Comments Add Comment

पत्रकारले बाउलाई पनि तपाईं भन्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीलाई उहिलेकै समाज प्यारो !

२८ असोज काठमाडौं । तपाईलाई अहिलेको समाज राम्रो लाग्छ कि उहिलेको ? यस विषयमा समाजशास्त्रीवीच मतान्तर रहँदै आएको छ । कतिपय समाजशास्त्रीहरु पहिलेकै समाज ठीक थियो, अहिले बिग्रियो भन्ने गर्छन् । प्रगतिशील समाजशास्त्रीहरु चाहिँ पहिलेको सामन्ती समाजभन्दा आधुनिक समाज सभ्य रहेको तर्क गर्छन् ।

नेपालको सन्दर्भमा पनि पहिलेकै समाज राम्रो र सभ्य थियो भन्नेहरु प्रशस्त छन् । उहिलेको हिन्दु समाज वा वेद र पुराणहरुमा उल्लेख भएको काल्पनिक समाजलाई अहिलेको समाजभन्दा सभ्य बताउनेहरु नेपालमा पनि प्रशस्त छन् । यस्तो परम्परावादी सोचाइ राख्नेहरुले बहुदलभन्दा पञ्चायत राम्रो, गणतन्त्रभन्दा राजतन्त्र राम्रो र वर्तमान खुल्ला समाजभन्दा विगतको पितृसत्तात्मक सामन्ती समाजलाई नै अनुशासित र सभ्य ठान्ने गर्छन् ।

परम्परावादीहरुले महिलाले छोटा लुगा लगाएको, स्वतन्त्रतापूर्व हिँडेको, परिवारमा बाबुको पितृसत्ता तोडिएको वा सबै जातजातिले समान व्यहार गरेको रुचाउँदैनन् र पुरानै नैतिक मूल्य, मर्यादा एवं अनुशासनको रट लगाउने गर्दछन् । वर्तमान समाज मर्यादाहीन बनेको उनीहरुको गुनासो हुने गर्छ ।

प्रधानमन्त्री ओलीलाई पनि उहिलेकै प्यारो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि अहिलेको समाजमा सभ्यता भत्किएको अनुभूत भएको रहेछ । उनलाई पुरानो हिन्दु सभ्यता नै अहिलेको आधुनिक सभ्यताभन्दा राम्रो लागेको रहेछ भन्ने कुरा मंगलबार राजधानीमा आयोजित एक साहित्यिक कार्यक्रममा उनले प्रकट गरे ।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मलेन’ आयोजना गरिएको थियो । यो साहित्यिक कार्यक्रममा प्रमुख अतिथिका तर्फबाट प्रधानमन्त्री ओलीले साहित्यिक प्रवचन दिएका थिए । त्यस क्रममा उनले चीन, नेपाल र दक्षिण एशिया सभ्यताको केन्द्र रहेको बताए ।

‘मैले भन्ने ग¥या छु ठूलाठूला समृद्ध देशका मान्छेहरु हातमा ढुंगा बोकेर शिकारको खोजीमा हिँड्दै गरेका बेला हाम्रा साहित्यकारहरु वेदको रचना गर्दै हुन्थे । हाम्रा साहित्यकारहरु नाटकको रचना गर्दै हुन्थे । हाम्रा साहित्यकारहरु उपनिषदको रचना गर्दै हुन्थे ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामी दुनियाँलाई उत्पादनको नयाँ तरिका बताइराख्या हुन्थ्यौं । हामी व्यापार सिकाइराख्या हुन्थ्यौं । हामी सिल्क रोडको निर्माण गरिराख्या हुन्थ्यौं । हामाी बाजाहरु बजाइराख्या हुन्थ्यौं । गाइराख्या, नाचिराख्या हुन्थ्यौं ।

साहित्य र कलाका विषयमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी आफैंले हाम्रा गौरवपूर्ण कुराहरुलाई बिर्सियौं भने अरुलाई के सिकाउँछौं ? हामी आफैं अरुका पछाडि लहैलहैमा कुद्दै जान्छौं, कुद्दै जान्छौं, जब भत्किइसक्यो सबै… । नराम्रा कुराहरु नअपनाऔं । नराम्रा छोड्दै जानुपर्छ । तर, नराम्रा भन्दा राम्रा कुराहरु हामीसँग धेरै छन् ।’

सभ्यताका पर्खाल बाङबुङ भत्कायौं

कम्युनिष्ट प्रधानमन्त्री ओलीले वेद र उपनिषदकालीन समाजको प्रशंशा गरिसकेपछि अहिलेको समाजको निन्दा गरे । उनले भने, ‘अहिले हामीले नेपाली समाज हे¥यौं भने, सामाजिक सञ्जाल हेर्‍यौं भने, सभ्यताका पर्खालहरु बाङबुङ भत्काइएको छ । शिष्टता, मर्यादा, केही पनि छैन ।’

पत्रपत्रिकामा राष्ट्रपति, प्रधानमन्त्री आदिको समाचार आउँदा ‘तपाई’ ‘भन्नुभयो’ इत्यादि शब्दहरुको प्रयोग नभएकोतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पत्रकारले बाउलाई पनि तपाई भन्दैन । तिमीभन्दा माथि उठ्दैन ।’

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘अंग्रेजीको यु लोभ लागेर, अर्काको एउटा यु भन्ने शब्द लोभ लागेर बालाई तपाई भन्दा गाह्रो लाग्यो । किनभने पैसावाला, डलरवाला, युरोवालाहरु युले काम चलाउँछन् । किन काम नचलाउने ? सभ्यता त त्यो रहेछ भन्ने भ्रम परेको छ ।’

प्रधानमन्त्री ओलीले थपे, ‘सानालाई तिमी भन्ने, ठूलालाई तपाई भन्ने स्वाभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ, आफ्नो मर्यादा हुन्छ ।’

अहिलेको समाजमा सभ्यता भत्किएको र उपनिषदकालीन समाज सभ्य रहेको तर्क गरेका प्रधानमन्त्री ओलीले देशमा राजनीतिक परिवर्तन भए पनि पुरानो धङधङी अझै गइ नसकेको बताए ।

प्रधानमन्त्रीले भने ‘हाम्रोजस्तो देशमा परिवर्तन भयो, थिति नबस्दाका धङधङीहरु छँदैछन् । हामी हिजोकै आदत, अथवा हिजोका आदत र परिवर्तित सन्दर्भमा छुटहरुलाई बेठीक ढंगले बुझ्ने प्रवृत्ति पनि छँदैछ । आलोचनात्मक चेत प्रमुख भएको अवस्था हाम्रो देशमा पनि छ । किनभने, यसले अबको बाटो के हो भनेर जसरी समग्रतालाई समाउनुपर्ने, त्यो समाउन सकिराखेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment