News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरका कन्टेन्ट क्रिएटर सरोज कार्की 'प्रोजेक्ट कुरा' युट्युब च्यानलमार्फत सामाजिक, राजनीतिक तथा आर्थिक विषयमा भिडियो बनाउँछन् ।
- कार्कीले प्रकृति संरक्षणमा जोड दिँदै हाल बस्तीहरूबाट लोप हुँदै गइरहेका जुनकिरीका विषयमा स्थलगत रिपोर्टसहितको सामग्री तयार पारिरहेका छन् ।
- उनले नेपाली चलचित्रले आन्तरिक कथाहरू विश्वभर पुर्याउनुपर्ने र सिने उद्योगलाई आर्थिक रूपमा बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।
विराटनगरमा रहेर कन्टेन्ट क्रियसनमा सक्रिय रहेका सरोज कार्की ‘प्रोजेक्ट कुरा’ नामक युट्युब च्यानल चलाउँछन् । जहाँ उनी सामाजिक, राजनीतिक, आर्थिक तथा शैक्षिक लगायतका विविध विषयमा भिडियो बनाउने गर्छन् स्पष्ट, साहसी र सत्यमुखी स्वभावका उनी पत्रकारिता पनि गर्छन् । यसपटक उनै सरोजसँग अनलाइनखबरले दिलै खोलेर कुराकानी गरेको छ ।
१.हिजोआज
पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनुभयो ?
निर्वाचनपछि हामीले संसदमा जुन नयाँ नयाँ अनुहार देख्यौँ, त्यो कुराले मलाई एकदम खुसी दिएको थियो । चलिरहेको एउटा चक्र थियो, कम्तीमा त्यो तोडियो । यो एउटा आशा कुरा पनि हो ।
दिक्क बनाएको कुरा?
दिक्क बनाएको कुरा चाहिं हामी जुनकिरीको विषयमा एउटा कन्टेन्ट गरिरहेका छौँ, फिल्ड रिपोर्ट सहितको । त्यसका लागि विभिन्न ठाउँमा गइरहेका छौं । तर, जहाँ गएपनि जुनकिरी कम हुँदै गएको, हराउँदै गएको भन्ने छ । म बस्ने नजिकै पोखरी छ । त्यहाँ पहिले जुनकिरी धेरै देखिन्थे । त्यहाँ पनि एकदम कम मात्रामा जुनकिरी देखियो । यसरी जुनकिरीहरू हामीबाट हराउँदै गइरहेकाछन् । यो कुरा असाध्यै धेरै नराम्रो हो ।
अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
जुनकिरी नै हो । किनभने जति धेरै यसको बारेमा खोज्यो, त्यति धेरै ‘एक्साइटमेन्ट’ भइरहेको छ । कुरा गर्न थाल्ने हो भने त म घण्टौंसम्म कुरा गर्न सक्छु । त्यति धेरै एक्साइटमेन्ट बनाएको छ मलाई । सो अरू त केही हुनै सक्दैन । अहिले जुनकिरी नै हो ।
नेपाली समाजको सबैभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
सामाजिक रुपमा हाम्रो समाज जस्तो बनेको छ, जसरी जोडिएको छ – अनि हरेक गतिविधिहरूमा, संस्कार अनि चाडपर्वहरूमा हाम्रो जुन सामाजिक सम्बन्ध बनेको छ – यो कुरा एकदमै गजब लाग्छ मलाई । नराम्रो कुरा भनेको चाहिँ हाम्रो समाज अलि बढी भाग्यवादमा विश्वास गर्छ । ‘सबै कुरा भाग्यकै खेल हो । रोग लाग्यो भने पनि भाग्यको कुरा, दुर्घटना भयो भने पनि भाग्यको कुरा’ यसरी भाग्यवादमा गएर विश्वास गर्ने कुरा चैं मलाई हाम्रो समाजको नराम्रो पक्ष लाग्छ

पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
पत्रपत्रिका अलि कम हेर्छु । कुनै ठाउँमा कसैलाई पर्खनु पर्दा त्यहाँ टेबलमा पत्रिका छ भने हेरिन्छ । होइन भने अनलाइन नै हेरिन्छ । बिहान उठ्ने बित्तिकै पनि अनलाइन नै हेर्छु । अब आफ्नो पेशा वा पढाइ जे भने पनि पत्रकारिता नै भएकाले मलाई त पत्रकारिता गजब लाग्छ । लामो समयदेखि म यसै क्षेत्रमा छु । तर समस्या वा निराशा त्यतिखेर हुन्छ, जतिखेर पत्रकारले पत्रकारिता बाहेक सबै कुरा गरिरहेको देख्छु । अथवा मिडियाले पनि उसको आफ्नो धर्मभन्दा बाहिरको कुरा गरिरहेको देख्छु । तर वास्तवमै पत्रकारिता गरिरहेका पत्रकार र मिडियाहरू देख्दा भने खुसी लाग्छ।
इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
उम्… सायद म अलि बढी यात्रा गर्थेँ हुँला । १८-१९ वर्षदेखि नै म यात्रामा निस्कन्थेँ । हामी यस्तो ठाउँमा छौं कि हामीसँग स्वदेशसँगै भारतमा घुम्न पनि सजिलो एक्सेस छ । यात्रा गर्न सस्तो पनि छ । २५ वर्ष पुग्दा म नेपाल र इन्डियाको सबै ठाउँ घुमिसक्थे हुँला ।
२.बाल्यकाल र किशोरावस्था
सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
बढी खेलेको खेल फुटबल नै हो । पछि खुट्टा भाँचियो । त्यसपछि चाहिँ खेल्न छाडेँ ।
साथीहरूले तपाईंको निकनेमहरू के-के राखिदिएका थिए ?
त्यस्तो त यादै छैन । सरोज नै भनेर बोलाउँथे सबैले । अरू के थियो त…! उम्… त्यस्तो याद छैन यार ।
तपाईंको कोहीसँग झगडा परेको थियो ?
थ्यो । धेरै नै पर्यो । कुटाइ पनि खाइयो; कुटियो पनि । तर, अरूहरूले हेर्दा चाहिँ म ज्ञानी देखिन्थें । सरहरूले पनि यो ज्ञानी छ भन्नुहुन्थ्यो । किनभने झगडा सकिना साथ म टाप ठोकिहाल्थें । अरूहरूले झगडा परेको थाहै पाउँदैनथे ।
तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?
थियो । नाम चाहिँ ठ्याक्कै बिर्सेँ । तर, फर्स्ट स्पाइडरम्यानमा क्यारेक्टर प्ले गर्ने एक्ट्रेस एकदम धेरै मन पर्थ्यो । मैले त उनको फोटोहरू कट पनि गरेर राखेको थिएँ ।
३.सिनेमा
पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?
अलि मधुरो सम्झना छ । हेर्न त हलमै हेरेको हो । मन हो जस्तो लाग्छ । जान चाहिँ दिदीसँग गएको थिएँ । मलाई सिनेमा हेर्दा बीचमा सुसु आएर ट्वाइलेट गएको थिएँ । दिदीले उता गएर गरेर आइजा भनेर पठाउनु भएको थियो । फर्केर आउँदा त कहाँ जाने कहाँ जाने ? भएको थियो । त्यसपछि त्यो पूरै फिल्म उभिएर हेरेको थिएँ । त्यो चाहिँ अलिअलि याद आउछ मलाई । मलाई लाग्छ, बाँसबारीको सिनेमा हल थियो त्यो । मोरङमा बाँसबारी भन्ने ठाउँ छ । अहिले त सायद त्यो बन्द भइसक्यो ।
कस्ता फिल्म हेर्न मन पर्छ ?
म त अरुले सुझायो भने जस्तो पनि फिल्म हेर्दिन्छु । जस्तो; छक्का पन्जा सिरिजदेखि लिएर वर्ल्ड सिनेमाहरू पनि म हेरिरहेको हुन्छु । सबै खालको हेर्छु भनौं ।
साह्रै मन परेका फिल्म ?
अहिले माजिद माजिदीको चिल्ड्रेन्स अफ हेभेन्स भन्छु । अरु पनि थुप्रै फिल्महरू छन् । लास्ट टाइम चाहिँ ऊनको स्वीटर हेरेपछि ओहो ! कस्तो राम्रो फिल्म भन्ने भएको थियो ।
चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
एउटा साउथ इन्डियन फिल्म छ, मन्जुमिल बोइज भन्ने । त्यो अति बबाल भनेर हेरेको थिएँ । तर हेर्दा खेरि खासै त्यस्तो गजब लागेन । अर्को भनेको पूर्ण बहादुरको सारंगी पनि हो । जति चर्चा थियो, त्यस्तो धेरै बबाल लागेन । तर, यो वान टाइम वाचका लागि राम्रै छ ।

हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
मलाई त साथीहरूले रिकमेन्ड गर्ने नै हो । कसले फिल्म बनाको भन्ने कुरा वा रिभ्यु कस्तो छ भन्ने कुराले पनि फरक पर्छ । जस्तो; माजिद माजिदीले बनाएको सिनेमाहरू आँखा चिम्लेर हेर्दिन्छु । क्रिस्टोफर नोलन, अनुराग बासु, राजकुमार हिरानीहरूको सिनेमाहरू आँखा चिम्लेर हेर्दिन्छु । नेपालमा पनि प्रदिप भट्टराई, रामबाबु गुरुङ, उपेन्द्र सुब्बा, दिपक राज गिरीहरूले बनाएका सिनेमाहरू सन्तुष्टिका लागि हेर्छु । ‘हेर्नलायक सिनेमा हुन्छ, एकपटक हेर्छु’ यसरी पनि सिनेमा हेरिरहेको हुन्छु ।
नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?
नेपालमा केही फिल्म मेकर्सहरू छन्, जसले नेपाली सिनेमा अथवा नेपाली कथालाई संसारभरि पुर्याउँदैछन् । जस्तो; दिपक रौनियार भए, मिन भाम भए । उहाँहरूले बनाउनु भएका ह्वाइट सन, साम्बाला जस्तो सिनेमाहरू अझ अझै धेरै बनिनु पर्छ जस्तो लाग्छ । किनकि त्यसले नेपालको भित्री कुराहरू, कथाहरू संसारलाई देखाउँछ । अनि अर्को तिर निश्चल बस्ने, दिपक राज गिरी, रामबाबु गुरुङहरूले बनाउने फिल्महरू पनि बन्नु पर्छ । त्यसले नेपाली सिने उद्योलाई आर्थिक रूपमा स्थिर बनाइरहन्छ । किनकि सिने उद्योग चल्न त्यहाँ जोडिएका मान्छेहरू पनि त चल्नु पर्यो । राम्रो प्रविधिहरू भित्रिनु पर्यो । त्यो सबै कुराहरूको लागि अर्थतन्त्र राम्रो हुनु पर्छ । पैसा कमाउनु पर्छ । यो मानेमा उहाँहरूले बनाउनु भएका सिनेमाहरू चलिरहेको हुन्छ । त्यहीँ भएर चल्ने खालका सिनेमाहरू पनि चल्नु पर्यो । एट द सेम टाइम, आर्ट मुभिजहरू, जसले सिनेमा हलमा राम्रोसँग पैसा नकमाउला तर संसारभरि त्यसको चर्चा हुन्छ, त्यस्ता फिल्म पनि बन्नु पर्छ ।
४.पुस्तक
पुस्तकहरू कतिको पढ्नुहुन्छ? पढ्का कस्तो खालका पढ्नुहुन्छ?
पढिरहेको हुन्छु । पढ्न मन लागेको बेलामा एकै हप्तामा तीनटा पुस्तक पनि सक्दिन्छु । तर पढ्न मन नलाग्दा खेरि एउटै पुस्तक महिनौसम्म लगाएका अवस्थाहरू पनि छन् । फिक्सन- नन फिक्सन, सबै खालका पढिरहेको हुन्छु । यहीँ नै खालको भन्ने हुँदैन । तर मलाई कसैले रिकमेन्ड गर्यो भने त्यो किताब पनि पढ्छु । यसमा रिन्चेन तामाङ भाइले मलाई धेरै रिकमेन्ड गर्छ । उसलाई मेरो टेस्ट थाहा छ ।
मन परेका कुनै पुस्तक?
केही समयअघि अफ माइस एन्ड मेन पढेको थिएँ, जोन स्टोनबेकको । यो असाध्यै मन परेको थियो । त्यसपछि हर्मन हेसेको सिद्धार्थ पनि पढेको थिएँ । यो पनि मलाई एकदम बबाल लागेको थियो । त्यसपछि नेपालीमा भर्खरै सकेको श्रेयज सुवेदीको बहुरुपी पनि हो । अति बबाल छ यो पनि । किताब पढिसकेपछि अहिले मैले मैथिली सिकिरहेको छु । स्थानिय भाषाहरूमा त्यहीँको लवजहरू प्रयोग गरेर त्यहीँको अवस्था बताएर अलगअलग खालका कथाहरू भन्ने श्रेयज सुवेदी भन्ने मान्छेलाई त भेटेर एक पटक अंगालो मार्न मन छ मलाई।
तपाईंका प्रिय लेखकहरु ?
सायद नागरिक दैनिकमा होला, बुद्धि सागरले लघु कथाहरू लेख्नुहुन्थ्यो । ती कथाहरू अति बबाल मन पर्थ्यो । उहाँको बिताब त बबाल छँदै नै छ । त्यस्तै कुमार नगरकोटिका स-साना नुवान्सेसहरू, आउट अफ द बक्स सोच्ने कुराहरू मन परिरहेको हुन्छ । जर्ज अर्बेल पनि खुब मन पर्छ । श्रेयज सुवेदीलाई त मैले अंगालो नै हाल्न मन लागेको भइहाल्यो । अनि मेन विथ आउट वुमन पढिसके पछाडि हारुकी मुराकामी पनि राम्रो लाग्न थालेको छ । यस्तै यस्तै…
एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
सिद्धार्थको सिद्धार्थसँग । हर्मन हेसेको उपन्यासको उ मुख्य पात्र हो । एकदम मिस्ट्रीले भरिएको छ ।
नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
नेपालकै कुराहरू बताइएको । बाहिरका कुराहरू त अरुले लेखि नै हाल्छन् । जस्तो; राधा पौडेलले खलङ्गामा हमला लेख्नु भयो । कृष्ण धारावासीले झोला लेख्नु भयो । तपाईंकै प्रधानसम्पादक बसन्त बस्नेतले महाभारत लेख्नु भयो । सागर जंगबहादुर रानाले सिंहदरबार लेख्नु भयो । अखण्ड भण्डारीले मलाया एक्सप्रेस लेख्नु भयो । भन्नुको अर्थ नेपालको परिवेशमा नेपालका कुराहरू बताइएका पुस्तकहरू नै लेखिनु पर्छ ।
५.घुमफिर र सोख
घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
मज्जैसँगले रुचाइन्छ । तर एक्टिभिटीज सहित घुम्न चैं मन पर्छ । केही एक्टिभिटीजहरू छ भने त्यो एक्टिभिटीज सँगसँगै घुमौं भन्ने लाग्छ ।
सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
सबभन्दा बढी गएको भेडेटार हो । नजिकै पनि भयो । कुनै समय अति धेरै गइयो । काठमाडौँलाई नगन्ने हो भने पोखरा पनि गइयो अलिकति बढी नै । विदेशमा चैं दिल्ली गइयो होला सबैभन्दा बढी । अब जान मन भएको ठाउँ चैं जर्मनी हो । जर्मनी चैं मलाई विश्वयुद्ध वा हिटलर पछाडी विभाजित बनेको समाजबाट उनीहरू कसरी माथि उठे? भनेर बुझ्न जान मन छ । मिल्थ्यो भने त म अहिले नै हिड्दिन्थेँ । तर, मिल्दैन र पो! जे होस् मेरो बकेट लिस्टमा राखेको छु ।
सबभन्दा मन परेको ठाउँ वा यात्रा ?
ठ्याक्कै त्यसो खास छैन । अब रिसेन्टली घाचोक गएका थियौं । घाचोक पनि राम्रै लागेको थियो । तर परिवारसँग गएकोमा मलाई सौराहा राम्रो लागेको थियो । पर्यटकहरू पनि कम थिए । ज्याकेट लाएर घुम्नु पर्ने जाडो-जाडो सकिन सकिन आँटेको बेलामा गएका थियौं ।
गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
सुन्छु । धेरै नै सुनिरहेको हुन्छु । सुजन चापागाईं, अरिजित सिंहहरूको सुनिरहेको हुन्छु । पहिलेका गायकहरू पनि उत्तिकै सुन्छु । नारायण गोपालको गीत काम गर्दा खेरि सुन्छु ।
आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनु भएको छ ?
मेरो लुपमा भएको चैं मेट्रो इन दिनो भन्ने एउटा फिल्म छ, त्यसका गीतहरू छन् । सुजन चापागाईं, एड सिरेन, सुशान्त घिमिरे, शैलेश निरौला, फिरन्ते ब्यान्ड आदिको गीतहरू छन् । उनीहरूमध्ये धेरैलाई ठूलो जनसंख्याले सुन्नुपर्छ जस्तो लाग्छ । तर, मलाई पनि थाहा छैन कि हो धेरैले सुनिरहेका छैनन् ।
के कुराको विशेष सोख छ ?
म कामलाई नै बढी ध्यान दिइरहेको हुन्छु । आफुलाई मन लागेको कुराहरू पनि कामबाट नै गरौं, कामसँगै जोडेर गरौं भन्ने लागिरहेको हुन्छ। सकेसम्म धेरै मान्छेहरूलाई भेटेर नयाँ खालको कन्टेन्टहरू बनाउने, उनीहरूको कुराहरू सुनाउने ध्यान हुन्छ । धेरै वटा विषयहरू छन्, जुन नर्मल्ली बाहिर आउँदैन । ती कुराहरूलाई बाहिर निकालौं भन्ने खालको कुराहरू छ । जस्तो; जुनकिरीकै कुरा भयो । यस्तै खालका कन्टेन्टमा काम गरौं भन्ने छ । अहिले मेरो लेटेस्ट शोक यस्तै यस्तै नै हो ।
खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
म खानाको शौकिन त छु । तर पेटले साथ दिएकोसम्म मात्र खान्छु । किनकि पेटको समस्या धेरै भयो । त्यसैले पेटलाई सुधार्ने अवस्थामा छु अहिले । केही खालको रेस्ट्रिक्सन चाहिँ छ खानेकुरामा । तर पनि मन पर्ने परिकार भनेको कडी बडी भनिने मैथिली तरकारी हो । यो अति बबाल लाग्छ । एकजना नाट्यकार हुनुहुन्छ, रामभजन कामत भन्ने । उहाँको घरमा बनाएको कडी बढी खाएको दशौ वर्ष भइसक्यो । तर अझै पनि उहाँको घरमा खाँदाको त्यो स्वाद मेरो मुखदेखि गएको छैन ।
किनमेल गर्न कति रुचाउनुहुन्छ ?
मैले रहरले नै खर्च गर्ने ग्याजेट्सहरूमा मात्रै हो । त्यसबाहेक अरुमा खासै किनमेलको रुचि लाग्दैन।
के-कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
घरको तरकारीदेखि लिएर किराना आइटम किन्न जान्छु ।
आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
यसमा चैं मेरो अति नराम्रो चोइसेस छ । कुनै पनि कुरा किन्न जाँदा एकपटक हेर्दैमा लिहाल्छु । त्यसो हुँदा त्यो पछि राम्रो नराम्रो जे भएपनि हुन्छ । त्यसैले मैले अलि बढी चैं श्रीमतीले किनिदिएकी लुगाहरू लाउँछु । उसलाई मेरो चोइसेस पनि थाहा छ । अनि गिफ्टमा आएका लुगाहरू नि लाउँछु । आजकल त अलि बढी नै लाउन थालेको छु ।
अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?
व्यक्तिगत खर्च गरेको कुरामा त ग्याजेट्सहरूमै हो । ल्यापटप, ड्रोन, क्यामेरा यस्तै यस्तै
६.राजनीति
नेपालको राजनीति कस्तो लाग्छ ?
साइकल, मोटरसाइकल, कार यहाँसम्म कि सुनको सिक्कासम्म पाइन्छ भनेर सानोमा हामी स्क्र्याच गरेर लट्री पाउने गेम खुबै खेल्थ्यौं । पैसा भयो कि गएर स्क्र्याच कार्ड किनिहाल्थ्यौं, गिफ्ट पाउँछौं कि भनेर । तर कहिले पनि ठूलो प्राइजहरू कसैले पनि जित्दैन थियो । धेरै पछि त्यो त एउटा स्क्याम हो भनेर थाहा पाएँ । मलाई नेपालको राजनीति ठ्याक्कै त्यस्तो लाग्छ ।
के के न पाइन्छ भनेर जस्तो गर्छौं । अनि पछि फिस्स हुन्छ ।
हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
राजनीतिक संस्कार नै हाम्रो मुख्य राजनीतिक समस्या हो । न त दलले त्यो संस्कार देखाउँछ न त राजनीतिज्ञले । अहिले नयाँहरूमा यो संस्कार अलि बढी देखिरहेको छु । सुधार भएको छ कि जस्तो पनि लाग्छ । तर अब आशा गरौं कि यो संस्कार लामो समयसम्म टिकोस् ।
नेताहरुको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
म हरेक नेताहरूलाई चाप्लुसी गर्नेहरू चिन्ने गुण दिन्थे होला !
मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
मैले मदन भण्डारीको बारेमा धेरै कुराहरू पढ्न पाएँ । त्यसले उनको प्रभाव ममा छ । त्यो मैले अध्ययन गरेको आधारमा हो । पढेको आधारमा हो ।
मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
सबैभन्दा पहिले अर्को योग्य मान्छे छानेर आफ्नो पद नै हस्तान्तरण गर्थेँ होला । किनकि म प्रधानमन्त्रीको लागि योग्य छु जस्तो लाग्दैन । यो एकदम ठूलो जिम्मेवारी हो। अब त्यो बाहेक पनि अर्को कुनै काम गर्नै पर्छ भन्यो भने चैं सायद म एउटा अध्ययन गरेर नेपालले पाँच वर्षमा गर्नै पर्ने काम तय गर्थेँ ।
७.सामाजिक सञ्जाल र डिजिटल डिभाइस
कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?
आइफोन नै चलाइरहेको छु । म एप्पलको इकोसिस्टममै फसिसक्या छु ।
दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
मेरो मोबाइल एकदम धेरै चल्छ । तर सोसल मिडिया एपहरू चैं हटाएको छु । मेटा बिजनेस सुट धेरै युज गर्छु । त्यसबाटै पोस्ट गर्ने काम गर्छु ।
इन्स्टाग्राममा अपलोड गर्नु पर्ने रिल्स अपलोड गर्ने बेलामा हाल्छु अनि फेरि एप हटाइदिन्छु । ह्वाट्सएप, मेसेन्जरहरूको नोटिफिकेसन अफ गरेको छु । यसो गर्दा फ्रिक्वेन्टली चेक गरिरहने, स्क्रोल गरिरहने बानी हटेको छ ।
अनि सञ्जालमा हेर्नु पर्दा म ल्यापटप नै प्रयोग गर्छु ।
बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
छ । दुवै हटाउनै पर्ने बानी हो । तर हटिसकेको छैन ।
फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई केकति प्रभाव पार्छ?
केही हदसम्म त पार्छ नै । एज अ कन्टेन्ट क्रिएटर पनि हाम्रो इकोनोमी फेरि यसैमा चलेको छ । त्यो भएकोले फरक त पार्छ । तर हाम्रो टिमले भ्युजकै लागि काम भने गर्दैन । कतिपय कुराहरू आफ्नो आत्मसन्तुष्टिको लागि पनि बनाउनु पर्छ भन्ने हाम्रो मान्यता छ ।

कमेन्टले चैं सुरुसुरुमा अत्यधिक धेरै असर गर्थ्यो तर अहिले चैं कुनै पनि कमेन्ट फिडब्याक हो कि होइन भन्ने कुरा हेर्न थालेका छौं । फिडब्याकवाला कमेन्ट्सहरू लिन्छौं । बाँकी कुरालाई चैं फिल्टर आउट गर्छौं । अहिले गालीवाला कमेन्टहरू पनि ह्वात्तै बढिरहेको छ ।
एआई टुलहरू कतिको चलाइरहनु भएको छ? बढी कुन चलाउनुहुन्छ?
चलाउँछु । जेमिनाई बढी युज गरिरहेको छु । अब एआईको युज त हुन्छ नै ! तर, आँखा चिम्लेर एआईलाई विश्वास चैं गर्नुहुन्न ।
सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना संजालको काम बढी गरेको छ कि गलत सूचनाबढी फैलाउने काम गरेको छ ?
दुवैमा यसको प्रयोग भइरहेको छ । हरेक नागरिकलाई आफ्नो कुराहरू सुनाउने एउटा एउटा प्ल्याटफर्म मिलेको छ । अर्को तिर मिसइन्फर्मेसन र डिसइन्फर्मेसन फैलाउने कुरामा पनि त्यतिकै सहज बनाएको छ । अब यसलाई कसरी ब्यालेन्स गर्ने भन्ने कुरा चुनौती हो ।
सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
सोसल मिडिया नभएको भए सायद अलि बढी मान्छेहरूले किताब पढ्थे वा पत्रपत्रिका पढ्थे नै होलान् । त्यसले केही हदसम्म यो कुरालाई असर पारेको छ नै । अब पत्रिकालाई त अलि बढी नै विस्थापित गरेको होला ।
तर अब किताबको सन्दर्भमा सोसल मिडियाले गर्दाखेरि नै मान्छेले नयाँ किताक/लेखकबारे थाहा पाएनका छन् । सायद सोसल मिडिया नभएको भए म बहुरुपी पढ्दिन थिए कि! सोसल मिडियामा किताबकोबारे कसैले पोस्ट गरेको नदेखेको भए सायद म पढ्दिनँ नै थिएँ होला ।
अब कम बढी भन्ने मात्र हो । फेरि किताबले आफ्नो पाठक कुनै न कुनै हिसाबमा खोज्छ नै । खोज्दै पनि जान्छ । रिडिङ कल्चरमा असर पारेर किताबको कमी हुने भन्ने कुरा किताब पढ्ने संस्कार र संस्कृतिमा कमी हुने भन्ने कुरा मात्र हो ।
तर, दुइटै कुरा हुन पनि सक्छ । सोसल मिडियाले गर्दाखेरी किताबको अझै बढी प्रमोट पनि गर्छ । त्यो कुरा भने हामीमा डिपेन्ड गर्छ । एज अ इन्फ्लुएन्सर, यो कुराको जिम्मेवारी हाम्रो पनि हो ।
८.रोचक तथ्य
पुन: जन्म हुने भए अब के बन्न मन छ ?
यहीँ जन्मलाई नै राम्रोसँग बाँच्ने नै होला सबैभन्दा ठूलो कुरा त। तर, अब पुन: जन्म नै हुन्छ भने सुर राम्रो भएको गाउन सक्ने मान्छेको रूपमा जन्मन्थेँ ।
तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
कामहरू समयमा नै सक्यो भने तनाव हुँदैन जस्तो लाग्छ । म प्राय: लास्ट मोमेन्टमा काम गर्ने मान्छेमा पर्छु । त्यसले दबाब वा तनाव बढाउँछ । तर, त्यो कुराको एकदमै वर्स्ट सिचुएसन के हुन सक्छ? वर्स्ट कुरा के हुन सक्छ? भन्ने कुरा सोचेर म तयारी अवस्थामा पनि रहन्छु । यहीँ कुरा नै हो तनाव र दबाब कम गर्ने मेरो लागि ।
तपाईलाई के को सुगन्ध सबैभन्दा मन पर्छ ?
धेरै कडा आउने बास्ना वा गन्धहरू जे को भए पनि मलाई मन पर्दैन । पर्फ्युमले पनि मलाई अप्ठ्यारो पार्छ । तर, सुद्ध घिउँमा बनाएको लवण लड्डु, बुनियाँको बास्ना मन पर्छ । विद्यालयमा हुँदा सरस्वती पुजाको समयमा त्यसरी बनाइएको लड्डुको बास्ना एकदम दिमागमै बसेको छ ।
अहिलेसम्म तपाईंले पाउनु भएको राम्रो सुझाव ?
पाँच छ महिना अगाडि मलाई नवराज पराजुलीले एकाबिहानै कल गर्नु भएको थियो । उहाँले गाउँमा विद्यार्थीहरूलाई कविता सिकाउँदै हिड्दा खेरी असाध्यै धेरै आनन्द आएको कुरा सुनाउनु भएको थियो । अनि, आँफुले जानेको कुरा अरुलाई सिकाएन भने अथवा आफूले जानेको कुराको अर्थ रहदैन है भनेर पनि भन्नु भएको थियो ।
उहाँसँगको त्यस्तो कुराकानी पछि मैले जानेको कन्टेन्ट क्रियसनबारे केहीलाई सिकाउन काम गरेँ । अहिले पनि सके हप्तामा नसके महिनामा कन्टेन्ट क्रियटर बन्न खोजिरहेको कोहीसँग कुराकानी गर्ने, आफुले जाने कुरा उनीहरूसँग शेयर गर्ने वातावरण बनाउन खोजिरहेको छु । अहिलेलाई उहाँको सुझाव नै हो जस्तो लाग्छ । किनकि यस्तो पनि गर्नु पर्ने रहेछ है भन्ने खालको बनाएको उहाँको सुझावले नै हो ।
आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
धेरै छन् । मुख्य चैं प्रकृतिको संरक्षणको कुरा जस्तो लाग्छ । जुनकिरी हराइरहेका छन् । नदीनालाहरू हराइरहेका छन् । यदि प्रकृतिको संरक्षण अहिले गरेनौं आगामि पुस्तालाई गाह्रो हुने वाला छ ।
किनकि हामीभन्दा अगाडिकाले कुनै न कुनै रुपमा यसलाई जोगाएर न हामीले अहिले प्रयोग गर्न पाइरहेका छौं । त्यसैले हामीले पनि जोगाउनु जरुरी छ।
दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृंखला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं ।
प्रतिक्रिया 4