News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानसेनापति अशोकराज सिग्देलले भूतपूर्व सैनिकको सञ्जाल वडा तहसम्म विस्तार गर्ने काम तीव्र गतिमा अघि बढाइने बताएका छन्।
- सैनिक कल्याणकारी कोषमार्फत सैनिक विद्यालय र इन्जिनियरिङ अध्ययन संस्थाको स्थापना तथा सौर्य ऊर्जा परियोजना अध्ययन भइरहेको छ।
- भूतपूर्व सैनिक सम्मेलनमा लुम्बिनी, गण्डकी, मधेश र बागमती प्रदेशका ३३ हजार जनाको उपस्थिति रहने अनुमान गरिएको छ।
२२ चैत, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले भूतपूर्व सैनिकको सञ्जाल वडा तहसम्म विस्तार गर्ने काम तीव्र गतिमा अघि बढाइने बताएका छन् । मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलमा आइतबार भएको ‘नेपाली सेना भूपू सैैनिक सम्मेलन २०८२’ कार्यक्रममा बोल्दै प्रधानसेनापति सिग्देलले वडा तहसम्म भूतपूर्व सैनिकको सञ्जाल विस्तार गरिने बताएका हुन् ।
‘नेपाली सेनाको कल्याणकारी बोर्डले देशभर रहेका हितकारी कार्यहरूलाई एउटै छातामुनि ल्याउन सञ्जाल बनाउने र विस्तार गर्ने कार्य गर्दै आइरहेको छ । हिताधिकारीको संख्याका आधारमा देशभक्ति राष्ट्रिय सञ्जालको रूपमा वडा तहसम्म विस्तार गर्ने अभियान तीव्र गतिमा अघि बढाइने छ,’ सिग्देलले भने ।
‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल भावसहित यस पटक सुरु भएको भूतपूर्व सैनिक सम्मलेन सैनिक जोस, ऊर्जा र उमङ्ग ताजा भएको बताइएको छ ।
नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पुर्याउँदै आएको बताउँदै प्रधानसेनापति सिग्देलले भने, ‘यो ऐतिहासिक परम्परालाई कायम राख्दै भविष्यका चुनौतीलाई सामना गर्न सक्ने सक्षम संस्थाको रूपमा नेपाली सेनालाई थप विकास गरी पुस्तान्तरण गर्दै लैजानु हामी सबैको साझा दायित्व हो ।’
सैनिक अनुशासन, सैनिक चेन अफ कमान्ड, संगठनको अराजनीतिक चरित्र, एकताको भावना र सांगठनिक लक्ष्य प्राप्तिमा अविछिन्न केन्द्रित हुने परम्पराले सैनिक इतिहासलाई थप गौरवशाली बनाउने प्रधानसेनापति सिग्देलले बताए ।
‘बहुजन हिताय, बहुजन सुखाय’ वाक्यको मनन गर्दै नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरू विकेन्द्रीकृत, पारदर्शी एवं परिणाममुखी र आत्मनिर्भर बनाउँदै हिताधिकारीहरूको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, स्वरोजगार तथा सिप विकास लगायतका क्षेत्रहरूमा हिताधिकारीहरूको अधिकतम पहुँच विस्तार गर्दै लैजाने काम भने जारी रहेको बताइएको छ ।
हिताधिकारीको आवश्यकता र मागबमोजिम स्वास्थ्य सुविधा थप विस्तार गर्दै लैजाने योजना रहेको प्रधानसेनापति सिग्देलले बताए ।

विद्यमान ऐन, कानुनको परिधि भित्र रही आवश्यक परे थप नीति निर्माणमा समेत ध्यान दिई आयमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्न कल्याणकारी बोर्डलाई निर्देशन दिइएको सिग्देलले बताए ।
सैनिक कल्याणकारी कोषमार्फत नेपालगञ्जमा सैनिक विद्यालय र भक्तपुरको खरिपाटीमा नेपाली सेना इन्जिनियरिङ अध्ययन संस्थाको स्थापना तथा भौतिक निर्माणको काम भइरहेको बताइएको छ । त्यस्तै कपिलवस्तुको सैनामैनामा १० मेगावाटको सौर्य ऊर्जा परियोजना स्थापनाका लागि विस्तृत अध्ययन भइरहेको छ ।
काठमाडौं उपत्यका भित्र सञ्चालित क्यान्टिन सेवालाई क्रमिक रूपमा बाहिनी र युनिट स्तरसम्म बिस्तार गर्दै लगिने योजना छ ।
स्वदेशदेखि विदेशसम्म स्थापित
नेपाली सेना स्वदेशदेखि विदेशसम्म स्थापित संस्थाको रूपमा परिचित भएको प्रधानसेनापति सिग्देलले बताए । देशको सार्वभौमिकताको रक्षामा नेपाली सेनाले निर्वाह गरेको भूमिकालगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपत व्यवस्थापन सेनाले महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ ।

त्यसैगरी अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनाका कारण नेपाली सेना परिचित रहेको बताउँदै उनले भने, ‘स्वदेश र विदेशमा एक विश्वसनीय र सम्मानित संस्थाको रूपमा नेपाली सेना स्थापित छ ।’
भर्खरै सम्पन्न भएको आम निर्वाचन पनि भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले उत्कृष्ट भूमिका निर्वाह गरेको बताउँदै प्रधानसेनापति सिग्देलले भने, ‘नेपाली सेनाको उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवं कार्यको अहिले सर्वत्र प्रशंसा भएको छ ।’
मिसनको संख्या कटौतीको असर कल्याणकारी कोषमा
कल्याणकारी कार्यको निरन्तरताका लागि कोषको आयस्रोतमा दिगोपन हुन जरुरी हुन्छ । कल्याणकारी कोषको मितव्ययी र पारदर्शी प्रयोगबाट कोषको दिगोपन र सेवा प्रभावमा निरन्तरता आउँछ ।
तर, पछिल्लो समय भने शान्ति सैनिकको मिसनको संख्या घट्दा यसको असर कल्याणकारी कोषसम्म पुगेको बताइएको छ । ‘शान्ति स्थापनार्थ फौजको संख्या कटौतीले कल्याणकारी कार्यालय सञ्चालन र दिगो बनाउन चुनौती देखा परेका छन्,’ प्रधानसेनापति सिग्देलले भने ।
यसका साथै मुद्दती निक्षेपको ब्याजको आम्दानीमा भारी गिरावटसमेत भएकाले कल्याणकारी कार्यमा चुनौती देखिएको बताइएको छ ।
किन सैनिक सम्मेलन ?
२०७० सालबाट नेपाली सेनाले भूतपूर्व सैनिक सम्मेलन गर्दै आएको छ । अवकाश प्राप्त करिब ९० हजार सैनिकबीच पुनर्मिलन गराउने उद्देश्यले सैनिक कल्याणकारी कोषले भूतपूर्व सैनिक सम्मेलनको कार्यक्रम गर्दै आएको छ ।
हरेक प्रधानसेनापतिको कार्यकालमा एक पटक सञ्चालन गरिने यो सम्मेलनलाई तीन चरणमा विभाजन गरी कार्यक्रम गरिँदै आएको छ । तीन वर्षमा समग्र देशभर यो कार्यक्रम सञ्चालन हुन्छ ।
‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा भूतुपूर्व सैनिक र बहालवाला सैनिकबीच यो कार्यक्रममा सामिप्यता जागृत गराउने नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेत बताउँछन् ।
यस्ता कार्यक्रमले जीवनमा ऊर्जा थप्ने, सुख–दु:ख साटासाट हुने, सैनिक कल्याणकारी कार्यक्रम जानकारी गराइने र भावी दिनमा गर्नुपर्ने सुधारका सुझावहरू समेत संकलन गरिने बताइएको छ ।
यो सम्मेलनले भूपू सैनिक तथा एकल महिलाहरू र आश्रित परिवारको आर्थिक, सामाजिक एवं भौतिक जीवनस्तरमा सुधारका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुन: रोजगार तथा आवास जस्ता कल्याणकारी आवश्यकताहरूको सम्बोधन गर्दै आएको छ ।

यस किसिमका सम्मेलनमार्फत सेनाप्रति समर्पित भूपू सैनिक तथा एकल महिलाको सञ्जाल निर्माण तथा सोको परिचालन गरी नियमित सेना र भूपू सेनाबीच आपसी हितका लागि सहकार्यको वातावरण सिर्जना गर्नुका साथै भूपू सैनिक व्यक्तिहरू र प्रधान सेनापतिबीच प्रत्यक्ष अन्तर्क्रिया तथा छलफल गर्न कोसेढुङ्गा सावित भएको छ ।
यस वर्ष योजना गरिएको भूपू सैनिक सम्मेलनमा लुम्बिनी, गण्डकी, मधेश र बागमती प्रदेशका ३३ हजार जनाको उपस्थिति रहने आकलन गरिएको छ । चैतको तेस्रो हप्ताबाट सुरु भएको यो कार्यक्रमा चार चरणमा वैशाख ४ गते सम्म सञ्चालन हुनेछ ।
यस वर्ष मध्यपश्चिम पृतनाअन्तर्गत रूपन्देही, दाङ, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, पश्चिम नवलपरासी, पूर्वी नवलपरासीमा हुनेछ ।
पश्चिम पृतनाअन्तर्गत कास्की, म्याग्दी, मुस्ताङ, मनाङ, पर्वत, बाग्लुङ, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ र मध्यपूर्वी पृतनाअन्तर्गत सिन्धुली, रामेछाप, दोलखा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरीमा ४ वैशाखसम्म आयोजना हुनेछ ।
गत वर्ष पहिलो चरणमा सुदूरपश्चिम पृतना र उत्तर पश्चिम पृतना र त्यसअन्तर्गतका जिल्लाहरूमा भएको थियो ।
प्रतिक्रिया 4