Comments Add Comment
चितवनका अस्पतालको नालीबेली :

बिरामीको उपचार : तैं रानी मै रानी, को भर्ने कुवाको पानी ?

निजी अस्पताल पन्छिँदै, सरकारी पर्ख र हेरको नीतिमा

१३ चैत, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा दुईवटा मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर अस्पताल र झण्डै दुई दर्जनभन्दा बढी निजी अस्पतालहरु छन् । अरुबेला बिरामी तानातान गरी अस्वस्थ प्रतिस्पर्धा गर्ने यहाँका निजी अस्पताल र मेडिकल कलेजले कोरोनाको त्रास बढ्दै जाँदा बिरामी पन्छाउन थालेका छन् ।

बिरामीले विभिन्न अस्पतालमा चक्कर मार्न थालेका सूचनाहरु आइरहेका छन् । ठूला र अग्ला भवन हेर्दै बिरामीहरु फर्किनुपर्ने बाध्यता आइलागेको छ ।

सरकारले ५० बेडसम्मका निजी तथा सरकारी अस्पतालले ज्वरो नाप्ने क्लिनिक सञ्चालन गरेर बिरामीको ‘स्क्रिनिङ’ गर्न भने पनि यहाँका अस्पतालले अटेरी त गरेका छन् नै, कतिपयले ओपीडीसमेत बन्द गरेका छन् ।

जिल्लामा ५० बेडभन्दा माथिका १९ वटा अस्पताल छन् ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले अस्पतालहरूका लागि आवश्यक व्यवस्थापकीय कुराहरु महानगरले उपलब्ध गराउने र उपचारका लागि कुनै कसर बाँकी नराख्ने भने पनि अग्रसरता देखाएर काम गर्न कुनै अस्पतालहरु तयार छैनन् ।

बेलाबखत डाक्टरको जुलुस निकाल्नेहरू गायव छन् । सरकारी चिकित्सक तथा अन्य सिनियर चिकित्सक अस्पतालहरु सुनसान भएकाले आ–आफ्ना घरमा नै बसिरहेका छन् । उनीहरु फेसबुकमा ग्रुपमा सुझावहरु पठाएर बस्छन् । उनीहरुले फेसबुकमा केही समस्या परे सम्पर्क गर्न भनेर नम्बर त राखेका छन्, तर ती फोन कमै मात्र उठ्छन् ।

फिल्डमा खटिएर काम गर्ने र जिम्मेवारी लिइदिने खास कोही भेटिएका छैनन् । कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारी अस्पतालको भित्री व्यवस्थापन गरिदिने डाक्टर वा व्यवस्थापक नहुँदा प्रहरीले गर्नुपर्ने कामसमेत आफैंले गर्नुपरेको गुनासो पोख्छन् ।

चितवनमा डाक्टरै डाक्टर र सयौंको संख्यामा स्वास्थ्यकर्मीहरु छन् तर, संकटका बेला खट्ने र सहयोग गर्ने कोही तयार नहुँदा साँच्चै संकट निम्तिए के हुने भन्ने चिन्ता छाएको छ । स्वाबको नमूना संकलन गर्ने दक्ष प्राविधिकको अभाव छ । नमूना काठमाण्डौं पठाउनै मुस्किल छ ।

सरकारी निर्देशन उल्लंघन गर्दै निजी अस्पताल

चितवनमा रहेका ठूला मेडिकल कलेज र निजी अस्पतालहरुले सरकारको निर्देशनको उल्लंघन गर्न थालेका छन् । ५० बेड माथिका अस्पतालमा अनिवार्यरुपमा ज्वरो क्लिनिक र आइसोलेसन बनाउन भनिए पनि अधिकांशले बनाएका छैनन् । कुनैले बनाएका छन् तर, कोही पनि स्टाफ त्यहाँ देखिँदैनन् ।

मेडिकल कलेजहरुले सामान्य आकस्मिक कक्षमा बिरामी हेरे पनि ओपिडी भने बन्द गरेका छन् । सरकारले नै ओपिडी बन्द गर्नु भनेकाले बन्द गरिएको उनीहरुको तर्क छ । तर, सरकारले चलाउनू भनेको ‘फिवर क्लिनिक’ पनि चलाएका छैनन् । आइसोलेसन पनि छैन ।

यस्ता अस्पतालले ज्वरो तथा रुघाखोकीका बिरामी आए सिधै कोरोना अस्पतालमा रिफर गरिदिएका छन् । यसका कारण कोरोना बिशेष अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।

सरकारले ज्वरो क्लिनिकबाट स्क्रिनिङ गरेर कोरोना शंका लागेका बिरामीलाई मात्रै आइसोलेसनमा राख्न र स्वाबको नमूना संकलन गर्न भनेको छ ।

तर, ट्राभल हिस्ट्री नभएका, अन्य कारणबाट ज्वरो आएका बिरामीलाई समेत छुँदै नछोई कोरोना अस्पतालमा पठाएर संकटमा यहाँका निजी अस्पतालले गैरजिम्मेवारीपन देखाउन थालेको आरोप लाग्न थालेको छ ।

मेडिकल सिटी भनिने चितवनको ठूलो स्वास्थ्यकर्मीहरुको संख्या घरमा रमिता हेरेर बसेको छ । अधिकांश अस्पतालका सेवा बन्द हुँदा जनशक्ति फाल्तु बनेको छ ।

कोरोना अस्पतालमा काम गर्ने जनशक्तिको अभाव देखिसकेको छ । अस्पतालले बुधबार मात्रै स्वास्थ्यकर्मीहरु माग गरेको छ । जनशक्ति पठाएका भनिएका कतिपयले फोन नै उठाउँदैनन् त कतिले मोवाइल अफ गरेर बसेका छन् । कतिपय अस्पतालमा आउनै छाडेका छन् । जनशक्तिको परिचालन कसले, कसरी गरिदिने हो भन्ने अन्योल सुरु भएको छ ।

भरतपुर कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले गत बर्ष जिल्लामा २५ हजारभन्दा बढी डेंगु र ज्वरोका बिरामी भएको भन्दै ती सबै प्रकारका बिरामी कोरोना अस्पतालमा पठाएर जिम्मेवारीबाट भाग्न कोही पनि नपाउने तर्क गर्छन् ।

‘ज्यानको माया त सबैलाई छ नि, तर सावधानीपूर्वक यो राष्ट्रिय संकटमा जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व सबैको हो’ डा. अधिकारीले भने, ‘एकदुई जना मात्रै तातेर कसरी यो संकटबाट पार गर्न सकिन्छ ?’

निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले निजी अस्पतालका ओपिडीमा बिरामी नै आउन छाडेको दाबी गरे । उनले भने ‘बिरामी नआएपछि ओपिडी कसरी चल्छ ।’

पीपीई नभएको गुनासो, उम्किने मेसो

यहाँका मेडिकल कलेज तथा निजी अस्पतालहरुले पर्याप्त सुरक्षा सामाग्रीहरु नभएको गुनासो गर्ने गरेका छन् । तर, यो उनीहरुको रेडिमेड गुनासो हो । बिरामीको उपचार गर्छाैं भन्ने अस्पताललाई पीपीईको अभाव नहुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको तर्क छ ।

निजी अस्पतालहरुले सरकारले पीपीई नदिएकाले सिधै ‘मर्न नजाने’ बताउँदै आएका छन् । तर, यसमा खास सत्यता छैन । केही निजी अस्पतालहरु आफैंले समेत पीपीईको व्यवस्था गरेका छन् ।

निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले सरकारले निजी अस्पताल तथा निजी मेडिकल कलेजका लागि सरकारले पीपीई तथा अन्य सुरक्षा सामाग्री र तालिम नदिएकाले ज्वरो तथा रुघाखोकी लागेका शंकास्पद बिरामीको उपचार गर्न कठिनाई भएको बताए ।

तर, अधिकारीको यो तर्कसँग सहमत छैनन् कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारी । उनी भन्छन् ‘निजी अस्पताल तथा मेडिकल कलेजहरुले ज्वरो क्लिनिक चलाएर आइसोलेसन वार्ड बनाएको जानकारी गराउन साथ सुरक्षा सामाग्री पाउँछन्, आफैं पनि किन्न सक्छन् । समस्या पीपीईको हैन, नियतको हो ।’

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले हरेक निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई बुधबार नै ५०/५० थान एन ९५ मास्क दिइसकेकी छिन् । विगतमा विभिन्न बाहानाबाजी गर्ने निजी अस्पताल र मेडिकल कलेजहरुले तत्काल ज्वरो क्लिनिक र आइसोलेसन वार्ड बनाएर बिरामीको स्क्रिनिङ गराउनुपर्ने डा. अधिकारीको तर्क छ ।

भरतपुर अस्पताललाई ‘डेडिकेटेड’ अस्पताल बनाउने बारे विवाद

कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार बसेको बैठकमा अधिकांशले भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गराउनुपर्ने धारणा राखे । उनीहरूले भरतपुर अस्पतालको सघन उपचार कक्षलाई बिस्तार गर्नुपर्ने बताए । यसका लागि एउटै संयन्त्र खडा गर्नुपर्ने सुझाव राखे । तर, निचोड भने निस्केन ।

भरतपुर कोरोना बिशेष अस्पताललाई ओपिडी र जनरल वार्डमा रुपमा विकास गर्ने र कोरोनाका क्रिटिकल केयरका बिरामीलाई भरतपुर अस्पतालमा उपचार गर्ने प्रयास गरिए पनि यसले मूर्त रुप पाएको छैन ।

भरतपुर अस्पतालमा अहिले १४ बेडको आइसोलेसन वार्ड रहेको छ । अस्पतालको ओपिडी खुल्ला रहेको भनिए पनि बिरामीको संख्या निकै कम हुँदै गएको छ । जिल्लाका निजी अस्पताल र मेडिकल कलेजका सञ्चालकहरुले भरतपुर सरकारी अस्पताल भएकाले कोरोनोको क्रिटिकल केयरको डेडिकेटेड अस्पताल बनाउनुपर्ने तर्क गरेका छन् । उनीहरुको तर्क छ, ‘सरकारी अस्पतालले नै पहिलो पहल लिनुपर्छ ।’

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले भरतपुर अस्पतालको थाप्लोमा सबै जिम्मा लगाएर निजी अस्पताल र मेडिकल कलेज उम्किन खोजेको बताए । ‘भरतपुर अस्पतालमा २० बेड आइसीयू छ, हामी १० बेड कोरोनाको क्रिटिकल केयरका लागि छुट्टाउँछौं आइसोलेसन वार्ड थप्छौं, तर सबै जिम्मा हामी मात्रैं लिदैनौं’ डा. तिवारीले भने, ‘निजी अस्पताल र मेडिकल कलेजले जनशक्ति पठाउनुपर्छ, रोटेशनमा काम हुनुपर्छ ।’

डा. तिवारीले जिल्लाका मेडिकल कलेजहरु सामान्य जिम्मेवारी र दायित्वबाट च्यूत हुँदै गएको आक्रोश पोखे । भरतपुर अस्पतालमा सुत्केरी गराउनेदेखि अन्य बिरामीहरुसमेत उपचारका लागि आउने हुँदा पूरै अस्पताल खाली गराउन तत्काल नसकिने बताए ।

डा. तिवारीलाई भरतपुर अस्पतालमा काम गर्ने बरिष्ठ चिकित्सकहरुले समेत डेडिकेटेड अस्पताल बनाउने निर्णयमा सहमति नजाउन दबाव दिँदै आएका छन् ।

भरतपुर अस्पतालका बरिष्ठ एक चिकित्सकले अनलाइनखबरसँग भने, ‘कुनै अमूक मेडिकल कलेजका सञ्चालकले भन्दैमा भरतपुर अस्पताल डेडिकेटेड अस्पताल बन्दैन, उनीहरुले बनाइदिने हैन, सरकारले भन्यो भने मान्छौं, तर अरूबेला फाइदा उठाउने, दुःखमा भाग्नेहरुले भनेको मान्दैनौं ।’

चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने भरतपुर अस्पतालले यसको पहिलो दायित्व लिनुपर्ने तर्क गर्छन् । उनले निजी अस्पताल र मेडिकल कलेजहरु राष्ट्रिय संकटको जिम्मेवारीबाट नभाग्ने बताए । उनले भने, ‘पहिलो दायित्व त पक्कै पनि सरकारी अस्पतालकै हुनुपर्दछ, सरकारीले मात्रै धानेन भने दोस्रो ब्याकअपमा चितवन मेडिकल कलेज छ, हामी पूरै अस्पताल खाली गरेर पनि कोरोनाको उपचार गराउँछौं, यसमा दाँयावाँया कुरा छैन ।’

डा. न्यौपानेले भरतपुर अस्पतालमा अहिले आएका बिरामीको उपचार मेडिकल कलेजहरुले निशुल्क गर्ने बताए । सरकारी अस्पतालले मात्रै यसको जिम्मेवारी लिनुपर्छ भन्ने तर्क आफूहरुको नरहेको डा. न्यौपानेको भनाइ छ ।

निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले धेरै ठाँउमा लगेर बिरामीको उपचार गराउँदा जोखिम पनि बढ्ने र स्रोत साधनको समेत अनावश्यक खर्च हुने भएकाले सरकारी अस्पतालले नै यसको नेतृत्व गर्नुपर्ने बताए ।

भरतपुर अस्पतालमा मेसु डा. तिवारीले कोरोना संक्रमित भएको पुष्टि भएका र क्रिटिकल केयरमा राख्नुपर्ने बिरामीको उपचार भरतपुर अस्पतालले नै गर्ने बताए । शंकास्पद भएकै भरमा बिरामी रिफर गरेर रमिता हेर्न भने निजी अस्पतालले नपाउने डा. तिवारीको तर्क छ ।

भरतपुर कोरोना विषेश अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले दुई ठूला मेडिकल कलेज र भरतपुर अस्पतालमा १०/१० बेडको आइसीयू कोरोना संक्रमितहरुका लागि छुट्याउनुपर्ने बताए । ‘भरतपुर कोरोना अस्पतालले क्रिटिकल केयर दिन सक्दैन, यो कुरामा सबै स्पष्ट भए हुन्छ’ डा. अधिकारीले भने ‘आजको दिनमा चितवनमा कुनै बिरामी कोरोना संक्रमित भएर क्रिटिकल सर्पोट दिन परे लैजाने कहाँ हो ? जवाफ कसले दिने ?’

कुन अस्पतालमा कति आइसीयू र कति भेन्टिलेटर ?

भरतपुर अस्पतालमा २० वेड आइसीयू र ७ भेन्टिलेटर छन् । क्यान्सर अस्पताल भरतपुरमा १६ बेड आइसीयू र ९ वटा भेन्टिलेटर छन् । चितवन मेडिकल कलेजमा मेडिसिन विभागमा ३७ बेड, पुरानो मेडिकल कलेजमा ७० वटा आइसीयू र १२ भेन्टिलेटर छन् ।

निजी अस्पतालतर्फ सेन्ट्रल अस्पतालमा ६ वटा, पुष्पाञ्जलीमा ७, मौलाकालीमा ५, नारायणी सामुदायिक अस्पतालमा १०, भरतपुर सामुदायिकमा ७, चितवन अस्पतालमा ५, मनकामना अस्पतालमा ७, शान्ति अस्पतालमा २ र नेशनल सिटी अस्पतालमा ५ आइसियू बेड रहेको नीजि अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले जानकारी दिए ।

ह्वात्तै घटे बिरामी, भर्ना भएका धमाधम डिस्चार्ज

जिल्लाका अस्पतालमा बिरामीको संख्या ह्वातै घटेको छ । सरकारले जारी गरेको एकहप्ते लकडाउन र कोरोनाको त्रासका कारणले बिरामीहरु अस्पतालसम्म आउन छाडेका हुन् ।

दैनिक १२ सयभन्दा बढि बहिरंग विभागमा उपचारका लागि भरतपुर आउने बिरामीहरू निकै घटेको सूचना अधिकारी लिलाधर पौडेलले बताए । उनका अनुसार बुधबार अस्पतालमा जम्मा १२ जना मात्रै बिरामीले ओपिडी सेवा लिए । अधिकारीले ज्वरोका बिरामीका लागि मात्रै ‘ज्वरो क्लिनिक’ सञ्चालन गरिएको बताए । अस्पतालको १४ बेड आइसोलेसनमा अहिले कोही पनि नराखिएको उनले बताए । यस्तै, दैनिक ६ सयको हाराहारीमा बिरामी आउने पुरानो मेडिकल कलेजमा ५० जना, चितवन मेडिकल कलेजमा ३६ जना बिरामी आए ।

अन्य निजी अस्पतालहरुमा नगन्य मात्रामा मात्रै बिरामीहरु उपचारका लागि पुगेका छन् । धेरैजसो अस्पतालले भर्ना भएका बिरामीहरुलाई धमाधम डिस्चार्ज गरेर घर पठाइसकेका छन् । वार्डहरु खाली छन् । निजी अस्पतालहरुले स्टाफसमेत कटौती गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment