
३४ वर्षीया सन्ना मरिन फिनल्यान्डकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छिन् । उनी विश्वकै कम उमेरकी प्रधानमन्त्री हुनेछिन् ।
हाल यातायात मन्त्री रहेकी सन्नालाई सोसल डेमोक्रेटिक पार्टीले एट्टी रिन्नेको उत्तराधिकारीका रुपमा चयन गरेको छ।
एउटा गठवन्धन पार्टीले समर्थन फिर्ता लिएपछि रिन्नेले हालै राजीनामा दिएका छन् । सन्नाले अर्को हप्ता पद तथा गोपनीयताको सपथ खाने अपेक्षा छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन्ना मरिन सामान्य परिवारकी महिला हुन् । उनी भाडाको अपार्टमेन्टमा आफ्नी समलिंगी आमा र आमाकी महिला पार्टनरसँग बस्छिन् । परिवारमा विश्वविद्यालय जाने उनी पहिलो सदस्य हुन् ।
सोसल डेमोक्रेट्समा आवद्ध भएपछि मरिनले चाँडै प्रगति गरिन् । उनी २०१५ मा संसद निर्वाचित भएकी थिइन् । उनी गत जुन देखि यातायात र सञ्चारमन्त्री थिइन् । उनको २२ महिनाकी छोरी छिन् ।
सन्नाले पाँच पार्टी सम्मिलित गठवन्धन सरकारको नेतृत्व गर्नेछिन् । रोचक के छ भने ती पाँचवटै पार्टी महिलाले हाँकिरहेका छन् ।
अहिले बहालवाला प्रधानमन्त्रीमा सबैभन्दा कान्छा युक्रेनका प्राधनमन्त्री ओलेक्सिय होन्चारुक हुन् । उनी ३५ वर्षका भए ।
प्रतिक्रिया 4