Comments Add Comment

यो त अत्ति भो सरकार ! [ भिडियोसहित ]

२७ चैत, काठमाडौं । ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले दुई दिनका लागि उपत्यकाबाट गृहजिल्ला जान दिने  निर्णय गर्नासाथ बिहीबार साँझ कोटेश्वरमा बसको टिकट खोज्दै मानिसहरु सडकमा निस्किए ।

१६ दिनदेखि कोठामा खुम्चिएका उनीहरु सरकारको निर्णयले खुसी देखिएका थिए । तर, उनीहरुले टिकट खोज्दा खोज्दै सरकार आफ्नो निर्णयबाट ‘ब्याक’ भयो ।

अनलाइनखबरको टोली बिहीबार साँझ कोटेश्वर पुग्दा टिकट काट्नका लागि भन्दै मानिसहरु आइरहेका थिए । उनीहरुलाई प्रहरीले गाली गर्दै फर्काइरहेका थिए ।

‘यो त अति भयो सरकार, हामीलाई झुक्याएर के पाउँछस्’ एक अधवैशें उमेरका व्यक्तिले आक्रोश पोखे ।

हामीले उनलाई सोध्यौँ, ‘कहाँ जान लाग्नुभएको ?’

‘जानु पर्ने भोजपुर हो, टिकट खुल्यो भनेर आएको, अहिले प्रहरीले खुल्दैन भन्छ ।’

टिकट काउन्टरमा आइपुग्दासम्म आफूले सरकार आफ्नै निर्णयबाट ‘ब्याक’ भएको बारे जानकारी नपाएको बताएका उनले प्रहरीले भनेको कुरा सुरुमा विश्वासै नलागेको बताए ।

काउन्टरको बोर्डमा मोबाइल नम्बर हेरेर उनले टिकट काट्नेलाई सम्पर्क गरे । उताबाट भर्खरै सरकारबाट यातायात नखोल्ने निर्णय भएको भन्ने जानकारी पाएपछि उनी सरकारसँग आक्रोशित बने ।

‘यहाँ बोलेर पनि हुनेवाला केही छैन, मिडियाले जति लेखे पनि सरकारले हाम्रो पिर सुन्दैन’ हामीले क्यामेरा तेर्साउनेबित्तिकै उनी झन् तात्तिए, ‘तपाईं‌को क्यामेरा सरकारलाई देखाउनु न, के हामीलाई देखाउनुहुन्छ ?’

अलि अगाडिपट्टी चारजना महिलाको समूह उभिएको थियो । हामीले सोध्यौं- ‘टिकट काट्न आउनुभएको ?

उनीहरुले खोटाङको दिक्तेल जानका लागि टिकट काट्न आएको सुनाए ।

‘भोलि बिहान जाँदा टिकट नपाइने डरले समाचार पढ्नेबित्तिकै यहाँ आएको’ सावित्रा खनालले भनिन्, ‘तर, खै काउन्टर सबै बन्द छन्, किन नखोलेका होलान् ?’

सरकार आफ्नो निर्णयबाट पछि हटिसकेको कुरा उनीहरुलाई थाहा रहेनछ । सरकार निर्णयबाट ब्याक हटेको हामीले सुनायौं । उनीहरुले पत्याएनन् । यताउति फोन घुमाए र भने ‘सरकार कतिसम्म हावादारी भएको ? हामीलाई किन झुक्याएको ?’

उनीहरुका अनुसार सावित्रा रोगी छिन् । फागुन अन्तिम साता उनी उपचारका लागि काठमाडौं आएकी थिइन् । उपचारकै क्रममा केही दिन काठमाडौंमै बस्नुपर्‍यो । नातेदारका घरमा दुई साताभन्दा बढी बसेर जब गाउँ फर्कने तयारी गर्दै थिइन्, तब लकडाउन घोषणा भयो । त्यसपछि उनी कहिले लकडाउन खुल्छ भनेर पर्खाइमा बसेकी छिन् ।

बल्लबल्ल बिहीबार खुसीको समाचार सुनेपछि टिकट काट्न गोठाटारबाट पैदल हिँडेर कोटेश्वर आइपुगेकी उनी सरकारको अपरिपक्व निर्णयले तनावमा परिन् । ‘अब के गरौँ ? कसो गरौँ ?, घरबाट फोन आएकैआयै छ’ यतिभन्दै गर्दा उनका आँखा रसाइसकेका थिए  ।

टिकट काट्नका लागि भन्दै कोटेश्वरमा कलेज पढ्ने विद्यार्थीहरु पनि आएका थिए । सर्लाहीका वेदप्रसाद गुप्ता अरुबेला ४ दिन कलेज बिदा भए पनि नाइट बस चढेर घर पुगिहाल्थे । अहिले काठमाडौंमा रोकिएको चार चौको स्रोह दिन भइसक्यो।

‘चार दिन बिदा भयो भने त म बेलुका नाइट बस चढ्थे, बिहान खाना खान घरमै पुग्थेँ’ उनले भने, ‘अहिले त लामो बिदा हुँदा पनि घर जान पाएको छैन, आज खुल्छ भन्दा धेरै खुसी भएको थिएँ, यहाँ आएपछि तनाब भयो ।’

सिराहाकै रमाकान्त चौधरी भोलि र पर्सि बाटो खुला भयो भन्दा खुसीले निकै रमाएका थिए । ‘मैले त मम्मीलाई फोन गरेर भोलि आइपुग्छु भनिहालेँ, अब के भनौं’ रमाकान्त भन्छन्, ‘मम्मी कति खुसी हुनुभएको थियो, सरकारले यसरी झुक्याउनु भन्दा त निर्णय नै नगरिदिएको भए त हामी बसिहाल्थ्यौँ नि ।’

कोटेश्वरपछि हामी पुरानो बसपार्कतिर पुग्यौँ । त्यहाँको अवस्था पनि उस्तै थियो  ।

टिकट काट्न भनेर दर्जनौँ मान्छेहरु काउन्टर खोज्दै आएका थिए । सरकारले दुई दिन खुला गर्ने निर्णयबारे सबै जानकार थिए। तर, पुनः निर्णयबाट ब्याक भइसकेको बारे भने उनीहरु कसैलाई थाहा रहेनछ ।

रामेछापका स्थायी घर भएका रामबहादुर तामाङ र विष्णु तामाङ काठमाडौंमा ज्याला मजदुरी काम गर्छन् । उनीहरु सरकारले दुई दिन खुला गर्ने निर्णय गरेपछि निकै खुसी भएर पुरानो बसपार्क पुगेका थिए । ‘घरपरिवारसँग भेट हुने कुराले खुसी भएका थियौँ, यस्तोबेलामा परिवारलाई भेट्न साह्रै मन हुने रहेछ’ विष्णुबहादुर भन्छन्, ‘तर, सरकारले हावा कुरा गर्दा मनमा पिर परेको छ ।’

ओखलढुंगा घर भएका हिरालाल घिमिरेको पीडा पनि उस्तै छ । ‘मख्ख परेर आएँ, तर साह्रै नमज्जा भयो’ हिरालाल सुनाउँछन् ।

दोलखा स्थायी घर भएका सुरज दास नयाँ बजारमा लुगा सिलाउने काम गर्छन् । लकडाउनपछि उनको काम बन्द भएको छ । सात जनाको परिवारसहित काठमाडौंमा बस्दै उनलाई कहिले घर पुगौँ र ढुक्कसँग बसौँ भन्ने भएको छ ।

बिहीबार दिउँसो उच्चस्तरीय समितिले गरेको निर्णय समाचारमा पढेपछि उनले परिवारका सबैलाई सुनाए । यो समाचारले उनको परिवारका सबै सदस्यहरुको मुहारमा खुसी ल्यायो ।

घर परिवारका सबैले आजै टिकट काट्न सुरजलाई आग्रह गरे । परिवारका सबैले भनेपछि उनी हतारिँदै पुरानो बसपार्क आइपुगेँ । उनी पुरानो बसपार्क आइपुग्न नपाउँदै सरकार आफ्नो निर्णयबाट पछि हटिसकेको थियो ।

सरकारको निर्णयले उनलाई तनाव दियो । ‘खुसीले उफ्रिरहेका छोराछोरी अब के गर्लान् !’ सुरज भन्छन् ।

यी सबैजना प्रतिनिधि पात्र मात्रै हुन् । सरकारको अपरिपक्व निर्णयका कारण उपत्यका छाड्न चाहने हजारौं मानिस आक्रोशित बनेका छन् । खुसी हुँदै काउन्टरसम्म टिकट काट्न पुगेकाहरु प्रहरीको गाली सुनेर फर्कनुपर्दा उनीहरुको मन रोएको छ ।

तस्वीर र भिडियो : आर्यन धिमाल/चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment