
१८ फागुन, काठमाडौं । भारतको केरलामा कोरोना भाइरसको आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । मलेसियाबाट फर्किएपछि बिरामी परेका उनको अर्नाकुलम अस्पतालको आइसोलेसन वार्डमा उपचार गरिरहेका बेला मृत्यु भएको हो ।
पछिल्लो समय मलेसियामा कोरोना भाइरस संक्रमण फैलिएपछि भारतले त्यहाँबाट फर्किएका व्यक्तिको परीक्षण थालेको छ ।
नमुना परीक्षणका क्रममा भने उनमा कोरोना भाइरसको संक्रमण नदेखिएको चिकित्सकहरुले बताएका छन् । ती व्यक्तिमा स्वासप्रश्वाससम्बन्धी र निमोनियाको समस्या देखिएको थियो ।
उनी मधुमेहको पनि विरामी रहेको डाक्टरले बताएका छन् । भारतको स्वास्थ्य विभागले उनको मृत्यु कोरोना भाइरसको संक्रमणले हो वा होइन भन्ने परीक्षणका लागि नमुना पठाएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमण देखिएका तीन जना उपचारपछि घर फर्किएका छन् । उनीहरुको पछिल्लो परीक्षणमा कोरोना संक्रमणको नतिजा नेगेटिभ आएको छ ।
भारतमा चीनबाट फर्किएका व्यक्तिहरुको समूहलाई क्वारेन्टाइनमा राखिएको छ । केही हप्ताको बसाइपछि उनीहरुमध्ये केही व्यक्ति घर फर्किएका छन् ।
प्रतिक्रिया 4