Comments Add Comment

तिलोत्तमा देशकै पहिलो पोलिथिनमुक्त नगर घोषणा हुँदै

८० हजार बोरा प्लास्टिक संकलन

२९ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका मुलुकमैं पहिलोपटक शून्य पोलिथिन (पोलिथिनमुक्त) नगरपालिका घोषणाको हुने अन्तिम चरणमा पुगेका छ ।

सात महिनाको प्रयासपछि नगरका १७ मध्ये १६ वटा वडालाई शून्य पोलिथिन क्षेत्र घोषणा गरिसकिएको छ भने वडानम्बर १४ लाई घोषणा गरेसँगै भोलि (शुक्रबार) तिलोत्तमा शून्य पोलिथिन नगर बन्नेछ ।

नेपालका ७५३ स्थानीय तहमध्ये पहिलोपटक तिलोत्तमा शून्य पोलिथिन नगर घोषणा हुन लागेको हो ।

१२६ वर्गकिलोमिटर क्षेत्रफलको यो नगरपालिकामा नगरवासीका घर, टोल, खेत, कुलो-नहर, वन जंगल, सडक, सार्वजनिक स्थलबाट झण्डै ८० हजार बोरा -बाह्र हजार क्वीन्टल) पोलिथिनजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेपछि शुन्य पोलिथिन घोषणा गर्न थालिएको हो ।

नगरपालिकाले बनाएको कार्यविधिमा खुलारुपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शून्य पोलिथिन मानिने उल्लेख छ ।

शुन्य पोलिथिन नगर घोषणाका लागि वातावरणविद् र सरकारी अधिकारीले नगरका सबै वडाको अनुगमन गरेका छन् । प्लास्टिकले माटो र वातावरणमा पार्ने असरबारे नगरबासीमा निकै राम्रो चेतना बढेेको पाइएको अनुगमनमा संलग्न त्रिभुवन विश्व विद्यालयका प्रोफेसर डा. इशान गौतमले बताए ।

तिलोत्तमा नगरपालिकाले शुरु गरेको शुन्य पोलिथिन अभियानले कृषि प्रणाली र मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै यो अभियानलाई देशका सबै स्थानीय तहले अनुशरण गर्नुपर्ने गौतमले सुझाए ।

शून्य पोलिथिन अभियानसँगै यहाँका सडक, सार्वजनिक स्थान, कुलो-नहर विगतको तुलनामा धेरै सफा देखिएका अर्का अनुगमनकर्ता दीपेन्द्र बडुवालले बताए । ‘शून्य पोलिथिन अभियानले तिलोत्तमा साँच्चिकै सफा र गर्व गर्न लायक नगर बनेको छ,यसलाई निरनतरता दिन नियमित अनुगमन हुनुपर्छ,’बडुवालले सुझाए ।

नगरवासीको सक्रिय सहभागिताका कारण शून्य पोलिथिन अभियानले मूर्तरुप लिएको नगर प्रमुख बासुदेव घिमिरले बताए । वर्षौंदेखि जथाभावी फ्याँकिएका प्लास्टिकजन्य फोहोर संकलन गर्न नगरभित्रका एक सय ८९ वटा टोल विकास संस्थाका एकलाख नगरबासीले श्रमदान गरेका नगरप्रमुख घिमिरेले बताए ।

शून्य पोलिथिन घोषणालाई दीगो बनाउन नगरका सार्वजनिक स्थानमा कम्तिमा एकहजार थान स्मार्ट डष्टबिन राख्ने नगरपालिकाको योजना रहेको घिमिरले बताए ।

नगरभित्र जथाभावी प्लास्टिक फ्यांक्नेलाई नगद जरिवाना गर्ने गरी कानून समेत बनेको र बुटवलबाट गाडीमा ल्याएर फोहोर फ्यांक्नेलाई एकपटकमा ६० हजार जरिवाना गराइसकिएको नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताइन् ।

यहाँका नगरबासीले अब फोहोर जथाभावी नफाल्ने, फालेमा कारवाही भोग्न तयार रहने सामूहिक प्रतिवद्धता जनाएका छन् । शून्य पोलिथिनलाई स्थायित्व दिन सार्वजनिक स्थान, घर, पसलमा डष्टबिन राखिएको छ ।

फोहोर संकलन कार्यसँगै संकलित फोहोरको व्यवस्थापनका लागि जनसहभागिता वास सहकारीसँगको सहकार्यमा एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माण भइसकेको छ ।

बालबालिकालाई पोलिथिनजन्य बस्तु जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समेटिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । यहाँका विद्यालय तथा टोल-टोलमा माई पकेट, माई फष्ट डष्टबिन अर्थात् मेरो खल्ती, मेरो पहिलो डष्टबिन भन्ने नारालाई व्यवहारमा उतार्न थालिएको छ ।

जथाभावी फोहोर फ्याँक्नेलाई कारवाही गर्न आवश्यक कानुन निर्माण गरिएको छ । वातावरणका क्षेत्रमा काम गर्दै आएको सिम नेपालका अध्यक्ष वातावरणविद् निपेश अधिकारीले तिलोत्तमा नगरपालिकाले अघि सारेको ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका कारण आफू्नो संस्थाले तिलोत्तमालाई शून्य पोलिथिन नगर बनाउन सहकार्य गरेको बताए ।

पोलिथिनजन्य फोहोरले मानव स्वास्थ्य, शहरी सौन्दर्य, कृषि उत्पादन र वातावरणमा सबैभन्दा बढी नकारात्मक असर पारेको तथ्यलाई मनन् गरेर नगरपालिकाले शून्य पोलिथिन अभियानलाई छोटो समयमै सार्थक बनाउनु चुनौतीपूर्ण रहे पनि नगरवासीको सहभागिता अनुकरणीय रहेको उनले बताए ।

कम्तीमा २५ हजार नगरवासीको सहभागितामा सामूहिक संकल्प गरेर शून्य पोलिथिन नगर घोषणा गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गर्ने पूर्वघोषित कार्यक्रम भने कोरोना भाइरस संक्रमणको त्रासका कारण परिमार्जन गरी प्रतिनिधिमूलक सहभागितामा गरिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

नगरलाई शुन्य पोलिथिन घोषणाका लागि स्थानीयवासी एवं संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल शुक्रबार तिलोत्तमा आउने कार्यक्रम तय भइसकेको छ ।

सात महिनासम्म नगरभित्रका सामुदायिक र संस्थागत गरी ८५ वटा विद्यालयमा चेतनामूलक प्रशिक्षण सञ्चालन, स्वयंसेवक परिचालन, १८९ टोल विकास संस्था, आमा समूह, युवा क्लबहरुलाई सम्मान र घोषणासभा समेत गरी शून्य पोलिथिन अभियान सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment