+
+

सेनाको स्वास्थ्य सामग्री खरिदबारे लेखाले थाल्यो छानबिन

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ असार ३० गते २०:५२

३० असार, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कोभिड–१९को रोकथाम तथा उपचारका लागि नेपाली सेनामार्फत गरिएको स्वास्थ्य सामग्री खरिदबारे पनि छानबिन थालेको छ ।

ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले नेपाली सेनालाई दिएको थियो । मन्त्रिपरिषदले निर्णय गरेर जीटुजीमार्फत सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिइएको थियो ।

तर सेनाले खरिद गरेको सामग्रीसमेत गुणस्तरहीन रहेको भन्दै प्रश्न उठेपछि लेखा समितिले छानबिन थालेको हो । स्रोतका अनुसार खरिद प्रक्रियाबारे आवश्यक कागजात नेपाली सेनाबाट मगाएर अध्ययन थालिएको छ ।

समिति सभापति भरतकुमार शाहले पनि नेपाली सेनाले गरेको खरिद प्रक्रिया पनि समितिले हेर्ने बताएका छन् । उनका अनुसार ओम्नीसँगको सम्झौताको विषयमा निर्णयमा पुगेपछि सेनाले गरेको खरिदबारे औपचारिक रुपमा समितिमा छलफल र छानविन गर्ने समितिको तयारी छ ।

नेपाली सेनाले खरिद गरेको ३० हजार किट्स काम नलाग्ने भएको छ । यस्तै कतिपय सामाग्री महंगो परेको छ । रक्षा मन्त्रालय स्रोतबाट अनलाइनखबरलाई प्राप्त विवरण अनुसार सेनाले खरिद गरेको पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) को मूल्य स्वास्थ्य सेवा विभागले खरिद गरेभन्दा साढे ५ सय रुपैयाँ बढी छ भने सर्जिकल मास्कमा ५४.३३ रुपैयाँ र सु–कभर ६४.२९ रुपैयाँ बढी परेको पाइएको छ ।

नेपाली सेनाले क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मार्फत चीनको सिनोफार्म ग्रुपबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो । सिनोफार्म चीन सरकारको स्वामित्व भएको कम्पनी हो ।

रक्षामन्त्री पोखरेलमाथि माथि प्रश्न

नेपाली सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्दा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको हस्तक्षेपकारी भूमिका रहेको पाइएको छ । पोखरेल कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिका संयोजक छन् ।

स्रोतका अनुसार चीनले नेपाली सेनालाई वार्षिक डेढ अर्ब रुपैयाँ बराबरको सहयोग गर्दै आएको छ । यो रकमबाट नेपाली सेनाले गोली गठ्ठा लगायतका सैन्य सामग्री किन्ने गरेको थियो । यसपटक सेनाले कोरोना भाइरस रोकथामका लागि आवश्यक सामाग्री किन्ने प्रस्ताव रक्षा मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

तर रक्षा मन्त्रालयले सेनाको प्रस्ताव अस्वीकार गरेर नेपाल सरकारकै पैसामा खरिद गरेको छ । स्रोत भन्छ, ‘सेनालाई आउने सहयोग रकमबाट खरिद गरेको भए कमिशन आउने थिएन त्यसकारण रक्षामन्त्रीकै जोडबलमा नेपाल सरकारकै पैसामा सेनाले औषधि खरिद गरेको हो ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?