Comments Add Comment

भोक हड्ताल बसेका पूर्वमन्त्री पासवानलाई उपचारका लागि धरान लगियो

१९ भदौ, जनकपुरधाम । प्रहरी हिरासतमा विजय रामको मृत्यु भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई उपचारका लागि धरान लगिएको छ ।

बिहीबार मध्यराति प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पूर्वमन्त्री पासवानलाई एम्बुलेन्समा हालेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको हो ।

मन्त्री पासवान पछिल्लो एक सातादेखि इलाका प्रहरी कार्यालय गरुडा अगाडि आमरण अनसन बसेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो ।

उनी आमरण अनशन बस्दा गरुडामा दैनिकजसो प्रदर्शन हुँदै आएको थियो । बिहीबार मात्रै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले आमरण अनशन बसेका पूर्व मन्त्रीको स्वास्थ्य अवस्था नाजुक भइसकेपछि अस्पताल पुर्‍याइएको बताए । पूर्वमन्त्री पासवानलाई ज्वरो पनि आएको र स्वास्थ्य अवस्था कमजोर बनिसकेको स्थानीय चिकित्सकले बताएपछि अक्सिजनसहितको एम्बुलेन्सको व्यवस्था गरी धरान पुर्‍याएको बताए ।

‘धरानमा लगेर उनको उपचार शुरु गरिएको छ’ डीआईजी सिंहले भने, ‘उनको स्वाब परीक्षण गर्ने तयारी पनि गरिएको छ ।’

पूर्वमन्त्रीका स्वकीय सचिव रोशन पासवानले प्रहरीले अपहरण शैलीमा मोवाइल फोन नियन्त्रणमा लिई बलजफ्ती धरान पुर्‍याएको बताए । उनले दलित आन्दोलन असफल बनाउन प्रहरीले यो रणनीति बनाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment