News Summary
Generated by OK AI. Editorially reviewed.- छठ पर्वका क्रममा सामाजिक सञ्जालमा भाइरल भएका दुई तस्वीरले जातीय र वर्गीय विभेदको बहस चर्काएको छ।
- पहिलो तस्वीरमा आर्थिक रूपमा कमजोर रञ्जिता महतोले खुला आकाशमुनि छठ गरेकी थिइन्, जातीय विभेद नभएको पुष्टि भएको छ।
- दोस्रो तस्वीरमा डोम समुदायका महिलालाई जातीय छुवाछुतका कारण सामूहिक पण्डालमा छठ गर्न नदिएको र उनीहरूले अलग्गै छठ मनाएको देखिन्छ।
१३ कात्तिक, जनकपुरधाम । छठ पर्वलाई श्रद्धा, आस्था, अनेकतामा एकता र सद्भावको महापर्व मानिन्छ ।
यस वर्ष पनि हर्सोल्लासपूर्वक चारदिवसीय छठ पर्व मंगलबार सम्पन्न भयो । तर पर्वका क्रममा खिचिएका दुई तस्वीरले समाजमा तरंग ल्याएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएका यी दुई तस्वीरले धेरैको ध्यान तानेको छ । कतिपयलाई स्तब्ध बनाएको छ ।
यी दुई तस्वीरले समाजमा रहेको जातीय र वर्गीय विभेद उजागर गरेको भन्दै बहस चर्किएको छ । धेरैले तस्वीरमा जातीय विभेद झल्किएको भन्दै आलोचना गरेका छन् । छठमा खिचिएका यिनै दुई तस्वीरको बारेमा यथार्थ खोज्ने प्रयास गरिएको छ ।
तस्वीर १

तस्वीरमा घुंघट ओढेकी एक महिला छठका सामग्रीसहित नदी किनारमा बसिरहेकी छिन् । वरिपरि दुई बालबालिका खेलिरहेका देखिन्छन् । तस्वीरले उनी विपन्न पृष्ठभूमिकी हुन् भन्ने झल्को दिलाउँछ ।
सामाजिक सञ्जालमा हजारौं प्रयोगकर्ताले यो तस्वीर सेयर गर्दै ‘दलित भएकै कारण महिलाले छुट्टै घाटमा छठ गरेकी’ भनेर दाबी गरेका थिए । तर पछि यो दाबी गलत भएको पुष्टि भएको छ ।
ती महिला दलित नभई कोइरी (महतो) समुदायकी रञ्जिता महतो भएको खुलेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगञ्ज टोलस्थित फुलजोर खोलाको छठघाटमा खिचिएको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
स्थानीय इन्द्र कोइरालाले उक्त भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि भाइरल बनेको थियो । उनका अनुसार, हरेक वर्ष स्थानीयले ५०० देखि एक हजार रुपैयाँ चन्दा संकलन गरी सामूहिक रूपमा टेन्ट पण्डालमा छठ पर्व मनाउने गर्छन् ।
यसपटक आर्थिक अवस्था कमजोर भएकी रञ्जिताले पहिलोपटक छठ गरेकी थिइन् । उनले पण्डालमा चन्दा तिर्नुभन्दा बाहिर खुला आकाशमुनि नै पूजा गर्ने निधो गरेको कोइरालाले बताए ।
रञ्जिताले आफूसँग कोही पनि चन्दा माग्न नआएको र सामूहिक पूजा नगरी अलग्गै बस्ने निर्णय गरेको बताएकी छन् । यो दृश्य बाहिरबाट हेर्दा वर्गीय विभेदको प्रतीक जस्तो देखिए पनि वास्तविकता भने आर्थिक कठिनाइ रहेको पाइएको छ ।
तस्वीर खिच्ने स्थानीय कोइराला विभेद नभएको दाबी गर्छन् । ‘यो कुनै जातीय विभेद होइन । रञ्जिताजीको आर्थिक अवस्था कमजोर हो । उहाँले नै भन्नुभयो- पैसा तिर्नुभन्दा खुला आकाशमुनि छठ गर्छु । उहाँका आफन्त अगाडिको मन्दिरमा पुजारी छन्,’ कोइराला तर्क गर्छन् ।
तस्वीर २

छठ पर्वका क्रममा खिचिएको अर्को तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तस्वीरमा दुईजना महिला छठघाटमा पूजा सामग्रीसहित बसेका देखिन्छन् ।
घाटमा उखु गाडिएको छैन भने पछाडिपट्टि टेन्ट पण्डाल र त्यसभित्र मानिसहरू राम्रो पहिरनमा कुराकानी गरिरहेको र बालबालिका खेलिरहेको देखिन्छ ।
तस्वीरले सामाजिक सञ्जालमा चर्चा मात्र होइन, आलोचनासमेत निम्त्याएको छ । केही प्रयोगकर्ताले दलित भएकै कारण ती महिलाहरू बाध्य भएर खुला आकाशमुनि एक्लै छठ मनाइरहेको भन्दै असन्तोष प्रकट गरेका छन् ।
यो दृश्य रौतहटको यमुनामाई नगरपालिका–३ राजपुर तुल्सी टोलस्थित झाँझ खोला किनारको छठघाटको हो ।
तस्वीरमा देखिएकी पहेँलो सारी लगाएकी महिला ब्रतालु स्थानीय झमन मल्लिक डोमकी श्रीमती सोनमा देवी मल्लिक हुन् । उनको छेउमा छोरी अनितादेवी मल्लिक बसिरहेकी छन् । तस्वीर त्यहीँका एक स्थानीयले खिचेका हुन् ।
डोम समुदायबाहेक अन्य जातिहरू- मुखिया, कानु, तेली, गिरी, बरही, धोबी, तत्मा लगायतले सामूहिक रूपमा पण्डाल सजाएर छठ मनाएका छन् । त्यही पण्डालको पछाडिपट्टि झमन मल्लिकको परिवारले बेग्लै छठ मनाएको हो । कारण हो, जातीय विभेद तथा छुवाछुतको ।
मधेशमा दलित समुदायभित्र पनि डोमहरू अत्यन्त पछाडि परेका मानिन्छन् । सो ठाउँमा झमन मल्लिकसहित ती घरपरिवार डोम समुदायका छन् । झमनको परिवारले मात्र छठ मनाउँछन् । गत वर्षसम्मसम्म उनको परिवार पनि सामूहिक पण्डालमै छठ मनाउँथे । तर छुवाछुतको कारण गतवर्ष विवाद भएको र त्यसका कारण यसवर्ष पण्डालभित्र छठ गर्न नदिएको सोनम देवी मल्लिकले गुनासो गरिन् ।

‘गतवर्ष छुवाछुतकै कारण विवाद भएको थियो । त्यसकारण यसवर्ष हामीलाई पण्डालमा छठ गर्न दिएनन् । हामी डोम भएकै कारण बस्न नदिएको हो,’ उनले अनलाइनखबरसँग भनिन् ।
उनका अनुसार तस्वीर भाइरल भएर आलोचना हुन थालेपछि पूजा समितिसहित स्थानीयले स्वेच्छाले अलग्गै घाटमा बसेको भनेर झुटो बोल्न दबाब र धम्की दिने गरेका छन् ।
‘अहिले भन्छ झुटो बोल, नभए गाउँबाट पनि निकाला गर्छौं । एक घर डोम, त्यसमा पनि पाँच वर्षअघि किनेको जग्गाको लफडा छ । डोम भएकै कारण कसैले साथ दिएको छैन,’ उनले दुखेसो पोखिन् ।
यता छठ पूजा समितिका अध्यक्ष तथा शिक्षक सीताराम साहले भाइरल भइरहेको तस्वीरमा देखिए जस्तो जातीय विभेद नभएको दाबी गरे । उनका अनुसार समितिमा ९ सदस्यमध्ये चार जना दलित समुदायका छन्, जसमा सचिव कृष्णानन्दन बैठा छन् ।
‘उहाँ ३ बजेतिर घाटमा आउनुभयो । कहाँ बस्ने भनेर सोध्नुभयो । हामीले ‘जहाँ सहज लाग्छ त्यहीँ बस्नुस्’ भनेका थियौं,’ अध्यक्ष साहले भने, ‘तर उहाँले आफैं छुट्टै बस्ने भन्नुभयो । हामीले सँगै बस्न भन्दा मान्नु भएन । अहिले केही व्यक्तिहरूले तस्वीर भाइरल गरेर गलत प्रचार गरिरहेका छन् ।’

उनले जातीय विभेद भएको कुरा प्रमाणित भए कारबाहीको लागि तयार रहेको उनले दाबी गरे ।
यो तस्वीरबारे संस्कृतिका जानकार रोशन जनकपुरी छठ पनि हिन्दू वर्णाश्रमी पर्व नै भएको तर्क गर्छन् । ‘जतिसुकै समानताको राग अलापे पनि यस दृश्यले हिन्दू वर्णाश्रम र जातीय विभेदको अमानवीयता छर्लङ्ग हुन्छ । एकातिर बाँकी समुदायगत खुसी छ, अर्कोतिर अछुतको सीमान्तीकरण, बहिष्कृत एकाकीपना र छठ मैयाँ रिसाउँछन् भन्ने भयको कारण गरिबीमा पनि छठ मनाउने बाध्यता छ,’ उनले भने ।
जनकपुरी थप्छन्, ‘सांस्कृतिक उत्सव र पर्वहरूले खुसी, हार्दिकता र मानवीय अपनत्व बढाउनुपर्ने होइन र ? एक्काइसौं शताब्दीमा आएर पनि यस्तो दृश्य देखिनु सामाजिक कलंक र विडम्बना हो । हाम्रो सामाजिक संरचनामा सुधार गर्नुपर्ने धेरै छन् । विचार गरौँ ।’
माथिका दुई तस्वीर पोस्ट गर्दै चमार समुदायका पहिलो डाक्टर रामजीराम लेख्छन् ‘यस्ता विभेद देखेको पहिलो पटक होइन, भोगेको पनि पहिलो पटक होइन । यी बारम्बार हरेक छठ घाटहरूमा देखिन्छन् । भेटिन्छन् ।’
प्रतिक्रिया 4