१३ कात्तिक, काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी मापदण्ड खुकुलो बनाउने भएको छ ।
यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले नयाँ मापदण्ड लागू गर्न लागेको हो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, यसबारे भोलि (शुक्रबार) दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेर थप जानकारी गराउने तयारी रहेको बताए ।
उनका अनुसार, मापदण्ड कसिलो बनाएसँगै कागजपत्र निर्माणको प्रक्रिया झन्झटिलो भएको गुनासाहरू आएका थिए । साथै, विचौलियाहरूले कागजात मिलाउने नाममा धेरै असूली गर्न थालेको गुनासा बढेपछि मापदण्ड फेर्न लागिएको उनले अनलाइनखबरलाई बताए ।
नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, दुईतर्फी हवाई टिकट र स्वघोषणा भए पुग्ने छ ।
यसअघि जारी भएको ६ बुँदे मापदण्डमा भने दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तकोमा बस्नेका लागि तीन पुस्ते विवरण लगायतका कागजात पुर्याउनुपर्ने प्रावधान राखिएको थियो ।
यस्ता विविध असहज प्रक्रियालाई हटाएर नयाँ मापदण्ड लागू गर्न लागिएको तिवारीले बताए ।
प्रतिक्रिया 4