+
+

जहाँ निःशुल्क उपचार पाइन्छ तर पुग्दैनन् बिरामी

सेवाग्राहीप्रति उदासिन अस्पताल प्रशासन

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७६ पुष २५ गते १०:००

सरकारले विपन्नका लागि भनेर निःशुल्क अस्पताल स्थापना गरेको छ । तर, अस्पताल प्रशासन सेवाग्राहीप्रति उत्तरदायी छैन । त्यही कारण सित्तैमा उपचार पाइने ठाउँमा पनि बिरामीहरु पुग्दैनन् ।

मध्यम तथा निम्न आर्थिक स्तर भएका व्यक्तिहरुको लागि केन्द्र सरकारले पनि वाषिर्क ८ प्रकारका रोग लागेका व्यक्तिको नाममा झण्डै साढे २ अर्ब रुपैयाँ अनुदान दिने गरेको छ । त्यतिले पनि नपुगेर बिरामीहरुले हारगुहार गरी औषधि खरिद गर्ने गर्छन् । तर, काठमाडौंको केन्द्रमा रहेको एउटा निःशुल्क चिकित्सालय भने बिरामी कम भएर सुनसान जस्तै छ ।

काठमाडौंको क्षेत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयमा अहिले विपन्नहरुका लागि अधिकांश रोगहरुको निःशुल्क उपचार गराउने गरिएको छ । तर, निःशुल्क सेवा लिन सक्ने विपन्न नागरिकको लागि आकर्षण नदेखिएको अस्पताल प्रशासनले जनाएको छ ।

अहिलेसम्म कति जनाले निशुल्क उपचार सेवा लिए ? भन्ने विषयमा अस्पताल प्रशासनसँग व्यवस्थित सूचना प्रणालीको विकास नभएको भएपनि प्रशासनका अधिकारीहरु यसमा खासै आकर्षण नदेखिएको बताउँछन् ।

प्रशासनकी प्रमुख प्रशासकीय अधिकृत लीना शाक्यले दैनिक ५ सयको हाराहारीमा बिरामी आउने भएपनि विपन्न बिरामीहरुको संख्या दैनिक ३ देखि ५ जनामात्रै रहने गरेको जानकारी दिइन् । यहाँ गम्भीर प्रकृतिका नसर्ने रोगहरुको समेत निःशुल्क उपचार हुने गरेको छ । तर, प्रचार प्रसारको अभावले हो या अविश्वासको कारणले हो अत्यधिक कम संख्यामा विपन्नहरु अस्पतालमा उपचार सेवा लिने गरेको शाक्य बताउँछिन् ।

अस्पतालले अहिले बिहानी सत्रमा आउने विपन्न बिरामीहरुको लागि निःशुल्क सेवा दिने गरेको छ । बिहानी सेवामा अरु बिरामीहरुको लागि पनि विशेषज्ञ सेवा अत्यन्त कम शुल्कमा दिने गरिएको छ भने दिउँसो सशुल्क सेवा दिने गरिएको छ । अस्पताल प्रशासनका अनुसार निशुल्क सेवाको लागि आँखा, कार्डियोलोजी, मुटुरोग, चर्म तथा यौन रोग, जनरल सर्जन, दन्त रोग, नाक, कान घाँटी रोग, पेट रोग, बाल रोग, रेडियोलोजिष्ट, स्त्री रोग, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, फिजियोथेरापी जस्ता सेवाहरु छन् ।

कसरी पहिचान गरिन्छ विपन्न नागरिक ?

निशुल्क उपचार लिने विपन्न नागरिकको पहिचान कसरी हुन्छ ? भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत शाक्यले विपन्न सेवा लिन आउने बिरामीको हाउभाउ हेरेर नै पत्ता लगाइने जानकारी दिइन् । स्थानीय तहको सिफारिस या अरु कुनै प्रमाणको आवश्यकता पर्दैन ? भन्ने प्रश्नमा उनले पैसा हुने बिरामीले निःशुल्क सेवा पाउनकै लागि विपन्न भएको नाटक गर्दैनन् भन्ने विश्वासको आधारमा उनीहरुलाई निःशुल्क सेवा दिइने जानकारी दिइन् ।

यहाँ हरेक रोगको लागि विशेषज्ञ चिकित्सकहरुले सेवा दिने गर्छन् । शाक्यका अनुसार दिउँसो सशुल्क रुपमा सञ्चालन हुने पेईङ सेवाको लागि कमिसन दिनेगरी विशेषज्ञ चिकित्सकहरु राखिएको छ । गम्भीर प्रकृतिका रोगीहरुलाई अप्रेसन वा वार्डमा राख्नुपरे पनि गैरविपन्नहरुलाई समेत कम शुल्कमा सेवा दिने गरिएको छ ।

विपन्नहरुलाई गम्भीर किसिमका रोगीहरु

स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा नेपालभरी दीर्घकालीन अब्स्ट्रक्टिभ पलमोनरी रोग (सिओपीडी) रोगबाट २ लाख एक हजार २२९ जना प्रभावित भएका थिए । त्यो संख्या त्यसको दुई वर्षमा नै ३० हजारले बढेको थियो । यो एक किसिको फोक्सो सम्बन्धी रोग हो । जुन धुमपान र वायु प्रदूषणका कारण बढ्ने गर्छ । त्यस्तै, उच्च रक्तचापका बिरामीहरु आर्थिक वर्ष २०७२/७३ मा २ लाख ७५ हजार रहेकोमा त्यसको दुई वर्षपछि ४ लाख नाघेका छन् । त्यस्तै, मधुमेहका रोगीहरु दुई वर्षमा नै झण्डै ८५ हजारले बढेको विभागको तथ्यांकले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार वर्षेनी नेपालमा झण्डै ३ हजारभन्दा बढी मृगौला रोगबाट पीडित हुने गरेका छन् । भक्तपुरमा रहेको मानवअंग प्रत्यारोपण केन्द्रमा अहिले दैनिक ६० देखि ८० जनाको डायलासिस हुने गरेको केन्द्रले जनाएको छ । यसका बाहेक मुटु क्यान्सर जस्ता जटील किसिमका रोगीहरुको संख्या बढिरहेको छ ।

नेपालमा अझै पनि ४३ प्रतिशत मानिस बेरोजगार रहेको र २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि रहेको सरकारी तथ्यांकहरुमा उल्लेख छ । जसका कारण पनि विभिन्न किसिमका दीर्घकालीन रोगको शिकार उनीहरु नै हुने गरेको पाइन्छ ।

यही मानिसहरुले अस्पतालको गेटबाट भित्र छिरेपछि निःशुल्क स्वास्थ्य सेवा पाउने त सम्भावना नै छैन । दैनिक २ सय रुपियाँभन्दा कम आम्दानीमा गुजारा चलाउनेहरुको संख्या पनि प्रशस्तै पाइन्छ । यस्तो अवस्थामा गम्भीर किसिमका रोगहरु लागेपछि आफू र परिवारको समेत बिजोक देख्नु भन्दा उनीहरुले आत्महत्याको बाटो अपनाउने गरेको पाइन्छ ।

२०७३ मा मात्रै अस्पतालमा पैसा तिर्न नसकेर तीन जनाले आत्महत्या गरेको समाचार बाहिर आयो । यति मात्रै पूर्ण विवरण हो भन्न सक्ने अवस्था छैन । तर, धेरै चर्चामा आएका यिनीहरु अस्पतालमा उपचार खर्च तिर्न नसकेरै आत्महत्याको बाटो अपनाएका थिए ।

२००७ मा खुलेको अस्पताल

विसं २००७ सालमा खुकुरी दलले टोलटोलमा आतंक मच्चाउँदा सुरक्षार्थ गठित स्थानीय शान्ति सुरक्षा संघले १० रूपैयाँ कुल पुँजी लगाएर यो अस्पतालको निर्माण गरिएको थियो । विसं २०१३ साल माघ २३ गते श्रीपञ्चमीका दिन छत्रपाटी निःशुल्क चिकित्सालयको स्थापना गरिएको थियो ।

तत्कालीन सञ्चार, यातायात तथा नहर मन्त्री गणेशमान सिंहबाट २०१६ साल जेठ १८मा मूल भवन शिलान्यास गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?