
२२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ ।
पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ज्यान गुमाएका पूर्वखोला गाउँपालिका-१ सिलुवाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी १८ गते मात्रै भारतबाट आएर शम्भु माविको क्वारेन्टिनमा बसेका थिए । स्वास्थ्यमा समस्या भएपछि उनलाई १९ गते अस्पताल लगिएको थियो । त्यही दिन उनको स्वाब संकलन गरेर परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । २० गते उनको निधन भएको हो ।
त्यसको दुई दिनपछि बिहीबार उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको कारोना संक्रमणका कारण मृत्यु भएको घोषणा गरेको छ । यससँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीका अनुसार कोरोनाको आशंका गरिएका कारण अहिलेसम्म उनको शव व्यवस्थापन गरिएको थिएन ।
कोरोना पोजेटिभ आएसँगै उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।
प्रतिक्रिया 4