News Summary
Generated by OK AI. Editorially reviewed.- ४० वर्षको उमेर पुग्दा पनि अविवाहित रहनुपरेको एक पुरुषको एकांकीपन, सामाजिक दबाब र पश्चात्तापलाई ठट्टा र पीडाको समिश्रणमा गीतमा बनाइएको छ।
एआई संगीतले वाक्कदिक्क बनाएको समयमा कलाकारहरूको नयाँ गीत आउनु पङ्क्तिकारका लागि बडो राहत बन्छ । सायद यो सोच अन्य श्रोताहरूसँग पनि समान छ । भनिन्छ, नयाँ गीत सुरुमै सबैलाई मन नपर्न सक्छ । सुन्दै जाँदा अलिअलि मन पर्न थाल्छ । सुनिरहे मन परिरहन्छ । क्लासिक गीतहरू त्यसैको उदाहरण त हुन् ।
पछिल्ला केही साता केही राम्रा गीतहरू आए । द नेपाली स्याडोज जस्तो लामो समय निस्क्रिय ब्यान्डले पनि नयाँ गीत निकाल्यो । सविन राई एन्ड दी फारोह जस्तो नियमित रहेको ब्यान्डको नयाँ गीत आयो । केही सिङ्गल गीतहरू पनि आए ।
यो साता तपाईंको प्लेलिस्ट बन्न सक्ने गीतहरू:
मनकी रानी : कुमा सागर
पछिल्लो समयमा कुमा सागरका गीतहरू उति धेरै चलेका छैनन्, जति पहिलेका गीतहरू चलेका थिए । पछिल्ला एक वर्ष उनको साङ्गीतिक ट्य्राक रेकर्ड हेर्ने हो भने यो कुरा स्पष्ट देख्न सकिन्छ । त्यसमा उनलाई ‘मन की रानी’ले केही रात दिएको छ । यो प्रेमिल गीतमा कुमाले आफ्नो सिङ्नेचर शैली- भजनलाई निरन्तरता दिएका छन् ।
तबला, वीणा, सारङ्गी, नागरा जस्ता लोक बाजाहरूको धुनले यो गीतले पक्कै पनि तपाईंको कानलाई शान्त पार्छ । स्वस्थानी कथाबाट प्रभावित भएर तयार पारिएको यो गीतमा प्रेमीको महिमागान गाइएको छ । प्रेम आशक्ति र रूपको प्रशंसा गरिएको छ । उच्च सम्मान र आत्मीय मिलनको मिठो अनुभूतिलाई समेटिएको छ ।
तिम्रो यो मनमा परेछ बानी
मन त्यसै बोलिरहने
तिम्रो त्यो हेराइमा डुबेर मनले
ठान्यो नि तिमीलाई रानी
तिमीलाई देखेर लुक्यो जुन ताराहरू पनि
मददोस यो मनलाई पारी
तिम्रो मनको गहिराइमा पुगेर
पाए है हाम्रो कहानी…
लरबर : सुशान्त घिमिरे
यो गीतको शैलीबारे शीर्ष शब्दको अर्थ र टाइपोग्राफीले नै बोल्छ । लरबर । यो रमाइलो गीत हो। यसको बिट उस्तै झुमाउने छ । र, घुमाउने वस्तुमाथि नै गाइएको यो गजबको गीत हो । अर्थात् यसमा मद्यपान पछिको स्थिति वर्णन गाइएको छ । मात लागेपछि के हुन्छ ? कसरी मतमा लत बस्यो ? मत खानेले के सोच्छ ? के गर्छ ? उसको स्थिति के हुन्छ ? यही सेरोफेरो यो गीतमा गाइएको छ । त्यसमा गीत तलमाथि भएको छैन ।
गायक सुशान्त आफैंले भनेका छन्, जीन्दगीको लरबरमा नाच्न सिकम है, सोमरसले त घुमाउने मात्रै हो । अर्थात् यो एक प्रकारको सचेतना गीत पनि हो । गीत म्युजिक भिडियो पनि यसै विषयवस्तुमाथि बनाइएको छ । जहाँ सुशान्त आफैंले अभिनय गरेका छन् ।
लरबर लरबर लौ घुमायो रे
घाम टलटल आँखै खायो रे
एक दुई भन्दै हाँसखेल गर्दै
सक्किएछ दुई बोटल
छिटो घर जाउँ भन्दै निस्केको थेँ
खुलेछ चियाको पसल
अब पिउँदिन भो
खोया बिर्के यो
तितोतितो मात लाग्दै जाने
पछि मिठो भो…
साँझको घाम : विपुल क्षेत्री
यो गीतमा विपुल क्षेत्रीले साँझको घामलाई जीवनसँग तुलना गर्दै गुनगुनाएका छन् । लो-फाइ शैलीको यो गीतमा ज्याज फ्लेभर पनि पाउन सकिन्छ । हामीले साँझको घामले जीवन, यसका उतारचढावहरू र अन्ततः जीवनको यथार्थ स्वीकारोक्तिलाई चिन्तन गरेको छ ।
गीतमा एउटा सुव्यवस्थित, हताररहित, भुइँसँग जोडिएको र शान्त उद्देश्यले भरिएको जीवनको लयलाई देखाइएको छ । लिरिकल म्युजिकल भिडियो पनि छ । त्यसमा हामीले कालिमपोङको दृश्य देख्न सकिन्छ ।
साँझको यो घाम डुबी रहेछ
आजको यो दिन पनि ढलिसकेछ
हरेक दिन हरेक रात
गर्दै जीवन मेरो पनि ढलिरहेछ
भोली फेरि यो दिनहरू आउँछ कि भनी
भोली फेरि यो रातहरू आउँछन् भनी
कति पर्खी बसेँ : योगेश्वर अमात्य
दार्जीलिङ । हरियाली । डाँडाकाँडाहरू त्यो मर्किएको उठेको लहर । त्यसमा योगेश्वर अमात्यको स्वर । यो गीतमा यी सबै मिसिएको छ । गीत ब्लुज शैलीमा छ । यो शैलीमा कमै नेपाली गीतहरू छन् । त्यसैले उत्कृष्ट ब्लुट गीत बन्ने बाटोमा यो गीत छ भन्न सकिन्छ । योगेश्वरको बाक्लो स्वर मिठो ‘फिट’ भएको छ । इलेक्ट्रिक गीतारको फाइन सोलो, स्याक्सोफोनको सोलो, ड्रमको माधुर्य बिट– गीतलाई न्याय भएको छ ।
दार्जीलिङका गीतकार तथा संगीतकार स्व. पारस गजमेरप्रति समर्पित गरेको यो गीतले प्रेम नै बोलेको छ । तर फरक शैली र पृथकतासहित । यसमा एउटा प्रेमीको पर्खाइ गाइएको छ । त्यस्तो पर्खाइ जुन कहिल्यै पूरा हुँदैन । गीतको म्युजिक भिडियोमा पनि त्यही कथा भनिएको छ ।
कति पर्खि बसेँ
मायालु आउँछिन् भनेर
भनेकै थियौ
न्यायो न्यानो माया दिन्छु भनेर
जिन्दगीको गोरेटोहरूमा दोहोर्याउँछु, भनेकै थियौ
मेरा सारा कमजोरीहरूलाई लुकाउँछु, भनेकै थियौ
तर, धोका रहेछ
तिम्रो वचन मायालु, सधैंभरि…
चोर : द स्याडोज् नेपाल
हार्डकोर रक म्युजिक जन्रा गर्ने ब्यान्ड – द स्याडोज नेपाल – लामो समयपछि फर्किएको छ, एकदमै शक्तिशाली गीत सहित – चोर । राजनीतिक विषयवस्तुमा गीत गाउँदै आइरहेको यो ब्यान्डको नयाँ गीतमा पनि हामीले उही विषयवस्तु पाउन सक्छौं । त्यो त शीर्षकले नै प्रष्टाएको छ ।
कुनै शक्ति (राजनीतिक/सरकार वा अन्य केही !) सँग निराश जनताको स्वर यो गीतमा सुन्न पाइन्छ । कताकता यसमा २३ भदौमा भएको जेनजी आन्दोलनको कुरा पनि सुन्न सकिन्छ । तर, अति संक्षिप्तमा । तर, एउटा जनतामा जुन रिस छ, जुन समस्या छ, जुन विद्रोह छ – त्यो कुरा यो गीतमा मजाले झल्कन्छ । यसो भनौं – द स्याडोज् नेपालले आफ्नो चिनारी छाडेको छैन ।
अलमलाउने कुरो मात्रै
काम केही गरेको होइन
मुखमा लाउने माड छैन
चाखमा लाउने घिउ
बोलेर नै बन्ने भए
मान्छे आफैं बन्थिस् पहिले
लुट्नु लुटे फुट्नु फुटे
हत्यारा होस् तँ
चोर चोर चोर ….
मलाई हेर : सबिन राई एन्ड द फारोह
जब प्रेम पूर्ण हुँदैन । आकार लिन्छ कि भन्यो बरु बिस्तारै सकिन्छ । त्यसैबेला प्रेमी/प्रेमिकाले के सोच्छन् ? के ठान्छन् ? के भोग्छन् ? यही कुरा ‘मलाई हेर’मा गाइएको छ । ब्यान्ड आफैंले यो गीतलाई एउटा मिठो मायाको गीत हो भनेर व्याख्या गरेको छ । नभनिएका हजारौं भावनाहरू लुकेका र मनले मौनतामै कुरा गर्ने कुरा यो गीतमा छ । गीतमा ब्यान्डको चिनारीसँगै केही नयाँ तत्व वा भनौं फ्लेवर पनि हामीले पाउन सक्छौं । गितारिस्ट जोन राईको बहुतै सुन्दर सोलो कम्पोजिनहरू सुन्न सक्छौं । स्वरमा पनि सविन राईले केही फरक गर्न प्रयास गरेका छन् । समग्रमा ब्यान्डका लागि पनि यो गीत विशेष हो । ब्यान्डले यसअघि ९ महिनाअघि गीत निकालेको थियो ।
मलाई हेर
मलाई हेर न
देख्छौ देख्दैनौ आफूलाई
मेरो यो आँखामा
मलाई सोध
मलाई सोध न
यही प्रश्न दोहोर्याइ तेहोर्याइ
जवाफ एउटै हुन्छ
संघर्ष जिन्दगी
सामनासँगै गर्ने
भाग्य कोरौंला हामी
एउटै जात बनी…
४० : एमटी ८८४८
यदि आधुनिक शैलीका गीतहरू सुन्नुहुन्थ्यो भने यो ब्यान्ड तपाईंले सुन्नुभएको हुन सक्छ । ‘मस्की मस्की’ फेम्ड ब्यान्ड हो यो । तर, विगत केही वर्षदेखि यो ब्यान्ड सुस्ताएको थियो । त्यही बीच ब्यान्डले निकालेको नयाँ गीत हो – ४० ।
नेपालमा ४० उमेरलाई मानक बनाएका केही प्रख्यात गीत छन् । त्यसमा एमटी ८८४८ को नयाँ गीत ‘४०’ पनि थपिएको छ । राम, विश्व, ईश्वर र पुकार नामका चार साथीहरूको साँचो कथालाई गीत बनाइएको ब्यान्डले जनाएको छ । मुख्यत: ४० वर्षको उमेर पुग्दा पनि अविवाहित रहनुपरेको एक पुरुषको एकांकीपन, सामाजिक दबाब र पश्चात्तापलाई ठट्टा र पीडाको समिश्रणमा गीतमा बनाइएको छ ।
बिहे मेरो भाको छैन पुगें म त ४०
साथीहरू भन्ने गर्छन् जोवन यसै फालिस्
म भन्छु ओए साथी तैले चाहिँ के पाइस्
लाग्छ बिहे गरी त चाहिँ आज निक्कै पछुताइस्
कोही त होली मेरो लागि दैवले जुराको
हर दिन राख्छु दैवसामु प्रश्न यो कुराको
म भन्छु ओए साथी तैले के गरी पाइस्
म त अझैसम्म कुरिराछु लगनको साइत..
यी बाहेक नितेश जङ्ग कुँवरको ‘हो नै रहेछु’, ५:५५ को हेभिवेट, उजन शाक्यको ‘लुपमा’, अन्डरसाइडको ‘लाइभ अ लाइ’ जस्ता गीतहरू पनि सुन्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4