Comments Add Comment

तराईमै फलाए प्रदीपले सुन्तला

२९ माघ, वीरगञ्ज । बाराको कलैया–१ राजदेवी चोकका ५२ वर्षीय व्यवसायी प्रदीप साहको चर्चा यो वर्ष निकै चुलियो । डेढ महिनाजति मानिसहरु उनको घरमा आउजाउ गरिरहे ।

उनको घरमा आउजाउ गर्नेमा सांसद, प्रशासक, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, स्थानीय नेता, कृषि प्राविधिक लगायत व्यक्तिहरु थिए । घर आएका सबै छतमा पुग्थे र फोटो खिचेर मात्रै फर्कन्थे ।

किनकी उनको घरको छतमा प्लास्टिकको ड्रममा लटरम्म सुन्तला फलेको थियो । दुई वर्षअघि छतमा लगाएको ‘ओहतापंकन’ जापानी जातको सुन्तलाको बोटमा यसपाली फल लागेको हो ।

लटरम्म सुन्तला फलेको हेर्न मन पराउने प्रदीपले दुई वर्षअघि कम्पोष्ट मल, जंगल र बगैचाको माटोमा बालुवा समेत मिसाएर उनले गमला तयार पारेर सुन्तला रोपेका थिए । पातमा किरा लाग्दा सामान्य खाले विषादी बाहेक सुन्तला हुर्काउन रासायनिक मल समेत नहालेको उनी बताउँछन् । तैपनि १० फिट लामो बोटमा ४ सय ग्राम भन्दा माथिका ३७ वटा सुन्तला फलेको उनको भनाइ छ ।

पहाडी क्षेत्रमा सुन्तला फल्नुलाई स्वाभाविक मानिन्छ । सुन्तला समशितोष्ण हावापानी भएको तातो हावा नचल्ने मध्य पहाडी क्षेत्र सुन्तला फुल्न, फल्न र स्वादिलो फल उत्पादन गर्न उपयुक्त मानिन्छ । १००० हजारदेखि १२०० मीटरसम्मको उचाईमा फल्ने सुन्तला समुद्री सतहदेखि १ सय ५२ देखि ९ सय १५ मिटरको उचाई भएको कलैयामा फलेको थियो । जबकी कलैया गर्मी अत्याधिक हुने ठाउँमै पर्छ । मध्य गर्मीमा तातो हावा चल्छ ।

प्रदीपका अनुसार कलेज पढ्दै गर्दा गोर्खाको मनकामना पुगेका थिए । लटरम्म सुन्तला फलेको देखेर दंग परे । टिपेर खाउँ खाउँ लागेपनि अरुले लगाएको सुन्तला टिप्न मिलेन । मन खिन्न पारेर फर्किए । मनमनै कलैयामा पनि यसैगरी सुन्तला फलाउन पाए हुने भनेर सोचेँ । तर हावापानी नमिल्ने ।

त्यो मनोकांक्षा अहिले आएर मात्रै पुरा भयो । कलैया कै प्रकाश अधिकारीले बगैंचामा सुन्तला लगाएका रहेछन् । उनकोमा राम्रो नफलेपनि आफ्नो सौख पुरा गर्न प्रदीपले बोट मागेर ल्याएका थिए ।

‘गुलियो सुन्तला खाउँला भन्ने त थिएन, रुखमा लटरम्म सुन्तला देखियोस् भन्ने थियो । यसपाली दुवै भयो, बोट पनि छिट्टै हुर्कियो,’ उनले भने, ‘सुन्तलाको अर्को एउटा विरुवा हुर्काउँदैछु । अरु पनि थप्ने सोचमा छु ।’

सुन्तला बाहेक घरको छतमै अन्य फलफुल समेत हुर्काउने तयारी उनले गरिरहेका छन् । भारतको हरियाणाका किसानले उत्पादन गरेको ‘हरिमन ९९’ जातको स्याउको बोट र ‘स्वीट माल्टा’ मौसम उनले मगाइसकेका छन् ।

‘बिहान मर्निङ वाकबाट फर्केपछि एक घण्टा छतमा विरुवामा पानी हाल्ने, हेरचाह गर्ने गर्छु,’ उनले भने, ‘यसो गर्दा तनावबाट मुक्ति मिल्छ र आनन्द लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment