
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. नवराज लम्सालले हाल धरा महाकाव्यको दोस्रो संस्करण र कर्ण महाकाव्यको चौथो संस्करणमा काम गरिरहेका छन्।
- उहाँले अमेरिकामा ३५ दिनमा २५ वटा कार्यक्रममा नेपाली भाषा, साहित्य र प्रकाशनमाथि बहस हुँदा खुसी महसुस गर्नुभएको छ।
- डा. लम्सालले नेपालको राजनीतिलाई अपराधीकरणको बाटोमा रहेको र नेताहरूमा संवेदना शून्यता रहेको बताउनुभयो।
‘अग्नि’ (२०७८) महाकाव्यमार्फत मदन पुरस्कार विजेता लेखक हुन् डा.नवराज लम्साल। कवि, गीतकार, रेडियो पत्रकार उनका परिचान हुन् । पत्रकारिताबाट करिअर सुरु गरेका उनका पाइलैपिच्छे सगरमाथा (२०६१), कर्ण (२०६६), धरा (२०७३) लगायतका पुस्तक प्रकाशित छन् ।
अनलाइनखबरले उनै लम्सालसँग ‘दिलै खोलेर’ कुराकानी गरेको छ :
हिजोआज
१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
‘धरा’ महाकाव्यको दोस्रो संस्करण भर्खर बजारमा आयो । त्यो चिटिक्क परेको कलेबरमा सार्वजनिक हुँदानहुँदै म ‘कर्ण’ महाकाव्यको चौथो संस्करणको अन्तिम चरणमा छु । लेखकलाई पुस्तकको अर्को संस्करण छापिँदा प्राप्त हुने खुसी एक प्रकारको समुद्र हो । म त्यही समुद्रमा तैरिरहेको छु । आनन्दित छु ।
२. पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनुभयो ?
गतमहिना म अमेरिकामा थिएँ । ३५ दिनमा सानाठूला २५ वटा कार्यक्रममा सहभागी हुने मौका मिल्यो । ती कार्यक्रममा नेपाली भाषा, साहित्य, पुस्तक लेखन र प्रकाशनमाथि विषद बहस भए । ती बहसमा उठेका मुद्दा र संवेदनशीलताले मलाई खुसी तुल्यायो । ज्यान जति टाढा भए पनि नेपालीको मन नेपालीपनमै रहेछ । नेपाली हुनुको गौरवमै रहेछ । त्यसले मलाई अत्यन्तै हर्षित बनायो ।
३. दिक्क बनाएको कुरा ?
आलोचना, समालोचना हुनु राम्रो हो । तर, जे कुरामा पनि जहाँ पनि गाली, घृणा, प्रतिशोध र व्यक्तिको निजी जीवनमाथि अनावश्यक चियोचर्चाको जो संस्कृति निर्माण हुँदैछ । त्यो देखेर मलाई दिक्क लाग्छ ।
४. अबका योजना के छन् ?
‘कर्ण’ महाकाव्यको चौथो संस्करण अब छिटै आउँदै छ । छिटै भनेको हप्ता-दश दिनभित्रै हो । त्यसपछि एउटा नयाँ महाकाव्य र म जहाँदेखि यहाँसम्म आएँ, त्यो संस्मरणको काम गरिरहेको छु । दुवै काम एकै पटक भइरहेको छ ।
५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
समय, संवेदना र समाजबोध सहितको लेखन । लेखन र लेखन ।
६.अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
लेख्ने साथीहरूले देशको बहुरूप लेखिरहनु भएको छ । जातजाति, संस्कृति, भाषा, भूगोल, समय, सपना र आशाभरोसाको गुञ्जनमा वाणी भरिरहनुभएको छ । विषयमा बहुलता । बहुकेन्द्रीयता । बहुकिल्ला । बहुनायकत्व र सीमान्तकृत समुदाय र तिनको सपना लेखिरहनुभएको छ । यो मलाई रोचक लागेको छ ।
७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
राम्रो पक्ष सामाजिक अन्तरघुलन । प्रेम । हार्दिकता । दुःखमा दुख्न सक्ने र सुखमा खुसी बाँड्न सक्ने यो चेतनाको व्यावहारिक पक्ष राम्रो लाग्छ तर आज पनि जातभात, छुवाछुत, त्यसैका आधारमा शोषण र यही शोषणलाई पनि व्यवसाय बनाएर खाने केहीकेहीहरू देख्दा भने नराम्रो लाग्छ, नरमाइलो लाग्छ ।
८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
हेर्छु नि ! किन नहेर्नु ? सूचनाका स्रोत नै मिडिया हुन् । अहिले मिडिया परिपक्व हुँदै आएको छ । पार्टीको आवरणमा हुने पानी बाराबार हटेको छ । सन्तुलनको प्रयास हुँदै आएको छ । व्यावसायिकता बढेको छ । यो निकै राम्रो कुरा हो । एस.एल.सी. दिएकै वर्ष २०४३ मा समय दैनिकमा रिपोर्टिङ गर्दा, ३० वर्ष रेडियो नेपालमा वा १० वर्ष बीबीसीमा काम गर्दा मैले जे गरेँ, जे बुझेँ त्यो भन्दा धेरै राम्रो भएको पाउँछु ।
आज पत्रकारिता पढेर आएकाहरूले नै सम्पादकीय टिमको नेतृत्व गर्ने अवस्था भइसक्यो । यी सबै राम्रा हुन् तर स्टुडियोमा कुनै पाहुना बोलाएर पुलिसले चोरलाई खेरेझैँ खेर्ने, खेरिने अलि अनावश्यक र बेअर्थ लाग्छ । चर्को स्वर नगरे हुन्थ्यो कि जस्तो पनि लाग्छ । चोरीको रिपोर्टिङ गर्दा चोरको समेत बाइट प्रयोग गरेर सन्तुलन खोज्ने यो पेशामा सूचना होइन, अनुभूतिको निबन्ध पढेझैँ बोलेको बोल्यै गर्दा कताकति त्यो चाहिँ अलि सच्याउनुपर्छ कि जस्तो लाग्छ ।
९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन काम सुधार गर्नुहुन्थ्यो ?
आज मिल्ने भए फेरि नियमित कलेज गएर क्या गज्जबले पढ्थेँ होला । मैले सोचेजस्तो गरी क्याम्पसमा नियमित हुन पाइनँ । बाल्मीकि र आरआर दुईतिरकै विद्यार्थी भएर पनि म नियमित हुन सक्तिनँ थिएँ, भ्याउन्नथेँ । कक्षा छुटेकोमा म असाध्यै दुःखी हुन्थेँ । तिनताका म कतै स्कुल पढाउँथेँ, कतै अखबारमा पनि काम गर्थेँ । म नियमित कलेज जाने र पढ्ने गर्न पाइनँ । त्यो पछुतो छ ।
१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
हरेक पुस्ताले भोग्ने समयको स्वर फरक हुन्छ । बाको पुस्ताको सोच, दायित्व र जिम्मेवारी फरक थियो । मेरो पुस्ताको पनि फरक थियो र छ तर अबको नयाँ पुस्ताले मैले वा मेरो पुस्ताले जति नै पढेर जानेर मात्रै पुग्दैन । निजी सीप, बौद्धिकतासँग आजका प्रमुख विश्वव्यापी मुद्दा, प्रविधिले दिएको सुविधा र जटिलता तथा वातावरणमा आएको परिवर्तन समेतको हेक्का राखेर अघि बढ्नु जरुरी छ ।
नयाँ पुस्ताका कतिपय नयाँहरू आज भित्रभित्र खोक्रो हुँदैछन् । यन्त्रजस्तो हुँदैछ । निराशा, कुन्ठा र अनियन्त्रित भयको भारी बोकेर हिँडिरहेछ । तिनलाई आत्मजागृति हुने विषय, सन्दर्भ र सामग्री दिनुपर्छ । स्नेहको मात्रा बढाउँदै लानुपर्नेछ । मान्छेले प्रविधि होइन, प्रविधिले मान्छे खेलाउन थालिसक्यो । यो पाटोमा केही न केही सोच्न जरुरी भइसकेझैँ लाग्छ । नयाँ पुस्तालाई चित्र नयाँ होइन चरित्र नयाँ बनाऊ भन्नु पर्नेछ ।
किताब
१. पढ्ने बानी कसरी बस्यो ?
जन्मनेबित्तिकै नजानेरै आमाको दूध चुसेजस्तो सानोमा जान्दा नजान्दैदेखि किताबी लत सुरु भएको हो । बालादिनमा गाउँमा परदेशबाट कसैले पठाएको चिठी पढिदिने, स्वस्थानी पढ्ने, दशैँमा मालश्री भन्ने, रुद्री, चण्डी पाठ गर्ने गर्दागर्दै महाभारत र रामायण पढ्ने चरणमा प्रवेश गरेँ । गौरी, मुनामदनले लत बसाले ।
त्यसपछि संस्कृत मावि रानीपोखरीमा कक्षा ८ पढ्न काठमाडौँ आएपछि त्यतिबेलै कालीदासका महाकाव्य र देवकोटा भेटेँ । संस्कृत छात्रावास बस्न थालेपछि त्यहाँ ठूलो पुस्तकालय थियो । त्यहाँ प्रवेश मिल्यो । यसरी पठन यात्रा निरन्तर हुर्किँदै आयो ।
२. पढ्न मनपर्ने विधा ?
काव्य । कविता । दर्शन । संस्कृति ।
३. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?
एउटै पुस्तक ट्वाक्क भन्न सक्तिनँ तर पनि श्रीमद्भगवत् गीता । विवेकानन्द साहित्य । केही हदसम्म ओशो । देवकोटका महाकाव्यहरू । वेद । पछिल्लो छिमलमा नयाँ-नयाँ कविहरूका कविता सङ्ग्रहहरू ।
म एउटा किताबभन्दा पनि एउटा लेखक पढ्नुपर्छ भन्छु । हरेक लेखकसँग लेखनका आ-आफ्नै विशिष्ठता, शिल्प र स्वर छन् । प्रत्येक लेखकको लेखन धारबाट लेखनको बहुलता झाँगिएको छ । प्रभावको प्रवाह बिस्तारै बढ्दै गएको छ । हिजो भीषण ठानेको किताब र लेखक आज ठिकै पनि लाग्न सक्छ । यो उमेर, अनुभव र अध्ययनको विकसित रूपमाथि निर्भर गर्ने कुरा हो ।
४. निराश बनाएको पुस्तक ?
कुनै पुस्तक आफैँले चकलेट दिएझैँ आशा वा निराशा दिने होइन । के लिने भन्ने कुरा पाठकको बोध र ग्रहण क्षमतामा पनि निर्भर गर्दछ । संसारका सबै किताब पढ्नै पर्छ भन्नै छैन । कुनै किताबले तानेन वा छोएन भने नपढे भैगयो त । घुँडा धसिधसी किन घोक्नु पर्यो र ? तर पनि कुनै न कुनै किताबमा केही न केही त हुन्छ । रहेनछ भने यस्तो झूर किताब लेख्नु हुन्न भन्ने त सिकिन्छ ।
५. नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
लेख्ने भनेकै सामाजिक अन्तरविरोध, शोषण र शासकीय अहङ्कारविरुद्ध हो । अनि लेख्ने हो, इतिहास, भूगोल र संस्कृतिको जगमा समय, समाज र संवेदना । लेखकको कल्पना सीमाहीन हुन्छ । लेखक सकेसम्म अतीतको जगमा भविष्यमुखी हुन सके राम्रो । सकारात्मकता र सामाजिकताको खोज गर्न सके राम्रो । आजका लेखकले समाजको बहुलता । व्यक्तिको सर्वोच्चता । पर्यावरणलगायत वैश्विक साझा समस्या । यान्त्रिक जटिलता र निराशाका विरुद्ध लेख्नुपर्छ, लेखिनुपर्छ ।
६. तपाईंका प्रिय लेखकहरू ?
लेखक प्रिय र अप्रिय भन्ने हुन्न । सबै लेखकको सबै किताब मनपर्छ नै भन्ने पनि छैन । मेरो एउटै मात्र कुनै आदर्श लेखक छैनन् । एउटै भन्ने हो भने त व्यास हुन्, जसले पौरस्त्य दर्शनका अथाह ज्ञान दिए । ती सबै पढ्न, बुझ्न र बोध गर्न एक होइन सात जुनी चाहिन्छ ।
८. लेखक बन्न चाहनेहरूले पढ्नुपर्ने पुस्तक ?
महाभारत । महाभारत यति धेरै पात्र, प्रवृत्ति र घटना भएको पुस्तक हो कि त्यसबाट धेरैले धेरैको धेरै चरित्र सिक्न सक्छन् ।
९. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
मिल्ने भए म कर्णलाई भेट्न चाहन्थेँ । जीवनमा पटक-पटक हारेर पनि आत्मा नहार्ने ताकत के हो भनेर सोध्थेँ । च्यातिँदा च्यातिँदा पनि नसकिने तर च्यात्नेहरूभन्दा माथिको त्यो तिम्रो प्राप्तिमा तिमी आफैँलाई कस्तो बोध हुन्छ प्रिय कर्ण ? भनेर सोध्थेँ । तिमीमाथि कर्ण महाकाव्य लेखेर मैले न्याय गरेँ कि गरिनँ भनेर पनि सोध्थेँ ।
सिनेमा
१. पहिलो पटक फिल्म हेर्दाको सम्झना कस्तो छ ?
कक्षा ९ को परीक्षा दिएपछि २०४१ को पुस/माघतिर हुनुपर्छ, फिल्म कान्छी हेरेको थिएँ । त्यो मैले हेरेको मेरो जीवनकै पहिलो चलचित्र थियो । हलबाट निस्कँदा मैले एउटा नयाँ संसारबोध गरेर फर्केजस्तो भएको थियो ।
२. कस्ता फिल्म हेर्न मनपर्छ ?
अलि बढी मनोद्वन्द्व, अलि बढी संवेदनशीलता र सांस्कृतिक आत्मा भएको फिल्म ।
३. साह्रै मन परेका फिल्म ?
यो सूची लामै हुनसक्छ तर एउटा मात्रै विशेष भन्ने छैन ।
४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
यसरी टिप्पणी नै गर्नुपर्ने कुनै छैनन् । पुस्तक पढ्ने कुरा जस्तै हो यो पनि । कुनै पुस्तक पढ्दा मन परेन भने के कारणले मन नपरेको हो म त्यसैबाट मन नपर्नुको कारण सिक्छु । कुनै फिल्म हेर्दा ठिकै लाग्यो भने म त्यसैबाट पनि सिक्छु ।
कथा, अभिनय, पात्र वा के कुरा कमजोर छ ? त्यो एउटा पक्ष कमजोर हुँदा सिनेमा डब्बा हुनेरहेछ भन्ने बोध हुन्छ । यसरी ज्ञान दिने किताब वा सिनेमालाई किन खराब भनेर टिप्पणी गर्नु ? यसरी कोही कोही खराब हुन्छन् र त अब्बल हुनेको अर्थ हुन्छ ।
५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
एउटा दिन, जमाना थियो, भेटे जति सबै हेर्ने तर अहिले त्यस्तो छैन । अचेल कतिपय फिल्म त साथीहरूले प्रिमियम वा फस्ट शोमै बोलाउनुहुन्छ । त्यहीँ हेरिन्छ । कति सिनेमा केटाकेटीले हिँड्नु सिनेमा हेर्न जाऊँ भन्छन् र सँगै जान्छु । यस्तो मामलामा छोरी अगाडि छे ।
६. मन परेका कलाकार वा फिल्ममेकर ?
मेरो प्रिय कलाकार हरिवंश आचार्य हो । उहाँको क्षमतामा बहुरूप, बहुप्रतिभा र बहुविधा पाउँछु । तुलसी घिमिरे, नीर शाहजस्ता बुढा पुस्तादेखि नवीन सुब्बा, रवीन्द्र सिंह बानियाँलगायत निर्माता तथा कलाकार मनपर्छ । निरुता सिंह, केकी अधिकारी, निशा अधिकारी, सुरक्षा पन्त, शोभिता सिम्खडा, दिया मास्केहरू कालकारका रूपमा पनि र व्यक्तिगत रूपमा पनि सरल लाग्छन् । रङ्गमञ्चबाट आएका कलाकारहरूका अभिनय गज्जब लाग्छ । जस्तो, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, विजय बराल आदि ।
७. नेपालमा कस्ता फिल्म धेरै बनून् जस्तो लाग्छ ?
नेपाल बहुजातीय देश हो । बहुसंस्कृतिको देश हो । यहाँ संस्कृति र सांस्कृतिक पहिचानका धेरै सन्दर्भहरू छन् । जातीय संस्कृति र मिथकमाथि धेरैभन्दा धेरै फिल्महरू बने हुन्थ्यो जस्तो लाग्छ ।
८. सिनेमाले मानिसलाई यर्थाथसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्याएको ?
यथार्थको प्रस्तुतिले नयाँ आनन्द दिँदैन र ? नुमाफुङ राम्रो थिएन र ? दलन राम्रो थिएन र ? सरिता लामिछाने अभिनित मुक्ति टेलिचलचित्र राम्रो थिएन र ? कला कुनै न कुनै कोणमा यथार्थको किनारबाट पारि भाग्न सक्तैन । यथार्थमा कलाको रङ भर्ने भएर त त्यस्तो काम गर्नेलाई कलाकार भनेको हो । अखबारी लेखनजस्तै दुरुस्तै लेखे लेखाए वा देखे देखाए त व्यक्ति कलाकार होइन, रिपोर्टर बन्छ । कलाकार हुन कला चाहिन्छ । कलाको स्रोत यथार्थको डाली हो, डबली हो ।
घुमफिर र सोख
१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
असाध्यै ।
२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
हिँडिरहन्छु तर धेरै गएको ठाउँ भन्ने त खास छैन । अचेल मलाई सगरमाथा बेस क्याक्प पुगेर त्यहाँ रमाउने रहर छ । यो अवसर जुरेको छैन ।
३. सबैभन्दा मन परेको ठाउँ वा यात्रा ?
खप्तडको यात्रा निकै रोमाञ्चक । निकै आनन्दित । टेकराज अवस्थी र फणिन्द्र साउद भाइहरूसँगै थिए । डोटीबाट एकै दिन पुगेको । बीचबीचमा असिना पानी । ओडारको ओत । राति अबेर बल्लबल्ल पुगेको । भोलिपल्ट रामप्रसाद उपाध्याय दाइले पुरै खप्तड घुमाएको । वाउ ! त्यो त कहिल्यै बिर्सन्न !
४. गीत कत्तिको सन्नुहुन्छ ? सबैभन्दा मन परेका गायक ?
गीत सुन्छु नि ! आफैँले लेखेका झन्डै पाँच सय गीत रेकर्ड भएका छन् । किन नसुन्नु ? सबै गायकका सबै गीत मन पर्छन् भन्ने हुँदैन । कसैको स्वरमा रहेको कुनै गीत मनपर्छ । कसैको स्वरमा रहेको कुनै मनपर्छ । यसअर्थमा सबै गायक मनपर्छ ।
५. आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनु भएको छ ?
पछिल्लो पुस्ताका कतिपय कलाकार साथीहरूसँग कम परिचय भएर हो वा पहिलेजस्तो एउटै सीडीमा झ्याम्म आठदश गीत सुन्ने चलन नभएर हो केही छुटे छुटेजस्तो लागिरहेछ । पछिल्ला दिनमा अलि कमै गीत सुनिरहेको छु कि जस्तो पनि लाग्छ । कान्छो पुस्ताका कलाकारसँगको सम्पर्क, सम्बन्ध अलि कम छ ।
६. के कुराको विशेष सोख छ ?
त्यस्तो विशेष सौख भन्ने केही छैन । म साहित्यभन्दा टाढा हुन सक्तिनँ । बाँकी त यो जीवन पानी रहेछ । पानीको धर्म बग्नु । बगेपछि जहाँ खाल्डो छ त्यहीँ भरिनु पर्ने रहेछ । बगिरहेछु खाली ठाउँ भरेर । यो जीवन पनि र माटो पनि भिजाइरहेछु ।
७. खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
मलाई यही खाना भन्ने छैन । नमिठो लाग्ने पनि केही छैन । सबै खानामा उत्तिकै स्वाद र मिठास भएको पाउँछु । सफा हुनुपर्छ । पेट भर्न पाए पुग्यो तर खानामा बियाँ र रौँ परेको भेटियो भने एक घन्टासम्म वान्ता हुन्छ । वियाँ, रौँ र फोहोर नभएको अवस्थामा मलाई मन नपर्ने केही छैन । सबै परिकार उत्तिकै प्रिय लाग्छ, उत्तिकै मिठो लाग्छ।
राजनीति
१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नु पर्दा ?
नेपालको राजनीति अपराधीकरणको बाटोमा छ, संवेदना शून्य र योजनाहीन छ ।
२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
जो सत्तामा गए पनि, जसले नेतृत्व गरे पनि वा नारा जे दिए नि दुईचार सय बिचौलियाको हातमा छ देशको सत्ता र शासन । एउटै जमात, एउटै अनुहार राज्यसत्तामाथि लगातार हाबी छ । पटक-पटक अवसर पाएकाहरू नै उल्टै लौ खत्तम भो ! खत्तम भो ! भन्छन् । एउटै मान्छे दाहिने हातले खाई पनि रहेछ र देब्रे हातले विरोधको झन्डा पनि उठाइरहेछ ।
यही विरोधाभास नेपाली राजनीतिको ठूलो समस्या हो । पदमा हुनेले भएन भन्ने होइन, यो यो गरेँ । अब यो यो गर्छु भन्ने हो तर डाडुपन्युँ लिनेले नै नुन कम भो नुन चर्को भो भनेर कराउँछ । कम भएको भए आफैँ भान्सामा हुनेले नुन हाले भो त तर हाल्दैन र नुन पुगेन भन्छ, भनिरहन्छ ।
आफैँ चिल आयो भन्छन्, आफैँ चल्ला लुटेर खान्छन् । नेताहरूको छातीबाट संवेदना मरिसक्यो । यी कि पापी हुन् कि ढुङ्गा । यी आत्मकेन्द्रित, आफूकेन्द्रित र विवेकहीन छन्।
३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
तिनको मुखमा एउटा मात्रै जिब्रो राखिदिन्थेँ । रावणका दश टाउकाजस्ता यिनका दश जिब्रा छन् । कति बेला कुन जिब्रोले के बोल्छ थाहै पाउन्न । सबै जानेको देखाउन खोज्छन्, धोती खुस्किहाल्छ ।
४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
मलाई माझ गर्नुस्, सगर्व नाम लिने कोही छैनन् । तुलनात्मक रूपमा उन्नाइस, बीस छुट्याउन सक्छु तर एउटा लेखकको आँखामा नबिझाइकन बस्न सक्ने कोही भेट्दिनँ । यो मेरै कमजोरी होला शायद । मानवीय गुणदोष र कमजोरीलाई क्षमा दिएर हेर्दा पनि निजी पुस्तकालयमा तस्बिर राखूँ जस्तो नेता कोही छैन ।
५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
पहिलो कुरो त म प्रधानमन्त्री नै हुन्न । मैले यो सोच्ने कुरै भएन तर पनि तपाईँको प्रश्नको सम्मानका लागि उत्तर दिनु पर्दा म स्कुल तहको पाठ्यक्रम पुरै बदल्थेँ । उच्च सेवा, सुविधा र मनोविज्ञानसहित शिक्षणलाई गौरव र मर्यादाको कर्म बनाउँथेँ ।
विश्वविद्यालयबाट निस्केका अब्बल विद्यार्थीले म शिक्षक बन्छु भन्ने वातावरण तयार गर्थेँ । शिक्षा सुधारको जगबाट नउठी मुलुकको कायापलट गर्न सकिन्न । हाम्रो देशको मूल समस्या शिक्षामा छ, शिक्षणमा छ । १५ वर्ष पढेर पढाइसकिएको भोलिपल्टै ६ महिना कुनै देशको भाषा सिकेर विदेश जानुपर्ने शिक्षाको के काम ?
६. एक दिन बिताउनुपर्यो भने नेपालको÷संसारको कुन नेता छान्नुहुन्छ ?
पूर्वप्रधानमन्त्री वीपी कोइराला छान्थेँ र उहाँलाई सोध्थेँ-कोइरालाजी तपाईँ दुई तिहाइ मतसहित प्रधानमन्त्री भएको मान्छे । प्रधानमन्त्री हुँदैमा ८ वर्ष जेल बस्नुपर्यो । त्यो जेल बस्दा साहित्य लेख्नुभो धन्यवाद छ तर तपाईँले देखेको राजनीतिक सपना, तपाईँले कल्पेको देश र समृद्धिसहितको देश कस्तो हो ? के हो तपाईँको प्रजातान्त्रिक समाजबादको मोडेल ?
त्यो ८ वर्षमा तपाईँको नीति, रणनीति, योजना र कार्यक्रमका खाकासहित सुन्दर नेपालको तस्बिर देखिने कम्तीमा दुई सय पृष्ठको एउटा किताब किन लेख्नुभएन ? प्रधानमन्त्री भएको मान्छेको लाखौँ कार्यकर्ता शुभेच्छुक छन्, तिनलाई राजनीतिक रूपमा प्रशिक्षित हुने र वैचारिक रूपले आन्दोलित, उद्वेलित हुने पुस्तक किन लेख्नुभएन र किन उपन्यास लेखेर ८ वर्ष बिताउनुभयो ? म यी प्रश्न सोधेर घनघच्ची बहस गर्थेँ ।
सामाजिक सञ्जाल
१. दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
हेर्छु तर म सबैका स्ट्याटस र कमेन्ट हेरेको हेर्यै गरेर बस्दिनँ । हेर्छु तर सस्तो गाली र टिप्पणीको भीडमा हराएर रात कटाउन्न । म अनलाइनहरू हेर्छु । समाचार र विचारहरू पढ्छु । अन्तर्वाताहरू पढ्छु । युट्युबका केही राम्रा बहसहरू सुन्छु । पुलिसले चोरलाई हकारेजस्ता इगो र स्टन्टका अन्तर्वार्ता चाहिँ हेर्दिनँ ।
२. बिहान उठ्नासाथ र राति सुत्ने बेला फोन हेर्ने बानी छ कि छैन ?
म अत्यन्त आवश्यक छ भने मात्र गर्छु, नत्र साँझ ८ बजेपछि कसैलाई फोन गर्दिनँ । बढीमा ९ बजेपछि फोन उठाउन पनि मन गर्दिनँ । संवेदनशीलता हेरेर मात्र उठाउँछु । सबै उठाउँदिनँ ।
रातभरि कुनै म्यासेज वा कल छ कि भनेर बिहानचाहिँ बिहानै हेर्छु र आवश्यकता अनुसार कल ब्याक वा म्यासेज गर्छु । बिहानै सोसल साइटमा गाइहाल्दिनँ। राति अबेरसम्म लेख्ने पढ्ने गरेको दिन जतिबेला भए पनि सुत्नुअघि अनलाइनहरूका हेडलाइन चेक गरेर मात्र सुत्छु । कतिपय अनलाइनहरूमा दिनभरिका समाचारको सार पाइन्छ, त्यो हेर्छु अनि सुत्छु ।
३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
सहयोगी वा सूचना स्रोतका रूपमा प्रयोग गर्न सके सञ्जाल राम्रो कुरा हो तर यो आफैँमा अनावश्यक लत बन्यो भने नराम्रो । संसारमा जे जति छन, सबै हेर्छु भन्न थाल्यो भने न हेरेर सकिन्छ न त्यसको प्रयोजन छ । विषय, सूचना र ज्ञानस्रोतको रूपमा यसलाई उपयोग मात्र होइन, सदुपयोग गर्नुपर्छ । राम्रोसँग प्रयोग गर्न र प्रयोग हुन सके यो वरदान नै हो ।
४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?
यसलाई तुलनात्मक रूपमा हेर्नुपर्छ । पहिलो त यो सूचना र अभिव्यक्ति स्वतन्त्रताकै थलो हो तर स्वतन्त्रताको पनि सीमा हुन्छ ! मान्छेहरूलाई आफू अराजक भएको थाहा हुन्न । आफूले जे लेखे पनि ठिक जस्तो लाग्छ तर आफूलाई मन नपरेको कुरा लेख्दा मात्रै मर्यादा खोज्ने हो ।
मान्छेमा दोहोरो चरित्र छ । कमी कमजोरी र खराबी जहाँ पनि छ तर फेक आइडी बनाएर सीमाहीन गाली गर्ने झुन्ड पनि छन् । ती अपराधी हुन् तर स्वस्थ बहस, आलोचना र जिम्मेवार अभिव्यक्ति दिनेका लागि यो प्रविधिको उच्चतम थलो हो।
५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
लाग्दैन । पत्रिकाको कुरा अलग हो तर किताब किताब नै हो । पढ्ने जनका लागि किताबको सुगन्ध आफैँमा पारिजातको फूल हो । किताब मुसारेर ज्ञान लिने स्वाद हृदयको विषय हो । जाल र सञ्जालहरू सूचना स्रोत हुन् तर सम्पूर्ण स्रोत होइनन् । हातैमा किताब लिएर आफैँले पढे जति आनन्द सुनेर वा सञ्जालमा हेरेर आउन्न ।
पेशा/व्यवसाय
१. कवि/लेखक हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?
नराम्रो केही छैन । राम्रो लेख्न नसकेको दिन नराम्रो होला तर कवि हुनुको आनन्द अर्कै छ ।
२. कुन समयमा तपाईंलाई लेखक नै बन्नुपर्छ भन्ने लाग्यो ?
अब लेखक बन्छु भनेर घोषणा गरेर मैले लेख्न सुरु गरेको होइन । यो लैख्दै आउँदाको परिणाम हो ।
३. लेखक नबनेको भए के बन्नुहुन्थ्यो होला ?
रेडियोमा बोलिरहेको थिएँ । प्रसारकै हुन्थेँ होला । बीबीसीमा थिएँ, त्यतै कार्यक्रम गरिररहेको हुन्थेँ होला । त्यो नभएको भए शिक्षक थिएँ, विद्यालय वा विश्वविद्यालयमा पढाइरहेको हुन्थेँ होला ।
४. तपाईंको कोही रोलमोडल छ ?
छैन । अहङ्कार नठानियोस्, मेरो रोलमोडल मै हुँ । कति बेला मैरै आँसु मेरो रोलमोडल हो । मेरै आत्मविश्वास मेरो साथी हो । अब त यस्तो पनि लाग्छ, मेरै किताबका पात्र मेरा रोलमोडल हुन् ।
प्रस्तुति : सापेक्ष
प्रतिक्रिया 4