+
+
अबको नेतृत्व कस्तो ? :

‘पुराना पार्टी हतियारबिनाका फौज हुन्’

‘पुरानाले डोजर नचलाएको भए रवीन्द्र मिश्र बीबीसीमै हुन्थे’

अमृत सुवेदी अमृत सुवेदी
२०७६ मंसिर २९ गते १४:०४

२९ मंसिर, पोखरा । नेपाली राजनीतिमा अलि बढी आशा गरिएका, वैचारिक एवं भिन्नमत राख्न सक्ने नेताका रुपमा चिनिन्छन्, पर्यटन मन्त्री योगेश भट्टराई र कांग्रेस नेता गगन थापा । अर्कातिर सञ्चार कर्म छोडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रले पनि पुराना राजनीतिक दलले नेपालको निकास दिन नसक्ने बताउँदै साझा पार्टीको राजनीति गरिरहेका छन् ।

यी तीनैजना व्यक्तित्व नेपाली राजनीतिमा अबको नेतृत्व कस्तो ? भन्ने बहसमा जुटे । नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन पोखराको रमणीय फेवा किनारमा यी तीन नेतासँग पत्रकार उमेश चौहानले बहस चलाए ।

‘लोकतन्त्रको नयाँ मैदान बनाउन नसकेको भए गगन थापा र म रत्नपार्कमा मसाल जुलुस गरिरहेका हुन्थ्यौं र रवीन्द्र मिश्रजीले बीबीसीमा हाम्रो समाचार पढिराखेको हुनुहुन्थ्यो’ योगेश भट्टराई ।

कांग्रेस नेता गगन र नेकपा नेतासमेत रहेका योगेशले राजनीतिमा चमत्कार गर्न सम्भव नभए पनि कार्यशैली र कामबाट भिन्न हुने प्रयास गरेको बताए । शासकीय पदमा पुग्दैमा सबै कुरा परिवर्तन गर्न सक्ने प्रणाली अहिले नरहेको तर भिन्न हुने प्रयत्न भने भइरहेकोमा दुबैजना सहमत छन् ।

वैकल्पिक राजनीतिको वकालत गरिरहेको साझा पार्टीका संयोजक रवीन्द्र मिश्र अपवादबाहेक पुराना पार्टीका सबै नेताहरुको कार्यशैलीमा समस्या रहेको बताउँछन् । मिश्र भन्छन्, ‘पुरानो राजनीतिक दल हतियारबिनाका फौजी हुन् ।’

पुराना पार्टीले गलत बाटो हिँडिरहेको मिश्रले बताएपछि मन्त्री योगेशले कडा जवाफ दिए । उनले नेपाल कम्युनिस्ट पार्टी र कांग्रेसजस्ता पार्टीले राजनीतिक डोजर लगाएर मैदान नबनाएको भए रवीन्द्र मिश्रहरु बीबीसीमा समाचार पढिरहेकै हुने भन्दै कटाक्ष गरे ।

‘नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेसजस्ता राजनीतिक दलले चलाएको डोजरबाट मैदान सम्याउन नसकेको भए, लोकतन्त्रको नयाँ मैदान बनाउन नसकेको भए गगन थापा र म रत्नपार्कमा मसाल जुलुस गरिरहेका हुन्थ्यौं र रवीन्द्र मिश्रजीले बीबीसीमा हाम्रो समाचार पढिराखेको हुनुहुन्थ्यो,’ योगेशले भने, ‘आज हामीले चलाएको राजनीतिको हतियारबाट बनिएको मैदानमा हाम्रो हतियारमा खिया लागेको छ भन्न पाउनुहुन्छ ।’

आवाज नसुनिने, प्रश्न नगर्ने निर्जिव बन्दै गएको समाजमा राजनीतिक चेतनाको आफैं छाल निर्माण गर्ने या अरुले नै निर्माण गरेको छाल गनेर बस्ने ? फेवाको छालसँग राजनीतिलाई जोड्दै उमेश चौहानले बहसमा प्रश्नको उठान गरेका थिए ।

जसरी प्रश्न सोधिनुपथ्र्यो, जसरी आवाज उठाउनुपथ्र्यो, त्यसरी नउठेको भए पनि समाज त्यति निर्जिव भइनसकेको कांग्रेस नेता गगनको भनाइ थियो । ‘प्रत्येक दिन लाखौं मानिसले सामाजिक सञ्जालमा प्रश्न गर्छन् । आवाज र कोलाहलबीचको भिन्नतामा हामी कतै मिसिँदै गयौं होला पनि,’ गगनले भने, ‘भर्खर हामीले जुन परिवर्तन गरेर यहाँसम्म आएका छौं, त्यहाँ हाम्रो भूमिका थियो कि थिएन ? हस्तक्षेप गरेर आएका हौं कि होइनौं ?’

‘अहिले राजनीतिक नेतृत्वको एक वर्गले यसरी सम्बन्ध जोडेको छ, सामान्य नागरिकले त्यो राजनीतिक दलसँग जोडिएन भने वृत्ति विकास नै हुँदैन भन्ने ठान्छ’ रवीन्द्र मिश्र ।

तर, जति साहस गर्नुपर्ने हो, त्यति गर्न चुकिरहेको, हस्तक्षेप र प्रश्न गर्न डरायौं कि भन्ने आफूलाई पनि लागिरहेको गगनले स्वीकार गरे ।

अहिलेको पार्टी र सरकारको काम एजेन्डामा जोड्न किन नसक्नुका कारणबारे नेकपा नेता तथा पर्यटनमन्त्री भट्टराईले खुलाए । हल्ला, कोलाहल सिर्जना हुनु नेपाली समाजमा देखिएका समष्टिगत प्रवृत्तिका रुपमा देखिएको भट्टराईको भनाइ थियो । लोकतन्त्रले कुनै पनि छाललाई सही बाटो दिने उनले बताए ।

पत्रकार चौहानले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिले राजनीतिक दलमा एकखालको हल्ला र डर सिर्जना भएकोप्रति इंगित गरेका थिए । त्यसको जवाफ दिँदै भट्टराई भने पूर्वशासक ज्ञानेन्द्र जुन गतिविधि बाहिर देखिएको भए पनि त्यो आपत्तिजनक नरहेकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।

‘पूर्वराजाको गतिविधि त्यति आपत्तिजनक कुरा होइन । पूर्वराजाकै कारण खतरामा पर्ने लोकतन्त्र र गणतन्त्र हामीले ल्याएका होइनौं,’ भट्टराईले भने, ‘लोकतन्त्रको जग बलियो छ । सवाल त्यसलाई सहीरुपमा देखाउनुपर्ने छ ।’

जनताका आकांक्षा र प्रश्नले नेतृत्व हतोत्साही हुनुपर्ने अवस्था नरहेको भट्टराईले बताए । अहिले नेपालमा ठूलो हिस्सा युवाले ओगटेको र युवाले अवसर नपाउँदा एकखालको छटपटी देखिएको उनको भनाइ थियो ।

भट्टराईपछि बोल्ने क्रममा थिए, साझा पार्टीका मिश्र । नेताहरुको आचरण सुधानुपर्ने बढी आवाज उठाउँदै आएको साझाले राजनीतिक प्रणालीमा कहाँनेर प्रश्न छ र कुन रोगको उपचार गर्ने भनेर खुट्याएको छ त ? संयोजक मिश्रले राजनीतिक प्रणालीमा आपत्ति नभए पनि कार्यशैलीमा आपत्ति भएको बताए ।

‘प्रणालीमा होइन, शैलीमा आपत्ति छ । राजनीतिक सामन्तवादले अपहरण गरेर राखेको छ । अहिले राजनीतिक नेतृत्वको एक वर्गले यसरी सम्बन्ध जोडेको छ, त्यो सम्बन्धको डोरी चुडियो भने व्यवसाय गर्न सक्दैन, सामान्य नागरिकले त्यो राजनीतिक दलसँग जोडिएन भने वृत्ति विकास नै हुँदैन भन्ने ठान्छ,’ मिश्रले भने, ‘राजनीतिक सामान्तवादमा गुज्रिराखेको छ ।’

राजनीतिक नेतृत्वको आचारणमा ठूलो समस्या रहेको मिश्रको आरोप थियो । अहिलेको राजनीतिक संरचना हतियार बिनाको फौजीजस्तो भएको उनले टिप्पणी गरे । ‘जुन संरचनामा परेन भने समाजका जुनसुकै तप्काले आफूलाई सुरक्षित ठान्दैन,’ मिश्रले भने ।

आशा गरिएका युवा नेता पनि पुरानै नेतासँग किन एकाकार भइरहेका छन् ? यो प्रश्नको जवाफमा गगन थापाले यसबारे पुराना सबै खराबै खराब र नयाँ सबै राम्रो भन्ने नभएको बताए ।

‘सामाजिक आन्दोलनबाट आएका मान्छेहरुलाई पनि पार्टीमा लाने, प्रशिक्षित गर्ने र भोलि नेतृत्व गर्ने बनाउनका निम्ति बरु नर्सरीहरु नयाँ खोज्नुपर्छ’ गगन थापा ।

‘पुरानाबाट लिनुपर्ने कुरा लिने हो । आफ्नै राजनीतिक दलभित्र पनि हस्तक्षेप किन हो भने, चाहिने लिन र अरु छोड्न हो,’ गगनले भने ।

सरकारका संस्थाहरु कसरी बनेका छन् ? त्यसले कसरी काम गर्छ भन्ने सार्वजनिक विमर्श नै कोलाहलपूर्ण भइरहेको थापाको टिप्पणी थियो ।

विद्यार्थी आन्दोलनबाट रवीन्द्र, योगेश, गगनहरु जन्मिए । त्यसपछि राजनीतिमा नेता जन्मिएको खै ? प्रश्नकर्ताको जवाफमा नेता गगनले भने, ‘नेता आफ्नै संघर्षले जन्मने हो, नर्सरीमा सबै मिलाएर उमार्ने होइन ।’

प्रश्नकर्ताले जोडे, ‘विद्यार्थीहरुको अधिवेशन अन्त्य हुने, अनि नेता रियालिटी शोबाट उत्पादन गर्नुपर्ने भयो ?

जवाफमा गगनले संघर्ष र एजेण्डाबाटै नेता स्थापित हुने बताए । ‘सामाजिक आन्दोलनबाट पनि लिडरहरु आउँछन् । हिजोको जस्तै राजनीतिबाट मात्रै आउनुपर्छ भन्ने पनि छैन । सामाजिक आन्दोलनबाट पनि लिडर जन्मिरहेका छन् । अब अरु ठाउँबाट पनि नेता आउनुपर्छ,’ थापाले भने, ‘सामाजिक आन्दोलनबाट आएका मान्छेहरुलाई पनि पार्टीमा लाने, प्रशिक्षित गर्ने र भोलि नेतृत्व गर्ने बनाउनका निम्ति बरु नर्सरीहरु नयाँ खोज्नुपर्छ ।’

पर्यटनमन्त्री भट्टराईले हरेक दल यतिबेला चुनौतीमा रहेको बताए । राजनीतिक दलभित्र नयाँ पुस्ताले भिन्न देखाउने कोसिस गरिरहेको भट्टराईको भनाइ थियो ।

‘कुनै पनि संस्थामा नयाँ मान्छे आउँछ भने त्यहाँ चमत्कार ल्याउँदैन व्यवस्थापकीय पक्ष मिलाउँछ,’ भट्टराईले भने, ‘राजनीतिक दलभित्र भिन्नता देखाउने भनेको कार्यशैली र व्यवस्थापकीयबाट हो ।’

लोककल्याणकारी राजनीति गरिरहेको साझा पार्टीलाई चौहानले सोधे, के राजनीति भनेको च्यारिटी हो ? मिश्रले कल्याणकारी लोकतन्त्र स्थापित गर्नकै लागि हेल्प नेपालबाट निम्ति आफू राजनीतिमा प्रवेश गरेको बताए ।

२५ वर्ष भयो, सक्रिय राजनीतिमा लागेको सम्झँदै गगनले कुर्सीमा बस्नुअघि सबै थाहा छजस्तो लाग्ने भए पनि त्यहाँ बसेपछि केही थाहा नहुने सुनाए । थापाले पर्यटनमन्त्री योगेशलाई केही थाहा छैन भन्ने सोचेर काम गर्दा धेरै गर्न सकिने सुझाव दिए ।

‘मलाई केही थाहा छैन भनेर काम गर्न थाल्यौं भने केही गर्न सकिने रहेछ,’ गगनले भने, ‘मलाई सबै थाहा छ, मलाई जति कसैलाई थाहा छैन भनेर काम थाल्यो भने योगेश दाइ, हामीलाई एकदमै कम थाहा छ ।’

मन्त्री भट्टराईले बोलेर होइन, काम गरेर जवाफ दिनुपर्ने भएकाले प्रतीक्षा गर्न आग्रह गरे । ‘मन्त्रालयमा आउँदा प्राथमिक विद्यालयमा भर्ना भएको थिएँ, अहिले माध्यामिकमा पुगें होला, उच्च शिक्षा त बाँकी नै छ,’ पर्यटनमन्त्री मन्त्री योगेशले भने, ‘पारदर्शी भएर काम गर्छौं कि गदैनौं भन्ने हो । प्रतीक्षा गर्नुहोस् ।’

तस्वीरहरु : युनिस गुरुङ/अनलाइनखबर

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?