+
+
Shares

रंगमञ्च : सपना र यथार्थ

विद्यालय र कलेजका पाठ्यक्रममा प्रयोगात्मक नाट्य तथा संगीतलाई अनिवार्य रूपमा जोड्नुपर्छ । यसो गर्नाले मात्र नयाँ पुस्तामा रंगमञ्चप्रतिको अभिरुचि र व्यावसायिकताको विकास हुनेछ ।

पुरु लम्साल पुरु लम्साल
२०८३ वैशाख २६ गते १०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञसभा सदस्यको रूपमा भित्रबाट देखिएको सरकारी संरचनागत कमजोरी र कलाको अवमूल्यनको यथार्थ प्रस्तुत गरिएको छ।

वि.सं. २०७९ साल फागुनमा जब मेरो काँधमा ४ वर्षका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यको जिम्मेवारी आइपर्‍यो, त्यो पल केवल एउटा पदको प्राप्ति मात्र थिएन । मेरा लागि त्यो रंगमञ्चमा मैले बगाएको पसिना र साँचेको सपनाको एउटा नयाँ परीक्षा थियो ।

रंगकर्मी र नाटककारका रूपमा बाहिरबाट प्रतिष्ठानलाई हेर्दा जे जति कल्पनाहरू गरिन्थ्यो, भित्र प्रवेश गरेपछि ती भ्रमका पर्दाहरू एक–एक गर्दै खुल्न थाले । बाहिरबाट देखिने भव्य सरकारी संरचना र भित्र पुगेर प्रत्यक्ष भोगिने कार्यशैलीका बीचमा आकाश–पातालको खाडल रहेछ भन्ने तीतो यथार्थबोध हुन धेरै समय लागेन ।

सत्ताको सोचमा कला र कलाकारको मूल्य कति सस्तो रहेछ भन्ने कुरा बुझ्न धेरै समय लागेन । जब सरोकारवाला निकायका विभागीयहरुसँगका संवाद र प्रशासनिक फाइलहरूमा ठोक्किन्छ, तब मात्र वास्तविक यथार्थ थाहा पाइन्छ ।

राज्यको नजरमा कला अझै पनि अनुत्पादक क्षेत्र र देखावटी गहना भन्दा माथि उठ्न सकेको रहेनछ । बाहिर रहँदा हामी सोच्छौँ– एउटा दृढ निर्णयले सबै परिवर्तन हुन्थ्यो, एउटा सही योजनाले देशभरिका कलाकारको आँसु पुछिन्थ्यो । तर, भित्र छिरेपछि देखिन्छ– त्यहाँ त सिर्जनाभन्दा बढी कार्यविधिको जटिल जाल रहेछ र कलाको सुगन्धभन्दा बढी कर्मचारीतन्त्रको कागजी गन्ध व्याप्त रहेछ ।

हाम्रा कतिपय मौलिक लोक धुनहरू लोप हुँदैछन्, कतिपय नाट्य शैलीहरू अन्तिम सास फेर्दैछन् । तर, ती अमूल्य सम्पदा जोगाउनका लागि एउटा सुविधायुक्त हलसम्म नहुनुको पीडा कति भयानक हुन्छ, त्यो केवल त्यही कुर्सी र जिम्मेवारीमा बसेर मात्र महसुस गर्न सकिने रहेछ ।

रंगकर्मीको भोक र प्यास बुझेर आएको मजस्तो मान्छेका लागि, आफ्नै आँखाअगाडि सिर्जनाको हत्या भइरहँदा र बजेटका शीर्षकहरू कर्मकाण्डी काममा सकिएको देख्दा मुटु गाँठो परेर आउँछ । साँच्चै, सरकारी संरचनाका यी पर्खालहरू यति बाक्ला र चिसो हुने रहेछन् कि यहाँभित्र कलाकारको संवेदना र सिर्जनाको तातो राप छिर्नै मुस्किल पर्ने रहेछ ।

बाहिरबाट देखिने चमकधमक र भित्रको यो संरचनागत शून्यताबीचको द्वन्द्व झेल्दै गर्दा मनमा प्रश्न उठ्छ– हामीले अझै कति समय केवल कागजी उपलब्धि मा रमाएर बस्ने ? यो नियुक्ति मेरा लागि एउटा अवसर मात्र थिएन, बरु एउटा यस्तो ऐना भइदियो, जहाँ मैले नेपाली कला क्षेत्रको वास्तविक र मर्मान्तक अनुहार देख्न पाएँ ।

सभा सदस्यका रूपमा मैले कति काम गर्न सकेँ वा सकिनँ, त्यसको मूल्यांकन समयले गर्ला, तर सभाका सदस्यहरूमध्ये सम्भवतः परिषद्का प्राज्ञहरूलाई सबैभन्दा धेरै घच्घच्याउने र खबरदारी गर्ने पात्र म नै थिएँ । नाटकप्रतिको मेरो हुटहुटी र रंगमञ्चप्रतिको अगाध प्रेमले गर्दा नै म भित्रको विकृति देखेर चुपचाप बस्न सकिनँ ।

नेपालको भौगोलिक बनावट जस्तै यहाँको नाट्य परम्परा पनि विविधतापूर्ण र मौलिक छ । लिच्छविकालीन डबली संस्कृति, मल्लकालीन नृत्य–नाटिकाहरू र विभिन्न जातजातिका लोक नाटकहरू नेपाली माटोका अनुपम उपज हुन् । तर, २१औँ शताब्दीको उत्तरार्धमा आइपुग्दा नेपाली रंगमञ्च एउटा गम्भीर मोडमा उभिएको छ । एकातिर रंगकर्मीहरूको अदम्य साहस र व्यक्तिगत साधनाले नेपाली नाटकलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने कोसिस भइरहेको छ भने, अर्कोतिर राज्यको चरम उदासीनता र स्पष्ट नीतिको अभावले यो क्षेत्र थला परेको छ ।

नेपाली नाटकको प्रवर्धन लागि राज्यले आफ्नो परम्परागत वितरणमुखी र भजनमुखी शैलीलाई अब पूर्णतः त्याग्नै पर्छ । दशकौंदेखि सरकारी निकायहरू केवल प्रशासनिक संरचनामा मात्र रुमल्लिएका छन् । पहुँचका आधारमा अनुदान बाँड्ने र राजनीतिक आस्थाका आधारमा नियुक्ति गर्ने प्रवृत्तिले कलाको वास्तविक मर्मलाई धराशायी बनाएको सत्य हो ।

अबको आधुनिक युगमा नाटकलाई केवल रमाइलोको साधन मात्र मान्नु ठूलो भूल हुनेछ । विश्वका विकसित देशहरूले रंगमञ्चलाई आफ्नो पहिचान र सांस्कृतिक उद्योगका रूपमा प्रयोग गरिरहेका छन् । नेपालले पनि आफ्नो मौलिक नाट्य पद्धतिलाई विश्वव्यापी बनाउन ठोस नीति र पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ । राज्यले रंगकर्मीहरूलाई दयाको पात्रका रूपमा होइन, राष्ट्रको पहिचान बोक्ने सारथिका रूपमा सम्मान र लगानी गर्न आवश्यक छ ।

अहिलेको लज्जास्पद यथार्थ यो हो कि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँग आफ्नै सुविधायुक्त सभाहल छैन । भाडाका हल वा अस्थायी संरचनामा कार्यक्रम सञ्चालन गर्नुपर्दा सिर्जनात्मक गतिविधिहरू खुम्चिएका छन् । राज्यले प्रतिष्ठानलाई सुविधासम्पन्न आफ्नै भवन र आधुनिक प्रविधियुक्त थिएटर उपलब्ध गराउनु प्राथमिक आवश्यकता हो । हालसम्म अनुसन्धानका नाममा भएका धेरै कार्यहरू केवल औपचारिकतामा मात्र सीमित देखिन्छन् । बजेट सक्ने उद्देश्यले गरिने यस्ता सतही अनुसन्धानले यस क्षेत्रको श्रीवृद्धिमा कुनै ठोस योगदान पुर्‍याउन सक्दैनन् ।

हामीले लामो समयदेखि हाम्रा सांस्कृतिक पर्वहरूलाई केवल रीतिरिवाजका रूपमा मात्र परिभाषित गर्दै आयौँ । वास्तवमा सोरठी, घाटु, मारुनी, कार्तिक नाच वा चर्या नृत्य–यी केवल नाच मात्र होइनन्; यिनमा आफ्नै विशिष्ट नाट्य व्याकरण, संगीत र अभिनय शैली विद्यमान छ ।

यदि हामीले हाम्रा यी मौलिक सम्पदाहरूलाई प्रदर्शनकारी कलाका रूपमा स्थापित गर्न सक्यौँ भने विश्व रंगमञ्चमा नेपालको छुट्टै र ओजपूर्ण पहिचान हुनेछ । विदेशी सिद्धान्त कण्ठ पार्नुभन्दा हाम्रा आफ्नै लोकपरम्परा र डबलीका शैलीहरूलाई अन्तर्राष्ट्रियकरण गर्नु आजको मुख्य चुनौती हो ।

हाम्रो सोच प्रायः विज्ञ व्यक्ति नेतृत्वमा आएपछि सबै परिवर्तन हुन्छ भन्नेमा अडिएको छ । तर, व्यक्तिभन्दा ठूलो पद्धति र प्रणाली हो । निजी क्षेत्रलाई पनि कला र रंगमञ्चमा लगानी गर्न प्रोत्साहित गर्ने स्पष्ट नीतिगत व्यवस्था हुनुपर्छ ।

उसो त अहिलेको नेपाली रंगमञ्च लगभग निजी क्षेत्रले नै धानिरहेको छ । यदि सरकारले नाटक घर निर्माण गर्ने वा नाटकमा लगानी गर्ने निजी संस्थालाई कर छुट दिने वा सहुलीयत दरमा जग्गा भाडामा उपलब्ध गराउने जस्ता कार्यले यसलाई उद्योगका रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।

यसका साथै, कलाकारको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा र पेन्सन जस्ता विषयमा राज्य मौन रहनु दुःखद् छ । जबसम्म कलाकार आर्थिक रूपमा सुरक्षित र ढुक्क हुँदैन, तबसम्म उसले विश्वस्तरको उत्कृष्ट सिर्जना दिन सक्दैन ।

संगीत र नाटकलाई काठमाडौंको सीमित घेराबाट बाहिर निकालेर सर्वसाधारणको पहुँचसम्म पुर्‍याउनु अबको मुख्य कार्यभार हो । सरकारले स्थानीय तहसँगको समन्वयमा प्रत्येक प्रदेशमा सुविधासम्पन्न थिएटर निर्माण गरी मोफसलका प्रतिभाहरूलाई उचित मञ्च प्रदान गर्नुपर्छ ।

यसका साथै विद्यालय र कलेजका पाठ्यक्रममा प्रयोगात्मक नाट्य तथा संगीतलाई अनिवार्य रूपमा जोड्नुपर्छ । यसो गर्नाले मात्र नयाँ पुस्तामा रंगमञ्चप्रतिको अभिरुचि र व्यावसायिकताको विकास हुनेछ ।

नेपाली मौलिक सिर्जनालाई विश्वव्यापी बनाउन डिजिटल प्लेटफर्मको उच्चतम प्रयोग, उत्कृष्ट नाटकहरूको अन्तर्राष्ट्रिय भाषामा अनुवाद अनिवार्य छ । नेपाली नाट्य परम्परालाई जोगाउन र यसलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन अब गफ र सिद्धान्तमा मात्र होइन, ठोस कार्ययोजनासहितको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।

ठोस नीति, पर्याप्त बजेट, विकेन्द्रित पूर्वाधार र अन्तर्राष्ट्रिय स्तरको कूटनीतिक पहल बिना नेपाली रंगमञ्चको वास्तविक पुनरुत्थान सम्भव छैन । हामीले बुझ्नुपर्छ कि कला केवल मनोरञ्जनको साधन मात्र होइन, यो त राष्ट्रको सफ्ट पावर र अन्तर्राष्ट्रिय मञ्चमा देशको उपस्थिति जनाउने सशक्त माध्यम पनि हो ।

त्यसैले, राज्यले रंगकर्मीहरूलाई दयाको पात्र वा केवल औपचारिकता निभाउने समूहका रूपमा होइन, राष्ट्रको गौरव र पहिचान बोक्ने सारथिका रूपमा हेर्नु र सोही अनुरूप लगानी गर्नु आजको अनिवार्य आवश्यकता हो ।

यदि समयमै यस्ता संरचनागत र नीतिगत सुधार गरिएन भने हाम्रो गौरवशाली नाट्य परम्परा, जीवन्त लोक संस्कृति र पुर्खाले सुम्पिएका अमूल्य सम्पदाहरू केवल इतिहासका पाना र सङ्ग्रहालयहरूमा मात्र सीमित रहनेछन् ।

जीवन्त कलालाई मञ्चमै जीवित राख्न राज्यको सक्रिय अभिभावकत्व चाहिन्छ । अबको समय केवल कोरा गफ वा सिद्धान्तको मन्थनमा अल्झिने समय होइन; अब त ठोस कार्ययोजनासहित मैदानमा उत्रने बेला हो, जसले नेपाली माटोको सुगन्ध र हाम्रा रैथाने कथाहरूलाई विश्वको रंगमञ्चमा ओजपूर्ण ढङ्गले प्रस्तुत गर्न सकोस् ।

मेरो ४ वर्षे कार्यकालमा सकिन ९ महिना बाँकी थियो । पछिल्लो अवस्थामा सरकारले पदमुक्त गरिरहँदा, मैले सभासदस्यका रूपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान भित्र बसेर कति उपलब्धि हासिल गरेँ, कति परिवर्तन ल्याउन सकेँ वा कस्तो किसिमको भूमिका निर्वाह गर्न सकेँ भन्ने कुरा केही हदसम्म यस क्षेत्रका महानुभावहरुले महसुस गर्नु भएको छ भने केही कुराको वस्तुनिष्ठ मूल्यांकन भोलिको पुस्ता र इतिहासले नै गर्ला ।

तर, यो जिम्मेवारीमा रहँदा मैले पुरातन सरकारी सोचको ऐना र नेतृत्वमा रहनेहरूको पूर्वाग्रही मानसकितालाई नजिकबाट हेर्ने अवसर पाएँ । मैले देखेको नेपाली कला क्षेत्रको यथार्थ र मर्मान्तक तस्विरले मलाई जीवनभर यस क्षेत्रका लागि खबरदारी गरिरहने बनाएको छ ।

मैले बिसाएको पद मेरो लागि अन्त्य होइन, बरू नेपाली रंगमञ्च र नाटकको उत्थानका लागि अझ सशक्त ढंगले लड्ने एउटा नयाँ चेतनाको प्रस्थानविन्दु बनेको छ ।

नेपाली रंगमञ्चमा नेपाली नाटक भन्ने मेरो अवधारणा अविछिन्न र अविचलित छ र रहनेछ ।

लेखक
पुरु लम्साल

लम्साल नाटककार, कवि तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?