
News Summary
Generated by OK AI. Editorially reviewed.- गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयर पदका लागि २०७९ मा उम्मेदवारी दिएका थिए र हाल युट्युबमा सक्रिय छन्।
- पौडेलले यस वर्ष नयाँ उपन्यास डेजाभू फाइनल गर्ने योजना रहेको र वातावरण संरक्षणका विषयमा रुचि बढेको बताए।
- उनले नेपाली समाजलाई सहिष्णु तर अल्छी भएको र राजनीतिको मुख्य समस्या चम्चागिरी र भ्रष्टाचार रहेको उल्लेख गरे।
पोखरामा बसेर लेखिरहेका गनेस पौडेलको धेरै वटा परिचय छन् । पौडेलका पैतला (उपन्यास) र मुसा मानुष (अनुवाद) पुस्तक बजारमा आएका छन् । २०७९ सालको स्थानीय चुनावमा उनी पोखरा महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी समेत दिएका थिए । आजकल युट्युबतिर पनि सक्रिय हुन थालेका उनीसँग गरिएको दिलै खोलेरको अंश:
हिजोआज
१.हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
व्यस्तभन्दा पनि फुर्सदमा छु भन्नुपर्छ । फुर्सद भएकै कारण करेसामा समय दिन पाएको छु । बिरुवामा रुचि बढाउन सकेको छु र घरको नयाँ सदस्य अर्थात् हाम्रो पेट डग कोकोलाई हुर्काउन पाएको छु । आजकल मेरो फुर्सदलाई बिरुवा र कोकोले रंगीन बनाइदिएका छन् ।
२. पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनुभयो ?
केही समययता वातावरण संरक्षणका विषयमा आनन्ददायी खबरहरू पढ्न पाएको छु।
३. दिक्क बनाएको कुरा ?
गौरी शंकर चमारको भिडियो हेरेपछि मलाई दिक्क लागेको थियो । एक जना जिउँदो आइ विट्नेसलाई हाम्रो अदालतले चिनेन, हत्याको आरोपी रिहा हुनपुग्यो । योभन्दा दिक्क लाग्ने कुरा अरू के नै पो हुनसक्छ ?
४. अबका योजना के छन् ?
सूचिबद्ध योजना छैनन् । सृजनाको हकमा भने यो वर्ष डेजाभू (नयाँ उपन्यास) फाइनल गर्ने योजना छ । बाँकी समयको लयसँगै बग्ने न हो ।
५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
त्यस्तो छैन । कुनै एक चिज प्रधान हुनु र कुनै एकको महत्व सघन हुनु मैले बाँचेको जीवनसँग मेल खाँदैन ।
६. अचेल सबैभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
व्यक्तिभन्दा पनि विषय रोचक लाग्छन् मलाई । मलाई अचेल बिरुवाको संसार रोचक लागिरा’छ ।
७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
समाज सहिष्णु छ, यो भन्दा सुन्दर पक्ष अर्को हुनै सक्दैन । अलिकति हाम्रो समाज अल्छी हो कि भन्ने चाँहि हुन्छ ।
८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
अनलाइन बढी हेर्छु । नेपाली पत्रकारिता तुलनात्मक रूपमा अब्बल पाउँछु । भारतीय मिडियाको धङधङीले पनि यस्तो महसुस भएको हुनुपर्छ ।
९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नु हुन्थ्यो ?
म दुवै गर्थिनँ ।
१०.आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
रुढीवादलाई छाडेर मूल्य र मान्यता सिकाउने । हामी अलि समयमा मूल्यहीन समाजमा रूपान्तरण हुने खतरा देखिराछु म ।
किताब
१. पढ्ने बानी कसरी बस्यो ?
हामी बच्चा हुँदा किताबै पाइन्थेनन् । कोर्सको किताब पढेर सकिहाल्ने । त्यसपछि दाइदिदीका नेपाली किताबका कथा र कविताले तान्न थाल्यो । पछिसम्म पढ्ने बानी बसिसकेछ ।
२. पढ्न मन पर्ने विधा ?
मलाई कविता पढ्न मनपर्छ ।
३. सबैभन्दा मन परेको वा प्रभाव पारेको पुस्तक ?
धेरै छन् । लोलिता तीमध्ये एक हो ।
४. निराश बनाएको पुस्तक ?
नेक्स्ट क्वेश्चन प्लिज् ।
५. नेपालमा के कस्ता विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
वतावरणका विषयमा, रुखविरुवा र पेट एनिमलका विषयमा लेखिनुपर्छ भन्ने लाग्छ ।
६. तपाईंका प्रिय लेखकहरू ?
कुमार दाइ भै’हाल्नुभो । कन्टेम्पररी नेपाली लेखकमा मलाई बुद्धिसागर, नयनराज पाण्डे, तीर्थ गुरुङ, अमर न्यौपाने, श्रेयज सुवेदी मन पर्छन् । मसँगै देखिरहेका प्रायः सबै मन पर्छन् । अघिल्लो पुस्तामा चैँ मलाई नारायण ढकाल मनपर्छन् ।
८. कलाकार बन्न चाहनेहरूले पढ्नुपर्ने पुस्तक ?
एउटा मात्रै सोच्दा मेरो दिमागमा स्तानेस्लाभास्कीको ‘यान एक्टर प्रिप्रेयर्श’ आँउछ । बेकेटका किताब पनि पढ्नै पर्ला ।
९. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनु हुन्थ्यो ?
सायद वेदव्याससँग । मैले भर्खर मात्रै महाभारतको सोलोकास्ट अन्तर्गगतका केही थान भिडियो आफ्नो यूट्यूब च्यानलका लागि तयार पारेको छु । त्यसकारण पनि व्यास मेरो रोजाइमा पर्छन् ।
सिनेमा
१.पहिलो चोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?
दश किलोमिटर साइकल पेलेको हुनुपर्छ त्यो दिन । हलको अँध्यारोमा सुरुमा अनौँठो लाग्याथ्यो।
२. कस्ता फिल्म हेर्न मन पर्छ ?
मलाई कथानकभन्दा पनि पात्रतामा रुची छ । पात्र बलियोसँग स्थापित भएका सिनेमा हेर्न रुचाउँछु।
३. साह्रै मन परेका फिल्म ?
धेरै पो छन् । सर्सर्तीभन्दा सिन्लर लिस्ट, हाराकिरी, द ग्रेट व्यूटी, रोप, ट्वेल्भ एङ्ग्री म्यान, साम्बाला , थ्रीमड्ढिज्, र्यान इत्यादीको सम्झना भो ।
४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
मैले असाध्यै चर्चा सुनेको तर हेरिसक्दा ठीकै लागेका सिनेमा इन्सेप्सन् र ग्रीनमाइल हुन् ।
५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
मुडले छान्छ । कहिले आइएमडिबी रेटिङ पनि हेर्छु ।
६. मन परेका कलाकार वा फिल्ममेकर ?
कलाकारमा चार्ली च्याप्लीन हुन्। अचेल केट ब्लान्चेट मन पर्छिन् । फिल्ममेकरमा भने मलाई अकिरा कुरासाबा बबाल लाग्छन् ।
७. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?
सबै खाले सिनेमा बनून् ।
८. सिनेमाले मानिसलाई यर्थाथसँग साक्षात्कार गराएको ठिक कि, एकछिन भए पनि अर्कै संसारमा पुर्याएको ?
समय सापेक्ष दुवै ठिक।
घुमफिर र सोख
१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
बहुतै ।
२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
मलाई पटक-पटक जान मन पर्ने ठाँउ हुँडीकोट हो । त्यहाँ पुगेर झरीमा पोखरा हेर्नुको आनन्द अर्कै छ ।
३. सबभन्दा मन परेको ठाउँ वा यात्रा ?
मलाई खप्तडको यात्रा बहुतै मनपरेको थियो ।
४. गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
गीत अक्सर सुन्छु । मेरा अलटाइम फेभरेटमा नुसरत फतेह अलीखान साब पर्नुहुन्छ ।
५. आज भोलि कस्ता गीत, कसको गीत सुनिरहनु भएको छ ?
नेपालको हकमा मलाई अचेल सुरज पण्डित र सुजन चापागाँईका गीत मन पर्छन् ।
६. के कुराको विशेष सोख छ ?
मेरा सौख बदलिरहन्छन् । फिलहाल बिरुवा र गोडमेलमा।
७. खानाको कत्तिको सौखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
मलाई मन नपर्ने खानेकुरा नै छैनन् । मलाई जे पनि मनपर्छ । सबै उस्तै, उत्तिकै मन पर्छ । खानेकुरालाई माया गर्न मैले राजनबाट सिकेको हो । छोरी सौरभी र उसको अंकल त्रिवेणीका कारणले आजकाल नयाँ-नयाँ परिकार चाखिरहेको छु ।
राजनीति
१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?
ध्वस्त ।
२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
चचाचुचे अर्थात् चम्चागिरी, चाकरी, चुक्ली, चेपारे कार्यकर्तामा भुलेका नेता । विज्ञताको मूल्य नहुने राजनीति कहिल्यै सद्दे हुँदैन।
३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
कम्तीमा भ्रष्टाचार नगर्ने बनाउँथेँ ।
४. मन परेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
प्रदीप गिरी दाइ मनपर्ने नेता हुनुहुन्थ्यो । म मूलतः नेहेरुको फ्यान हुँ ।
५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
सामुदायिक शिक्षालाई कायापलट गर्थेँ ।
६. एक दिन बिताउनु पर्यो भने नेपाल तथा संसारका कुन नेता छान्नुहुन्छ ?
मलाई एलन मस्कसँग एकदिन बिताउन मन छ । उनी नेता नै हुन् नि हैन र !
सामाजिक सञ्जाल
१.दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
निक्कै कम छ । आजकाल डम्ब मोबाइल चलाइरहेको छु ।
२. बिहान उठ्नासाथ र राति सुत्ने बेला फोन हेर्ने बानी छ कि छैन ?
छैन ।
३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
मलाई राम्रै लाग्छ सञ्जाल ।
४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि, गलत सूचना फैलाउने काम बढी गरेको छ ?
यो एल्गोरिदमको कुरा पनि हो । मेरो हकमा अघिल्लो पाटोले काम गरेको छ ।
५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
लाग्दैन । अचेल पढ्नलाई किताब र पाठक दुवैको संख्या बढ्दो छ भन्ने मेरो बुझाइ हो ।
पेशा/व्यवसाय
१. लेखक हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?
नराम्रो केही छैन, लेख्न पाउनु आफैंमा सुन्दर कुरा हो ।
२. कुन समयमा तपाईंलाई लेखक नै बन्नुपर्छ भन्ने लाग्यो ?
स्कुल पढ्दादेखि नै ।
३. लेखक नबनेको भए के बन्नु हुन्थ्यो होला ?
जोगी ।
४. तपाईंको कोही रोलमोडल छ ?
छैनन् । मेरा कोही रोलमोडल छैनन् । मलाई कसैको रोलमोडेल बन्नु पनि छैन ।
प्रस्तुती : सापेक्ष
प्रतिक्रिया 4