
१५ साउन, जनकपुरधाम । पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबारसम्मको तथ्यांकलाई हेर्ने हो भने यस प्रदेशमा ३६१ महिलासहित ४ हजार ५ सय ४४ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये १२ जनाको मृत्युसमेत भएको छ ।
कुल २६ हजार ४ सय ७ जनाको स्वाब संकलन गर्दा २ हजार ५२१ जनाको नतिजा आउन बाँकी छ । बुधबार सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा समेत संक्रमण देखिएको छ ।
पहिला बिना लक्षणका संक्रमित देखिए पनि अहिले प्रदेशमा कोरोनाको लक्षणसहितका संक्रमितहरु देखिन थालेका छन् । लक्षणसहितको संक्रमण एकाएक बढ्न थालेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमणको जोखिम बढ्न थालेपछि फेरि लकडाउनमा जानुपर्ने स्थिति आउन लागेको विज्ञले सुझाएका छन् ।
यसअघि ‘इम्यूनिटी पावर’ राम्रो रहेकाले किशोर तथा युवा उमेरका व्यक्ति संक्रमित नहुने चर्चा भए पनि अहिले जुनसुकै उमेरसमूहका व्यक्ति संक्रमित हुन थालेका छन् ।
स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा जुनसुकै उमेर समूहमा लक्षणसहितको संक्रमण देखिन थालेको बताउँछन् ।
धनुषाको शहीद नगरपालिका वडा नम्बर ८, डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमित भएर मृत्यु भएको घटनाले यहाँ जुनसुकै उमेर समूहका व्यक्ति कोरोना संक्रमित भइरहेको देखाउँछ । ती पुरुषमा अधिक कोरोना भाइरसको मात्रा देखिएको थियो ।
प्रदेश सरकारले कोरोना भाइरस सम्बन्धी सुझाव दिन बनाएको विज्ञ समूहका चिकित्सक डा. रामकेवल साह पनि प्रदेशमा देखिएका संक्रमितमध्ये १५ देखि २० प्रतिशतमा लक्षण देखिन थालेको बताउँछन् । ‘अहिले संक्रमितको स्वरुप बदलिएको छ,’ साह भन्छन्, ‘पहिला कोही बाहिरबाट संक्रमित भएर आउँथे र उनको जाँच गरी आइसोलेसनमा राखिन्थ्यो, अहिले भने समुदायस्तरमै लक्षणसहितको भाइरस देखिन थालेको छ ।’
पहिला अन्यत्रबाट संक्रमण फैलिने डर थियो अहिले आफ्नै ठाउँमा फैलिने डर रहेको बताउँदै उनले भने, ‘कुनै न कुनै घरका व्यक्ति कुनै न कुनै कामका लागि बजार जान्छन् । तर, ती मान्छे बाहिरबाट संक्रमित भएर आए आफ्नो घरका बालबच्चालाई सार्न सक्छन् । बालबच्चा अर्काको घरमा खेल्न गए त्यहाँ सार्न सक्छ, त्यसैले यो डरलाग्दो स्थिति हो ।’
योबेला गम्भीरतापूर्वक ध्यान नदिइए र सावधानी नअपनाइए ठूलो मूल्य चुकाउनुपर्ने बताउँछन् डा. साह । यसका निम्ति तीनवटै तहको सरकारले चनाखो हुँदै तयारी गर्नुपर्ने उनको सुझाव छ ।
सर्वसाधारणले पनि आफ्नो बानी, व्यवहारमा परिवर्तन ल्याउनु जरुरी रहेको बताउँदै डा. साह भन्छन्, ‘अन्यथा कोरोना यो प्रदेशको सबैतिर सर्न सक्छ ।’
यसकारण अत्यन्तै जोखिममा छ प्रदेश
प्रदेशको पूर्वी शहर राजविराज र पश्चिमी शहर वीरगञ्ज पछिल्ला दिन कोरोना संक्रमणका कारण आक्रान्त बनेको छ । यी दुवै शहरमा भारतबाट आएका व्यक्तिबाट संक्रमण फैलिएको छ । संक्रमण फैलिएपछि दुवै शहरमा लकडाउन गरिएको छ । बीचका अन्य शहर र जिल्ला भने त्रसित भएका छन् ।
यता, धनुषाको शहीद नगरपालिकाको डुमरियामा १ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएपछि यहाँ पनि समुदायस्तरमा संक्रमण फैलिने त्रास छ । ‘डुमरियाको मृत्युले कोरोना धनुषामा पनि समुदायस्तरमा फैलिइसकेको देखिन्छ’ डा. साह भन्छन्, ‘सबै निकाय, सरोकारबालादेखि आम जनता समेतले सावधानी अपनाउनु अति जरुरी छ ।’
प्रदेश २ को आठवटै जिल्ला भारतीय सीमासँग जोडिएको छ । डा. साह सबै जिल्ला भारतीय सीमासँग जोडिनु, ३ प्रतिशत भू–भागमा रहेको प्रदेशमा २० प्रतिशत जनसंख्या रहनु, वैदेशिक रोजगारीमा यही प्रदेशका बढी रहनु र सबैभन्दा गरिबी रहेका कारण यो प्रदेश कोरोनाको बढी जोखिममा रहेको बताउँछन् ।
यी कारणले गर्दा यहाँ संक्रमण बढी फैलिन सक्ने उनी बताउँछन् । पहिलो चरणमै नियन्त्रण गर्नका लागि लकडाउन गरिए पनि त्यसबेला नियन्त्रण हुन नसकेको साहले अनलाइनखबरलाई बताए । ‘लकडाउन खोलिएपछि लक्षणसहितको कोरोना संक्रमण हवात्तै बढेको छ,’ उनी भन्छन्, ‘सबैले गम्भीररुपमा नलिए मृत्युदर पनि बढ्न सक्छ ।’
‘तयारी शुरु गरिहालौं’
समुदायस्तरमा फैलिएको संक्रमणलाई रोक्नु जरुरी रहेको विज्ञहरु बताउँछन् । यसलाई नियन्त्रण गर्न सबैभन्दा पहिला परीक्षणको दायरा बढाउन उनीहरु सल्लाह दिन्छन् ।
‘परीक्षणको दायरा बढाऔं, संक्रमित देखिनेवित्तिकै उनलाई आइसोलेसनमा राखेर उनको सम्पर्कमा आएकाको खोजी गरी जाँच गरौं र संक्रमित भएको ठाउँलाई सिल गरौं,’ डा. साह भन्छन्, ‘यसरी गर्दा संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ ।’
यसका अलावा आम जनताले पनि सतर्कता अपनाउनु जरुरी भएको उनी बताउँछन् । सवारी साधनमा यात्रा गर्दा २ जनाको ठाउँमा चारजनासम्म नबस्ने कुरा आफैं सोच्नु जरुरी भएको साहले बताए । बाहिर निस्किँदा मास्कको अनिवार्य प्रयोग, सामाजिक दूरी, हात धुने कुरा आफैं गर्नुपर्ने उनको सुझाव छ ।
स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा लक्षणसहितको भाइरस देखिन थालेकाले उपकरण तयारीमा विशेष ध्यान दिनुपर्ने बताउँछन् । ‘क्वारेन्टिन र आइसोलेसन व्यवस्थित गर्दै आईसीयू, भेन्टिलेटरको संख्या बढाउनु जरुरी छ,’ उनी भन्छन्, ‘यसबाहेक यसलाई नियन्त्रण गर्न तीनवटै तहको सरकारलाई तयारी गरिहाल्नुपर्छ ।’
लकडाउनको आवश्यकता छ
प्रदेश २ का आधाजसो व्यक्तिले अझै मास्कको प्रयोग नगरिरहेको सहनिर्देशक झा बताउँछन् । यसबाहेक भारतको बिहारमा केस बढिरहेको छ र उताबाट मान्छे आइरहेको भन्दै उनले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । भीड पनि त्यस्तै देखिरहेकाले लकडाउन गरिए यस्ता कुरा नियन्त्रण गर्न सकिने बताउँछन् उनी ।
प्रदेश सरकारका विज्ञ डा. साह पनि भीडभाड कम नभए, मास्कको प्रयोग गर्नेको संख्या नबढे लकडाउन लगाउनुपर्ने बताउँछन् । यद्यपि उनी लकडाउन अन्तिम विकल्प भएको बताउँछन् । ‘शुरुमा सर्वसाधारणलाई नै व्यवहारमा परिवर्तन ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘यसो हुन नसके लकडाउन लगाउँदा हुन्छ ।’
प्रतिक्रिया 4