
News Summary
Generated by OK AI. Editorially reviewed.- गीतकार हर्क साउदले आफ्नो फिल्म 'ऊनको स्वीटर' र त्यसका गीतहरूको सफलताले खुसी लागेको बताउनुभयो।
- साउदले राजनीतिक र सामाजिक विषयहरूमा दिक्क लागेको र नागरिकले राजनीतिमा सचेत हुनुपर्ने बताउनुभयो।
- उहाँले सामाजिक सञ्जालले गलत सूचना बढी फैलाउने काम गरेको र पत्रपत्रिकालाई विस्थापित गरिसकेको उल्लेख गर्नुभयो।
सुन साइँली, वाफ, घुमीघुमी, बटौली, के माया लाग्छ र ?, ‘फूलथुङ्गे रानी, फूल, चाइनिजो जिन्दगानीमा जस्ता गीत रचना गरेर आफ्नो पहिचान बनाएका गीतकार हुन्, हर्क साउद । उनका गीतहरू सरल हुने गर्छन् । तर त्यसले श्रोताको मन हल्लाइदिन्छ । यसपटक उनै गीतकार साउदसँग ‘दिलै खोलेर’ कुराकानी गरिएको छ ।
हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
आफ्नै दैनिक काम छ । अब केही फिल्मका गीतहरू लेख्नु छ ।
पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनुभयो ?
हाम्रो फिल्म ‘ऊनको स्वीटर’ सफल भयो । सँगै फिल्मका गीतहरू पनि सफल भए । त्यो कुराले खुसी दिएको छ ।
दिक्क बनाएको कुरा ?
समसामयिक राजनीतिक तथा सामाजिक विषयहरूले दिक्क बनाइरहेका हुन्छन् ।
अचेल सबैभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
बेलाबेला आउने राजनीतिक र प्रशासनिक हलचलहरू नै रोचक लागिरहेका हुन्छन् ।
आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
देशमै बस्नुलाई महत्त्वपूर्ण मान्छु ।
नेपाली समाजको सबैभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
अँ… होस्टेमा हैँसे गर्नु राम्रो र देखासिकी गर्नु नराम्रो पक्ष जस्तो लाग्छ ।
पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
बढी जसो त अनलाइन माध्यममार्फत नै हेर्ने गर्छु । भौतिक पत्रपत्रिका त कमै हेरिन्छ । आजको पत्रकारिताको कुरा ‘विचरा’ जस्तो लाग्छ । किनकि जसले राम्रो गरिरहेका छन्, उनीहरू नराम्रो गर्नेको मारमा छन् । सबैले पत्रकारहरूलाई एउटै डालोमा राखेर हेर्ने थालिएको छ । ऊ कुन वर्ग हो भनेर कसैले मूल्यांकन गर्दैन ।
इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
त्यस्तो भएको भए म फेरि विद्यालय तहबाट राम्ररी पढ्थेँ ।
बाल्यकाल र किशोरावस्था
तपाईंको बाल्यकालको सबैभन्दा यादगार कुनै सम्झना ?
चार कक्षातिर पढ्दा मैले एउटा नृत्य प्रतियोगितामा भाग लिएको थिएँ । त्यसबेला मैले सात वटा स्कुलको अरू प्रतिस्पर्धीलाई जितको थिएँ । अहिले त्यो क्षणको याद आयो।
सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
खोपी खुब खेल्थ्यौं । अरू पैसाको खेल्थे । हामीसँग हुन्थेन । अनि सर्टको टाँकको खेल्थ्यौं ।
साथीहरूले तपाईंको निकनेमहरू के-के राखिदिएका थिए ?
साथीहरूले चैं होइन । आमाले राखिदिनु भएको थियो । ‘काले’ भन्नुहुन्थ्यो ।
सानोमा तपाईंको सपना कस्तो थियो ? अहिले कति पूरा भएको छ अथवा के छ ?
विद्यालयमा अमर सिंह थापा, बल भद्र कुँवर, कालु पाण्डे, अरनिको जस्ता इतिहासमा उल्लेखनीय व्यक्तित्वहरूबारे पढ्नुपढ्थ्यो । उहाँहरूबारे पढ्दा देशका लागि त्यस्तै केही गर्नु पर्छ जस्तो लाग्थ्यो । तर अहिले त्यो सपनाको विपरीत ध्रुव भै’राको छ ।
तपाईंको कोहीसँग झगडा परेको थियो ?
बबाल हुन्थ्यो । हाम्रो त ‘ग्याङ फाइट’ नै पर्थ्यो ।
तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?
त्यतिबेला फिल्महरू अथवा गीतहरू कमै सुन्न पाइन्थ्यो । त्यसैले यहीँ क्रस भन्ने भएन ।
सिनेमा/पुस्तक
पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?
सम्झना छ । दिपायलको सिलगुडीमा गएका थियौं । त्यहाँ बाँसको चोयाले बुनेको चित्रालाई पर्दा बनाइएको थियो । अनि हामीले गुन्द्रीमा बसेर हेरेका थियौं । यही हेरेको थिएँ भनेर चाहिँ बिर्सेँ ।
कस्ता फिल्म हेर्न मनपर्छ ?
सामाजिक विषयवस्तुमा आधारित र यथार्थपरक कथा भएको फिल्म हेर्न मनपर्छ । काल्पनिक संसारमा लगेर फेरि उही धरातलमा फर्काएको भन्दा पनि हाम्रै समाजमा भइरहेका कुराकै प्रतिनिधिहरूलाई पात्रहरू बनाएको फिल्म मन हेर्न मनपर्छ ।
साह्रै मन परेका फिल्म ?
घमण्ड नठानियोस्, तर ‘ऊनको स्वीटर’ नै हो । यसबाहेक दर्शन छायाँ, बसन्ती आदि हुन् । तुलनात्मक रूपमा म कम नेपाली फिल्म हेर्छु । तर संजय लीला भंसालीको आयो भने जसरी पनि हेर्छु । साङ्गीतिक, सिनेम्याटिक रूपमा अब्बल हुने भएकाले उनको फिल्म हेर्छु ।
पुस्तकहरू कत्तिको पढ्नुहुन्छ ? कस्तो खालका पढ्नुहुन्छ ?
पढ्छु नि । भर्खरै छालबाटो किनेको छु । आख्यान मन पराउँछु बढी ।
तपाईंका प्रिय लेखकहरू ?
अलि पुरानो जमानाकै भनेँ । बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा आदि ।
एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
हरिभक्त कटवालसँग बिताउँथे । खतरा मान्छे थिए । विचरा, धेरै बाँचेनन् । देवकोटा भन्थेँ, तर उनीसँग बस्दा चुरोट खानुपर्थ्यो ।
नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
हाम्रोमा धेरै विषयमा थुप्रै किताबहरू आएका छन् । तर, अझैं पनि छुटेका समाजहरूको कथा आएको छैन । जस्तो: तराई । त्यहाँको कथा लेखिए पनि पहाडबाट बसाईं सरेर गएका लेखकहरूले लेखेका हुन् । तुलनात्मक रूपमा पहाडको कथा बढी आएको छ । अब हिमाल र तराईंको कथा आए हुन्थ्यो जस्तो लाग्छ ।
घुमफिर र सोख
घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
धेरै धेरै
सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
हुन त कामको सिलसिलामा गएको हो । तर इलाम धेरै चोटी गएको छु । जान खोजेको चाहिँ मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला, डोल्पा, रारा ।
गीत कत्तिको सन्नुहुन्छ ? कस्ता अनि कसको गीत सुन्नुहुन्छ ?
सुन्छु म । धेरै नै सुनिरहेको हुन्छु । नारायण गोपाल, गोपाल योञ्जन, मित्र सेन, मलवा देवीहरूको सुन्छु । उहाँहरूको अझ धेरै रेकर्ड होलान् । तर रेकर्ड लेबलले बाहिर ल्याएका छैनन् । म अहिलेको पुस्ताको पनि सुनिरहेको हुन्छु । खतरा गरिरहेका छन् साथीहरूले । तर संगीतको विकासमा खासै भूमिका खेल्न नसकेको जस्तो लाग्छ ।
खानाको कत्तिको सौखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
मेरो आफ्नै खाजा पसल पनि छ । त्यसो हुनाले पनि म खानाको सौखिन नै छु । मन पर्ने चाहिँ भेजमा दही हो । ननभेजमा भन्नुपर्दा माछा ।
किनमेल गर्न कत्तिको रुचाउनुहुन्छ ?
एकदम रुचि छ । गरिरहेको हुन्छु ।
के-कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
पसलको सामानबाहेक बढी जसो म किताबै किनिरहेको हुन्छु ।
आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
प्राय: लुगा चाहिँ आफैं किन्छु ।
अहिलेसम्म किन्नुभएको सबैभन्दा महंगो वस्तु अथवा खर्च गरेको सेवा ?
एकफेर साह्रै मन परेर एउटा जुत्ता किनेको थिएँ । तर लगाउनै नपाई अर्कोले लगाएर हिँड्दियो । त्यसमा मैले १२ हजार खर्चेको थिएँ । अहिलेलाई त्यै भनौं ।
राजनीति
हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
कुनै शंका छैन देशको संविधान पनि उत्कृष्ट छ । नियम, कानुन पनि सबै राम्रा बनेका छन् । तर ‘माथि उल्लिखित जे भए पनि …’ भन्ने कुराले भने पिरोलेको छ । अर्को कुरा राजनीति जहाँ पनि राम्रो हुन्छ तर राजनीति गर्ने व्यक्तिहरूको प्रकृति राम्रो हुँदैन ।
खासमा हामी नागरिकले नै राजनीतिक बुझेका हुँदैनौं । भोट हाल्नुपर्छ भन्ने बुझेका छौं । तर राजनीति के हो, के का लागि हो, भोट हालेपछि हामीलाई हुने फाइदा के हो, बेफाइदा के हो, फलानोलाई जितायो भने हुन्छ के ? हामी प्रश्न गर्दैनौं । भनौ न अब प्रत्येक नेपाली जनता राजनीतिका विषयमा, देशको सबै किसिमका नियम कानुनका विषयमा सचेत हुनुपर्छ ।
तपाईंलाई मनपरेका वा प्रभाव पारेका राजनीतिज्ञ ?
मनमोहन अधिकारी मन पर्छन् । अहिले हेर्दा उहाँले ल्याएका योजनाहरू नै भइरहेको जस्तो लाग्छ । अब बिपी कोइराला राम्रो हुन् भनौं भने उहाँको कामहरू हेर्नै पाइएन ।
नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
कमिसनको मानसिकता र भ्रष्टाचारको मानसिकता परिवर्तन गर्दिन्थेँ । त्यति भए त नेताहरू सुध्रिन्थेँ कि!
मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
वैदेशिक रोजगारीलाई चाहिँ चटक्कै बन्द गरिदिन्थें । ठ्याप्पै नै । त्यसो गर्दा युवा शक्ति देशमै रहन्थे अनि उनीहरूलाई यहीँ केही गर्ने वातावरण तयार पार्थेँ ।
सामाजिक सञ्जाल र डिजिटल डिभाइस
कुन ब्रान्डको मोबाइल चलाइरहनुभएको छ ?
आइफोन चलाउँछु । मलाई यो फोन प्रिय बहिनी विद्या तिवारीले जर्मनीबाट ल्याइदिनु भएको थियो ।
दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
मोबाइलमा नै काम हुने भएकाले धेरै चलाउँछु । बाध्यता जस्तो भइसकेको ५ । धेरै चाहिँ युट्युब चलाउँछु ।
बिहान उठ्नासाथ र राति सुत्ने बेला फोन हेर्ने बानी छ कि छैन ?
छ, छ । अब राति फोन अफ गर्नै पर्यो । अनि बिहान अलार्म बन्द गर्नै पर्यो ।
सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
राम्रो पक्ष भनेको कुनै पनि समाचार तुरुन्तै थाहा पाइन्छ । नराम्रो भनेको चैं यो एउटा लत भैजान्छ । हेर्न थालेपछि हेरेको हेर्यौ भइन्छ ।
फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई के कति प्रभाव पार्छ ?
कुनै समयमा पार्थ्यो । ‘ए राम्रो भएछ’ भन्ने हुन्थ्यो । अब पार्दैन । किनकि यी कुराहरू जे भए पनि स्विकार्ने बानी भएको छ ।
एआई टुलहरू कतिको चलाइरहनु भएको छ ? बढी कुन चलाउनुहुन्छ ?
हल्का हल्का चलाउन थालेको छु । च्याटजीपीटी कहिलेकाहीँ चलाउँछु ।
सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?
ट्रेन्ड हेर्दा त गलत सूचना बढी फैलाउने काम गरेको जस्तो देखिन्छ । त्यसको कारण भनेको नराम्रो जे पनि चाँडो फैलिन्छ ।
सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
गरिरहेको अथवा गर्ने भन्दा पनि गरिसकेको छ नि । आज कति पत्रपत्रिकाहरू त बन्दै भइसके । पत्रिकामा स्तम्भ लेखेरै बाँच्ने मान्छेहरू पनि अब डिजिटल माध्यममा आउन थालिसके ।
अन्त्यमा
पुन:जन्म हुने भए अब के बन्न मन छ ?
सायद डाक्टर बन्थेँ ।
तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
म विपाशना ध्यानको साधक भएकोले तनावहरूलाई थोरै समयमा नै ध्यान गरेर कम गर्छु ।
तपाईलाई के को सुगन्ध सबैभन्दा मनपर्छ ?
मलाई फूलहरूको बास्ना मनपर्छ । त्यसमा पनि रातको रानीको असाध्यै मनपर्छ ।
अहिलेसम्म तपाईंले पाउनुभएको राम्रो सुझाव ?
बुबाबाट हो । उहाँले ‘आफ्नो कर्म निरन्तर गर्नुपर्छ । त्यसमा कमजोर हुनुहुँदैन’ भन्नुभएको थियो ।
आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
नयाँ पिँढीलाई हस्तान्तरण गर्नुपर्ने सामाजिक सांस्कृतिक कुराहरू धेरै छन् । तर ती मध्ये धेरै हराइसकेको अवस्था पनि छ । आफ्नै भाषा नै हराउन थालिसकेको छ । नयाँ पुस्तालाई ‘ती कुनै जमानामा थिए’ भन्ने बनाउनुभन्दा पनि तिनलाई ‘आफ्नो’ बनाउन अहिलेको पुस्ताले काम गर्नु पर्ने देख्छु ।
प्रतिक्रिया 4