Comments Add Comment

पोखरा छोड्दा गाउँ थियो, अहिले सहर भइसकेछ : अनुप बराल

३० मंसिर, पोखरा । देशमा अवसर नभएको भन्दै धेरै युवा विदेशिएका छन् । स्वदेशमै भएका युवा पनि अवसरकै खोजीमा राजधानी काठमाडौं भौतारिएका छन् । अझ कुनै पेशा व्यवसायमा स्थापित व्यक्ति त राजधानी भन्दा बाहिर बस्ने परिकल्पना नै हुँदैन ।

पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिबलको अन्तिम दिन सोमबार आफ्नो गाउँ पोखरा फर्किने वक्ताले आफ्नो कथा सुनाए । वक्तामा थिए, ‘रंगकर्मी अनुप बराल र युवा उद्यमी राम गुरुङ । कवि सरस्वती प्रतीक्षाले बराल र गुरुङसँग प्रश्नोत्तर गरिन् ।

अनुप बरालले आफू गाउँ फर्किनुको कारण गाउँको माया नै भएको सुनाए । उनले भने, ‘सारा उमेर गाउँबाहिर रहे । कहिले बम्बई काठमाडौं गरिरहें । अबचाहिँ घरमा समय बिताउनुपर्छ भन्ने लागेर फर्किएको हुँ ।’

बरालले अघि भने, ‘कति आफ्नो जमिन र आमाबाबु भन्दा सधैं टाढा भइराख्नु भनेर फर्किएको हुँ, सीमान्तकृत व्यक्तिलाई बाहिर ल्याउन रुचाउँछौं । तर, सहरकेन्द्रित भयौं । राजधानीमुखी भयौं । आफैं सुरुआत नगर्दासम्म केही हुँदैन ।’ उनले सामाजिक सञ्जालले संसारलाई एकै गाउँ बनाइसकेकोले पनि पोखरा फर्र्किएको सुनाए ।

बरालले २२ वर्षअघि पोखरा छोड्दा भन्दा अहिले धेरै फरक भइसकेको अनुभव सुनाए । ‘पोखरा छोड्दा गाउँ थियो । अहिले सहर भइसकेको छ,’ उनले भने, ‘धेरै ठूलो परिवर्तन आइसकेको छ । बयरघारीमा ठूला र अग्ला घर बनिसकेछन् । धेरै चिज छन्, जो बदलिए । त्यो पोखरा अहिले खोज्दा पाउँदिनँ ।’ उनले आगामी जीवन रंगमञ्च उकास्न नै कटिबद्ध हुने सुनाए ।

उनले आफूलाई पोखरा आइसकेपछि मात्रै इनर्जी मिल्ने बताए । बरालले भने, ‘सबैभन्दा महत्व आफ्नै जमिनले गर्दा हो । पोखरा आएर झन् अग्रगामी भएको छु ।’ उनले आफू जता गएको भएपनि पोखराकै मायाले हौसला पाइरहेको बताए ।

गण्डकीमा क्यानोनिङ सुरुवात गरेर साहसिक खेल भित्र्याउने उद्यमी राम गुरुङले पनि आफ्नो कथा सुनाए । बेलायत जाने रहरले दिल्लीको तिहाड जेलमा २ महिना जेल परेका उनी आफ्नो सफलता सुनाए ।

‘भविष्य आफ्नै गाउँमा रहेछ । मैले सुरुमा क्यानोनिङ गर्छु भनेर सुरु गरेको थिइनँ । आफ्नो गाउँ चिनाउँछु भनेर सुरु गरेको हो,’ उनले भने, ‘म जहिल्यै जागिरको पछि लागिनँ । सधैं आफैं केही गनुपर्छ भन्ने लागेरै यो स्थानसम्म आइपुगेको हो ।’ उनले नेपाललाई पर्यटनबाट चिनाउन सकिने र त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment