गरेको छ । उसले भनेको छ, ‘प्रधानमन्त्रीको आलोपालो भएन भनेर रुँदै हिँडेका छन् । कहिले माधव नेपाल, कहिले बामदेव गौतम त कहिले ईश्वर पोखरेलकहाँ गएर बिन्तीभाउ गरिरहेका छन् ।’

तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुँदा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको सार्वजनिक भएको थियो । आलोपालो प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुनेमा शंका भइरहेका बेला क्रान्तिकारी माओवादीले प्रचण्डले एमाले नेताहरुसामू बिन्तीभाउ बिसाउन थालको बताएको हो ।

प्रचण्डका राजनीतिक गुरु मानिने मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको खुला मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ले कात्तिक २ र ३ गते बसेको केन्द्रीय समितिको बैठकले उपचुनावमा भाग नलिने लगायतका निर्णयसमेत गरेको छ ।

बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष सीपी गजुरेलले सामाजिक सञ्जालबारे ओली र प्रचण्डले गरेको टिप्पणीको पनि आलोचना गरे । ‘प्रचण्ड फेसबुक हेर्न नसकिने भयो भन्नुहुन्छ । प्रधानमन्त्री ओली पत्रकारले बाआमालाई पनि तपाईं भन्दैनन् भनेर टिप्पणी गर्ने अवस्थामा पुगिसक्नुभयो । यो उहाँहरुले गरेको कार्यकै उपज हो । नेतृत्वले जे गर्छ त्यही सामाजिक सञ्जालमा पोखिन्छ’, नेता गजुरेलले भने ।

नेपाल कुरुक्षेत्र बन्ने खतरा छ

मोर्चाले नेपाललाई कुरुक्षेत्र बनाउन अन्तर्राष्ट्रिय शक्ति सक्रिय रहेको निष्कर्ष निकालेको छ र, यसको दोष सरकार, संविधान र ब्यवस्थालाई दिएको छ । ‘महंगी, भ्रष्टचार, कमिशनखोरी, तस्कारी, असुरक्षा, बेरोजगारी र अनेकन अपराधका काण्डहरुले जनतामा असन्तोष बढ्दै गएको छ’, गजुरेल भन्छन्, ‘यो परिस्थितिबाट फाइदा उठाउन विदेशी शक्तिहरु सक्रिय भएका छन् ।’

नेता गजुरेलको भनाइमा नेपाललाई कुरुक्षेत्र बनाउन छिमेकी भारत र चीनसँगै अमेरिका लागेको छ । ‘अमेरिकाले इन्डो प्यासिफिक, भारतले बिमस्टेक र चीनले बीआरआई नेपालमा लागू गर्ने प्रयास गरिरहेका छन् । यसबाट नेपाल त्रिदेशीय टक्करको केन्द्र बन्दैछ । यस्तो भयो भने के हुन्छ ?’ उनी भन्छन्, ‘सबैले आफ्नो रणनीति लागू गर्ने हो भने नेपाल कुरु क्षेत्र बन्ने खतरा छ ।’

यसको विकल्प भनेको जनतामा पैदा भएको असन्तोष कम गर्नु भएको समेत उनले बताए । त्यसका लागि आफूहरुले संविधान, सरकार र ब्यवस्थाकै विकल्प खोजेको उनले बताए । अहिलेको संविधान छाडेर नयाँ संविधान बनाउनुपर्ने, वर्तमान सरकारको ठाउँमा नयाँ ब्यवस्थासहित सरकार चाहिने र गणतान्त्रिक ब्यवस्था हटाएर जनगणतन्त्र ल्याउनुपर्ने उनको भनाइ थियो ।

उपचुनावमा भाग नलिने

क्रान्तिकारी माओवादी र उसको खुलामोर्चाले १४ मंसिरको उपनिर्वाचनमा भाग नलिने बताएको छ ।

क्रान्तिकारी माओवादीले २०७४ को निर्वाचनमा चुनावमा भाग लिएको थियो । अहिले किन नलिने भन्ने प्रश्नमा नेता गजुरेलले भने, ‘निर्वाचनलाई पार्टीले रणनीति नभई कार्यनीति मान्छ । कार्यनीति अन्तर्गत कहिले भाग लिने कहिले नलिने हुन्छ ।’

उसले पनिर्वाचनको विरोधमा भण्डाफोर अभियान चलाउने निर्णय पनि गरेको छ । प्रतिनिधि सभाको निर्वाचन हुने कास्की निर्वाचन क्षेत्रमा केन्द्रीय स्तरको भण्डाफोर सभा गर्ने, प्रदेशसभाको निर्वाचन हुने भक्तपुर, दाङ र बागलुङमा प्रदेशस्तरको र स्थानीय तहमा त्यही स्तरको भण्डाफोर सभा गर्ने उसको निर्णय छ ।

भण्डाफोर अभियान सोमबारको पत्रकार सम्मेलनबाटै सुरु भएको पनि नेता गजुरेलले उद्घोष गरे ।

नाम मात्रैको मोर्चा !

क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चाको नामबाट २०७४ को स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको थियो । तर सबै ठाउँमा पराजय मात्र हात पा¥यो । अधिकांश उम्मेदवारको जमानत जफत भयो ।

यो मोर्चामा अहिले पनि न अरु दल वा संगठन आवद्ध छन् त जनस्तरमा संगठन विस्तार नै भएको छ । यो मोर्चामा क्रान्तिकारी माओवादीमा मात्र सीमित छ । ‘विचार र सिद्धान्त मिल्ने पार्टी र समूहहरुलाई एकै ठाउँमा ल्याउन मोर्चा बनाएका हौं । तर, अहिलेसम्म कुनै समूह मोर्चामा समाहित हुन आएका छैनन्’, मोर्चाका अध्यक्ष सिपी गजुरेल भन्छन्, ‘मोर्चामा आउन सक्ने ब्यवस्थाहरु छन् । केही समूहहरुसँग वार्ता र छलफल समेत भइरहेको छ ।’

गोपाल किराती नेतृत्वको नेकपा माओवादीसँग चुनाव बहिष्कारमा कार्यगत एकता गर्न छलफल भएको उनले सुनाए । नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग सहकार्य हुन्छ कि हुँदैन ? भन्ने पत्रकाहरुको प्रश्नमा नेता गजुरेल भन्छन्, ‘उहाँहरु भूमिगत हुनुहुन्छ । त्यसैले चुनाव बहिष्कार गर्ने लगायतका विषयमा सहकार्य गर्न ब्यबहारिक कठिनाई छ । तत्काल सहकार्यको सम्भावना पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment