News Summary
Generated by OK AI. Editorially reviewed.- साइग्रेस पोखरेलले नेपाल र विदेशका विभिन्न शहरमा 'वर्ड टुर' कार्यक्रम गर्दै कथावाचन गरिरहेका छन्।
- उनले नेपालको राजनीतिक घटनाक्रमले दुःखी बनाएको र प्रधानमन्त्री नियुक्ति भएकोमा अलिक खुसी भएको बताए।
- साइग्रेसले नेपाली समाजको स्वीकार्यता राम्रो पक्ष र कसैलाई छिटो देवता वा राक्षस बनाउने नराम्रो पक्ष रहेको उल्लेख गरे।
वैकल्पिक सञ्जालमा कथावाचन गरेर धेरै माँझ चिनिएका साइग्रेस पोखरेल युवापुस्ताबीच निकै लोकप्रिय स्टोरीटेलर हुन् । हाल स्पेनको बार्सिलोनामा बसिरहेका उनले नेपाल र विदेशका विभिन्न शहरमा ‘वर्ड टुर’ नामक कार्यक्रम गर्दै आएका छन् । जसमा कथा सुनाउने कार्यक्रम हुन्छ ।
उनै साइग्रेससँग अनलाइनखबरले दिलै खोलेर कुरा गरेको छ:

हिजोआज
१. पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनु भयो ?
पछिल्लो समय खुसी हुने समाचार नै छैनन् । नेपालको अहिले राजनीतिक घटनाक्रम, लगायत धेरै कुरा दु:खी बनाउने खालको मात्रै छ । अलिकता खुसी भनेको सरकार प्रमुख नभएको स्थितिमा प्रधानमन्त्री नियुक्त भयो भन्न सकिएला ।
२. दिक्क बनाएको कुरा ?
एउटा कार्यक्रमका लागि म क्यानडामा थिएँ । त्यसबेला नेपालमा जेनजी आन्दोलनका क्रममा गोली चलाएर विद्यार्थीहरूको हत्या गरिएको समाचार देखेँ । त्यसले एकदमै विचलित बनायो ।
३. अचेल सबैभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
आजकल फेरि म महाभारत पढिरहेको छु । राजनीति, समसामयिक, भूराजनीति, युद्ध, प्रेम, मानव सम्बन्ध सबै यहाँ छ । मलाई यसका कथा, पात्रहरू रोचक लागिरहेको छ ।
४. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
स्वीकार्यता । यो नेपाली समाजको सबैभन्दा राम्रो पक्ष हो । जुनसुकै जस्तो सुकै अवस्थालाई पनि नेपालीहरूले स्विकार्न सक्छ । नराम्रो पक्ष भनेको कसैलाई एकदमै छिटो देवता बनाउने र एकदमै छिटो राक्षस बनाउने । यो कुरा कहिलेकाहीँ घातक हुन सक्छ ।
५. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
पत्रकारिता मलाई एकदमै महत्त्वपूर्ण लाग्छ । किनकि, यसबाट धेरै जना सु-सूचित हुन्छन् । जिम्मेवारीमा भएकाहरूलाई खबरदारी गरिरहेको हुन्छ । निष्पक्ष समाचार सम्प्रेषण गर्ने भएकाले यो समाजको निकै महत्त्वपूर्ण भाग जस्तो लाग्छ । तर, नियमित रूपमा पत्रपत्रिका हेर्दिनँ । आएका महत्त्वपूर्ण हेडलाइनहरू मात्र पढ्छु ।
६. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
व्यक्तिगत रूपमा त्यस्तो छैनन् । तर, समाजको कुरा गर्दा ६०/७० को दशकतिर गएर नेपालको अवस्था सुधार गर्थेँ ।
बाल्यकाल र किशोरावस्था
१. सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
सानोमा म यही खेल मात्र खेल्थे भन्ने छैन । छोइडुम, चुङ्गी, फुटबल, चोरपुलिस सबै खेल्थेँ । गुच्चा, रबर, चेस, टेबल टेनिस, भलिबल सबै खेल्थेँ । ती मध्ये चेस अलि राम्रो खेल्थेँ । तर, अन्य खेलहरूको त्यति धेरै एक्सपोजर थिएन । फुटबलको विश्वकप हुँदा खुब टेलिभिजन हेर्थें।
२. साथीहरूले तपाईंको निकनेम केके राखिदिएका थिए ?
धेरै नामहरू राखिदिएका थिए । सबैभन्दा धेरै चलेको चैं ‘लड्डु’ थियो । कक्षा ६ देखि १० सम्म यो नामले मलाई साथीहरूले बोलाएका थिए । सरस्वती पूजामा लड्डु झिकेर खाएकाले साथीहरूले यो नाम राखिएका हुन् ।
३. तपाईंको कोहीसँग झगडा परेको थियो ?
म झगडा नै गरिहाल्ने खालको मान्छे थिइनँ । छैन ।
४. तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?
ऐश्वर्य राय । उहाँलाई म खुब मन पराउँथे ।
सिनेमा
१. पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?
मैले हेरेको चाहिँ होइन । तर, बुबाआमाले फिल्म हेरेर आउनुभएपछि ‘कुसुमे रुमाल’को खुबै चर्चा गर्नुभएको थियो । मलाई त्यो प्रष्टै याद छ । हामीलाई चाहिँ भुवन केसीको नाम उच्चारण गर्न नआएर ‘भुड्केसी’ भन्थ्यौं । सिनेमा हेरेको चाहिँ लोभी पापी हो । अशोक चलचित्र मन्दिर हो जस्तो लाग्छ हल चाहिँ । त्यसबेला हामी धेरै सानो थियौं । पछि भने नेपाल टेलिभिजनमा शनिबार आउने फिल्म हेर्थ्यौं ।
२. कस्ता फिल्म हेर्न मन पर्छ ?
सस्पेन्स धेरै भएको मन पर्छ ।
३. साह्रै मन परेका फिल्म ?
यो त म केही नसोचिकन पनि भन्न सक्छु । द सशाङ्ग रिडेम्प्शन ।
४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
त्यस्ता त धेरै छन् । नेपालीको नाम नलिऔं । रिसाउनु होला ।
५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
यो चैं उमेर अनुसार फरक हुँदै जाने रहेछ । कुनै समय ‘कुचकुच होताहे’ हेरेपछि लभ स्टोरी फिल्म खुबै हेरियो । त्यसपछाडि एक्सन मुभी मात्र हेरेँ । पछि कमेडी फिल्महरू हेरेँ । अलि बुझ्ने भएपछि भने विषयवस्तुका आधारमा फिल्महरू हेर्न थालें । अहिले भने फिल्म छान्नै गाह्रो हुन्छ । कहिलेकाहीँ एक घण्टा नै लाग्छ । रेटिङ हेर्यो, विषयवस्तु हेर्यो । फिल्म हेर्न थालियो तर सुरुका दृश्यहरू मन परेन भने बीचमै पनि ‘स्वीच’ गर्दिन्छु ।
६. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?
नाम लिएर नै भन्नु पर्दा थ्री इडियट्स, द सशाङ्ग रिडेम्प्शन, लुट जस्ता फिल्महरू बन्नुपर्छ जस्तो लाग्छ । सुनिरहेको विषयमा फिल्म बनाए पनि भन्ने तरिका फरक बनाएर बनून् जस्तो लाग्छ । जसलाई हेरिरहुँ, सुनिरहुँ लागिरहोस् । तर यस्तो भन्नु सजिलो छ । तर बनाउनु चाहिँ गाह्रो छ ।
पुस्तक
१. मन परेका कुनै पुस्तक ?
धेरै छन् । पहिले आध्यात्मिक किताब खुबै पढ्थें । उम्… नाम चैं लिनु पर्दा चेतन भगतको रिभोलुसन २०२० ।
२. तपाईंका प्रिय लेखकहरू ?
चेतन भगत नै भन्छु । मलाई उहाँको लेखन मन पर्छ । उहाँले सरल तरिकाले लेख्नुहुन्छ । त्यसमा सबै कुरा हुन्छ ।
३. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
म एक जनासँग होइन, दुई जना बिताउँथे । भैरव अर्याल र लक्ष्मी प्रसाद देवकोटा ।
४. नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
अध्यात्म सम्बन्धी जस्तो लाग्छ । यो भन्दै गर्दा धार्मिक पुस्तक भन्ने नसोचियोस् । बाँच्ने कला सिकाउने भन्ने सोचियोस् ।
घुमफिर र सोख
१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
एउटै ठाउँ धेरै पटक घुम्नेभन्दा पनि नयाँ ठाउँ जानु चाहिँ खुबै मन पर्छ । सम्झँदा म ३८ देश गइसकेछु ।
२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
धेरै पटक गएको देश त डेनमार्क, फ्रान्स जस्ता युरोपियन देशहरू नै हुन् । अस्ट्रेलिया पनि धेरै पटक गएको छु । अब सायद म त्यतै जान्छु होला ।
३. सबैभन्दा मन परेको ठाउँ वा यात्रा ?
अस्ट्रेलिया भन्छु । न्युजिल्यान्ड पनि राम्रो छ । यो मलाई निकै मन परेको ठाउँ हो ।
४. गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
एकदम धेरै । म आफैं पनि गुनगुनाइरहन्छु । मन पर्ने गायकको लिस्ट त धेरै लामो छ । सुगम पोखरेल, सुजन चापागाईं, नारायण गोपाल, अरजित सिंह, श्रेया भोसाल, आतिफ असलम, ब्याक स्ट्रिट ब्योयज्, ब्रायन एडम्स, गन्ज एन्ज रोजेज । सबै सबै । जीवनमा गन्ज एन्ज रोजेज र ब्याक स्ट्रिट ब्योयजको लाइभ कन्सर्ट हेर्ने ठूलो धोको थियो । त्यो पनि पूरा भएको छ । तर, फिल्म जस्तै यो मन पर्ने गायक पनि उमेर अनुसार परिवर्तन हुने रहेछ ।
५. आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनु भएको छ ?
आजकल म स्टुडियो रेकर्डेड भन्दा पनि लाइभ सुनिरहेको छु । गीत चाहिँ यही गायकको सुन्ने भन्ने छैन । बढी सुनिरहेको सुजन चापागाईंको हो ।
६. खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
मलाई खानामा यही चाहिन्छ भन्ने खालको छैन । जिब्रोका लागि सजिलो मान्छे छु म । नेपाली खाना हो मन पर्ने परिकार
७. किनमेल गर्न कति रुचाउनुहुन्छ ?
रुचि नभएको मान्छे हो म । जे चाहियो किन्यो हिँडिहाल्यो । त्यस्तै गर्छु प्राय: ।
८. के-कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
जुत्ता, जिन्स, घडी, ग्याजेट जस्ता वस्तुहरू बढी किन्छु ।
९. आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
म आफ्नो लुगा प्राय: आफैं किन्छु ।
१०. अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?
क्यामेरा र घडी होलान् । क्यामेरा त धेरै किनेको छु ।

राजनीति
१. नेपालको राजनीति कस्तो लाग्छ ?
हामीले स्कुले जीवनको बेला खेल्ने फुटबल जस्तै छ । हावा फुस्केको ट्युब निकालेर त्यो भित्र मोजा अथवा कागज हालेर, टालटुल गरेर दौडाइरहेको छ बल हुन्छ। तर केही पनि नियम हुँदैन । न पोस्ट हुन्छ न फउल हुन्छ न फ्रिकिक हुन्छ । नियम बिनाको खेल जस्तो ।
२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
सबैलाई देश बनाउनु पर्छ भन्ने थाहा छ । तर त्यो अघि उहाँहरूले आफू, आफ्नो आसेपासे र पार्टी बनाउन लाग्नुहुन्छ । यही नै मुख्य समस्या हो जस्तो लाग्छ ।
३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
सबै नेताहरूमा देश बनाऔं भन्ने गुण मात्र भइदिए बाँकी सबै बन्छ ।
४. मनपरेका वा प्रभाव पारेका नेता÷राजनीतिज्ञ ?
कोही पनि छैनन् ।
५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
हरेक टोल, हरेक गल्ली, हरेक घरघरमा पुग्ने पक्की बाटो बनाउँथे । किनकी सडक पुगेपछि विकासका आधारहरू आफैं तयार हुँदै जान्छन् ।
सामाजिक सञ्जाल र डिजिटल डिभाइस
१. कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?
आइफोन चलाइरहेको छु । सन् २०१४ देखि नै चलाउन थालेको थिएँ ।
२. दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
दैनिक ६/७ घन्छा नै सञ्जाल चलाउँछु । सञ्जालमा नै मेरो काम हुन्छ । तर त्यसमा पनि इन्स्टाग्राम र एक्स खासै चलाउँदिन । यस्तै एपहरू भनौं ।
३. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
छ ।
४. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
राम्रो भनेको सहज पहुँच हुनु हो । नराम्रो भनेको मान्छेले सजिलै न्याय गर्छन् ।
५. फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई केकति प्रभाव पार्छ ?
हुन्छ । पार्दैन भन्ने व्यक्ति चाहिँ साधु बनिसकेको हो भनेर बुझ्नुपर्छ । ताली, गाली, प्रशंसाले सबैलाई प्रभाव पार्छ । तर कति मात्रामा छुने भन्ने हो । फलोअर्सले कन्टेन्टको रिच पुर्याउँछ । लाइकले तपाईंलाई मन पराइएको/तपाईंको कुरामा सहमत भएको भन्ने जानकारी दिन्छ । कमेन्टले तपाईंलाई सुझाव र हौसला दिन्छ । भ्युजले तपाईंलाई प्रोत्साहन दिन्छ ।
६. एआई टुलहरू कत्तिको चलाइरहनुभएको छ ?
चलाइरहेको छु । बढी चलाउने ग्राफिक्स सम्बन्धीका छन् । पेड भर्सन नै छन् ।
७. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?
यी दुवै गरेको छ । त्यसमा अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना पुर्याउने काम ७० प्रतिशत र ३० प्रतिशत चाहिँ गलत सूचना फैलाउने काम गरेको छ जस्तो लाग्छ ।
८. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
हो । गरिरहेको छ । यसको अर्थ किताब र पत्रपत्रिका नयाँ तरिकाले अपडेट हुनुपर्छ ।
रोचक कुरा
१. पुन:जन्म हुने भए अब के बन्न मन छ ?
मलाई पुन: जन्म लिनै छैन ।
२. तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
अध्यात्मको मेरो आफ्नै मन्त्र छ । त्यसबाटै गर्छु भनौं ।
३. तपाईंलाई के को सुगन्ध सबैभन्दा मन पर्छ ?
पर्फ्यूमहरूको बास्ना असाध्यै मन पर्छ । चाहे केटाको होस् चाहे केटीको । केहीले भने टाउको दुखाउँछ । अनि नयाँ किताब, नयाँ पुस्तक, पेट्रोलको बास्ना पनि मन पर्छ ।
४. अहिलेसम्म तपाईंले पाउनु भएको राम्रो सुझाव ?
धेरैअघि कतिपयले ‘तपाईंको आवाज राम्रो र प्रभावकारी छ । यसकारण यो आवाजबाट राम्रो काम गर्नुस्’ भन्ने सुझाव आउँथ्यो । त्यही हो ।
५. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
यी त धेरै छन् । प्रकृति, वातावरणको संरक्षण, हतियार नियन्त्रण, नैतिकता/अध्यात्म सिकाउने कुराहरू छन् । यदि हामी यी कुराहरूमा चुक्यौं/चुक्दै गयौं भने आगामी पुस्ताले राम्रो नतिजा पाउनेवाला छैनन् भनेर बुझ्नुपर्छ ।
प्रतिक्रिया 4