Comments Add Comment

बैङ्क बिगार्न गुटबन्दी

मुख्यतः सीईओ र सञ्चालक जिम्मेवार

१३ साउन, काठमाडौं । बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल बढीमा ४ वर्ष हुने ऐनमै व्यवस्था छ । एक व्यक्ति एउटा बैङ्कमा लगातार २ कार्यकाल अर्थात् ८ वर्षसम्म सीईओ रहन सक्छ ।

वार्षिक करोडभन्दा माथि तलब हुने भएकाले सीईओ पद निकै आकर्षक मानिन्छ । त्यसैले पूरै कार्यकाल सकेर बैङ्कबाट बाहिरिन पाउने भाग्यमानी सीईओहरू पनि निकै कम छन् । धेरैजसो सीईओ बैङ्क सञ्चालकको विवादका कारण बैङ्क छाड्न बाध्य हुन्छन् ।

यस्तो समस्या किन हुन्छ ? नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक तथा कृषि विकास बैङ्कका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाको यस्तो समस्याको दुवै पक्ष कारक रहेको बताउँछन् ।

उनका अनुसार सीईओ, अध्यक्ष र सञ्चालकहरूले पूरै बैङ्कको नेतृत्वभन्दा पनि एउटा गुटको पृष्ठपोषण गर्दा विवाद सिर्जना हुने गर्छ । यसमा सीईओको बहिर्गमनबाट मात्र समस्याको निकास देखिन थालेपछि उनीहरू राजीनामा दिन बाध्य हुन्छन् । त्यसैले बैङ्कलाई विवादबाट जोगाउन कसैले पनि गुट बनाउन नहुने उनको सुझाव छ ।

बैङ्क सञ्चालकहरूको विवाद समाधानबारे निरौलाको सुझाव उनकै शब्दमाः

पछिल्लो समय बैङ्कहरूमा सञ्चालक र सीईओबीच मनमुटाव बढेको देखिन्छ । मनमुटाव निम्त्याउने कारकचाहिँ दुवै पक्ष हुन् । कतिपय सीईओले नेतृत्वमा कुशलता देखाउन नसक्दा पनि समस्या परेको देखिन्छ ।

सीईओले पहिले काम गरेको बैङ्कका कर्मचारी ल्याएर गुट सिर्जना गर्नु सबैभन्दा खराब पक्ष हो । सिङ्गै बैङ्कको नेता हुनुपर्ने सीईओ एउटा गुटको नेता बन्न खोज्दा समस्या आउँछ नै ।

आफू जहाँ गयो पुरानो ठाउँका आफ्नो ‘कोर टिम’ पनि लिएर जाने चलन छ । नयाँ समूह नै आएपछि त्यही बैङ्कका कर्मचारीहरू बेवास्तामा पर्छन् अनि गुटगत विवाद उत्पन्न हुन्छ । यस्तो विवादका लागि सीईओ पूर्ण जिम्मेवार हुन्छ ।

सीईओले गुट बनाउन बाहिरबाट आफ्नो मान्छे ल्याएपछि त्यहाँका कर्मचारीले बढुवाको अवसर ढिलो पाउँछन् । प्रमोसन हुन लागेको बेलामा अर्को बैङ्कबाट मान्छे ल्याएर आफूभन्दा माथिल्लो तहमा राखेपछि कर्मचारी रिसाउँछन् ।

सीईओले पहिला काम गरेको बैङ्कका आफ्नो मान्छे लिएर आएको सञ्चालकहरूलाई पनि मन परेको हुँदैन । यसले गर्दा पनि समस्या सिर्जना हुन्छ ।

आफूमात्र आएर बैङ्क सम्हाल्ने सीईओहरू पनि छन् । जस्तो– रत्नराज बज्राचार्य । त्यसैले उहाँ विवादमा पर्नु भएन । गुट नबनाएपछि विवाद हुने कुरै भएन ।

आफूले लगानी गरेको कर्जा उठाउन परेपछि पनि कतिपय सीईओ बैङ्क छाडेर हिँड्ने गर्छन् । तर यस्ता सीईओ जुन बैंकमा पुग्छन्, कर्जा पनि त्यही पठाउने अभ्यास पनि छ । नउठ्ने कर्जा सारेर ल्याउदा त्यहाँ पनि समस्या हुन्छ । तर यसमा सीईओ मात्र नभई सञ्चालकहरू पनि दोषी हुन्छन् ।

कतिपय बैङ्क सञ्चालक सीईओले दिनैपिच्छे मलाई रिपोर्टिङ गरोस् भन्ने चाहन्छ । सञ्चालकको यस्तो सोचले ढिलोचाँडो समस्या उत्पन्न गरिहाल्छ ।

कोही सञ्चालक सीईओको दैनिक कामकारबाहीमा हस्तक्षेप गर्न खोज्छन् र विवाद निकाल्छन् । पात्र नै अनुपयुक्त भएपछि जहाँ पनि विवाद बढ्छ । यसमा दुवै पक्षले ध्यान दिनुपर्छ ।

कुनै बैङ्कले बदमासी गरेको अवस्थामा केन्द्रीय बैङ्कले आवश्यक निर्देशन वा कारबाही गर्छ । जब सीईओलाई जागिर छुटाउने वा खुवाउने कुरा आउँछ, त्यसमा राष्ट्र बैङ्कले पनि केही गर्न मिलेन ।

केन्द्रीय बैङ्कले बैङ्कहरूको कर्मचारी व्यवस्थापनमा हस्तक्षेप गर्न मिल्दैन । त्यसैले बैङ्क चलाउनेहरूले नै राम्ररी चलाउनुपर्छ । गुटबन्दी सुरु गरे समस्या आइहाल्छ । अध्यक्ष, सीईओ, सञ्चालक सबै गुटबन्दीबाट जोगिनुपर्छ ।

यो क वर्गका बैंकहरुको कुरा हो । ख वर्गका विकास बैंकहरुको अवस्था भने अलि फरक छ । केहि विकास बैंकहरुमा सुशासनको एकदमै कमी देखिन्छ । सीईओको कार्यकाल पुरा नहुँदै बैंक छाडेका केहि विकास बैंकहरुलाई हेर्ने हो भने त्यहाँ सञ्चालकहरुमा नै सुशासनको कमी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment