News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले अक्टोबर २५ देखि लागू भएको नयाँ कानुनअनुसार इन्फ्लुएन्सरहरूले वित्त, स्वास्थ्य, औषधि, कानुन र शिक्षाबारे सामग्री बनाउनुअघि शैक्षिक योग्यता पेश गर्नुपर्नेछ।
- चीनको साइबरस्पेस प्रशासनले अनलाइनमा भ्रामक सामग्री र हानिकारक सल्लाह रोक्न नयाँ नियम ल्याएको र प्लेटफर्महरूले सामग्री प्रमाणीकरण गर्नुपर्ने बताएको छ।
- नयाँ कानुनले अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने चिन्ता बढाएको छ भने केहीले यसले विशेषज्ञता भएका मानिसलाई मात्र बोल्न दिने तर्क गरेका छन्।
१३ कात्तिक, काठमाडौं । चीनले इन्फ्लुएन्सरहरूलाई लक्षित गर्दै नयाँ कानुन लागू गरेको छ । नयाँ कानुन लागू भएसँगै इन्फ्लुएन्सरहरूले कुनै विषयमा सामग्री बनाउनुपूर्व उक्त विषयमा शैक्षिक योग्यता पेश गर्नुपर्ने हुन्छ ।
यो नयाँ नियम अनुसार, यदि तपाईं इन्फ्लुएन्सर हुनुहुन्छ र ‘गम्भीर’ विषयहरू- जस्तै: वित्त, स्वास्थ्य, औषधि, कानुन वा शिक्षाबारे छलफल गर्न चाहनुहुन्छ भने तपाईंले सम्बन्धित विषयमा ज्ञान लिएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
किन ल्याइयो यस्तो कानुन ?
चीनमा अक्टोबर २५ देखि लागू भएको यो कानुन अनलाइनमा हुने गलत सूचनालाई कम गर्नका लागि ल्याइएको बताइएको छ ।
डेली मेलका अनुसार, चाइनाको साइबरस्पेस प्रशासन (सीएसी) ले चिकित्सा उत्पादनहरू र सेवाहरूको विज्ञापनमा समेत रोक लगाएको छ ।
यो नयाँ नियमले चीनमा इन्फ्लुएन्सर संस्कृतिले काम गर्ने तरिकामा एउटा ठूलै परिवर्तन ल्याउन सक्ने विश्लेषण गरिएको छ ।
इन्फ्लुएन्सरमाथि कडाइ
चीनको नयाँ कानुनले इन्फ्लुएन्सरहरूलाई औषधि, कानुन, शिक्षा र वित्तजस्ता संवेदनशील विषयहरूमा सामाजिक सञ्जाल सामग्री बनाउनुअघि उनीहरूको आधिकारिक योग्यता प्रमाणित गर्न अनिवार्य गरेको छ ।
समाचारहरूले यो नियमले अनलाइनमा बहस सिर्जना गरेको र यसले सिर्जनशीलतामा बन्देज लगाउन सक्ने तथा अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न सक्ने चिन्ताहरू बढाएको उल्लेख गरेका छन् ।
यद्यपि, कानुनको बचाउ गर्दै सीएसीले यो अनलाइनमा उपलब्ध भ्रामक सामग्री र हानिकारक सल्लाहहरूबाट जनतालाई जोगाउन ल्याइएको बताएको छ ।
यी नियमन गरिएका क्षेत्रहरूमा सामग्री प्रकाशित गर्नुअघि इन्फ्लुएन्सरहरूसँग कि त विश्वविद्यालयको डिग्री, कि त मान्यता प्राप्त तालिम, लाइसेन्स, वा प्रमाणपत्र हुनुपर्छ । चीनका प्रमुख प्लेटफर्महरू चलाउने इन्फ्लुएन्सरहरू पनि यी नियमहरूको दायरामा पर्नेछन् ।
प्लेटफर्मको जिम्मेवारी
इन्फ्लुएन्सरका साथै बिलिबिली, वेइबो र डाउयिन जस्ता प्लेटफर्महरूले पनि आफ्ना सामग्री निर्माताहरूको योग्यता प्रमाणीकरण गर्नुपर्नेछ । साथै, उनीहरूले सेयर गरिएको सामग्रीमा उचित सन्दर्भ र अस्वीकरण उल्लेख गरिएको सुनिश्चित गर्नुपर्नेछ ।
चीनमा नयाँ कानुनले कसरी काम गर्छ ?
चीनमा सामाजिक सञ्जाल प्लेटफर्महरूमा सामग्री अपलोड गर्दा इन्फ्लुएन्सरहरूले एआई-जनित सामग्री हो वा कुनै सन्दर्भ प्रयोग गरिएको छ भने स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।
सामग्री सर्जकहरूले सूचना अध्ययनहरूबाट लिइएको हो वा भिडियोहरूमा एआई-जनित सामग्री प्रयोग गरिएको छ भन्ने कुरा प्रष्ट पार्नुपर्छ ।
यसका साथै, ‘शैक्षिक’ सामग्रीको भेषमा हुने गोप्य प्रचारहरू रोक्नका लागि सीएसीले चिकित्सा उत्पादनहरू, सप्लिमेन्टहरू र खाद्यान्नहरूको विज्ञापनमा पनि प्रतिबन्ध लगाएको छ ।
यी परिवर्तनहरू अनलाइन जवाफदेहिता बढाउन र झुटा वा भेष बदलेका विज्ञापनहरू रोक्नका लागि डिजाइन गरिएका चिनियाँ सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।
कस्तो छ प्रतिक्रिया ?
धेरैले यो निर्णयको स्वागत गरेका छन् । उनीहरूको भनाइमा, यसले मानिसहरूलाई प्लेटफर्महरूमा सुसूचित सामग्री हेर्न सक्षम बनाउनेछ । कसै-कसैले त गलत सूचना रोक्नका लागि सम्बन्धित योग्यता भएकाहरूलाई मात्र विशेष विषयमा बोल्न र छलफल गर्न दिनुपर्ने तर्क गरेका छन् ।
‘अब वास्तविक विशेषज्ञता भएका मानिसहरूले कुराकानीको नेतृत्व गर्ने समय आएको छ,’ वेइबोका एक प्रयोगकर्ताले टिप्पणी गरेका छन् ।
यद्यपि, अन्य धेरैले यो नयाँ कानुनले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने भन्दै आलोचना गरेका छन् । उनीहरूका अनुसार, यसले स्वतन्त्र आवाजहरू र सामाजिक सञ्जालमा हुने आलोचनात्मक बहसलाई सीमित गर्नेछ ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4