Comments Add Comment

बहसमा कुलमान : निरन्तरता ठीक कि क्रमभंगता ?

धेरै होइन, मात्र पाँच वर्षअगाडि फर्केर हेरौं, जतिबेला देश अत्याशलाग्दो अन्धकारभित्र पिल्सिएको थियो, कुशासन र दुरावस्थाबाट सिर्जित अन्धकारमय अवस्था अहिले पनि छ, तर त्यसबेला भौतिकरुपमै देशमा अन्धकार व्याप्त थियो ।

दैनिक १८ घन्टासम्मको लोडसेडिङमा बाँच्नुपर्दाका दिनहरु अहिले एकादेशको कथा झैं भएका छन् । बिजुली एउटा दुर्लभ र बहुमूल्य चीजजस्तो लाग्थ्यो । हिउँदका दिनमा ५–६ घन्टा आउने बिजुली इन्भर्टर चार्ज गर्न पनि पर्याप्त हुन्थेन । त्यसबेला नेपाल विद्युत प्राधिकरणको मुख्य काम थियो, लोडसेडिङको तालिका प्रकाशित गर्ने र त्यसलाई नियमित अध्यावधिक गर्ने । जनताका घर–घरमा भित्तेपात्रोझैं लोडसेडिङको तालिका टाँस्ने गरिन्थ्यो । युवाहरुलाई देशप्रति विरक्तिभाव जगाउने र विदेशिने हुटहुटी पैदा गर्ने एउटा कारण लोडसेडिङ पनि थियो ।

त्यसबेला कसले सोचेको थियो एकाध वर्षमै लोडसेडिङ शून्यमा झरेर २४ सै घन्टा बिजुली बाल्न पाइने कुरा ? विद्युत प्राधिकरणले बिजुलीको खपत बढाउन जनतालाई प्रोत्साहित गर्ने कुरा ? अरु देशलाई बिजुली बेच्ने कुरा ? लाग्थ्यो कि यसका लागि त कुनै ‘चमत्कार’ नै हुनुपर्छ । र, चमत्कारकै शैलीमा नेपालबाट लोडसेडिङ हट्यो ।

यो ‘चमत्कार’ मा एक पात्र निर्णायक मानिए– कुलमान घिसिङ । मानौं उनले कुनै जादुको छडी चलाएर अँध्यारो नेपाललाई उज्यालो नेपालमा परिणत गरिदिएका थिए । २०७३ सालमा कुलमान ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुनु नै उज्यालो नेपालको प्रस्थान विन्दू सावित भयो ।

नियुक्त भएकै वर्ष तिहारमा कुलमानले ‘महत्वकांक्षी’ वाचा गरे, ‘यसपालीको दिपावलीमा लोडसेडिङ हुँदैन’ । उनको वाचा धेरैले पत्याएका थिएनन् । अघिल्ला वर्षहरुमा जनताले मैनवत्तिको भरमा दिपावली मनाउनु पर्‍थ्यो । तिहार आउनुपूर्व नै प्राधिकरणले विज्ञप्ति निकालेर जनतालाई झिलीमिली बत्ति नबाल्न आह्वान गर्‍थ्यो । लक्ष्मीपूजाका दिन त बिजुलीले लोडसेडिङको परेड नै खेल्थ्यो । चञ्चल युवतीले आँखा झिम्क्याएजसरी बिजुली बल्ने र निभ्ने गर्‍थ्यो । यस्तोमा कुलमानले दिपावलीमा बिजुली नजाने वाचा गरे ।

उनले आफ्नो वाचा पूरा पनि गरे । तिहार साँच्चिकै लोडसेडिङमुक्त भयो । यहीँबाट कुलमान देशभर चिनिन थाले । लोडसेडिङले आजित जनताको मनमा आशाको द्विप जल्यो । त्यसपछि उनले एकपछि अर्को वाचा गर्दै र त्यसलाई निभाउँदै गए । काठमाडौं उपत्यकाबाट देशलाई लोडसेडिङ मुक्त पार्ने अभियान सुरु भयो । २०७५ वैशाखमा आइपुग्दा सिंगो देश लोडसेडिङमुक्त बन्यो । आजका दिनमा विद्युत प्राधिकरणलाई देशभित्र उत्पादित बिजुली कहाँ बेच्ने भन्ने टाउकोदुखाइ छ । जनतालाई बिजुलीको खपत बढाउन अनेक उपाय सिकाइरहेको छ । छैन त अविश्वसनीय ?

वर्षौंदेखिको कहालिलाग्दो लोडसेडिङ छुमन्तर गरे झैं कसरी हट्यो ? विद्युत उत्पादनमा कुनै ठूलो उथलपुथल आएको थिएन । निर्यातमा सामान्य वृद्धि र केही व्यवस्थापकीय सुधारका कामबाटै यो सम्भव भयो त ? सहजै विश्वास लाग्दैन । के कुलमानका पूर्ववर्तिहरुले विद्युत वितरणमा गरेको भ्रष्टाचारले नै देशलाई अन्धकारमा डुबाएको थियो ? त्यो आंशिक कारण मात्र हुन सक्छ । के कुलमान आउनुपूर्व नै देश लोडसेडिङमुक्त हुने दिशामा नै थियो, वा उनी अतिशय भाग्यमानी हुन् ? यसो भन्न सकिने कुनै पनि आधार छैन ।

सायद यिनै अनुत्तरित प्रश्नहरुको कारणले गर्दा कुलमानको देवत्वकरण भएको छ । नेपाली जनताले उनलाई आफ्नो ढुकढुकीमै राखेका छन् । उनको खिलाफमा एक शब्द पनि जनता सुन्न तयार छैनन् । कुलमानभन्दा पहिले प्राधिकरण हाँक्नेहरु खलनायकमा दर्ज भएका छन् ।

लोडसेडिङ अन्त्यको एकलौटी जस पाएका कुलमानले पाएका छन् । तत्कालिन राजनीतिक नेतृत्वले लोडसेडिङ अन्त्यको जस लिन नखोजेको होइन । प्रचण्ड नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणमा ल्याएको थियो । लोडसेडिङ पूर्णरुपमा हट्दा केपी ओली प्रधानमन्त्री थिए । तर, जनताले उनीहरु दुवैलाई कुनै जस दिन चाहेनन् । बरु कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माले थोरबहुत स्यावासी पाएका छन् ।

एक्ला कुलमानले देशलाई अँध्यारोबाट उज्यालोतर्फ डोहोर्‍याएको विश्वास जनतालाई छ । तर, यसमा भुल्नु के हुँदैन भने कुलमानभन्दा माथिको राजनीतिक नेतृत्व र मुनिको कर्मचारीयन्त्रले साथ नदिएको भए उनी यसमा सफल नहुन पनि सक्थे । यो उनी स्वयम्ले पनि स्वीकार्दै आएका छन् । प्रमुख हकदार कुलमान हुन् नै, तर एक्लो हकदार मान्दा उनको टिममाथि न्याय नहुन सक्छ ।

त्यसो त प्राधिकरणमा ‘कुलमान काल’को उपलब्धी लोडसेडिङ अन्त्य मात्र होइन । घाटाको गहिरो दलदलमा भासिएको प्राधिकरणलाई उकासेर नाफामा लैजानु पनि उनको अर्को ठूलो सफलता हो । कुलमान आउनुपूर्व प्राधिकरणको सञ्चित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०७२÷७३ को घाटा मात्रै ८ अर्ब ८९ करोड रुपैयाँ थियो । कुलमान आएकै वर्ष प्राधिकरणले एक अर्ब ४७ करोड खुद नाफा कमायो । आजका दिनमा प्राधिकरण देशकै सबैभन्दा बढि नाफा कमाउने संस्थान बनेको छ । पहिले मुख लुकाएर हिँड्ने प्राधिकरणका कर्मचारी अहिले छाति फुलाएर हिँड्न थालेका छन् । यो चानचुने उपलब्धी होइन ।

कुलमानको दोस्रो इनिङ

प्राधिकरणमा कुलमानको कार्यकाल अब मैझारो संघारमा आइपुगेको छ । दोस्रो कार्यकालका लागि दोहोरिएनन् भने उनी आजबाट १८ दिनमात्र प्राधिकरणमा रहनेछन् । तर, जनता प्राधिकरणबाट कुलमानको बहिर्गमन चाहँदैनन् । उनीहरु यो कुरा सुन्न पनि तयार छैनन् भन्ने सामाजिक सञ्जालमा अभिव्यक्त मतहरुबाट थाहा हुन्छ ।

कानूनतः कुलमान प्राधिकरणमा दोहारिन सक्छन् । उनी स्वमय् पनि दोस्रो कार्यकालका लागि इच्छुक देखिएका छन् । तर, विभागीय मन्त्री र प्रधानमन्त्री उनलाई दोहोर्‍याउन कति सकारात्मक छन् भन्ने प्रष्ट भइसकेको छैन । ऊर्जामन्त्री वर्षामान पुनले उनको विकल्प चाहेको भनिँदैछ । प्रधानमन्त्री केपी ओली कुलमानसँग खुसी छैनन् पनि भन्ने गरिन्छ । कुलमान प्राधिकरणमा हुँदासम्म ऊर्जाक्षेत्रका कुनै पनि उपलब्धीको जस मन्त्री वा सरकारले नपाउने चिन्ताका कारण मन्त्री र प्रधानमन्त्री उनलाई दोहोर्‍याएउने मुडमा नभएको कतिपयको आँकलन छ ।

तर, अहिले सरकारमाथि सानो जनदवाव छैन । यदि सरकारले प्राधिकरणमा अर्को व्यक्ति ल्याउने निर्णय गरेमा त्यसले विरोधको आँधिबेरी नै सिर्जना गर्न सक्छ । जनता कोरोना बिर्सेर सडकमा आउनेछन् । जनताको मनस्थिति के छ भन्ने हिजो सामाजिक सञ्जालमा कुलमानको पुन:नियुक्ति भएको झूटो खबर आगोसरी फैलिएको र सरकारले फोकटमा धन्यवाद पाएकोबाट पनि प्रष्ट हुन्छ ।

देशमा जर्जर अवस्थामा रहेका अरु थुप्रै संस्थानहरु छन् । तीमध्ये कुनैको जिम्मेवारी पाएमा कुलमानले विद्युत प्राधिकरणको उदाहरण दोहोर्‍याउन सक्छन्

उमेरको हिसाबले कुलमानसँग अझै पनि प्रशस्त समय छ । ५० वर्षमा हिँडिरहेका उनले अझै १०–१५ वर्ष देशका लागि सक्रिय योगदान दिन सक्छन् । त्यसैले सरकारले उनलाई प्राधिकरणबाट बिदा गरेर यत्तिकै छोड्नु किमार्थ उचित हुँदैन । त्यो अक्षम्य नै हुन्छ । उनको लोकप्रियता, अनुभव, क्षमतालाई यत्तिकै खेर फाल्ने कुरा जनताले सहने छैनन् । तसर्थ सरकारसँग दुईवटा मात्रै विकल्प छन् । या त चुपचाप कुलमानलाई प्राधिकरणमा पुन:नियुक्ति दिएर लोकप्रिय निर्णय लिने । अथवा, उनलाई अर्को ओहदामा लगेर ‘जुवा’ खेल्ने ।

कुलमानलाई प्राधिकरणमै राखिरहने कि त्योभन्दा अग्लो र चुनौतिपूर्ण जिम्मेवारीमा लैजाने भन्नेमा बहस हुनुपर्छ । कुन विकल्पमा जाँदा उनले बढि योगदान दिन सक्छन् भन्ने विश्लेषण आवश्यक छ । विद्युत प्राधिकरण अब स्थिरताको विन्दूमा पुगेकाले कुलमान नभए पनि त्यो संस्था अगाडि बढ्न सक्छ भन्ने एकथरि मत छ । तर, ठूलो जनमत चाहिँ प्राधिकरणमा अझै कुलमानको खाँचो छ भन्नेमा दृढ देखिन्छ ।

एकपटक प्राधिकरणका बाँकी चुनौतिहरुलाई हेरौं । अहिले पनि नेपालमा भारतबाट विद्युत ठूलै हिस्सामा आयात भइरहेको छ । आलोचकहरुले ‘भारतबाट बिजुली किनेर लोडसेडिङ’ हटाएको भनेर उनलाई खिसी पनि गर्ने गर्छन् । तर, माथिल्लो तामाकोशी आयोजना सञ्चालनमा भएपछि भारतबाट विद्युत आयात गर्नुपर्ने वाध्यता अन्त्य हुनेछ । त्यसका लागि एकाध वर्ष लाग्ला । कुलमान नभए पनि यो आयोजना सञ्चालनमा आउने नै छ ।

अब प्राधिकरणको मुख्य चुनौति हो, देशमा उत्पादित बिजुलीको उपभोग र बिक्री ।  विद्युत उत्पादनमा ठूलो रकम लगानी भएको छ । अबका वर्षहरुमा उत्पादन हुने सबै बिजुली स्वदेशमा खपत हुन सक्दैन । यदि विदेशी बजार खोज्न सकिएन भने जलविद्युतमा गरिएको लगानी संकटमा पर्नेछ । अहिलेसम्म भारतले बिजुली किन्ला भन्ने आशामा सरकार छ । तर, पछिल्लो समयमा भारतसितको बिग्रदो सम्वन्धलाई मध्यनजर गर्दा केही भन्न सकिन्न ।

भारतले बिजुली किन्न मानेन वा बंगलादेशसम्म बिजुली लैजाने पूर्वाधार उपलब्ध गराउन तयार भएन भने नेपाल अप्ठेरोमा पर्ने छ । तर, यो विषय प्राधिकरणको स्तरबाट समाधान हुन सक्दैन । सरकारको नेतृत्व तहबाटै समाधान हुनुपर्ने विषय भएकाले प्राधिकरणमा कुलमान हुनु र नहुनुले धेरै फरक नपर्ला । यसैगरि देशभित्र विद्युतको खपत ह्वात्तै बढाउने कुरा पनि प्राधिकरणको हातमा छैन । घरायशी विद्युतीय उपकरणहरुको प्रबद्र्धन गरेर थोरै खपत बढाउन सकिएला, तर यसमा उल्लेख्य वृद्धि हुन देशमा उद्योगधन्दा नै व्यापक विस्तार हुनुपर्छ ।

देशवासीको अर्को चिन्ता कुलमानको ठाउँमा अर्को व्यक्ति आउनासाथै प्राधिकरण फेरि लथालिंग बन्ने र देश लोडसेडिङ युगमा फर्किने त होइन भन्ने पनि छ । यो अतिरिक्त चिन्ता हो । त्यसो हो भने त अबको चार वर्षपछि चाहिँ के गर्ने ? कहिलेसम्म कुलमानमा निर्भर हुने भन्ने प्रश्न उठ्छ । अर्को कुरा के पनि हो भने कुलमानको ठाउँमा आउने व्यक्तिमाथि सुरुदेखि चुनौति र दबाबमा हुनेछ । त्यसैले उसले व्यक्तिगत फाइदाका लागि प्राधिकरणलाई डुबाउने गरी कुनै गलत काम गर्ने दुस्साहस नगर्ला । अर्को वर्षदेखि यथेष्ट परिमाणमा विद्युत उत्पादन हुने भएकाले अब लोडसेडिङ दोहोरिने खतरा छैन ।

यस दृष्टिकोणबाट हेर्दा कुलमानले अब प्राधिकरणमै रहिरहनु अपरिहार्य महसुस हुँदैन । उनी स्वयम्लाई एउटै कक्षा दोहोर्‍याएर पढेजस्तो प्राधिकरणको जागिर पट्यारिलो बन्न पनि सक्छ । बरु नयाँ ठाउँमा जाँदा नयाँ ऊर्जा मिल्नेछ । एउटा धराशायी संस्थानलाई उनले चार वर्षमै कायापलट गरिदिए । देशमा जर्जर अवस्थामा रहेका अरु थुप्रै संस्थानहरु छन् । तीमध्ये कुनैको जिम्मेवारी पाएमा कुलमानले विद्युत प्राधिकरणको उदाहरण दोहोर्‍याउन सक्छन् । उनको अनुभव, अठोट र आत्मविश्वास हेर्दा धेरै आशावादी हुन सकिन्छ । आफूलाई पुनः प्रमाणित गर्ने मौका पनि हुन सक्छ उनका लागि । लामो समय प्राधिकरणमा बिताएका उनले यसलाई क्रमभंगताको रुपमा लिएर नयाँ थालनी गर्न सक्छन् ।

कुलमान विद्युतका विज्ञ हुन्, त्यसैले अरु क्षेत्रमा सफल नहुन सक्छन् भन्ने पनि धेरैको विश्लेषण छ । फुटबल खेलाडीलाई क्रिकेटको ब्याट थमाइदिए के होला ? यो जायज प्रश्न हो । तर, के पनि सत्य हो भने नेपालका धेरै संस्थानहरु खराब व्यवस्थापनका कारणले नै डुबेका छन्, नकि विज्ञता अभावले । जस्तो कि नेपाल एयरलाइन्समा लगियो भने कुलमानलाई त्यहाँको परिपाठ सिक्न केही महिना लाग्ला । तर, आफ्नो व्यवस्थापकीय कुशलताको प्रयोग उनलै ‘डे वान’ बाटै गर्न सक्छन् ।

यता, प्राधिकरणमा कुलमानको ठाउँमा जो ल्याए पनि फरक पर्दैन भन्ने होइन । उनको उत्तराधिकारी कसलाई बनाउने भन्नेमा पनि उत्तिकै सोचविचार आवश्यक छ । कुलमानकै स्पिरिटमा काम गर्न सक्ने व्यक्ति चाहिन्छ । अर्थात् अर्को कुलमान । कुलमानको विकल्प मुकेश काफ्ले हुन सक्दैनन् । प्राधिकरणलाई डुबाएको भनेर पहिल्यैदेखि आलोचित व्यक्ति अहिले फेरि यो दौडमा सामेल हुनु (यदि छन् भने) नै हास्यास्पद हो । उनको नाममाथि छलफल पनि हुन सक्दैन । बाहिरबाट स्वच्छ छविको योग्य व्यक्ति त्यो, नभए प्राधिकरणभित्रैको उत्कृष्ट विकल्पमा जान सकिन्छ ।

कुलमान कुनै चमत्कारी महापुरुष होइनन् । एक कर्तव्यपरायण राष्ट्रसेवक हुन् । इमानदारितापूर्वक उनले आफ्नो कर्तव्य निभाए । देशको कर्मचारी संयन्त्रभित्र र बाहिर उनीजस्ता प्रतिभाहरु अरु पनि थुप्रै हुन सक्छन्, जसले आफ्नो क्षमताअनुसारको अवसर र जिम्मेवारी पाइरहेका छैनन् । यस्ता ‘कुलमानहरु’ को खोजी हुनुपर्छ । देशलाई एक कुलमान पर्याप्त छैनन् । उनी सबैतिर छाउन सक्दैनन् । त्यसैले अनेक कुलमान जन्माउनु आवश्यक  छ ।

यो पनि पढ्नुहोस तराजुमा कुलमानका चार वर्ष : के–के गरे ? कहाँ चुके ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment