
News Summary
Generated by OK AI. Editorially reviewed.- सुरेश अधिकारी अहिले चलचित्र संगीत र रोयल्टी संकलन समाजको जिम्मेवारीमा व्यस्त छन्।
- उहाँले नेपालले 'सिस्याक' मा सदस्यता नवीकरण गरेको खुसी व्यक्त गर्नुभयो।
- उहाँले विश्व युद्ध र कानुन कार्यान्वयनको चुनौतीलाई दिक्क लाग्दो बताउनुभयो।
सुरेश अधिकारी गायकसँगै संगीतकार र गीतकार हुन् । सानै उमेरदेखि गायनमा रहेका उनले सयौं गीतहरूमा आफ्नो संगीत भरेका छन् । अहिले रोयल्टी संकलनदेखि रियालिटी शोसम्म जोडिन पुगेका उनले अनलाइनखबरसँग दिलै खोलेर कुराकानी गरेका छन् ।
कुराकानीको सम्पादित अंश
हिजोआज
१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
एउटा व्यावसायिक संगीतकार हुनुको नाताले केही चलचित्रहरूको संगीत गर्नमा व्यस्त छु । ‘मेरो भोइस युनिभर्स’ नामक एउटा रियालिटी शो छ, त्यसको जजमा अनुबन्धित भएर काम गरिरहेको छु । यिनको अलावा संगीत रोयल्टी संकलन समाजको अध्यक्षका हैसियतले बहन गर्नुपर्ने जिम्मेवारी पनि बहन गरिररहेको छु । यस्तै यस्तैमा बितिरहेको छ दिनचर्या ।
२. पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनुभयो ?
राष्ट्रिय अन्तर्राष्ट्रिय दुवै तिर खुसी हुनुपर्ने खालका समाचार खासै छैनन् । तर हालै नेपालले ‘सिस्याक’ (लेखक तथा संगीतकारहरूको अन्तर्राष्ट्रिय परिसंघ) मा सदस्यता नवीकरण गरेको छ । नेपालमा स्रष्टाहरूको रोयल्टी उठिनरहेको अवस्थामा यो अत्यन्तै खुसीको कुरा हो ।
३. दिक्क बनाएको कुरा ?
दिक्क बनाएको कुरा त धेरै छन् । सबैभन्दा पहिलो कुरा त विश्वमा विभिन्न क्षेत्रीय युद्ध भइरहेका छन् । जसले यो संसार आणविक युद्धसम्म पुग्छ कि भन्ने त्रासदी छ । यो एउटा कुराले दिक्क बनाएको छ ।
अर्कोतिर नेपाली स्रष्टाहरूले रोयल्टी प्राप्त गर्न कानुनको साहारा सहारा लिनुपर्ने अवस्था छ । उक्त कानुन कार्यान्वयन गर्ने निकायहरू पनि त्यति धेरै सक्षम नहुनाले हामीलाई निकै अप्ठ्यारा र चुनौतीहरू परेका छन् । त्यसको समाधानमा उपायहरू खोज्दै छौं । तर पनि यो स्थिति दिक्क लाग्दो नै छ ।
४. अबका योजना के छन् ?
प्रतिलिपि अधिकार ऐन २०५९ को संशोधन गर्ने काम अगाडि बढेको छ । त्यसलाई सकेसम्म छिटो संसदको बिजनेसको रूपमा लाने र एउटा ऐनको स्वरूप दिने भन्ने नै छ ।
५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
२०६४ सालमा संगीत रोयल्टी संकलन समाज गठन भयो । तर संस्था गठन भए पनि विदेशबाट हाम्रो रोयल्टीहरू उठ्न सकेको थिएन । डिजिटल प्लेटफर्ममा गएर हामीले रोयल्टीलाई संकलन गरेका थिएनौं । यसपालि निकै लामो कसरत पछि केही काम भएको छ । सबै सर्जकका लागि फाइदाजनक भएकाले जीवनमा गरेको सबैभन्दा महत्वपूर्ण कुरामध्येको एक लाग्छ ।
६. अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
पछिल्लो समय ‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्रले हासिल गरेको सफलताले नेपाली मौलिक विषय, गीत-संगीत सम्बन्धित विषय र अलिकति कोमल भावका चलचित्रहरूलाई पनि दर्शकहरूको रोजाईंको एउटा व्यावसायिक विषय बनाउन सकिन्छ कि भन्ने कुराले चाहिँ अलिकति उत्साहित बनाएको छ । रोचक लागेको छ ।
७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
नेपाली समाजको सबैभन्दा राम्रो पक्ष संयुक्त परिवारमा बस्ने, एउटा पुस्ताले अर्को पुस्तालाई सम्झिने/बुझ्ने/आदर गर्ने सम्मान गर्ने, अघिल्लो पुस्ताले आफूभन्दा तल्लो पुस्तालाई माया गर्ने, संस्कार दिने परम्परा हो । तर नराम्रो पक्ष भनेको हर घरका एउटा पुस्ता विदेशमा हुँदा त्यो संस्कार विस्तारै नाँसिदै माँसिदै गइरहेको छ ।
सामाजिक सद्भाव तोडिदै, टुक्रिदै, चर्किदै छ । सामाजिक सञ्जालमा आउने अभिव्यक्तिहरू हेर्दा समाज उशृखलतातर्फ र अनुशासनको दायरा भन्दा धेरै माथि पुगिसकेको जस्तो लाग्छ । अब नेपाली समाजले यसलाई पचाउन सक्ने हदभन्दा बाहिर विकृत अवस्थामा पुगिसकेको हो कि भन्ने डर चिन्ता लागिरहन्छ ।
८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ?
प्राय: हेडलाइन पढ्छु । कुनै-कुनै हेडलाइनले एकदमै आकर्षण गर्यो अथवा यो चाहिँ कामको कुरा हो भन्ने लाग्यो भने त्यसलाई समय लगाएर पढ्छु । तर गीत संगीत, साहित्य, स्वास्थ्य, विज्ञान र मनोरञ्जनसँग सम्बन्धित कोलमहरू भने हेरिरहन्छु । राजनीतिक कोलमहरू तिर त्यति आकर्षण छैन ।
९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
मेरो जीवनमा खासै पछुतो लाग्ने खालका घटनाहरू छैनन् । तर फर्केर एकचोटी फेरि पहिलेको समयमा जान पाउथेँ भने अवश्य पनि स्कुलमा जान चाहन्थेँ । र कृषि विषय पढेर सम्बन्धित क्षेत्रमा केही गर्थेँ । किनकि नेपालको कृषि क्षेत्रलाई विकसित गर्न जे जस्ता योजना र पहलहरू हुनुपर्थ्यो, त्यो कति पनि भएको छैन ।
१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
आउँदो पुस्तालाई सोचेर हामीले अहिले गर्नैपर्ने तीन वटा काम छन् । पहिलो संस्कार र संस्कृतिलाई बचाउने । दोस्रो, हाम्रो उत्पादकत्व विकास गर्ने र तेस्रो राजनीतिक इमान्दारिता विकास गर्ने ।
किताब
१. पढ्ने बानी कसरी बस्यो ?
हाम्रो पालामा अहिले जस्तो मनोरञ्जनका पर्याप्त साधनहरू थिएनन् । बढी थियो त पुस्तकहरू नै थिए । अहिले मेरो पढाइ अलि कम भएको छ । तर सुरुआतका दिन सम्झँदा जे भेटियो, त्यो पढ्दै गइएको थियो।
त्यसबेला विभिन्न साहित्यिक व्यक्तिहरूको नामहरू सुनिन्थ्यो । अनि कस्तो रहेछ उहाँहरूको कृति भनेर पढ्दै गइयो । विभिन्न विदेशी भाषाका किताबहरू पनि अनुवादमा पाइन्थ्यो । उनीहरूकोमा पनि के रहेछ भनेर पढियो ।
यसरी कहिले जिज्ञासु भएर त कहिले समीक्षात्मक तवरले पढियो । कुनै कुनै किताबहरू साथी भाइहरूको भनेर पढियो । त्यसरी नै तसलिमा नसलिन, म्याक्सिम गोर्की, निकोलाई ओस्ट्रोभ्स्कीका उपन्यासहरू पढियो । शेक्सपियरका नाटक र कविताहरू पढियो । विथोभिन र मोजार्टका संगीत सम्बन्धी संकलनहरू पढियो ।
त्यसरी नै मेरो पढ्ने आदत विकास हुदै गयो । पछि भने आफूभित्र एउटा शैलीको आफैं विकास हुने रहेछ । त्यसपछि आफ्नो सिद्धान्त र दर्शनसँग मिल्दा जुल्दा किताबहरू देखियो भने फ्याक्टै किनिदो रहेछ ।
२. पढ्न मनपर्ने विधा ?
संगीतको विद्यार्थी भएकाले मलाई त गीत लेखन नै मनपर्छ । किनकि एउटा लाइनमा महाकाव्य जसरी नै वा त्यो भन्दा बढी सन्देश दिन सक्ने सटिक विधा गीत नै लाग्छ ।
मेरो विचारमा अन्य विधामा त्यो क्षमता हुँदैन । कविताले एउटा थोपालाई समुद्र बनाएर व्याख्या गर्ने सामर्थ्य राख्छ । गीतले समुद्रलाई एउटा थोपामा प्रस्तुत गर्ने सामर्थ्य राख्छ।
३. सबैभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?
धेरै छन् । नाम लिनु पर्दा पाब्लो कोएलाको ‘द आल्केमिस्ट’ भन्ने छ । कस्तूरीको आफैँभित्र सुगन्ध हुन्छ तर आफैँमा रहेको सुगन्ध कहाँबाट आइरहेको छ भन्दै खोज्दै कस्तूरी घुमिरहन्छ भन्ने कुरालाई राम्रोसँग उतारिएको छ सो किताबमा । एउटा भेडा गोठालाले आल्केमिस्ट भन्न पूरै भौतारिन्छ । तर आखिर फर्केर आफ्नै गोठमा आइपुग्दा ऊ आल्केमिस्ट बन्छ । यो किताबले एकदमै सोच्न बाध्य बनाउछ ।
४. निराश बनाएको पुस्तक ?
अँ, त्यस्तो चाहिँ मलाई कुनै पनि किताबले भएन । किनकि म किताब पढ्दा त्यो किताब भित्र के छ भन्ने भन्दा पनि त्यो लेखकको मनस्थिति र मनोविज्ञानलाई बढी अध्ययन गर्छु । एउटा लेखक र म पाठकको रूपमा हाम्रो कतिको सामञ्जस्यता मिलिरहेको छ भनेर ध्यान केन्द्रित हुन्छ । त्यसैले छैन भन्नुपर्ला ।
५. नेपालमा के-कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
हाम्रो नेपाली मौलिकताको विषयमा त्यति धेरै लेखिएको छैन जस्तो लाग्छ । अन्तर्राष्ट्रिय जगतमा नेपाललाई गरिब भनेर व्याख्या गरिरहँदा त्यो सोच उल्ट्याउने गरी लेखिएको छैन । हामी आफ्नै बारीमा फलेको खान्छौं । हामी पाहुनाहरूलाई भगवान मान्ने गर्छौं । मिलेर बस्छौं । यस्तो सामाजिक विशिष्टतामाथि केही अनुसन्धान गरेर अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने गरी हाम्रा लेखकहरू लेखिदिए हुन्थ्यो जस्तो लाग्छ ।
६. तपाईंका प्रिय लेखकहरू ?
मलाई संसारमा एकदमै नाम चलेका लेखकहरू मात्रै भयंकर हुन्छन् भन्ने लाग्दैन । अनि बाहिरका लेखकहरू मात्रै खत्रा हुन्छन् जस्तो पनि लाग्दैन । नेपालमै पनि धेरै राम्रा लेखकहरू छन् । नाम नै लिन पर्दा महाकवि लक्ष्मी प्रसाद देवकोटा र राष्ट्रकवि माधव प्रसाद घिमिरेको लिन्छु । हर विषयमा महाकवि देवकोटाको जस्तो प्रखरता म अन्य कुनै पनि कविमा देख्दिनँ । मलाई उहाँको बिम्ब चेत बडो मनपर्छ ।
८. कलाकार बन्न चाहनेहरूले पढ्नुपर्ने पुस्तक ?
यही पढ्नु भनेर सिफारिस गर्दिनँ । आफ्नो आवश्यकता अनुसार अध्ययन गर्नुपर्छ । जुन पढे पनि हुन्छ, त्यसमा केही न केही ज्ञान अवश्य पाइन्छ ।
९. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
मलाई गीत विधा औधी मनपर्छ । मैले समय जावेद अख्तरसँग त बिताउन पाएको थिए । अँ, त्यस्तो मौका पाएको भए प्रसिद्ध भारतीय कवि गुल्जारसँग बिताउँथे । दिनभर उहाँको कुरा सुनिरहन्थेँ । हरेक लाइनमा गहनता दिने उहाँको अभिव्यक्ति शैली चोर्थेँ ।
सिनेमा
१. पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?
सायद ६/७ वर्षको थिएँ होला । त्यसबेला बिरामी भएर कान्ति अस्पतालमा भर्ना भएको थिएँ । त्यो बेला एउटा फिल्म देखाउने भन्नुभएको थियो । मैले झिलीमिली बत्तीहरू हुन्छ होला भन्ने सोचेको थिएँ । तर पहिले नै अँध्यारो कोठा बन्यो । त्यसबेला मलाई कस्तो डर लागेको थियो । कुन फिल्म थियो, याद छैन । तर पहिलो पटक हेरेको भने त्यही हो ।
२. कस्ता फिल्म हेर्न मनपर्छ ?
यही विधाको मात्र फिल्म हेर्छु भन्ने अडान ममा छैन । जुन विधाको भए पनि हेर्छु । तर त्यसको प्रस्तुतिकरण भने ढङ्ग पुर्याएर गरिएको हुनुपर्छ । कलाकारहरूको अभिनय सटीक हुनुपर्छ । विषयवस्तुलाई न्याय गरेको हुनुपर्छ ।
महत्वपूर्ण विषय फिल्म एउटा माध्यम हो । त्यो माध्यमलाई कति सदुपयोग कति दुरुपयोग गरिएको छ भन्ने मात्र मूल्यांकन गर्छु । विधा जुनसुकै होस्, फरक पर्दैन ।
३. साह्रै मन परेका फिल्म ?
एकदमै उल्लेख गरेरै भन्नु पर्दा मलाई अलि हिन्दी फिल्म मन पर्छन् । त्यसमा पनि नाम लिन पर्दा ‘सराबी’, ‘रंग दे बसन्ती’ र ‘थ्री इडियट्स’ हुन् । यी तिनवटा हिन्दी फिल्मले मलाई निकै प्रभावित पारेका थिए ।
अब नेपालीमा ‘ओहो! क्या राम्रो प्रस्तुति’ भन्ने चाही कम नै छन् । बरु मलाई ‘कबड्डी’का केही सिरिजहरू निकै मन परेका थिए ।
४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
त्यो धेरै चोटी भा’छ । तिनीहरूको नाम नलिउँ, फेरि मारमा परिएला । हाहा…
५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
मान्छेहरूले राम्रो, बहुप्रतीक्षित भनेर एकदम चर्चा गरेका फिल्महरू हेर्न बढी प्राथमिकता भित्र पर्छन् । यसबाहेक आफूले संगीत गरेका चलचित्रहरू हेर्नु बाध्यता नै भइहाल्यो ।
६. मन परेका कलाकार वा फिल्ममेकर ?
मलाई चाहिँ एकदमै मन पर्ने फिल्म मेकरमा रामानन्द सागरमा पर्नुपर्छ । रामायण र महाभारतका आदर्शहरूलाई चलचित्रका पात्रहरू मार्फत उहाँले उतार्नुभएको छ । उहाँ बाहेक एसएस राजमौली पनि मलाई निकै पर्छ । किनभन्दा भारतको एउटा सानो प्रान्तमा बसेर प्रविधि र कलालाई संयोजनमार्फत परिकल्पनालाई पर्दामा ल्याइदिनुभयो । जुन हामी जस्तो सानो मुलुकका लागि पाठ हुनुपर्ने हो ।
७. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?
यहाँ प्रत्येक नेपालीले राजनीति गर्छन् । जहाँ गए पनि राजनीतिक बहसहरू भइरहेको देखिन्छ । तर राजनीतिमा यो विषय यस्तो हो अनि यो चैं यस्तो हो भनेर सटीक तरिकाले देखाउने फिल्म बने हुन्थ्यो जस्तो लाग्छ ।
८. सिनेमाले मानिसलाई यथार्थ साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्याएको ?
यसमा यो नै ठिक भन्दा पनि विधाको पूर्ण सदुपयोग होस् भन्ने लाग्छ । तर यहाँ यथार्थसँग पनि पूर्ण साक्षात्कार गराउन सकेको हुन्न । अनि कल्पनामा उडिसकेपछि पिञ्जरा भित्रै उडे जस्तो लाग्छ ।
घुमफिर र सोख
१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
अनौठो सुनिएला । तर, घुमाइको विषय खासै मेरो प्राथमिकता भित्र परेन । अहिले पनि धेरै जना घुम्न जाने भनेपछि एकदम उत्साहित हुन्छन् । मलाई त्यस्तो घुम्न जाऔं भन्ने कहिले लागेन । साथीभाइसँग कोठामा बसे नि मलाई पुग्छ ।
२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
त्यस्तोमा अन्नपूर्ण बेस क्याम पर्छ । धेरै पटक जाने भन्दा भन्दै जान पाएको छैन । भर्खरै छोरी पुगेर आइन् । तर मेरो समय मिलेकै छैन ।
३. सबभन्दा मन परेको ठाउँ वा यात्रा ?
मेरो गाउँ कुसादेवी बारबार गइराख्छु । जति गए नि रमाइलो नै लाग्छ । हाहा…
तर कोभिडका बेलामा इलामको माइपोखरीतिर गएका थियौं । ओहो ! त्यो प्राकृतिक सुन्दरता । त्यो डाँडा माथिको माइपोखरी ताल । त्यो मौसम । म त्यो यात्रा कहिले नि बिर्सिन सक्दिनँ ।
४. गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
इमानदार भएर भन्दा आजकल म शान्त बस्न रुचाउँछु । संगीतको व्यावसायिक काममा बाहेक गीत सुन्दिन । मलाई मन परेका गायकहरूमा त टन्नैको नाम लिन सक्छु । नारायण गोपाल, बच्चु कैलाश, भक्तराज आचार्य, प्रेमधोज प्रधानहरू मलाई एकदमै मन छुने गायक हुन् ।
५. आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनुभएको छ ?
पहिला बच्चा बेलामा मेरो घरमा गीत संगीतको एउटै मात्रै माध्यम थियो, रेडियो । त्यो रेडियो म कसैलाई छुनै दिन्न थिएँ । म सँग मात्रै हुन्थ्यो । त्यसलाई धेरै सुनेँ ।
म पाचँ कक्षामा पुग्दा नपुग्दै आफैं बाजाहरू बजाउने भइसकेको थिएँ । ९ कक्षामा पुग्दा त एउटा प्रोफेसनल म्युजिक डाइरेक्टरको रूपमा म जागिरै खाइसकेको थिएँ । त्यसयता गीतसम्बन्धी यति धेरै काम गरियो, त्यसले मलाई शान्त मन पराउने बनाइदियो ।
अब मलाई मनोरन्जनका लागि ‘साइलेन्स’ चाहिन्छ । गीत नसुनी, कोही सँग नबोली बस्दा रमाइलो लाग्छ । यसको कारण भनेको प्राय: म आवाजको होहल्लामा हुने गर्छु । काम नै त्यही भयो । त्यसैले फेरि मनोरन्जनका लागि गीत सुन्छु, त्यो असम्भव हुँदोरहेछ ।
मान्छेलाई अचम्म लाग्ला । तर कानको पनि सुन्ने सामर्थ्य निश्चितसम्म मात्र हुन्छ । आधा घण्टा, एक घण्टा, दुई घण्टा सुन्दा ठिकै हुन्छ । तर चार घण्टा सुन्नु तनाव हुन्छ । त्यसैले संगीत सुन्ने मेरो क्षमता बाहिरको भइसकेको छ ।
६. के कुराको विशेष सोख छ ?
अँ, संगीतबाहेक अध्ययन गर्ने नै हो । विभिन्न विषयहरूमा अलिकति गहिरिएर अध्ययन गर्न रमाइलो लाग्छ ।
७. खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
एक दम छ । म पाककलालाई सिर्जनाको रूपमा लिन्छु । म कुनै खानेकुरा बनाउन अघि नै त्यसको रङ्ग, बास्ना, स्वादको परिकल्पना गर्छु । तर म खानेकुरा एकदम ढिलोगरी बनाउँछु । मलाई सब्जीहरू काट्न समय लाग्छ । अनि भान्सामा कुन सामग्री कहाँ छन्, ठ्याक्कै थाहा हुन्न ।
मलाई नेपाली दाल भात तरकारी नै बडो मनपर्छ । त्यसमा गोलभेडाको अचार भए अझ राम्रो । म अरूले भन्दा धेरै मिठो अचार पनि बनाउन सक्छु ।
राजनीति
१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?
नेपाल नेताहरूले भन्दा बढी जनताहरूले बिगारेको देश हो । किनकि हामी ठूलो कुरा मात्रै गर्न जान्दछौं । तर, एउटा सानो उदाहरण बनाउन हामी तयार हुँदैनौ ।
२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
नागरिकहरूसँग मूल्यांकन गर्ने क्षमता नहुनु नै समस्या हो जस्तो लाग्छ । जबसम्म हामी नागरिक सचेत हुँदैनौं, तबसम्म राजनीतिमा कहिल्यै पनि सुधार आउँदैन ।
३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
निर्णय गर्ने क्षमता सुधार गर्थेँ । किनकि कुनै पनि पार्टीमा नराम्रो काम गर्नेलाई कारबाही गर्ने प्रणाली हुन्छ । तर निर्णय गरिरहेका हुँदैनन् ।
४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
मलाई त यस विषयमा बोल्दै नबोलौं जस्तो लाग्छ ।
५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
त्यस्तो भइदिएको भए जग्गाको खण्डीकरण गर्ने काम रोक्थेँ । अनि एकीकृत कृषि प्रणालीमा लिएर आउथे । मेरो विश्वासमा एकीकृत कृषि प्रणालीले देशको उत्पादन बढाउँछ।
६. एक दिन बिताउनुपर्यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?
यतिबेला चैं अमरेशकुमार सिंहसँग बस्थेँ । उनीसँग बसेर एकदम हावा गफ गर्न खुब मन छ ।
सामाजिक सञ्जाल
१. दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
कामले गर्दा मोबाइल त कम नै चलाउँछु । चलाउँदा फेसबुक नै बढी चलाइन्छ । धेरै साथीहरू त्यहीँ छन् । सजिलै जानकारी पनि पाइन्छ ।
२. बिहान उठ्नासाथ र राति सुत्ने बेला फोन हेर्ने बानी छ कि छैन ?
निःसन्देह छ । किनकि विदेशबाट प्राय: राति नै फोन आउँछ ।
३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
राम्रो भनेको सूचना निकै छिटो पाइन्छ । संसारको एउटा कुनामा भएको घटना थाहा पाउन कुरिरहन पर्दैन । नराम्रो भनेको आफ्नो उत्पादनशील समयलाई यसले खाइदिरहेको छ ।
४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?
मिश्रित छ । तर अहिले गलत सूचना बढी फैलाउने काम बढिरहेको छ । जुन प्रदूषण भन्दा कम छैन ।
५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
गरिरहेको छ नि । हुँदाहुँदै किताब र पत्रपत्रिकालाई मात्र नभई हाम्रो धेरै पुराना मान्यताहरूलाई पनि विस्थापित गरिसकेको छ ।
पेशा/व्यवसाय
१. कलाकार हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?
सबैभन्दा राम्रो भनेको आफ्नो सिर्जनाका आधारमा बाँच्न सकिन्छ । नराम्रो भनेको सार्वजनिक व्यक्ति हुनाले गोपनीयता भन्ने केही पनि रहँदैन ।
२. कुन समयमा तपाईंलाई कलाकार नै बन्नुपर्छ भन्ने लाग्यो ?
म सानैदेखि यस क्षेत्रमा थिएँ । अब कलाकार नै बन्नु पर्छ भने ९/१० वर्षको उमेरमा नै महसुस भएको थियो ।
३. कलाकार नबनेको भए के बन्नु हुन्थ्यो होला ?
राजनीतिमा पनि रुचि थियो । त्यसकारण कतै न कतै नेता हुन्थेँ कि !
४. तपाईंको कोही रोलमोडल छ ?
मैले रेडियोमा सुनेका नारायण गोपाल, बच्चु कैलाश, भक्तराज आचार्य, प्रेमधोज प्रधानहरू नै मेरा रोलमोडल हुन् ।
प्रतिक्रिया 4