+
+
Shares

सैन्य आधार तालिमबाट ९७ जना सैनिकहरू दीक्षित

नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरअन्तर्गत बागलुङको घोडाबाँधेस्थित कालीजङ्ग गणमा सञ्चालित सिसं ९ सैन्य आधार तालिमबाट ९७ जना सैनिक जवान दीक्षित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १७:५९

११ वैशाख, गण्डकी । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरअन्तर्गत बागलुङको घोडाबाँधेस्थित कालीजङ्ग गणमा सञ्चालित सिसं ९ सैन्य आधार तालिमबाट ९७ जना सैनिक जवान दीक्षित भएका छन् ।

आज सैन्य आधारभूत तालिमको समापनसँगै अन्तिम दलेल कवाज प्रदर्शन गरिएको कालीजङ्ग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीले जानकारी दिए ।

दलेल कवाजको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी भोलानाथ थापासहित उच्च सैनिक अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरूले निरीक्षण एवं अवलोकन गरेका थिए । त्यसक्रममा उपरथी थापाले नौमहिने सैन्य आधार तालिममा उत्कृष्ट सैनिक जवानहरूलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै उपरथी थापाले राष्ट्र, जनता र सेनाप्रति बफादार रही सैनिक सेवामा समर्पित रहन सकल दर्जालाई निर्देशन दिए । उनले सैनिक मर्यादा र अनुशासनको पालना गर्दै उच्च व्यावसायिक धर्म निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उपरथी थापाले शिक्षा र तालिमलाई समयानुकूल परिमार्जन गर्दै लैजाने बताए ।

‘राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो भएमात्र देश बलियो हुन्छ’, उनले भने, ‘दक्ष, तालिमप्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक सेनाको मेरुदण्ड हो ।’ उनले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि नेपाली सेना कटिबद्ध भएर अघि बढ्ने बताए ।

सैन्य आधार तालिममा सर्वोकृष्ट हुने सैनिक जवान सुदेश मगरलाई श्रेष्ठताको प्रतीक स्वरूप खुकुरीद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा फायरिङ विधामा उत्कृष्ट राजन विष्ट, ड्रिल विधामा उत्कृष्ट सुनिल लिम्बू, १२ किलोमिटर दौडमा उत्कृष्ट पवन लंवा, पाँच किलोमिटर दौडमा दिपेन रसाइली, बाधापार विधामा उत्कृष्ट सरोज राईलाई उपरथी थापाले पुरस्कार वितरण गरे ।

तालिम समापन समारोहमा २३ बाहिनी अड्डा बागलुङका सहायक रथी विजय केसी, जिल्लास्थित जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, दीक्षित सैनिक जवानका परिवारजनलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?