+
+
Shares

विद्रोहको गीत गाइरहेको केटो

मेयरको कुर्सीमा बसेपछि पनि उनले र्‍याप गीत गाइरहे । कहिले सिनेमाको लागि त कहिले आफ्नै युट्युब च्यानलका लागि । जीवनको अनेक मोडहरूमा पनि उनले गीतमार्फत आफूलाई अभिव्यक्त गर्दै आएका छन् । चाहे त्यो मेयरका लागि चुनावी दौडमा रहँदा होस् वा प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा ।

शिव मुखिया शिव मुखिया
२०८२ चैत १३ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली र्‍यापर बालेनले पहिलो र अन्तिम र्‍याप ब्याटलमा भाग लिएर नेपाली र्‍याप ब्याटलको इतिहासमा नयाँ कीर्तिमान स्थापित गरे।
  • बालेनले प्रहरी–प्रशासनको दमन र भ्रष्टाचारविरुद्ध र्‍यापमार्फत विरोध जनाउँदै सामाजिक अन्यायको आवाज उठाए।
  • मेयर पदमा रहँदा पनि बालेनले र्‍याप गीत गाइरहे र पछिल्लो गीत 'जय महाकाली'ले छोटो समयमा सर्वाधिक हेरिने नेपाली गीतको कीर्तिमान बनायो।

१३ चैत, काठमाडौं ।

‘इतिहास भनेको फेरिने चिज हो भाइ, बालेन अहिलेसम्म आएको थिएन’

‘तेरो अनुहार गोलभेडाको, हेर्दै थिच्न मन लाग्छ

तँ लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ

दुई चार दिन पर्खी कान्छा,

तेरो बाबुलाई पनि मसँग फोटो खिच्न मन लाग्छ’

त्यसदिन पनि उनी श्यामश्वेत पहिरनमा थिए । सेतो सर्टमाथि, कालो इस्टकोट । विपक्षी र्‍यापरले सुरुमै उनको झाँको झारे । यसरी–

‘तेरो स्वेग देखेर नै अहिले मलाई दिक्क भो

दोहोरी खेल्नलाई हो कि क्या हो ?

लगाएर आइस त इष्टकोट…..।’

त्यो र्‍याप ब्याटलको याम थियो र शब्दहरूको घमासन लडाइँ हुँदै थियो । शब्दहरू जस्तो पनि हुनसक्थ्यो– टर्रो, झर्रो । खासमा त यो गालीहरूको गीत थियो । किनभने र्‍याप ब्याटल भन्नु नै लालित्य पोतिएका गाली हुन्, जसको शव्द–विन्यासले विपक्षीलाई खुत्रुक्कै पार्नुपर्ने हुन्छ ।

जसले जति चर्को गाली गर्न सक्छ, आखिर जित उसकै हुनेवाला थियो । तर प्रश्न जित र हारको मात्र थिएन । किनभने त्यो एउटा सौम्य विद्रोहको नयाँ अभ्यास थियो ।

न्यूयोर्कका गल्लीहरू र्‍याप ब्याटलको झंकारले तरंगित हुन थालेको करिब आधा दशकपछि नेपाली तन्नेरीहरूमा त्यसको रसरंग पसिसकेको थियो । यमबुद्ध त्यसैका अगुवाइ गर्दै थिए र खुला सडकमा विद्रोहको भाका गुञ्जिन थालेको थियो ।

त्यहाँ युवाहरूको भावना र बोलीमा कुनै लगाम हुँदैनथ्यो । उनीहरू स्वच्छन्द आफूलाई अभिव्यक्त गर्न सक्थे । जे पनि भन्न सक्थे, मनमा लागेजति ।

हो यही विन्दुबाट एउटा र्‍यापरको उदय हुन्छ, बालेन ।

****

होस्ट यमबुद्धले ब्याटलको लागि आमन्त्रण गर्दै बालेनलाई यसरी चिनाउँछन्, ‘यो लिगमा उनी पहिलो पटक भिड्दैछन् । तर उनी तिक्ष्ण, बहुप्रतिभाशाली छन्… बालेन ।’

उत्सुक युवाहरूको घेराबन्दी थियो । त्यही घेराभित्र बालेनले हात उठाएका थिए ‘म नै हुँ’ शैलीमा । कालो चस्मा नलगाएका उनी उस्तै रवाफिलो देखिन्थे । आत्मविश्वासी पनि ।

विपक्षीले सुरुमै उनको पहिरन शैलीमाथि मजाक उडाएका थिए । अनि हुलिया हेर्दा र्‍याप ब्याटल होइन दोहोरी गाउन आएजस्तो भनी गिज्याएका थिए । जवाफमा अल्पभाषी बालेनले तगडा शब्दहरू प्रहार गरेका थिए ।

‘म मिहेनत गर्ने इन्जिनियर

लुगा फोहोर पनि लगाउन सक्छु

म र्‍यापर मात्र होइन, ट्रु म्युजिक आर्टिस्ट हो

लोकदोहोरी पनि गाउन सक्छु ..’

ठाउँको ठाउँ शब्द बुन्न सक्ने, तुरुन्त जवाफ फर्काउन सक्ने, बोलीमा तोड र मोड ल्याउन सक्ने उनको फ्रिस्टाइल र्‍यापले अन्ततः ठूलो जमातलाई आफ्नो अधिनमा पार्न सफल हुन्छ । ब्याटलको उत्कर्षसम्म आइपुग्दा बालेन आक्रामक मात्र होइन, तीक्ष्ण पनि सावित हुन्छन् ।

‘नेपहपको हिस्ट्रीमा यसले जस्तो रिबटल कसैले खाएको थिएन

हिस्ट्री भनेको फेरिने चिज हो भाई, बालेन अहिलेसम्म आएको थिएन ।

****

त्यसअघि देखिनेगरी बालेन र्‍याप ब्याटलमा आएका थिएनन् । त्यसपछि फेरी कहिल्यै आएनन् । त्यही नै एकमात्र ब्याटल थियो, जहाँ बालेन थिए । जहाँ धमाका भयो ।

नेपाली र्‍याप ब्याटलको कीर्तिमान बनाएर बालेनले फेरि मौनधारण गरे । तर, पारखीहरूले उनलाई त्यसरी चुपचाप बस्न दिएनन् । तिनीहरू चर्को स्वरमा भन्न थाले, ‘अब लाउरे र बालेनबीच भिडन्त हुनुपर्छ ।’ लाउरे अर्थात् आशिष राना ।

लाउरेसँग भिड्नका लागि बालेन पनि तंग्रिए । सोशल मिडियामा भिडियोमार्फत उनले भने, ‘लाउरे भर्सेस बालेन त मन छ नि । त्यो भिडन्त टिभीमा चट्ट लगाएर हेर्न मन छ । अस्ति पनि लाउरेसँग यो विषयमा कुरा भएको थियो ।’

र्‍याप उनको रहर मात्र होइन, जीवन–संगीतको धुन पनि हो । उनको स्वभाव र आचरण पनि हो । यस्तो लाग्छ, उनको जन्मकुण्डलीमै र्‍यापको झंकार छ ।

‘लाउरे भर्सेस बालेन’ को क्रेज कतिसम्म उचालिएको थियो भने एक फिल्मले सो ब्याटल समावेश गर्ने तयारी गर्‍यो । तर र्‍याप ब्याटलमा ‘केही अश्लील’ शब्दावली हुने भएकाले के गर्ने भन्ने सन्दर्भमा कुराकानी भइरहेको बालेनले बताएका छन् । उनले भनेका छन्, ‘फिल्म हलमा देखाउँदा र्‍याप ब्याटलमा केही अश्लील कुरा हुने भएकाले या त १८ प्लस भनेर राख्नुपर्यो, या त श्लील शब्द मात्र प्रयोग गर्नुपर्‍यो । त्यो कसरी गर्ने भनी हामी विचार गर्दैछौँ । लाउरे भर्सेस बालेन र्‍याप ब्याटल गर्ने नै हो ।’

तर, त्यो दिन फेरि आएन ।

एक सन्दर्भमा लाउरेले यही कुरा स्पष्ट पार्दै भने, ‘लाउरे भर्सेस बालेन मात्र भनेको सुन्छु । तर, बालेन मेयर साप भइसके । जिम्मेवार ठाउँमा छन् । त्यसैले अब संभव छैन ।’

यसरी हिपहप फ्यानहरूले अधैर्यसाथ पर्खिएको एउटा महा–भिडन्तको पटाक्षेप भयो ।

****

अल्पभाषाी बालेन बोल्दै बोल्दैनन् । तर, उनीभित्र तुफानी शब्दहरू मडारिएका छन् । त्यही शब्द बेलाबखत प्रकट हुन्छ, र्‍यापको रुपमा ।

आफ्ना गुनासो, अनि रहर । आफ्नो पीडा, अनि खुसी । आफ्नो विवशता, अनि आकांक्षा । मनमा उथलपुथल यी भाव–आवेगलाई उनी कहिले वीर रसमा त कहिले रौद्र रसमा बिस्फोट गर्छन् ।

जस्तो कुनैबेला उनलाई प्रहरी–प्रशासनप्रति चित्त दुखेको थियो । त्यसबेला उनी २४ वर्षे अल्लारे थिए । प्रहरीले लामो कपाल पालेका युवाहरूलाई समात्दै कारबाही गर्थे । ‘गुण्डागर्दी नियन्त्रण गर्ने’ भनी प्रहरीले जसै यो अभियान चलायो, बालेनको पारो तात्यो ।

घुस खाने, रक्सीमा रमाउने, अभद्र गाली गर्ने र बाटो–बाटोमा युवालाई समातेर तमासा देखाउने प्रहरीप्रति उनले कटाक्ष गर्दै गए,

‘स्वतन्त्रता हराइसक्यो

बाँच्न देउ मलाई

जलेर अधिकार खरानी भयो

बाँच्न देउ मलाई

लुटपाट मच्चिइसक्यो चोरहरू घुमेका छन्

घुस खाँदै ठिक्क छ, रक्सीमै झुमेका छन्

बटो बाटो त्रास फैलाउने काम मात्र छ

यिनीहरूकै रैला, यिनीहरूकै जात्रा छ

यत्रतत्र छ, यिनीहरूको मनोमानी

सबै अभद्र छन् जतिखेर मुखमा गाली ….।’

समाउँदैछन् तानीतानी निर्दोहरूलाई आज

फँसाउँदैछन् जानी जानी, लाखौंको भिडमाझ ।’

र्‍याप उनको रहर मात्र होइन, जीवन–संगीतको धुन पनि हो । उनको स्वभाव र आचरण पनि हो । यस्तो लाग्छ, उनको जन्मकुण्डलीमै र्‍यापको झंकार छ ।

अन्यायको विपक्षमा आवाज ओकल्न होस् वा बेथितीको विपक्षमा विरोध जनाउन, बालेनले र्‍यापको सहारा लिए । भनिहालौं, र्याप संगीतको हार्डवयेर आफैंमा विद्रोहले निर्मित छ ।

कुनैबेला युवाहरूले चित्त नबुझेको कुरामा बिरोध जनाउन एउटा कलात्मक शैली अपनाए, त्यही र्‍याप संगीतको जन्म भयो । गरिबी, अभाव, बेरोजगारीले आक्रन्त युवाहरू नै यसका गीत बने, यसका भाका बने, यसको संवाहक बने । अन्याय, अत्याचार, बेथिती र विसंगति विरुद्ध तिनीहरूले स्वच्छन्द शब्दहरू प्रहार गर्न थाले ।

त्यही सेरोफेरोमा बालेनको उदय भयो ।

नेता–मन्त्रीहरूको भ्रष्ट शैली, तिनका कार्यकर्ताको दादागिरी । कहिले बन्द–हड्ताल, कहिले तामासिक सवारी । यी सबै बिकारहरू बिरुद्ध बालेन उभिए, र्‍याप संगीतको रापमा ।

चाहे नेपाल बन्दको बिरोधमा होस् वा संविधान निर्माणका लागि दबाव दिन, बालेनले सडकमा ओर्लिए । विद्रोहको गीत गाए ।

राजनीतिक दलहरूको मनोमानीले सर्वसाधरण दुःख र पीडाले थलिदै थिए । मुलुक गतिहीन अवस्थामा पुर्‍याइएको थियो । नेता–मन्त्रीहरू सत्ताको लुछाचुडीमा थिए । तिनका कार्यकर्ता सडकमा तमासा देखाइरहन्थे । त्यही पृष्ठभूमिमा युवा उमेरका बालेनले गाएका थिए, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ।’

देशको बेहाल देखेर बालेन तड्पिएका थिए, जसरी आम युवा विरक्तिएका छन् । मनभित्रको त्यही भडास पोख्न बालेनले र्‍याप संगीतको माध्याम अपनाए ।

र्‍याप संगीतमा शब्दको कुनै सीमा र सर्तहरू हुँदैनन् । त्यहाँ मनमा उब्जिएका शब्दहरूलाई जस्ताको तस्तै व्यक्त गर्न पाइन्छ । मुखै छाडेर गाउने छुट छ यसमा । चाहे त्यो अभद्र सुनियोस् वा अश्लिल । किनभने र्‍याप संगीतको तोड त्यसैमा छ । संभवत यही गुरुत्वबलले बालेनलाई तानेको हो ।

बिहीबार साँझतिर अचानक एउटा सांगीतिक तरंग आयो, जय महाकाली । यो बालेनको पछिल्लो र्‍याप गीत हो ।

देश ठीकठाक भइदिएको भए, समाज सही–सलामत भइदिएको भए सायद बालेन र्‍यापर बन्ने थिएनन् । उनी र्‍यापर नभइदिएको भए सायद राजनीतिमा आउने थिएनन् । ¥याप र राजनीतिको यो समीकरणले नै बालेनको विर्निमाण गरिदियो ।

****

पञ्चायत व्यवस्थाको बखत यसरी नै विद्रोहको भाका गुञ्जाउँदै हिँड्ने ‘राल्फा’ समूहको सर्वकालिन गीत ‘गरिबको चमेली बोल्दिने कोही छैन’ पृष्ठभूमिमा बजाउँदै काठमाडौंको मेयरको रुपमा पर्दापण भएका थिए बालेन ।

रोचक त के भने, कम्युनिस्ट क्रान्तिको हिस्सा जस्तै बनेको यो गीत पछि कम्युनिस्टहरूले बिर्सिए । बालेनले भने यसैमा आफ्नो भाव र स्वर मिसाइदिए । यसरी,

‘पुरानो भो इतिहास केही फेरिएन

बाँकी हुँदा यति सास मोह मेटिएन

कहाँ कुद्छ रेल, बाटो भेटिएन

मलाई बोल्न दे सरकार ..।’

मेयरको कुर्सीमा बसेपछि पनि उनले र्‍याप गीत गाइरहे । कहिले सिनेमाको लागि त कहिले आफ्नै युट्युब च्यानलका लागि । जीवनको अनेक मोडहरूमा पनि उनले गीतमार्फत आफूलाई अभिव्यक्त गर्दै आएका छन् । चाहे त्यो मेयरका लागि चुनावी दौडमा रहँदा होस् वा प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा ।

प्रधानमन्त्रीको बागडोर सम्हाल्न १२ घण्टा पनि बाँकी थिएन । बिहीबार साँझतिर अचानक एउटा सांगीतिक तरंग आयो, जय महाकाली । यो बालेनको पछिल्लो र्‍याप गीत हो । उनले आफ्नै नामको युट्युब च्यानलमा सार्वजनिक गरेको गीतले तत्कालै एउटा कीर्तिमान बनायो, छोटो अवधिमा सर्वाधिक हेरिने नेपाली गीत ।

वीर रसको भाकामा बालेनले जुरुक्कै उचाल्ने जोशका शब्दहरू भरेका छन् । यसरी–

‘जय महाकाली, आयो गोरखाली

यसपाली डराउँदैन यो नेपाली ..

मुटुभरी आँट मेरो रातो रगत उमाली

दाजुभाई साथ मेरो यो पटक चाहिँ उचाली

ल्याउँछु शिर थापेर नेपाल आमा पुकारी

नबस्नु है रंगाउँछु तिमीलाई शृंगारी …।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?